विकासन्युज

पिपुल्स पावरको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा टंकराज अर्याल

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको वैशाख १७ गते काठमाडौंमा सम्पन्न छैटौँ र सातौँ वार्षिक साधारण सभाले पुरानो सञ्चालक समितिलाई बिदाइ गर्दै नयाँ समिति चयन गरेको हो । कम्पनीका अनुसार यसअघि भरतबहादुर खत्रीको नेतृत्वको सञ्चालक समितिलाई बिदाइ गर्दे संस्थापक सेयरधनी टंकराज अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समिति सदस्यहरूमा रामकाजी श्रेष्ठ, श्रीकृष्ण अर्याल, आरती अधिकारी, उपेन पराजुली, उद्धव भट्ट र निर्वाण शर्मा चयन भएका छन् । यीमध्ये श्रेष्ठ र पराजुली सर्वसाधारण सेयरधनीहरूबाट सञ्चालकमा चयन भएका हुन् भने श्रीकृष्ण अर्याल आरती अधिकारी र उद्धव पराजुली संस्थापक सेयरधनीबाट चयन भएका हुन् । निर्माण शर्मा भने स्वतन्त्र सञ्चालकका रूपमा समितिमा आएका हुन् । सोही साधारण सभाले कम्पनीको हाल कायम ६३ लाख २६ हजार कित्ता सेयरको १ बराबर ०.५ का दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी तोकिएको थियो । पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरि पछि धकेलिएको हो । उक्त मुद्दालाई यसअघि प्राथमिकतामा राखेर सुनुवाइ गर्न अदालतबाट अग्राधिकार प्रदान गरिएको थियो। यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो । अब उक्त मुद्दामा अर्को सुनुवाइका लागि पेसी तय हुने छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ : उपकुलपति बस्नेत

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताएका छन् । आईतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका तीन सय शैय्या भन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको बताए । देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको पनि जानकारी दिए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए । उनले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालबाट गुरुयोजना अघि बढाउने प्रतिवद्धता आइसकेको जानकारी दिए । ‘देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यकता छ । चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको आँकलनमा पनि आइसकेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था छ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका सबै अस्पताल जुन ३ सय बेड भन्दा माथिका छन्, तिनीहरुमा बिस्तार हुनेछ’, उनले भने । उनले भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट आएको भन्दै खुशी व्यक्त गरे ।

गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

वासिङ्टन । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने जीएसएम एरेनाले जनाएको छ । सामसुङले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्ना एपहरूको पहुँच गर्न थप लचकता प्रदान गर्ने उद्देश्यले यो कदम चालेको हो । यद्यपि, गुगल प्ले स्टोरमा गुड लक एपलाई हाल प्रारम्भिक पहुँचको रूपमा लेबल गरिएको छ जसले प्रयोगकर्ताहरूलाई सावधानी अपनाउन सुझाव दिन्छ । गुड लक एपको अतिरिक्त, सामसुङले गुगल प्ले स्टोरमा वन ह्यान्ड अपरेशन प्लस मोड्युल पनि समावेश गरेको छ । जसले सामसुङका प्रयोगकर्तालाई थप विकल्पहरू उपलब्ध गराउन सक्ने एरिनाले जनाएको छ । उक्त मोड्युल पहिले ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध थियो र प्रयोगकर्ताहरूले अब अन्य प्लेटफर्मबाट पनि डाउनलोड गर्न सक्नेछन् । गुगल प्ले स्टोरमा सामसुङको अनुप्रयोगहरूको विस्तारले प्रयोगकर्ताहरूलाई थप सुविधा प्रदान गर्दछ । यसलाई पूर्व–रिलीज संस्करणहरूमा उत्पन्न हुन सक्ने सम्भावित बगहरूका समस्यालाई विचार गर्दै विवेकका साथ प्रारम्भिक पहुँच ट्यागमा पुग्न सल्लाह दिइन्छ । बग भन्नाले कम्प्युटर प्रोग्राम वा हार्डवेयर प्रणालीमा भएको त्रुटि, गल्ती वा त्रुटिलाई जनाउँछ । यी प्रस्तावहरू खोजी गर्न चाहनेहरूका लागि गुड लक एप र वन ह्यान्ड अपरेसन प्लस मोड्युल दुवै अब गुगल प्ले स्टोर र ग्यालेक्सीबाट डाउनलोड गर्नका लागि उपलब्ध रहेका छन् । एजेन्सी

