एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् । सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए । ‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा म जानकार छु’, मासात्सुगुको भनाइ उद्धृत गर्दै भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने, ‘थप सहयोगका लागि एडिबी तत्पर छ ।’ भेटका क्रममा सचिव मरासिनीले एडिबीले नेपालको विकसामा पुर्याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पुरा गर्न थप सहयोगका लागि आग्रह गरे । अध्यक्ष यस्तै मरानिसीले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुको कार्यकालमा एडिबीले नेपालमा सहयोग बढाउने अपेक्षा गरिएको समेत उनले बताए । सचिव मरासिनील अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । जवाफमा उनले एडिबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए । । यस्तै सचिव मरासिनीले एडिबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेटेका छन् । त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलासययुक्त दूधकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रम समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिए । नेपालका अनुसार सहुलीयतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुर्व पक्षले सहकार्य गर्ने समझदारी भएको बताए । उपाध्यक्ष याङ्गले जारी कन्ट्री साझेदारी प्रेमवर्क तयारी विश्व बैंकसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागि समेत यो नमुना हुनसक्ने बताइन् । भेटमा नेपालका तर्फबकाट सचिव मरासिनी र सहसचिव नेपाल तथा एडिबीका तर्फबाट उपाध्यक्ष याङ्गसहित कार्यकारी निर्देशक सुपक चइयावान, दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेयो कोनिसीसहितका पदाधिकारी सहभागी थिए ।
दुई कम्प्लेक्सलाई ३५ दिनभित्र बहाल कर तिर्न काठमाडौं महानगरको पत्र
काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ । आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ । कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेपनि कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो । यस विषयमा कामपाले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो । यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले बताए । लामो समयसम्म बक्यौता रकम तिर्न आलटल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन गरेको छ । कामपा राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ । एउटा वडास्तरीय टोली छ, जसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को टोलीमा केन्द्रमा राजस्व विभागस्तरको टोली रहने छ । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तेस्रो टोलीको व्यवस्था गरिएको छ । घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ । आरबी कम्प्लेक्समा तीन सय १५ व्यवसायी र पिपुल्स प्लाजामा एक सय ६० व्यवसायी छन् । ‘यी व्यवसायीले व्यवसाय कर तिर्नुपर्छ । बहाल अंकमा लाग्ने बहाल कर स्थानीय सरकारलाई तिर्ने हो, बहाल आयमा लाग्ने कर संघीय सरकारलाई तिर्ने हो,’ काफ्लेले प्रष्ट पारे । कामपाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिनेबीचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक÷एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनुपर्छ । कामपाका अनुसार लामो समयदेखि ३ अर्ब १९ करोड बक्यौता रकम असुल गर्नुपर्ने छ । अब नियमित अनुगमन गरी सबै बक्यौता रकम असुल गर्ने कामपाको तयारी छ ।
भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने
काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ । जाजरकोट, बझाङ र डोटी केन्द्रविन्दु भई गएको भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र अन्य भौतिक संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनाका लागि क्षति आँकलनको प्रक्रिया अघि बढाएको हो । विस्तृत क्षति आँकलनको अवधारण स्वीकृत गरी अर्थ मन्त्रालयमा बजेटका लागि सहमति माग्ने निर्णय भएको समितिका सदस्यसचिव एवं विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले जानकारी दिए । उक्त निर्णयसँगै भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन तथा स्थायी आवास लाभग्राही पहिचानको काम सुरु गर्न औपचारिकरुपमा प्रक्रिया अघि बढेको हो । यसअघि गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘विपद् प्रभावितको निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि– २०८१’ स्वीकृत गरिसकेको छ । प्राधिकरणका सहसचिव एवं नीति योजना तथा अनुगमन महाशाखा प्रमुख भरतमणि पाण्डेले अर्थको सहमति आउनेबित्तिकै स्थलगतरुपमा टोली खटाइने बताए । यसपटक लाभग्राही कायम गरी ‘क’, ‘ख’ र ‘ग’ तीन वटा वर्गमा वर्गीकरण गरी आवास पुनःनिर्माणको काम अघि बढाइने उनले बताए । कार्यविधिमा स्थानीय तहलाई बढी जिम्मेवार बनाइएको छ । क्षतिको प्रारम्भिक लेखाजोखा स्थानीय तहले गर्नेछ । क्षति आँकलन पनि पहिलो प्राथमिकतामा स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले काम गर्न नसकेमा प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गर्नेछ । स्थानीय तहबाट आएको विवरणका आधारमा विश्लेषण गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले लाभग्राही पहिचान र कायम गर्नेछ । त्यसपछि लाभग्राही र वडाध्यक्षबीच सम्झौता हुनेछ । सम्झौताको दुई वर्षभित्रमा पुनःनिर्माण सक्ने कार्यविधिमा उल्लेख छ । पुनःनिर्माणको अनुदान तीन किस्तामा सक्ने र तीन समूहमा विभाजन गर्ने कार्यविधि तयार पारिएको छ । समूह ‘क’ का लागि पाँच लाख, समूह ‘ख’ मा परेका लाभग्राहीका लागि चार लाख र समूह ‘ग’ मा परेका लाभग्राहीलाई तीन लाख अनुदान दिइनेछ । पुनःस्थापनको हकमा घडेरी खरिद गर्न बढीमा तीन लाख दिइनेछ । घर निर्माणका लागि सरकारी बिक्री मूल्यको ९० प्रतिशत छुटमा ४० क्यूफिट काठ उपलब्ध गराइने जनाइएको छ । मनसुनजन्य विपदमा परेकाको हकमा २०७७ जेठ ३० गतेपछि, आगलागी भएकाको हकमा २०७७ मङ्सिर १ गतेपछि, भूकम्पबाट क्षति भएकाको हकमा २०७८ जेठ १ गते पछि तथा हावाहुरी, चट्याङ डुबान, बाढी, पहिरोको हकमा कार्यविधि स्वीकृत भएको मितिदेखि निजी आवास प्रबलीकरण, पुनःनिर्माण वा पुनःस्थापन लागु हुने जनाइएको छ । यसअघि २०७२ सालको भूकम्प पुनःनिर्माणका लागि पनि कार्यविधि बनाई भूकम्पको पुनःनिर्माण गरिएको थियो ।
सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए । ‘लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो,’ राष्ट्रपति पौडेलले भने, ‘विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागितासँगै लोकतन्त्र सुदृढीकरण गर्न अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शीता मुख्य विषय हो, जुन सूचनाको हकले प्रत्याभूत गर्नेछ ।’ लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्वपूर्ण माध्यमका रुपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वाभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ छ । लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था रहेको भन्दै राष्ट्रपति पौडेलले सूसुचित नागरिकमात्रै सर्वशक्तिमान हुने बताए । ‘नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुन्छ,’ उनले भने । नेपालको संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरिएको उनले जानकारी दिए । राष्ट्रपति पौडेलले कानुन कार्यान्वयनका लागि आयोगका साथै सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले आफूलाई रुपान्तरण गर्दै लगिरहेको वर्तमान अवस्थामा संविधान र कानुनले राखेका उद्देश्य सन्तोषजनकरुपमा कार्यान्वयन भने भइनसकेको उल्लेख गरे । ‘अझै पनि कैयौं नेपाली जनता आफ्नो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ । प्रभावकारी कार्यान्वयनका लागि आपूर्ति पक्ष थप संवेदशनशील हुन आवश्यक छ, त्योभन्दा बढी जनता आफैँ आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने मलाई लाग्दछ,’ राष्ट्रपति पौडेलले भने । संविधानको मर्म र कानुनको व्यवस्थाअनुसार स्थापित आयोगले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको भन्दै आजमात्र चार वटा राष्ट्र भाषा मैथिली, अवधी, थारु र भोजपुरीमा प्रकाशित सहयोगी पुस्तिकाका कारण सूचनामागकर्ता तथा बहुसङ्ख्यक नेपालीमाझ आवश्यक सूचना पुर्याउन सहयोग पुगेको राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । उनले यसैगरी थप राष्ट्रभाषामा पनि यस्तो प्रकाशन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । ‘सूचनाको हक स्थापित गर्न आयोगले सीमित साधनस्रोतबाट पनि कानुनको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार हुँदै अधिकार स्थापित गर्दै आएको छ । यसको थप प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय जिम्मेवार हुनुपर्दछ । साथै नागरिकमा जागरण ल्याउन सरकारको गम्भीर ध्यान जान जरुरी छ,’ राष्ट्रपति पौडेलले भने । स्वाभाविकरूपमा सबै सूचना सार्वजनिक हुँदैनन् र कानुनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषय पनि जनताकै हितका लागि हुन् भन्ने हामीले विर्सन नहुने उनले उल्लेख गरे ।
अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप
चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मंगलबारसम्म २ हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म १ हजार ६ सय हाराहारी हुने बिरामी अहिले दैनिक २ हजारदेखि २ हजार २ सयसम्म पुग्ने गरेका छन् । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए। लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको उनले बताए । नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखालालगायतका बढीमात्रामा छन् । उनीहरूलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो । बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । गत माघदेखिको तथ्यांक हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । माघमा ३२ हजार, फागुनमा ३४ हजार पाँच सय, चैतमा ३६ हजार दुई सय र वैशाख २० गतेसम्म २४ हजार आठ सय बिरामीले सेवा लिएका छन् । अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ । उनले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गरे । अहिले अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ । योसँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परामर्श कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उनले बताए । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको सङ्ख्या बढ्दै गएको बताए। उनले चैतमाभन्दा वैशाख लागेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको बताए । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने भन्दै उनले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गरे ।
मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति
जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म संकलन गरिएको तथ्यांक विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ । प्राप्त विवरणमा धनुषामा आठ करोड ४९ लाख, महोत्तरीमा चार करोड १४ लाख, सर्लाहीमा चार करोड ४१ लाख, सप्तरीमा पाँच करोड ४१ लाख, सिरहामा आठ करोड ४९ लाख, रौतहटमा चार करोड ९८ लाख, बारामा चार करोड १७ लाख र पर्सामा पाँच करोड ७२ लाख रुपैयाँ मूल्य बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन् । सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा एक सय ६ आगलागीका घटना भएको विवरणमा जनाइएको छ । यसैगरी सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएकोे विवरणमा उल्लेख गरिएको छ । लामो समयदेखि आकासे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्यधिक भएको प्रहरीको अनुमान रहेको छ । साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको हो ।
काठमाडौं उपत्यकालाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)
काठमाडौं । काठमाडौं उपत्यका अव्यवस्थित रूपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ । पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ । डोजरले खनेको र इटाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री गरिन्छ । न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडि जग्गा प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ । तर, मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।
चिम्टीका अग्निपीडितलाई राहत
राजविराज । आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न संघसंस्थाले राहत सामग्री प्रदान गरेका छन् । नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो । नेपाल–भारतमैत्री संघले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुङ्गी, साडी, तन्ना, झुल, प्रदान गरेको छ । सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मंगलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।