विकासन्युज

सिंहेश्वरी माविका विद्यार्थीलाई नेपाल एसबिआई बैंकद्वारा १५३ थान ट्रयाक सुट प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त विद्यालयका कक्षा एल केजीदेखि कक्षा चारसम्मका विद्यार्थीलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको हो । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको छ । सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रबन्धक सुशील निरौला, स्कुलका प्रधानाध्यापक देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरू, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेताले पाए पुरस्कार

काठमाडौं । टिभिएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधाका साथ साथै हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, र बजारकै सबै भन्दा कम आईएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराएको थियो । योजना अन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । त्यसैगरी सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा १०० प्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने राम बहादुर राणाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो ।

९२ लाख रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-२ र्‍यालेखोर र भाइवाङमा ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए । ‘यसअघि पाँच घरका लागि एउटा सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,’ उनले भने, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।’ मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरूपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए । नेवा संस्थाको ३८ लाख ७१ लाख तीन सय सात, मंगला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप ३ लाख ७५ हजार २१२ नगद संकलन गरिएको थियो । त्रिभुवन मंगला मावि र र्‍यालखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो । नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् । संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनले बताए ।

प्राइम, एभरेष्ट, नबिलबीच आरओईमा टक्कर, एनएमबी र सानिमाले पच्छ्याउँदै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूले औसत पौने ९ प्रतिशत प्रतिफल दिन सक्ने क्षमता राखेका छन् । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसत ८.८४ प्रतिशत रटर्न अन इक्विटी (आरओई) रहेको छ । बैंक कति बलियो छ भनेर रिटर्नअन इक्विटी (आरओई) अर्थात् सम्पत्तिमाथिको प्रतिफल हेरेर थाहा पाउन सकिन्छ । विभिन्न बैंकहरूले अर्बाैं नाफा गरेको देखाएपनि उनीहरूले लगानी गरे अनुसारको कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल सूचक हेर्नुपर्ने हुन्छ । १० अर्बदेखि ३५ अर्बको हाराहारीको चुक्ता पुँजी भएका बैंकहरू छन् । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको स्ट्रेन्थ कस्तो छ ? भन्ने विषय थाहा पाउन आरओई नै सबैभन्दा अब्बल सूचक हो । लगानीमा कति प्रतिशत नाफा गरेको छ ? भनेर हेर्न रिटर्न अन इक्विटी नै हेर्नुपर्ने हुन्छ । सेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफल नै रिटर्न अन इक्विटी हो । रिटर्न अन इक्विटीमा सबैभन्दा अब्बल स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । चैत मसान्तसम्म यस बैंकको आरओई १८.९२ प्रतिशत छ । प्राइम बैंक, एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक र सानिमा बैंकबीच आरओईमा प्रतिस्पर्धा देखिन्छ । प्राइमको आरओई १४.१५ प्रतिशत, एभरेष्टको १३.०४ प्रतिशत, नबिलको १२.०३ प्रतिशत, एनएमबीको १०.४३ प्रतिशत र सानिमाको १०.३४ प्रतिशत आरओई छ । साथै बैंकलाई नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंकले पछ्याइरहेका छन् । नेपाल एसबीआई र एनआईसी एशियाको समान आरओआई ८.८८ प्रतिशत छ भने सिद्धार्थको ८.८० प्रतिशत, कृषि विकासको ८.१५ प्रतिशत, सिटिजन्स र ग्लोबल आइएमईको समान ८.०४ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.८५ प्रतिशत, हिमालयन बैंकको ७.७३ प्रतिशत, प्रभु बैंकको ७.६१ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.११ प्रतिशत आरओआई छ । राष्ट्रिय वाणिज्य बैंकको ६.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६४ प्रतिशत, कुमारी बैंकको ४.०३ प्रतिशत र नेपाल बैंकको ०.४८ प्रतिशत रिटर्न अफ इक्वीटी छ ।

बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्यो

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घटेको देखिन्छ । पुँजी बजारमा बैंकहरूको सेयर मूल्यका आधारमा लगानीकर्ताको आकर्षण घटेको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का १३ वटा उपसमूहमध्ये बैंकिङ समूहमा कुनै समय लगानीकर्ताको आकर्षण हुन्थ्यो । तर, पछिल्ला दिनहरूमा भने पहिलाको जस्तो चाम देखिँदैन । नेप्सेको पछिल्लो तथ्याङ्क अनुसार बैंकहरूको सेयर मूल्य आईपीओको मूल्य सरह खस्किएको देखिन्छ । नेप्सेमा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । जसमध्ये ११ वटा बैंकको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कममा कारोबार भइरहेको नेप्सेको तथ्याङ्क छ । कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंक, नेपाल बैंक र ग्लोबल आईएमई बैंकको सेयर प्रतिकित्ता सेयर रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेका छन् । नेप्सेमा सूचीकृत बैंकहरूमध्ये ३ वटा बैंकको सेयर मूल्य १५० रुपैयाँ भन्दा पनि कममा कारोबार भइरहेको छ । सबैभन्दा कम मूल्यमा कुमारी बैंकको सेयर कारोबार भइरहेको छ । २६ अर्ब २२ करोड रुपैयाँ पुँजी भएको यस बैंकको सेयर मूल्य हाल प्रतिकित्ता १३३ रुपैयाँमा कारोबार भएको छ । जबकी बैंकको बजार पुँजीकरण ३४ अर्ब ८८ करोड रुपैयाँ मात्रै छ । साथै, एक वर्षको अवधिमा बैंकको सेयर अधिकतम प्रतिकत्ता १९५.८० रुपैयाँ पुगेको थियो भने न्यूनतम १३१ रुपैयाँमा झरेको थियो । प्रभु बैंकको सेयर पनि १५० रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको छ । यस बैंकको सेयर प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ । बैंकको सेयर मूल्य र पुँजीलाई आधार मान्दा ३२ अर्ब २७ करोड रुपैयाँ मात्रै बजार पुँजीकरण छ । त्यस्तै १५० रुपैयाँभन्दा कम मूल्यमा लक्ष्मी सनराइज बैंकको सेयर पनि कारोबार भइरहेको छ । २३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सेयर प्रतिकित्ता १४७ रुपैयाँमा बारोबार भइरहेको छ । यस आधारमा बैंकको बजार पुँजीकरण ३४ अर्ब १३ करोड रुपैयाँ छ । ५२ हप्ताको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता २०८ रुपैयाँ पुगेको थियो भने न्यूनतम १४५ रुपैयाँसम्म झरेको थियो । यस्तै, सबैभन्दा धेरै पुँजी भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर प्रतिकित्ता १५२ रुपैयाँमा बारोबार भइरहेको छ । ३४ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको बजार पुँजीकरण ५२ अर्ब १४ करोड रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता २१७ रुपैयाँ पुगेको थियो भने न्यूनमत १५० रुपैयाँमा कारोबार भएको थियो । सिटिजन्स बैंकको सेयर बिहीबार प्रतिकित्ता १५५ रुपैयाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता २०७.८० रुपैयाँसम्म सेयर मूल्य पुगेको बैंकको न्यूनमत मूल्य भने प्रतिकित्ता १५३ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । १४ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको बजार पुँजीकरण २२ अर्ब ८ करोड रुपैयाँ छ । माछापुच्छ्रे बैंकको सेयर प्रतिकित्ता १६६.३० रुपैयाँमा कारोबार भइरहेको छ । ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम प्रतिकित्ता २८३ रुपैयाँ र न्यूनतम प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, एनएमबी बैंक सेयर प्रतिकित्ता १७३ रुपैयाँ, हिमालय बैंकको प्रतिकित्ता १७६ रुपैयाँ, प्राइम बैंकको सेयर १९३ रुपैयाँमा करोबार भइरहेको छ । नेपाल बैंकको सेयर मूल्य भने प्रतिकित्ता २ सय रुपैयाँ रहेको छ ।