घरजग्गा व्यवसायमा २५० खर्ब भन्दा बढी लगानी भइरहेको छ : सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले परम्परागत कानून, कारोबारको पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डिकरण रोक्न सम्भव नभएको बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आईतवार बोल्दै सचिव दुवाडीले यस्तो बताएका हुन् । उनले घरजग्गाको परम्परगत कारोबार शैली, प्रवृत्ति र कानूनहरुमा परिमार्जन बिना जग्गा खण्डिकरण रोक्न नसकिने दाबी गरे । उनले सरकारले जग्गा खण्डिकरण रोक्नको लागि जग्गाको वर्गिकरण गरेर मात्रै कित्ताकाट गर्न पाउने गरी प्रयास गरेको तर सफल नभएको बताए । जग्गा कित्ताकाट रोक्दा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्र प्रभावित भएको उल्लेख गरे । सचिव दुवाडीले सरकारले अपेक्षाअनुसार कित्ताकाट नखोलिए पनि केही समयअघि मात्रै कित्ताकाट खोलिएको बताए । उनले जग्गाको कित्ताकाट खोल्दै गर्दा व्यवस्थित शहरीकरण र दिगो विकासका अवधारणालाई जोड्ने गरी कारोबार गर्न आवश्यक रहेको बताए । घरजग्गा कारोबार सम्बन्धि विज्ञहरुले व्यवस्थित शहरीकरण र दिगो विकासका अवधारणालाई जोड्न विज्ञता देखाउनुपर्नेमा जोड दिए । घरजग्गा कारोबार विज्ञहरुले आफ्नो विज्ञता जग्गा खण्डिकरणलाई जोगाएर व्यवस्थित बनाउनमा लगाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि सरकार निजी क्षेत्रसँगै रहने बताए । उनले घरजग्गा कारोबारको क्षेत्रमा ठूलो सम्भावना र अवसर रहेको बताए । अहिले पनि १८ हजार संस्थाहरु सक्रिय रुपमा घरजग्गा व्यवसायमा क्रियाशिल रहेको बताए । घरजग्गा व्यवसायमा २५० खर्ब भन्दा बढी लगानी भइरहेको बताए । घरजग्गा कारोबारलाई सुव्यवस्थित बनाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउँदै व्यवस्थित र योजनावद्ध रुपमा अगाडि बढ्ने घरजग्गा व्यवसायीहरुको उदेश्य पूरा गर्न सकिने जानकारी दिए । ‘कृषि प्रधान मुलुक हौं । विमानस्थलमा हेर्दा दैनिक २ हजार युवाहरु देश रोजगारीको खोजीमा विदेश गइरहेको अवस्था छ । कृषि प्रधान मुलुकले विहानदेखि बेलुका खानुपर्ने खाद्यान्नका विषय पनि आयातमा निर्भर गर्नुपरेको छ ।  चामलको आयात कम हुँदैछ भन्ने बित्तिकै हाम्रो बजार सशंकित हुने मुलुकमा राम्रो घरमात्रै बनाएर पुग्दैन । जसकारण भुमिको खण्डिकरण रोक्न सम्भव छैन । २५० खर्ब भन्दा बढी लगानी भइरहेको छ । यसलाई सुव्यवस्थित बनाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउँदै व्यवस्थित र योजनावद्ध रुपमा अगाडि बढ्नसक्यौं भने घरजग्गा व्यवसायीहरुको उद्देश्य पूरा गर्न सकिन्छ’, उनले भने । उनले नेपाल कृषिप्रधान मुलुक भएपनि कृषि जमिनको हिस्सा फरक रहेको बताए । कृषिप्रधान मुलुक भएपनि बिहानदेखि बेलुका खानुपर्ने खाद्यान्नका विषय पनि आयातमा निर्भर हुनुपरेको बताए । सरकार र निजी क्षेत्र मिलेर व्यवस्थित शहरीकरण गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा पनि जोडिएर जानुपर्ने अवस्था आएको बताए । चामलको आयात कम भयो भन्दा बजार सशंकित हुने मुलुकमा राम्रो घरमात्रै बनाएर नपुग्ने बताए । घर बनाउँदै गर्दा कृषिसँग जोडेर उत्पादन र उत्पादकत्व सुनिश्चित हुनेगरी योजनाहरु बनाउन आवश्यक रहेको जानकारी दिए ।

