विकासन्युज

राष्ट्र बैंकबाट बाहिरिए १६ जना कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट डेढ दर्जन कर्मचारी बाहिरिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म राष्ट्र बैंकबाट अनिवार्य अवकाश लिई कुल १६ जना कर्मचारी सेवाबाट अलग भएका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । गत वर्ष फागुन मसान्तसम्म कुल २३ जना कर्मचारी बैंक सेवाबाट अलग भएका थिए । राष्ट्र बैंकका अनुसार जनशक्ति व्यवस्थापन विभागको नाम परिवर्तन गरी मानव संसाधन व्यवस्थापन विभाग कायम गरिएको छ । नेपाल राष्ट्र बैंक मानव संसाधन योजना (२०८०/८१-२०८४/८५) कार्यान्वयनमा ल्याई सोको अर्धवार्षिक समीक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै, तालिम तथा क्षमता विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । २०८० फागुन मसान्तमा अधिकृतस्तरमा ६३४, सहायकस्तरमा ४४१ र श्रेणी विहीन कार्यालय सहयोगी स्तरमा ७२ गरी कुल १ हजार १४७ कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये ३११ जना महिला र ८३६ जना पुरुष कर्मचारी छन् । आर्थिक वर्ष २०७९÷८० मा खुला प्रतियोगितात्मक विज्ञापनमार्फत अधिकृत तृतीय र सहायक द्वितीय श्रेणीमा क्रमशः १८ जना र २४ जनालाई स्थायी नियुक्ति दिइएको छ । आर्थिक वर्ष २०८०/८१ मा आह्वान गरिएको विज्ञापनमार्फत अधिकृतस्तरमा १५ जना र सहायकस्तरमा १५ जना बढवुाद्वारा पूर्ति गरिएका छ । समीक्षा अवधिमा करारतर्पm २८ पदमा खुला प्रतियोगितामार्फत पूर्ति गरिएको छ । साथै, प्रशासन सेवामा २६ र प्राविधिक सेवाको सूचना प्रविधि समूहमा ६ गरी अधिकृतस्तरमा ३२ जना, सहायकस्तरतर्फ प्रशासन सेवामा २४ र प्राविधिक सेवाको सूचना प्रविधि समूहमा ११ गरी कुल ३५ जना कर्मचारी नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीदेखि म्याग्देको जामुनेसम्मको ४१ दशमलव सात किलोमिटर दूरीमा उक्त पुल निर्माण गरिएको हो । दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा गरी तीन ठूला पुलको निर्माण कार्य भइरहेको आयोजनाका पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । मादी नदीमा निर्माणाधीन आर्क डिजाइनको पुल छुट्टै ठेक्का भएर निर्माण कार्य अघि बढाइएको हो । ‘उक्त पुलको लम्बाइ तीन सय १५ मिटर रहेको छ’, उनले भने ‘पुलको हालसम्म २० प्रतिशत कार्य प्रगति भइसकेको छ ।’ उनका अनुसार पूर्वी खण्डमा हालसम्म ५७ प्रतिशत कार्य प्रगति भएको छ । पृथ्वी राजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली बजार क्षेत्रमा ७० घर भत्किने छन् । त्यसमध्ये ४० जनाले मुआब्जा लिएर पनि घर भत्काउन चासो दिएका छैनन् । मुआब्जा लिन नआएका र लिएकाले समेत समयमा घर नभत्काइ दिँदा दमौली बजार क्षेत्रमा सडक विस्तारका कार्य अघि बढाउन समस्या भएको उनले बताए । दमौली बजार क्षेत्रमा कति जनाले मुआब्जा लिए, कतिले भत्काउन थाले र कतिले मुआब्जा नलिई बसेका छन् भन्नेलगायतका विषयमा परामर्श दाताले प्रतिवेदन तयार गरिरहेको उनले बताए । ‘परामर्श दाताले प्रतिवेदन बुझाएपछि कुन विधिबाट भत्काइने हो प्रक्रिया अघि बढाइनेछ, नभत्काइ सुखै छैन’, उनले भने, ‘सदरमुकाम व्यापारिक केन्द्र भएकाले संवेदनशीलतालाई बुझेर अहिले दमौलीभन्दा दायाँबायाँका क्षेत्रमा काम गरिएको छौँ ।’ पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र कार्य भएको छ । उक्त आयोजनाअन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । विसं २०८१ वैशाख २ गते सम्झौताअनुरुप म्याद सकिएपछि पुनः म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ । पृथ्वी राजमार्ग सडकअन्तर्गत पूर्वी र पश्चिम खण्डमा गरी दुई खण्डमा सडक विस्तार कार्य धमाधम भइरहेको छ । त्यसअनुरुप पश्चिम खण्डमा करिब २३ प्रतिशत कार्य प्रगति भएको छ । रासस

कार्यान्वयन भएन गोरखकाली रबर उद्योग सञ्चालनको घोषणा