दुबईमा भारी वर्षाका कारण उडान रद्द, विद्यालय तथा कार्यालय बन्द

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि युएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ । यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपायहरू अपनाउन सल्लाह दिइएको छ । विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई  घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ । पार्क तथा समुद्र तटहरू बन्द गरिएका छन् । खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा  सरकारी कर्मचारीहरूका लागि घरबाट काम गर्ने घोषणा गरेको थियो । युएईको विपद् व्यवस्थापन प्राधिकरणले आगामी मौसमी अवस्थालाई सामना गर्न तयारी दोहोर्याएको छ । सम्बन्धित एजेन्सीहरू उपायहरू कार्यान्वयन गरेर पूर्वानुमानित मौसमको उतारचढाव सामना गर्न तयार रहेको उल्लेख गरिएको छ । यसअघि एनसिएम विज्ञले आगामी मौसमको अवस्था अप्रिल १६ को  जस्तो नहुने अनुमान गरेका छन् । अधिकारीहरूले आवश्यक सावधानीका उपायहरूबारे छलफल गरेका छन् । युएईले विद्यार्थीहरूले विद्यमान मौसमको कारण मे २ र ३ मा देशका सबै सरकारी विद्यालयहरूका लागि अनलाइन कक्षा लिने घोषणा गरेको छ । सरकारले सम्भावित अस्थिर मौसमी अवस्थाका कारण दुबईका सबै निजी विद्यालयमा मे २ र ३ मा अनलाइन सिकाइ हुने घोषणा गरेको छ । ज्ञान तथा मानव विकास प्राधिकरण (केएचडिए) ले यो निर्णय सबै निजी विद्यालय, नर्सरी र विश्वविद्यालयमा लागु हुने घोषणा गरेको छ । दुबई विमानस्थलका लागि पाँचवटा इनबाउन्ड उडान रातारात डाइभर्ट गरेको नौ आगमन तथा चार आउटबाउन्ड उडान रद्द गरेको विमानस्थलका प्रवक्तालाई उद्धत गर्दै खालिज टाइम्सले जनाएको छ । विमानस्थलका प्रवक्ताले भने, ‘दुबईको विमानस्थलबाट प्रस्थान गर्नेहरूलाई लागि थप समय छुट्याउन सल्लाह दिइएको छ । सडक भीडभाडको पूर्वानुमान गर्दै सम्भावित टर्मिनल १ र ३ मा पुग्न दुबई मेट्रोको उपयोग गर्न दृढतापूर्वक प्रोत्साहित गरिएको छ ।’ इमिरेट्सले बिहीबार युएईभर खराब मौसमका कारण धेरै उडान रद्द गरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन कम गरेको छ । एक विज्ञप्तिमा मे २ मा दुबई विमानस्थलबाट आगमन–प्रस्थान गर्ने उडानहरू पुनःर्निर्धारित भएका कारण केही ढिलाइ हुनसक्ने उल्लेख गरिएको छ । फ्लाईदुबईका प्रवक्ताले बिहीबार दुबईमा प्रतिकूल मौसमका कारण उडान सञ्चालनमा केही ढिलाइ भएको बताएको खालिज टाइम्सले उल्लेख गरेको छ । उनले यात्रुहरूलाई डीएक्सबीको यात्राका लागि अतिरिक्त समय दिन सल्लाह दिए । शारजहास्थित एयर अरेबियाले अबुधाबी, शारजाह र रास अल खैमाहबाट उडान गर्ने यात्रुहरूलाई मौसमको अवस्थाका कारण विमानस्थलमा थप यात्रा समयको योजना बनाउन सल्लाह दिएको छ । अबुधाबीस्थित इत्तेहाद एयरवेजले जायद अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीचको इत्तेहाद बस सेवा प्रयोग गर्ने यात्रुहरूलाई विमानस्थलमा पुग्न थप समय दिन तथा स्थानान्तरणका लागि चाँडै जाँच गर्न आग्रह गरेको छ । इन्डियन एयरलाइन्स इन्डिगोले दुबई, शारजाह, रास अल खैमाह र अबुधाबीमा खराब मौसमका कारण उडान सञ्चालन प्रभावित भएको बताएको छ । भिस्तारा र स्पाइसजेटले पनि खराब मौसमका कारण प्रस्थान, आगमन र उडानमा असर पर्ने बताएका छन् । रासस