सीजी फुड्समा भएको घटनाप्रति नेपाल उद्योग परिसंघको ध्यानाकर्षण

काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय रहेको परिसघंले जनाएको छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघले माग गरेको छ । ‘हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं’, परिसंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाली सिमेन्ट उद्योगमा तहल्का मच्चाएको होङ्सीको आम्दानीमा भारी गिरावट, ऋणको रेटिङ घट्यो

काठमाडौं । विदेशी लगानीको होङ्सी शिवम् सिमेन्टको आम्दानी १९ प्रतिशतले घटेकाे छ । आर्थिक मन्दीबीच सिमेन्टको आम्दानी सन् २०२३ उल्लेख्य दरमा घटेको हो । रेटिङ एजेन्सी इक्राका अनुसार होङ्सीले आर्थिक वर्ष २०२३/२४ को पहिलो ६ महिनामा ४ अर्ब ८६ करोड २० लाख आम्दानी गरेको छ ।आर्थिक वर्ष २०२२/२३ मा १३ अर्ब ८१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख, २०२१ मा १७ अर्ब ४५ करोड ७० लाख र सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख रुपैयाँबराबर सञ्चालन आम्दानी गरेको थियो । कोइलाको भाउ बढ्नु र सिमेन्ट उद्योगमा व्यापक प्रतिस्पर्धा लगायत कारण कम्पनीको आम्दानीमा गिरावट आएको छ । यिनै सूचक हेरेर क्रेडिट रेटिङ एजेन्सी इक्राले होङ्सी शिवम सिमेन्टको दीर्घकालीन ऋण रेटिङ घटाएको छ । इक्राका अनुसार होङ्सी शिवम्को ६ अर्ब ५० करोडको दीर्घकालीन ऋणको रेटिङ घटाएर २ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा झारेको छ । इक्राले ‘नकारात्मक प्रभावहरू सहित हेरेर’ होङसीको ऋणको क्रेडिट रेटिङ घटाएको जानकारी दिएको छ । सन् २०१५ सेप्टेम्बरमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट प्रालिले क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको क्लिंकर उत्पादन क्षमता प्रतिवर्ष २० लाख टन र सिमेटन्ट उत्पान २३ लाख टन रहेको छ । होङ्सी शिवम्मा हङकङ रेड लायन सिमेन्ट नम्बर ३ लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम् होल्डिङ्स प्रालिको ३० प्रतिशत लगानी छ । नवलपरासीको बिनायी त्रिवेणी गाउँपालिकामा कारखाना रहेको होङ्सी शिवम्ले होङ्सी ब्रान्डमा ‘अर्डिनरी पोर्टल्यान्ड सिमेटन्ट’ (ओपीसी) र ‘पोर्टल्यान्ड पोजोलाना सिमेन्ट’ (पीपीसी) सिमेन्ट उत्पादन गर्दै आएको छ । एकताका होङ्सी सिमेन्टको प्रवेशले नेपाली सिमेन्ट उद्योगमा तहल्ताकै मच्चिएकाे थियो । कुनैबेला प्रतिबोरा १ हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने सिमेन्टमा होङ्सी नेपालमा आएपछि ५/६सय रुपैयाँमा झरेको थियो । त्यसपछि अधिकांश नेपाली सिमेन्ट उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका थिए भने कतिपय अहिलेसम्म घाटामा नै सञ्चालन भइरहेका छन् । होङ्सीकै कारण अहिले नेपालमा सिमेन्टको मूल्ल बढ्नबाट रोकिएको छ । बजारमा ओपीसी सिमेन्ट ७ सयकाे हाराहारी र पीपीसी सिमेन्ट ६ सयकाे हाराहारीमा किन्न पाइन्छ । उपभोक्ताको लागि खुशीको विषय भएपनि एउटा होङ्सीकाे कारण दर्जनाैं उद्याेग संकटमा छन् ।

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री 

काठमाडौं । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आईतबार दिउँसो यहाँ आइगेकी छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् । भ्रमणका क्रममा उनले काठमाडौं दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नै छिन् । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् ।