गण्डकी । नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो । सरकारको नीति तथा कार्यक्रममा समावेश भएपनि उद्योग सञ्चालनका लागि प्रकृया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक अर्जनसेन ओलीले बताए । ‘मन्त्रालय तहबाट नीतिगत निर्णय त भएको हो, तर उद्योग सञ्चालनको गृहकार्य अघि बढेको छैन’, उनले भने । मन्त्रालयले रुग्ण तथा बन्द अवस्थामा रहेका उद्योग सञ्चालनका लागि विसं २०७८ मा प्रारम्भिक अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाएको निर्देशक ओलीले बताए । ‘हेटौडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई दिनेबारे सरकारले छलफल चलाइरहेको छ, तर गोरखकाली रबर उद्योग सञ्चालनको ढाँचा र लगानी स्रोतबारे अहिलेसम्म कुनै निर्णय भएको छैन’, उनले भने । सरकारले नीति तथा कार्यक्रममार्फत गरेको उक्त निर्णयले आशा जगाएको भएपनि घोषणा कार्यान्वयनमा हुनेमा जनस्तरमा संशय कायमै छ । यसअघि पनि गोरखकाली रबर उद्योगलगायत बन्द तथा रुग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन । गोरखकाली देशकै एकमात्र टायर उत्पादन गर्ने उद्योग हो । विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्ण रुपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत दुई सय ८० कर्मचारीलाई विसं २०७६ फागुनमा ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन् । गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै दस अर्ब बराबरको सम्पत्ति रहेको जनाइएको छ । उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको उद्योगमा २५ वर्ष सेवा गरेकाे दिनेश कार्कीले बताए । उनले सरकारले चाहेमा चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनःसञ्चालन गर्न सकिने बताए । ‘५०/६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ’, उनले भने, ‘बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।’ कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो । अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रने गरेको छ । नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक ‘बायस’ प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।  ‘रेडियल प्रविधिमा जाने हो भने रु ५० करोड भन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ’, कार्कीले भने । यसअघि मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि गोरखकाली रबर उद्योगलाई पुनःसञ्चालन गर्न सकिने भनेर औँल्याएको थियो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले सङ्घ सरकार र प्रधानमन्त्रीबाटै प्रतिबद्धता आएकाले आफूहरु उद्योग सञ्चालन हुनेमा आशावादी रहेको बताए । ‘जिल्ला र स्थानीयस्तरबाट पनि पहल हुँदै आएको छ, तर अहिलेसम्म प्रयास सार्थक बन्न सकेको छैन’, उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको अवधारणमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’ सरकारले उद्योग सञ्चालनको घोषणा गर्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्न सक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको प्रमुख राना मगरको भनाइ छ । ‘बजारमा रहेको भारतीय टायरको बर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ’, उनले भने, ‘स्वदेशी उत्पादनको प्रवद्र्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पुर्‍याउँछ ।’ लगानी र नयाँ प्रविधि भित्राएर भएपनि उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । गोरखाका राजनीतिकर्मी, व्यवसायीलगायत सर्वसाधारणले लामो समयदेखि सो उद्योग सञ्चालनको माग गर्दै आएका छन् । राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन, बजार प्रवद्र्धनको कमी जस्ता कारणले उद्योग बन्द हुन पुगेको स्थानीयवासी बताउँछन् । सरकारले चालु आवको नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनःसञ्चालनको घोषणा गरेको थियो । रासस

जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रबहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए । उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए । त्यस्तै निज राजन श्रेष्ठलाई बिहीबार काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं कामनपा २९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए । वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५/१६ वर्ष अगाडी हराएको र विगत ३ वर्षदेखि पठाओ चलाई जिविका चलाउने सामान्य व्यक्ति रहेको र निजले हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको बताए ।

ग्लोबल आइएमई बैंकले प्लास्टिकको खपत कम गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए । उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ । ‘नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन’, उनले भने, ‘अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो ।’ नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । रासस

सेयर बजार, सट्टेबाजी र सम्पत्तिको बजारमा जुवा

अङ्ग्रेजीमा ‘स्पेकुलेटिभ बबल’ भनिने शब्दावलीलाई नेपालीमा ‘सट्टेबाजी फोका’ भनेर अनुवाद गर्न त सकिन्छ तर यसले दिन खोजेको भावलाई बुझाउन भने कठिन हुन्छ । हामीकहाँ प्रचलनमा नभएकाले पनि हुन सक्छ ‘सट्टेबाजी फोका’ अर्थहीन लाग्छ । बर्खामा हावा भरिएको पानीका फोका उठ्छन् र फुट्छन् । अर्थतन्त्रमा सम्पत्तिहरूको मूल्यमा उच्छल आउने र चकनाचुर हुने प्रवृत्तिलाई औँल्याउन विकसित मुलुकहरूमा त्यही बिम्बको प्रयोग गरिन्छ । ती मुलुकहरूमा विभिन्न समयमा आएका जस्तै गहिरो र फराकिलो किसिमका वित्तीय सङ्कट बेहोर्नु नपरेकोले पनि हुनसक्छ हामी यो बिम्बसँग धेरै परिचित छैनौँ । केही दशकदेखि हाम्रो अर्थतन्त्रको मौद्रिकीकरण हुँदै गएको छ, कारोबारहरू औपचारिक हुँदै गएका छन् । भूमि, श्रम, वस्तु तथा वित्त बजार एकअर्कोसँग सघन रूपमा जोडिन थालेका छन् । त्यसैले एउटा क्षेत्रमा आउने समस्या अर्को क्षेत्रमा फैलिन सक्छ । एक दशकअघिसम्म हाम्रो सेयर बजारलाई ‘काठमाडौंको रिङरोडभित्र सीमित छ’ भनिन्थ्यो । त्यसबेला सेयर बजारको उतारचढावले प्रभावित हुने जनसङ्ख्या थोरै थियो । अहिले गाउँगाउँमा सेयर बजार पुगेको छ । तिलहरी, बाख्रा, कुखुरा बेचेर सेयरमा लगानी गरेको समाचार पढ्न पाइन्छ । विदेशिएका नेपालीहरूको पनि सेयर बजारमा उत्तिकै रुचि रहेको देखिन्छ । प्राथमिक तथा दोस्रो बजारमा उनीहरूले लगानी गरिरहेका छन् । सेयर जम्मा गर्नका लागि ६१ लाख डिम्याट खाता खोलिएका छन् । दोस्रो बजारमा सेयर कारोबार गर्ने अनलाइन प्रयोगकर्ताको सङ्ख्या २० लाख पुगेको छ । सेयर ब्रोकरले १९० कारोबार विन्दु (ट्रेडिङ टर्मिनल्स) वा शाखाबाट सेवा प्रवाह दिइरहेका छन् । बजारको आकार हाल ३२ खर्ब रुपैयाँ पुगेको छ । दैनिक औसत चार अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको छ । बैकिङ कारोबारको इतिहास सेयर बजारको भन्दा धेरै पुरानो छ । राष्ट्र बैंकबाट इजाजतपत्र लिएर ११२ वटा बैंक तथा वित्तीय संस्था सञ्चालित छन् । ती संस्थाको शाखा ११ हजार ५७० पुगेको छ । ७५३ पालिकामध्ये बझाङको साइपालबाहेकका सबै पालिकामा कम्तीमा एउटा बैंक शाखा पुगेको छ । यो आलेख तयार पार्दासम्म बैंक तथा वित्तीय संस्थाले ६१.८१ खर्ब रुपैयाँ निक्षेप सङ्कलन र ५०.८८ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बीमा सेवा दिने कम्पनीको सङ्ख्या ३४ पुगेको छ । तिनको शाखा सङ्ख्या झण्डै तीन हजार पुगेको देखिन्छ । यिनीहरूले अघिल्लो वर्ष एक खर्ब ८२ अर्ब प्रिमियम सङ्कलन गरेका थिए । जीवन बीमाले ४४ प्रतिशत जनसङ्ख्यालाई समेटेको नेपाल बीमा प्राधिकरणको दाबीे छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले उपदान तथा अवकाश कोषको व्यवस्थापन गरिरहेका छन् । उपलब्ध पछिल्लो तथ्याङ्कअनुसार सञ्चय कोषले चार खर्ब ७० अर्ब रुपैयाँ, नागरिक लगानी कोष दुई खर्ब ५० अर्ब रुपैयाँ र सामाजिक सुरक्षा कोषले ५० अर्ब रुपैयाँ बराबरको सम्पत्ति परिचालन