
काठमाडौं । ग्रालोबल मोबिलिटी र अबर्न सर्भिस प्लेटफर्म इनड्राइभले आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरु गरेको छ ।
इनड्राइभले सोमबार पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा कम्पनीमा दर्ता भएर सेवा दिन थालेको जानकारी दिएको छ । इनड्राइभले दर्ता बिना करिब ३ वर्ष सेवा दिइसकेको छ ।
कम्पनीले औपचारिक सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने पनि बताएको छ ।
पत्रकार सम्मेलनमा इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, ‘एउटा ब्राण्डको रूपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरूका लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो, इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा सुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौं, इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ, हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’
कम्पनीले काठमाडौंका साथै पोखरा र धरानमा पनि आफ्नो सेवा सुरु गरेको छ । कम्पनीका अनुसार छिट्टै अन्य सहरमा सेवा सुरु गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने जानकारी दिएको छ ।
‘नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको सुरुवात गरेको छ । हाम्रा प्रयोगकर्ताहरूलाई निर्वाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्नरको रूपमा हामीले आइएमईसँग साझेदारी गरेका छौं,’ इन्ड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन् ।
पछिल्लो समय ट्राफिक प्रहरीले दर्ता बिना चलेको भन्दै इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने गरेको थियो ।

