काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बनेपछि बैंकको ब्याज घटेको दाबी गरेका छन् । उनले आफू प्रधानमन्त्री बन्नुअघि बैंकको ब्याज बढ्दो अवस्थामा रहेको भएपनि आफू आएपछि ब्याज घटेको दाबी गरेका हुन् । उनले आफ्नै सक्रियताले अर्थतन्त्र पनि सुधार हुँदै गएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनमा उनले यस्तो धारणा राखेका हुन् ।
उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको उनको भनाइ छ ।
‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ, वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ, नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको छ, भर्खरै हामीले सम्पन्न गरेको लगानी सम्मेलन र त्यहाँ उत्साहवद्र्धक झन्डै ६० देशका प्रतिनिधिहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको छ,’ उनले भने ।
उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार सुरु गरिएको जानकारी दिए । आफू प्रधानमन्त्री बनेपछि नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको दाबी उनको छ ।
यस्तै, उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताउँदै हालै सम्पन्न लगानी सम्मेलनले पनि एक किसिमको उत्साह थपेको बताए । विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको बताए । ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको जानकारी दिए । प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता पनि जनाए ।
‘मिडिया सम्बन्धी अनेक कानून निर्माणको प्रक्रियालाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको छ,’ उनले भने, ‘मिडियासँग सम्बन्धित विधेयकमा केही प्रश्नहरु तपाईंहरुले उठाइसकेपछि मैले त्यसलाई अहिले रोकेर फेरि पत्रकारहरुसँग छलफल गरी त्यसको सम्बोधन गरी नयाँ विधेयक लैजानुपर्छ भनेर रोकेको छु ।’
प्रधानमन्त्री दाहालले नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यवद्धता व्यक्त गर्दै आएको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्वपूर्ण योगदान गरेको जानकारी दिए ।