गरेका छन् । देशभर करिब ३५ हजार सहकारी दर्ता भएको र तीमध्ये १३ हजारले बचत तथा ऋणको कारोबार गर्छन् भनिन्छ । यिनीहरूले कति रकम परिचालन गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क हामीसँग छैन । विगत एक दशकको तथ्याङ्कलाई हेर्ने हो भने पनि क्रमिक रूपमा वित्तीय क्षेत्रको विस्तार भइरहेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ सम्म मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय क्षेत्रको हिस्सा चार प्रतिशतको हाराहारीमा थियो भने २०७९/८० मा यो हिस्सा सात प्रतिशतको नजिक पुगेको देखिन्छ । वित्तीय क्षेत्रको विस्तारले समग्र आर्थिक वृद्धिको गतिलाई सहयोग पुर्याउन सक्छ, सँगसँगै यसले तीव्र उतारचढावको जोखिमलाई पनि बढाउँछ । निर्वाहमुखी अर्थतन्त्रमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुँदैन । तर हाम्रो अर्थतन्त्र अब वित्तीय क्षेत्रको भूमिकालाई नजरअन्दाज गर्न सकिने तहमा छैन भन्ने माथिका आँकडाले सङ्केत गर्दछन् । पछिल्ला केही वर्षमा हामीकहाँ बैंकिङ प्रणालीको तरलता, सेयर बजारको ज्वारभाटा, घरजग्गा कारोबारको अवस्थालाई एकअर्कासँग जोडेर चर्चा हुन थालेको छ । यो विषय उपल्लो तहको नीति तर्जुमा र कार्यान्वयनमा सीमित नभएर आम चर्चाको मुद्दा बनेको छ । त्यसैले यस लेखमा वित्तीय क्षेत्रको तीव्र उतारचढावले निम्त्याउने जोखिमको सामान्य चर्चा गर्न खोजिएको छ । सामान्यतया फोका बन्ने र फुट्ने कुरालाई सेयर बजारसँग जोड्ने गरिन्छ । तर सेयर बजार अस्तित्वमा आउनु अघिदेखि नै सम्पत्तिहरूको मूल्य ह्वात्तै बढ्ने र घट्ने अनि अर्थतन्त्रमा समस्या खडा हुने गरेको घटना विश्व इतिहासमा पाइन्छ । सट्टेबाजी उत्साह यसमा सम्पत्तिको मूल्य वृद्धिको समाचारले लगानीकर्ताको उत्साह बढाउँछ । यो मनोविज्ञान एक व्यक्तिबाट अर्कोमा तीव्र गतिमा सङ्क्रामक रूपमा फैलिन्छ । यस प्रक्रियामा मूल्यवृद्धिलाई जायज ठहर्याउने कथाहरूको रचना र प्रचारप्रसार पनि व्यापक रूपमा भइरहेको हुन्छ । लगानीकर्ताहरूको समुदाय फराकिलो बन्दै जान्छ । सम्पत्तिको वास्तविक मूल्यसँग कसैलाई वास्ता हुँदैन । अरूको सफलताले पैदा गरेको ईष्र्याभावबाट प्रेरित भई सम्पत्तिको बजारमा जुवा खेल्ने उत्तेजना हावी हुन्छ । उत्साह, शङ्का, ईर्ष्या, अड्कलबाजी जस्ता धेरै मनोवैज्ञानिक वा भावनात्मक तत्वहरूले यसमा काम गरेका हुन्छन् । बहुसङ्ख्यक अर्थशास्त्रीहरूले यसमा खासै जोड दिँदैनन् । किनकि उनीहरूले आर्थिक निर्णयमा मानवीय भावनाले भूमिका खेल्छ भन्ने मान्यतालाई स्वीकार गर्दैनन् । उनीहरूले सिद्धान्त बनाउँदा वा विश्लेषण गर्दा वा नीतिगत सिफारिस गर्दा होमो इकोनोमिक्स (विवेकशील आर्थिक मानव) लाई आधार बनाउने गर्छन् । सट्टेबाजी उत्साह एक मनोसामाजिक चुनौती हो । यसको निदान सजिलो हुँदैन । किनकि यो समस्या फरक समय र सन्दर्भमा फरक किसिमले प्रकट हुन्छ । मानसिक चिकित्सामा रगत दिसापिसाब परीक्षण वा एक्सरे आदिबाट रोगको निदान गर्न नसकिने हुनाले लक्षणहरूको सूची बनाइन्छ र धेरै लक्षण मिल्न गएमा रोगको अनुमान गरेर उपचार थालिन्छ । यस्तै किसिमको चुनौती आर्थिक उतारचढावलाई सम्बोधन गर्ने सन्दर्भमा पनि आउँछ । सामाजिक महामारी तर सट्टेबाजी उत्साह व्यक्तिगत भन्दा पनि सामाजिक समस्या हो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री रबर्ट सिलरका अनुसार यो समस्या धेरै मान्छेको अन्तरक्रियाबाट उत्पन्न हुन्छ । यसमा कोही जानी बुझिकन लागेका हुन्छन्, कोही अञ्जानमा । सम्पत्तिहरूको मूल्य बढ्न थालेको देखेपछि बढीभन्दा बढी मानिसहरू यसमा प्रवेश गर्दछन् । आमसञ्चार माध्यम, पारिवारिक जमघट, सार्वजनिक समारोह सबैतिर यसको चर्चा हुन थाल्छ । यसले सकारात्मक चक्र सिर्जना गर्छ । मूल्य थप बढ्न थाल्छ । धेरैको सोचाइ पहिलेको मूल्य बढाइ र अहिलेको फरक हो भन्ने हुन्छ । बजारमा अनेकौँ किसिमका कथाहरू व्याप्त भएका हुन्छन् । यसमा सहभागी नभए अवसर गुम्छ भन्ने डर पनि हुन्छ । सम्पत्तिका आकाङ्क्षीहरूको अन्तरमनमा मूल्य वृद्धि दिगो होइन भन्ने शङ्का हुन सक्छ । त्यो अवस्थामा उसले अरू कसैलाई बेचेर उम्किन्छु भन्ने जोखिम उठाउँछ । ठिक यसै गरी नकारात्मक चक्र पनि उत्पन्न हुन्छ । यो चरणमा मूल्य घट्न सुरु भएपछि नकारात्मक कथाहरू व्याप्त हुन थाल्छन् । सम्पत्ति बिक्रीलाई प्रोत्साहन गर्नेगरी निराशा र विपत्तिका कथाहरू व्यक्तिगत तथा सार्वजनिक चर्चामा आउने गर्छन् । धेरैको ध्याउन्न नोक्सानी कम गर्नेतर्फ हुन्छ । यसलाई अवसरको रूपमा बुझ्नेहरू कम हुन्छन् । अवसरको रूपमा बुझेर मात्रै हुँदैन । स्वामित्व ग्रहण गर्ने क्षमता पनि हुनुपर्छ । त्यसैले खरिद गर्ने चाहना र स्रोत भएकाहरू कम हुन्छन् । अर्को कुरा नकारात्मक होस् कि सकारात्मक चक्र कहिले समाप्त हुन्छ भन्ने यकिन जानकारी कसैसँग पनि हँुदैन । अल्पकालको सच्चिने प्रवृत्ति (बढिरहेको भए घट्ने, घटिरहेको भए बढ्ने)ले बजार सहभागीलाई झुक्याउँछ । त्यसैले सम्पत्तिको मूल्य घट्दो वा बढ्दो प्रवृत्तिका विरुद्धमा जानु ठूलो जोखिम मोल्नु हुन्छ । व्यक्तिगत सहभागीको कुरै छोडौँ संस्थागत र पेसेवर बजार सहभागीलाई पनि सम्पत्तिको ठिकठिक मूल्याङ्कन गर्न कठिन हुन्छ । प्रचलित वित्तीय सूचकाङ्क पनि पूर्ण रूपमा वस्तुगत हुन नसक्दा सम्पत्तिको यकिन मूल्याङ्कन गरी खरिद वा बिक्री गर्ने निर्णय मनोगत हुन जान्छ । महामारीका लक्षण  मनोगत निर्णयमा संज्ञानात्मक त्रुटिहरू हुनसक्ने विद्वान्हरूले औँल्याएका छन् । यसमध्ये पहिलो हो, अङ्कुशे प्रभाव । यो यस्तो मनोवैज्ञानिक अङ्कुश हो जसले हामीलाई एउटा विन्दुमा अड्याएर राख्छ । हाम्रो अवचेतन मन कुनै सूचना, सङ्केत, विम्ब, अङ्क, घटना आदिमा अड्किएको हुन्छ । त्यसरी अड्किएको मनले चिजहरू परिवर्तनशील हुन्छन् भन्ने हेक्का राखेको हुँदैन । त्यसैले हामीले कुनै बेला सही ठहर्‍याएको वस्तु, घटना वा उपाय सधैँ सही हुन्छ । सम्पत्तिको मूल्याङ्कनमा यो कमजोरी हावी हुनसक्छ । अर्को समस्या मनोगत लेखाङ्कन हो । पैसाको उपयोगलाई प्राप्त स्रोतअनुसार मानसिक रूपमा अलग्याउने यस किसिमको प्रवृत्तिले सहभागीलाई सम्पत्तिबाट प्राप्त हुनसक्ने सम्भावित उच्चतम प्रतिफल हात पार्नबाट रोक्छ । अति आत्मविश्वासबाट प्रभावित भएर पनि बजार सहभागीले धेरै गल्ती गर्छन् । कुन सम्पत्ति किन्ने, कुन बेच्ने, कहिले किन्ने, कहिले बेच्ने भन्ने कुरा अरूलाई भन्दा मलाई बढी थाहा छ भन्ने अति विश्वास केही बजार सहभागीमा हुन्छ । विकसित बजारमा गरिएका अध्ययनअनुसार यस्ता सहभागीले अनावश्यक रूपमा सम्पत्ति किनेबेच गर्दछन् र उनीहरूको कारोबार लागत बढ्छ, प्रतिफल कम हुन्छ । पुष्टीकरण र पूर्वदर्शी पूर्वाग्रहले पनि बजार सहभागीलाई झुक्याउँछ । हामीले जे देख्न वा सुन्न चाहेका हौँ, त्यही देख्ने वा सुन्ने गर्छौं । लगानीकर्तालाई कुनै सम्पत्ति ग्रहण गर्न मन लागिरहेको छ भने उसले त्यसका बारेमा सकारात्मक कुरा मात्रै सुन्छ वा देख्छ । यहाँनेर सम्पत्ति असल भएर उसले राम्रा कुरा थाहा पाएको होइन, बरु पहिल्यै एक किसिमको धारणा बनाएर सोधखोज गरेकाले राम्रो हो भन्ने पुष्टि हुन गएको हो । पूर्वदर्शी आग्रहबाट प्रभावित बजार सहभागीले आफूलाई बजारको उतारचढावबारे पहिल्यै जानकारी थियो भन्ने स्वाङ पार्छ । जस्तो कि; उसलाई सेयर बजार बढ्छ वा घट्छ, घरजग्गाको भाउ बढ्छ वा घट्छ, ब्याजदर बढ्छ वा घट्छ भन्ने पहिल्यै थाहा थियो । जुवाडे त्रुटि अर्काे मनोवैज्ञानिक समस्या हो । हाम्रो दैनिक जीवनमा, हाम्रा टोलछिमेकमा यस्ता कैयौँ पात्र फेला पर्छन् । सेयर बजारमा लगातार चार दिन बढेको कम्पनीको सेयर पाँचौँ दिन पनि बढ्छ भन्ने मानसिकताबाट प्रभावित भएर लगानी गर्नेहरू यो वर्गमा पर्छन् । समय विभाजनको आधार भने दिन, साता, महिना वा वर्ष कुनै पनि हुनसक्छ । लोभलालचले अन्धो बनाएपछि मान्छेले भिडलाई पछ्याउँछ । हाम्रोमा यस्तो घटना गलैंचाको व्यापार, पश्मिनाको निर्यात, घरजग्गा कारोबार, वैदेशिक रोजगारलगायतका क्षेत्रमा