मेरो व्यक्तिगत इच्छाले करका दरमा हेरफेर हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका दरहरू हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ छ । ‘करका दर घटाउने, बढाउने, विस्तार गर्ने वा छुट दिने जे गर्दा पनि विगतमा अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ,’ मन्त्री पुनले भने, ‘मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका अधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन भन्ने हाम्रो प्रतिबद्धता हो ।’ कुन वस्तुमा पहिला कति थियो र अहिले किन घटाइयो वा बढाइयो भन्ने तर्कपूर्ण कारण देखाएर करका देरमा हेरफेर गरिने उनले स्पष्ट पारे । आफूले सरकारवालाहरूको सहभागितामा बजेट बनाउन लागेको भन्दै मन्त्री पुनले यसअघि पूर्वअर्थमन्त्रीहरू, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, पूर्वअर्थसचिव, पूर्वधार, स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरी सुझाव संकलन गरिसकेको उल्लेख गरे । निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स र महिला उद्यमीसँग पनि छिट्टै छलफल गर्ने तय भएको जानकारी मन्त्री पुनले दिए । मुलुकको भू–अवस्थिति, प्राकृतिक श्रोत र जनशक्तिका आधारमा विकासका योजना बनाउने सरकारको नीति रहेको बताए । सरकारको नीति र नीतिगत निरन्तरताका कारण यर्पटन, ऊर्जा र सिमेन्ट उद्योगमा नेपालमा पछिल्लो डेढ दशकमा राम्रो प्रगति गरेको चर्चा गर्दै युवा वर्गलाई लक्षित गरी सूचना प्रविधि क्षेत्र, स्टार्टअप र नवप्रवर्तनलाई आगामी दिनमा प्राथमिकतामा राख्ने नीतिमा सरकार रहेको उनको भनाइ छ । एक अध्ययनले आगामी ५ वर्षमा सूचना प्रविधिका ५ खर्ब बराबरका उत्पादन निर्यातको सम्भावना औंल्याएकाले उक्त क्षेत्रको सम्भावनालाई व्यक्त गर्ने भनाइ मन्त्री पुनको छ । पछिल्लो तीन दशकमा नेपालको सरदर आर्थिक वृद्धि ४.२३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै उनले त्यसको कारण सबै मिलेर खोज्नुपर्ने बताए । नेपाल विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेको भन्दै उनले दुवै छिमेकीको गरेका विकासको प्रतिफल लिन सक्नुपर्नेमा जोड दिए । नेपालभित्रै र बाहिर रहेका युवाहरुमा सूचना प्रविधि क्षेत्रमा आकर्षण देखिएको भन्दै मन्त्री पुनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले ल्याएको अध्यादेशमा नेपालमा लगानी गरेर आर्जन गरेको धन बाहिर लैजान र बाहिर आर्जन गरेको नेपाल ल्याउन दिने व्यवस्था गरिएको जानकारी उनले दिए ।

एक सयको नोटमा नयाँ नक्सा छाप्नेदेखि विश्व बैंकको १३‍.३३ अर्ब ऋण स्वीकार गर्ने (यस्ता छन् मन्त्रीपरिषदका निर्णय)

काठमाडौं । सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ । वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यस भन्दा पहिला पुरानो नक्सा भएको नोट रहेको थियो । त्यस्तै सरकारले वैशाख २८ गते शुक्रबारका दिन २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । वैशाख २५ गते भारतको नयाँ दिल्लीमा आयोजना हुने रिजनल मिटिङ फर द लञ्च फर द रिजनल प्रोग्राम फर द साउथ एशिया (आरपीएसए) विषयक कार्यक्रममा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सहभागी हुन स्वीकृति दिने, विश्व बैंकबाट उपलब्ध हुने सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, सिम्बुवा खोला जलविद्युत आयोजनाका लागि करिव १२.३६ हेक्टर जग्गा प्राप्त गर्ने सम्बन्धी कारबाही चलाउन अधिकारी तोक्ने, नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्टार वा रजिष्टारलाई स्वीकृति दिने, भारतमा सञ्चालन भइरहेको आम निर्वाचनको अवलोकनका लागि २०८१, वैशाख २२ गतेदेखि २७ सम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, जापानी परराष्ट्रमन्त्री एचिएमएसकामीकावाकोको मिति २०८१ वैशाख २३ गने हुने नेपाल भ्रमणको अवसरमा हुने दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गर्ने र कार्यसूचि स्वीकृत गर्ने, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सरकारले मालपोत कार्यालय गौशाला र नापी कार्यालय गौशालाको कार्यक्षेत्रमा रहेको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकालाई उक्त कार्यालयहरुको कार्यक्षेत्रबाट हटाइ भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरी र नापी कार्यालय जलेश्वर, महोत्तरीको कार्यक्षेत्रमा कायम गर्न स्वीकृति प्रदान गर्ने, एशियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा २०८१ जेठ १ देखि ४ सम्म हुने एशिया एण्ड द प्यासिफक टास्कफोर्स फोरम, २०२४ कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिका प्रमुखको भ्रमण स्वीकृत गर्ने, राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश, २०५८ खारेज गर्ने, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २१ जना अधिकृतलाई सम्बन्धित सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको सहसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीको केही सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । जसअनुसार डा. गणेशप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, डा. गोविन्दप्रसाद शर्मा वन तथा वातावरण मन्त्रालयमा, डा. दीपककुमार खराल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा, डा दीपक काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, डा.रेवतीरमण पौडेल कृषि विकासमा, राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । वैशाख २० गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरुः वैशाख २८ गते शुक्रवारका दिन २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने । वैशाख २५ गते भारतको नयाँ दिल्लीमा आयोजना हुने रिजनल मिटिङ फर द लञ्च फर द रिजनल प्रोग्राम फर द साउथ एशिया (आरपीएसए) विषयक कार्यक्रममा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सहभागी हुन स्वीकृति दिने । विश्व बैंकबाट उपलब्ध हुने सय मिलियन अमेरिकी डलर (करिव १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने । यो भन्दा पहिला पुरानो नक्शा भएको नोट थियो । सिम्बुवा खोला जलविद्युत आयोजनाका लागि करिव १२.३६ हेक्टर जग्गा प्राप्त गर्ने सम्बन्धी कारबाही चलाउन अधिकारी तोक्ने । नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा सम्पन्न हुने समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न सर्वोच्च अदालतका मुख्य रजिष्टार वा रजिष्टारलाई स्वीकृति दिने । भारतमा सञ्चालन भइरहेको आम निर्वाचनको अवलोकनका लागि २०८१, वैशाख २२ गतेदेखि २७ सम्म प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत गर्ने । नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने । जापानी परराष्ट्रमन्त्री एचिएमएसकामीकावाकोको मिति २०८१ वैशाख २३ गने हुने नेपाल भ्रमणको अवसरमा हुने दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि मण्डल गठन गर्ने र कार्यसूचि स्वीकृत गर्ने । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्ति गर्ने । मालपोत कार्यालय गौशाला र नापी कार्यालय गौशालाको कार्यक्षेत्रमा रहेको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकालाई उक्त कार्यालयहरुको कार्यक्षेत्रबाट हटाइ भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरी र नापी कार्यालय जलेश्वर, महोत्तरीको कार्यक्षेत्रमा कायम गर्न स्वीकृति प्रदान गर्ने । एशियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा २०८१ जेठ १ देखि ४ सम्म हुने एशिया एण्ड द प्यासिफक टास्कफोर्स फोरम, २०२४ कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिका प्रमुखको भ्रमण स्वीकृत गर्ने । राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश, २०५८ खारेज गर्ने । लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २१ जना अधिकृतलाई सम्बन्धित सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको सहसचिव पदमा नियुक्त गर्ने । राजपत्राङ्कित विशिष्ट श्रेणीको केही सचिवहरुको सरुवा गर्ने निर्णय भएको छ । जसअनुसार डा. गणेशप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, डा. गोविन्दप्रसाद शर्मा वन तथा वातावरण मन्त्रालयमा, डा. दीपककुमार खराल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा, डा दीपक काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, डा.रेवतीरमण पौडेल कृषि विकासमा, राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुभएको छ । त्यस्तै वैशाख १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले उच्च अदालत पाटनका मान्य न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाजसमेत गर्नेगरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ । बैठकले नेपाल न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा र सचिव फणिन्द्र गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गर्ने, नेपाल न्याय सेवा तर्फका १२ जना सहसचिवहरुको न्याय सेवा आयोगको सिफारिसमा विभिन्न निकायमा सरुवा गर्ने, बुटवल महानगरपालिका वडा नम्बर १० मा तोकिएको ४ किल्लाभित्र पशु वधशाला स्थापना गर्न इजाजत दिने र २०८१ वैशाख १७ देखि २१ सम्म कम्बोडियाको निर्वाचन आयोगको क्षमता विकास कार्यक्रमको अवलोकन गर्न निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बालश्रम निषेध तथा नियमित गर्ने ऐन, २०५६ को अनुसूचिमा जोखिमपूर्ण व्यवसाय तथा कामहरु थप गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र विभिन्न सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीका २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ । २०८१ साल वैशाख १३ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरुः उच्च अदालत पाटनका मान्य न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाजसमेत गर्नेगरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने । नेपाल न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा र सचिव फणिन्द्र गौतमलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गर्ने । नेपाल न्याय सेवा तर्फका १२ जना सहसचिवहरुको न्याय सेवा आयोगको सिफारिसमा विभिन्न निकायमा सरुवा गर्ने । बुटवल महानगरपालिका वडा नम्बर १० मा तोकिएको ४ किल्लाभित्र पशु वधशाला स्थापना गर्न इजाजत दिने । २०८१ वैशाख १७ देखि २१ सम्म कम्बोडियाको निर्वाचन आयोगको क्षमता विकास कार्यक्रमको अवलोकन गर्न निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने । बालश्रम निषेध तथा नियमित गर्ने ऐन, २०५६ को अनुसूचिमा जोखिमपूर्ण व्यवसाय तथा कामहरु थप गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने । विभिन्न सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीका २८ जना सहसचिवहरुको सरुवा गर्ने । राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० स्वीकृत गर्ने ।