विकासन्युज

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने बताए । उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न वडा र पालिका अग्रसर हुनुपर्ने बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको १ करोड ४४ लाख ८४ हजार ४ सय ९० रुपैयाँ लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो । शिलान्यासपछि खोटाङ प्रदेशसभा (१) का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए । हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा अतिथिगृह निर्माणाधीन छ । निगमबाट २ करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९/८० मा २ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेस प्रदेशलगायत कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना पनि रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जयनगर-जनकपुर-भंगहा रेल सेवा ३ दिन बन्द हुने

काठमाडौं । भारतमा हुने लोकसभाका कारण जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ। भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ ९वैशाख २५० मा लोकसभा चुनाव हुन लागकोले रेल सेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ । त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ । इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा मंगलबारसम्म पूर्ण रूपमा बन्द रहने छ।

जापानकी विदेशमन्त्री योको आज काठमाडौं आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै उनी आजै काठमाडौंबाट टोकियो फर्किने कार्यक्रम छ । जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ । नेपाल र जापानबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ । हाल जापानमा १ लाख ६३ हजार नेपाली नागरिक अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा रहेका बताइएको छ । नेपाल–जापान सम्बन्ध नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आएका थिए । नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी भन्छन्, ‘नेपालको कुनै त्यस्तो क्षेत्र छैन, जहाँ जापानी सहयोगले नछोएको होस् । नेपालको आर्थिक–समाजिक विकासमा केन्द्रित भएर जापानले सहयोग गरिरहेको छ ।’ जापानी नागरिक नेपाल आएर यहाँको धर्म, संस्कृति, कला, सङ्गीत र प्रकृतिको अध्ययन गरिरहेको छन् भने केही नेपाली पनि जापानका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण ओहोदामा रहेर काम गरिरहेका छन् । राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजदूत सुवेदी बताउँछन् । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरूको उल्लासमय सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अभिकर्ताहरूको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरूलाई आफ्नो पेसामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताएका थिए । कम्पनीका नायब महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले स्वागत मन्तव्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि भन्दै आफ्नो पेसामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखी कार्य गर्न प्रोत्साहन गरे । कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्तालाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा बिक्री कलासम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरुमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुती रहेको थियो । उनले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गरे।

भानुका ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिने

तनहुँ । तनहुँको भानु नगरपालिकाले ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र प्राप्त गरेका, आश्रित परिवार, बेपत्ता, सहिद परिवार र बालगृहमा रहेका बालबालिकाको बीमा गरिदिन लागिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगरपालिकाले निःशुल्क स्वस्थ्य बीमा गर्न कार्यविधि तयार गरी स्वस्थ्य बीमा प्रक्रिया अघि बढाएको र सो कार्यक्रमका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उपप्रमुख उमा गोतामेले बताइन् । बेपत्ता पारिएका र सहिद परिवारलाई पनि स्थानीय सरकारको प्रत्यभूति दिलाउन बीमाको कार्यक्रमलाई प्राथामिकता दिइएको भानु नगरप्रमुख त्रिपाठीले जानकारी दिए ।

धुञ्चे-गोसाइँकुण्ड केबुलकार निर्माणमा ओलीको जोड

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणमा जोड दिएका छन् । नेकपा एमाले रसुवा जिल्लाको नवौँ अधिवेशनको आज धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबुलकार आवश्यक रहेको बताए । केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उनको भनाइ थियो । समृद्व नेपाल सुखी नेपालीको नारालाई शीरोपर गर्दै समयअनुसार जनतालाई फलदायी हुने विकासकार्यमा अगाडि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकासका कुरा छाडेर व्यक्ति वा समुदायमाझ विखण्डनकारी क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले केरुङ–काठमाडौं रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमुनाका रूपमा आफूले सुरु गराएको सिस्नेखोला दहचोक काठमाडौं सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेकाले अब छिट्टै सवारीसाधन आवतजावत हुने विश्वास व्यक्त गरे । एमाले रसुवा अध्यक्ष कर्नेल तामाङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा रक्षामन्त्री एवं एमाले केन्द्रीय सदस्य हरि उप्रेतीले पार्टी अध्यक्षको नेतृत्व र निर्देशनमा शिक्षा, स्वास्थ्य, कृषि, सडक सुधारलगायत राष्ट्रहितका कार्य अगाडि बढाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा पार्टीलाई योगदान गर्ने गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, संविधानसभा सदस्य छोवाङतेञ्जिङ तामाङलगायत नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले केही वर्षअघिदेखि प्रस्ताव अगाडि बढाए पनि कार्यविधि पारित नहुँदा सो प्रस्तावले मूर्तरूप लिनसकेको छैन । अध्यक्ष ओलीको स्थलगत भ्रमणपछि कार्यविधि पारित हुन सघाउपुग्ने विश्वास व्यक्त गरिएको छ ।

काठमाडौं उपत्यकाका यी क्षेत्रमा एक साता बिजुली काटिने

काठमाडौं । विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती गर्ने भएको हो । गोठाटार फिडरअन्तर्गत गोठाटारको फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा आइतबार विद्युत आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । यस्तै, सोमबार कालीमाटी र रिगमेन फिडरअन्तर्गत कुलेश्वर वितरण केन्द्रको सोल्टीमोडदेखि रवीभवनसम्म ३ घण्टा विद्युत प्रवाह हुने छैन । गोठाटार फिडरअन्तर्गत नै मंगलबार फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म लाइन काटिने भएको छ। यस्तै ताहाचल र चौमती फिडरमा पर्ने छाउनी आर्मी अस्पताल क्षेत्रमा बुधबार विद्युत कटौती हुने जनाइएको छ। प्राधिकरणले बिहीबार गोठाटार फिडरअन्तर्गत नै तेजविनायक चोकदेखि मानटार चोकसम्म विद्युत लाइन काटिने जनाएको छ । प्राधिकरणका अनुसार शुक्रबार मच्छेगाउँ फिडरअन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म विद्युत कटौती हुनेछ।