देखापरेको छ । यस्तो पूर्वाग्रहपीडित मान्छेले वास्तवमा कुनै चिजले कसरी काम गरिरहेको छ भनेर भित्री कुरा बुझ्ने कष्ट गर्दैन । अनपेक्षित समाचार आउने बित्तिकै सम्पत्ति बेचिहाल्ने र आफूलाई मनपर्ने किसिमको समाचार वा आफ्नो आग्रहलाई पुष्टि गर्ने किसिमको समाचार आए किनिहाल्ने प्रवृत्तिका व्यक्ति पनि बजारमा हुन्छन् । सूचनाहरूमा यस किसिमको तत्काल र तीव्र प्रतिक्रिया दिने सहभागीले अधिकतम लाभ सुनिश्चित गर्न सक्दैनन् । यस्ता लगानीकर्ता हावी हुँदा नयाँ सूचनाले बजार ह्वात्तै बढ्ने, ह्वात्तै घट्ने हुनसक्छ । हालसालैको घटनाबाट अति प्रभावित हुने र केही समयपछि त्यसलाई पूरै बिर्सिदिने मनोवैज्ञानिक समस्या पनि बजार सहभागीमा हुन्छ । यस्तो समस्या भएका सहभागी अल्पकालीन लगानीमा रमाउँछन् । दीर्घकालीन लगानी दृष्टिकोणको सर्वथा अभाव हुन्छ । यसले उनीहरूलाई दीर्घकालीन लगानीबाट प्राप्त हुने सहज तथा सुरक्षित लाभबाट वञ्चित बनाउँछ । मान्छेले उपलब्धिलाई भन्दा नोक्सानीलाई बढी भार दिन्छन् । अनुसन्धाताका अनुसार यस्तो मानसिक समस्याबाट ग्रस्त व्यक्तिले नराम्रो सेयर लामो समयसम्म लिएर बस्छन्, त्यसलाई बिक्री गरेर नोक्सानी घटाउँदैनन् । यसै गरी, उनीहरू राम्रो सेयर अलिकति मूल्य बढ्दैमा आत्तिएर बेचिहाल्छन् र नाफा कम गर्छन् । लाभ–हानि वा विजय–पराजयको कुनै पनि खेलमा प्रवेश गरिसकेपछि सामान्य मान्छेमा तार्किकताभन्दा अहम्ले बढी काम गर्छ । यसमा बोली लगाइने वस्तु वा सम्पत्तिको आन्तरिक मूल्य वा वास्तविक मूल्यभन्दा खरिदकर्ताले बोलेको मूल्य धेरै बढी हुन्छ । लिलामी मूल्य आन्तरिक मूल्यमा ठूलो अन्तरलाई सामान्यतया अपूर्ण जानकारी, भावनात्मक वेग र अन्य व्यक्तिपरक कारणहरूले बल पुर्‍याएको हुन्छ । यस किसिमको खेलमा भाग लिने एक जनाले मात्र नभई धेरै जनाले वस्तु वा सम्पत्तिको मूल्यलाई अनावश्यक रूपमा माथि धकेल्छन् । सङ्ज्ञानात्मक समस्याले व्यक्तिगत र सांस्कृतिक स्तर दुवैमा काम गर्दछ । सांस्कृतिक स्तरमा यसले सट्टेबाजी उत्तेजनालाई बढाउँछ । समस्या बजार व्यवस्थाको मात्र होइन समस्याको पहिचान भइसकेपछि हाम्रो ध्यान यसलाई कसरी नियमन गर्ने वा रोक्ने भन्नेतर्फ जान्छ । धेरैले यसमा अनियन्त्रित बजार व्यवस्थाको दोष देख्छन् । तर अर्थतन्त्रलाई निस्तेज पार्न सक्ने यस किसिमको सामाजिक महामारी बजार व्यवस्थाको विशिष्ट चरित्र होइन । एक पटक बिसौं शताब्दीको पूर्वाद्र्धदेखि सुरु भएको साम्यवादी योजनाबद्ध अर्थतन्त्रलाई हेरौँ । बजारको भूमिका नभएका ती अर्थतन्त्रहरू पनि चरम आर्थिक सङ्कटबाट गुज्रिएका थिए । त्यहाँ लेखको सुरुमा भनिएको जस्तो फोकाहरू सतहमा देखिएका थिएनन्, तर अर्थतन्त्र भित्रभित्रै खोक्रो भई एकाएक विघटनमा जाने र ठूलो मानवीय विनाश निम्त्याउने किसिमको थियो । सोभियत संघले सन् १९२९ मा श्रम, भूमि, पुँजीजस्ता उत्पादनका साधनहरू राज्यको स्वामित्वमा लिएर योजनाबद्ध आर्थिक अभियान सुरु गर्यो । योजनामार्फत कृषिको व्यापक पुनर्गठन भयो । स–साना व्यक्तिगत कृषि कर्मलाई विशाल सामूहिक खेतीमा रूपान्तरण गरियो । कृषिको यान्त्रीकरण र उत्पादकत्व बढाउने भनियो । यो योजना सफल हुन्छ भन्ने प्रारम्भिक अनुमान र उत्साह छक्क पार्ने किसिमका थिए । मान्छेहरू यति उत्साही थिए कि कसैकसैले आफ्ना बच्चाको नाम ‘त्र्याक्तर’, ‘इलेक्त्रिफिक्तासिया’ सम्म राखे भनिन्छ । श्रम, पुँजी, भूमि कुनैको पनि बजार मूल्य थिएन । त्यसैले बजार मूल्यमा उतारचढाव आउने प्रश्नै भएन । वासलात, नगद प्रवाह, नाफा नोक्सानका विवरण सार्वजनिक हुन्थेनन् । कुनै उद्योग व्यवसायले राम्रो गरिरहेको छ वा नराम्रो भन्ने विश्लेषण गर्ने न आधार थियो न स्वतन्त्रता । तैपनि सङ्कट आयो, सन् १९३२–३३ मा एक करोड १० लाख मान्छे भोकमरीले मरे । यस्तै घटना चीनमा पनि भयो– सन् १९५८ देखि १९६१ सम्मको कम्युनिष्ट चीनमा ‘द ग्रेट लिप फर्वार्ड’का नाममा । त्यहाँ पनि वित्त बजारलाई निमिट्यान्न पारिएको थियो । कृषिको सामूहिकीकरण र आक्रमक रूपमा उद्योग प्रवद्र्धन गर्ने अभियान सरकारले चलाएको थियो । विशेष गरी फलाम र इस्पात उद्योगमा सरकारले जोड दिएको थियो । त्यहाँ पनि बजार मूल्यहरू अस्तित्वमा थिएनन् । वासलात, नाफा–नोक्सानको विवरण र स्वतन्त्र विश्लेषकहरू थिएनन् । गाउँगाउँमा स्टिल उत्पादन गर्ने भट्टीहरू खडा भए । ‘स्टिल उद्योग’ चलाउन गाउँलेले आफ्ना भाँडाकुँडा दिएर सामूहिक भान्छामा खाना खान थाले । यसरी ‘‘स्टिल उद्योग’ चल्दैन भनेर बुभ्mने मान्छे चीनमा नभएका होइनन् । तर उनीहरू चुप लागे । द्रुत गतिमा भूमि र श्रम कृषिबाट कथित उद्योगतर्पm मोडियो । देशमा अनिकाल देखाप¥यो, करोडौं मान्छेले (कसैले डेढ करोड भनेका छन् कसैले साढे चार करोड) ज्यान गुमाए । सोभियत संघको राष्ट्रियकरण र चीनको ग्रेट लिप फर्वार्ड एक किसिमले पश्चिमा मुलुकहरूको ‘मार्केट म्यानुपुलेसन’ भन्दा कम थिएन । माओका चिकित्सक तथा जीवनी लेखक लि झिसुइका अनुसार सन् १९५९ मै मन्चुरियाको एउटा आधुनिक स्टिल प्लान्ट अवलोकनपछि माओलाई गाउँगाउँमा खडा गरिएका भट्टीहरूले काम गर्दैनन् भन्ने लागेको थियो । तर उनले त्यसलाई रोक्न भनेनन्, अभियानलाई उल्ट्याउन चाहेनन् । भट्टी नचलोस्, जनशक्ति तथा अन्य स्रोत साधन खेर जाओस् उनलाई चिन्ता भएन । माओले जनताको उत्साहलाई मार्न चाहेनन् । जसरी बजार अर्थव्यवस्थामा गलत विवरण प्रस्तुत गरेर सहभागीलाई झुक्याइन्छ, त्यसैगरी सोभियत सङ्घ र चीनमा पार्टी र प्रशासनका तल्ला निकायले गलत तथ्याङ्क केन्द्रमा पठाएका थिए । किसान, मजदूर र तीनका परिवारको भोक मेटाउने एक गेडो अन्न नहुँदा पनि केन्द्रमा पर्याप्त उत्पादन भइरहेको छ भन्ने विवरण पठाइएको थियो । बरु बजार व्यवस्था अँगालेका मुलुकले सोभियत संघ र चीनमा जस्तो विनाशकारी घटना बेहोरेका छैनन् । यसबाट खुला बजार, स्वतन्त्र विश्लेषक, वासलात, नगद प्रवाह, नाफा–नोक्सान तथा आय विवरणले त्यस्ता प्रकोप रोकथाममा मद्दत गर्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । वित्तीय स्थायित्वको मार्ग पहिलेपहिले पनि साना–ठूला वित्तीय सङ्कट देखापर्दा विकसित मुलुकहरूमा यसको समाधानबारे चर्चा नहुने गरेका होइनन् । तर सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटले सबै देशका सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सोच्न बाध्य बनायो । सबैतिर वित्तीय स्थायित्वका लागि नीतिगत, संस्थागत तथा व्यवहार गत पुनः अभिमुखीकरणको आवश्यकता महसुस गरियो । ढल्न नहुने प्रणालीगत हिसाबले महत्पूर्ण वित्तीय संस्थाहरू (सिफी) को चर्चा हुन थाल्यो । जोखिम पहिचान, संस्थाहरूको वित्तीय सबलीकरणका लागि कडा नियम कानुन बनाइए, संस्थाहरूलाई अनुशासनमा बस्न भनियो । तथापि, यी सबै अभ्यासले आर्थिक सङ्कटलाई रोक्छन् भनेर निश्चिन्त हुन सकिँदैन । मानिसका सट्टेबाजी उत्साहलाई पहिचान गर्न सजिलो छैन । बजारका प्रत्येक सहभागी कुन मनसुबा लिएर कारोबारमा सहभागी भइरहेका छन् भनेर पहिल्याउनु कठिन कार्य हो । यसलाई संस्थाहरूको औपचारिक दस्तावेजमा रेकर्ड गर्न सकिँदैन । सूचनाहरूमा विशृङ्खलता थपिँदै जान्छ । एक खालको बारुदको घर क्रमशः बन्दै जान्छ । यसमा नियामकहरूको महत्वपूर्ण भूमिका हुन्छ । तर ती निकायमा पनि अन्तिम निर्णय गर्ने मान्छे नै हुन्छन् । मान्छेले सधैँ वस्तुगत निर्णय गर्छ भन्ने हुँदैन । सट्टेबाजी उत्साह र निराशासँगै बाँच्ने कसरी ? माथिको चर्चाबाट के थाहा हुन्छ भने वित्त बजार विकसित होस् कि नहोस् अथवा समग्र बजार व्यवस्थालाई नै नकारे पनि, बजार मूल्य प्रणालीलाई निलम्बन गरे पनि सङ्कट त आइहाल्छ । त्यसैले बजार मूल्य प्रणाली र सट्टेबाजी उत्साहलाई पन्छाएर बढ्न असम्भव छ । श्रम, भूमि, पुँजी, वस्तुलगायत सबै किसिमका बजार मूल्यहरूको प्रतिनिधित्व सेयर बजारमा सूचीकृत कम्पनीहरूको मूल्य र बजार सूचकाङ्कले गर्छ भन्ने मान्ने हो भने नोबेल अर्थशास्त्री पल स्यामुअल्सनको भनाइ सान्दर्भिक हुन्छ । उनले भनेका थिए, ‘स्टक प्राइसेस आर माइक्रो इफिसिएन्ट एन्ड म्याक्र्यो इनएफिसिएन्ट ।’ यसलाई अर्को शब्दमा कुनै एकल वस्तु वा सम्पत्तिको मूल्य निर्धारणमा बजार दक्ष हुनसक्छ तर समग्र बजारको मूल्य निर्धारण भने पूर्ण हुँदैन भन्न सकिन्छ । बजारको मूल्य निर्धारण विधि पूर्ण नभए पनि यसको भरपर्दो अर्को विकल्प छैन भन्ने कुरा हामीले सोभियत संघ र चीनको भयावह घटनाबाट बुझ्न सक्छौं । त्यसैले बजारको मूल्य उतारचढावसँग बाँच्ने कलाको विकास आवश्यक देखिन्छ । किनभने बजार मूल्य उतारचढावमा सट्टेबाजी उत्साह र निराशाले महत्वपूर्ण भूमिका खेल्छ । बजार कति दक्ष हुन्छ भन्ने बारेमा अर्का अर्थशास्त्री फिसर ब्ल्याकको भनाइ सान्दर्भिक हुन्छ । खासमा उनको यो भनाइ पनि स्टक मार्केटकै सन्दर्भमा थियो । उनले भनेका थिए, ‘कुनै पनि कम्पनीको सेयरको बजार मूल्य धेरैजसो समयमा वास्तविक मूल्य (अन्तर्निहित मूल्य)को न्यूनतम आधादेखि अधिकतम दोब्बरसम्मको सीमाभित्र हुन्छ भने त्यो बजारलाई दक्ष मान्नुपर्छ ।’ उनले धेरैजसो समय भनेर ९० प्रतिशत समयलाई सङ्केत गरेका थिए । तसर्थ, बजार अपूर्ण भए पनि यसले स्रोत परिचालन गर्ने विषयमा महत्वपूर्ण सूचना दिएको हुन्छ । त्यो बजार चाहे वित्तीय सम्पत्तिको होस्, श्रमको होस् वा कुनै वस्तुको । यो सूचनालाई आधार बनाएर सार्वजनिक नीतिहरू बन्नुपर्छ, व्यवहार गरिनुपर्छ । र, यसमा ख्याल गर्नुपर्ने कुरा मान्छेका उत्साह र निराशाले बजारलाई चलायमान बनाउँछ भन्ने हो । कुनै वस्तुगत कारण नै चाहिन्छ भन्ने होइन । त्यस किसिमका उत्साह र निराशाले महामारीको रूप नलिओस् भन्नेतर्फ सदा सचेत रहनुपर्छ । (पराजुली नेपाल नेपाल स्टक एक्सचेञ्जका सहायक प्रबन्धक हुन् । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सब विशेषाङ्कबाट ।)

‘म प्रधानमन्त्री बनेपछि बैंकको ब्याज घट्यो, सार्वजनिक संस्थान नाफामा गए’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बनेपछि बैंकको ब्याज घटेको दाबी गरेका छन् । उनले आफू प्रधानमन्त्री बन्नुअघि बैंकको ब्याज बढ्दो अवस्थामा रहेको भएपनि आफू आएपछि ब्याज घटेको दाबी गरेका हुन् । उनले आफ्नै सक्रियताले अर्थतन्त्र पनि सुधार हुँदै गएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनमा उनले यस्तो धारणा राखेका हुन् । उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको उनको भनाइ छ । ‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ, वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ, नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ, भर्खरै हामीले सम्पन्न गरेको लगानी सम्मेलन र त्यहाँ उत्साहवद्र्धक झन्डै ६० देशका प्रतिनिधिहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको छ,’ उनले भने । उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार सुरु गरिएको जानकारी दिए । आफू प्रधानमन्त्री बनेपछि नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको दाबी उनको छ । यस्तै, उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताउँदै हालै सम्पन्न लगानी सम्मेलनले पनि एक किसिमको उत्साह थपेको बताए । विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको बताए । ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको जानकारी दिए । प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता पनि जनाए । ‘मिडिया सम्बन्धी अनेक कानून निर्माणको प्रक्रियालाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको छ,’ उनले भने, ‘मिडियासँग सम्बन्धित विधेयकमा केही प्रश्नहरु तपाईंहरुले उठाइसकेपछि मैले त्यसलाई अहिले रोकेर फेरि पत्रकारहरुसँग छलफल गरी त्यसको सम्बोधन गरी नयाँ विधेयक लैजानुपर्छ भनेर रोकेको छु ।’ प्रधानमन्त्री दाहालले नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यवद्धता व्यक्त गर्दै आएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्वपूर्ण योगदान गरेको जानकारी दिए ।