रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा (तस्बिरहरू)
ललितपुर । ललितपुरको पुल्चोकमा रातो माछिन्द्रनाथको रथ निर्माणको अन्तिम चरणमा पुगेको छ । रातो मच्छिन्द्रनाथलाई आगामी वैशाख २७ गते रथारोहण गरी २९ रथ तनी जात्रा मनाउने साइत रहेको छ । रथ निर्माण कार्यमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।
अनिश्चितकालका लागि सिटिजन लाइफको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोकेको छ । सिटिजन लाइफले घोषणा गरेको लाभांशमा लगानीकर्ताहरूलाई दुविधा श्रृजना गरेकाले अनिश्चितकालका लागि सेयर कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘सिटिजन लाइफको लाभांश घोषणाले पुँजी बजारमा दुविधा श्रृजना गर्याे । अब यस कम्पनीलाई के एक्सन लिने हो भनेर कारोबार रोक्का गरिएको हो,’ प्रवक्ता पराजुलीले भने । उनका अनुसार कम्पनीलाई के कस्तो कारवाही गर्नुपर्छ भनेर नेपाल धितोपत्र बोर्डलाई रायसुझाव माग गरिएको छ । बोर्डले जुन सुझाव दिन्छ सोही अनुसार अघि बढ्ने उनले बताए । ‘कहिलेसम्म सेयर कारोबार रोक्का हुन्छ भन्ने विषय तोकिएको छैन । आज बोर्डलाई सोधेर कम्पनीलाई पत्र काट्छौं । कम्पनीले दिएको उत्तर पेस गरेपछि थप एक्सन लिन्छौं,’ उनले भने । सिटिजन लाइफले सोमबार २८.४ प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेको थियो । बैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा थियो । तर, प्रक्रिया नअपनाएको भन्दै नेपाल बीमा प्राधिकरणले सो लाभांश रोकेको हो ।
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए । ‘तपाईंहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।’ नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए । ‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,’ प्रधानमन्त्री दाहालले भने । युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिए । रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा धर्ना दिएका थिए । प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुिद्ध जिसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री दाहालले ती परिवारका सदस्यलाई भेट उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सभामुख घिमिरेद्वारा आह्वान गरिएको सर्वदलीय बैठक सुरु
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु भएको छ । आगामी अधिवेशन सुरु हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँगको बैठक राखेका हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् । यस्तै बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकहरू पनि उपस्थित छन् । रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । सभामुखले आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले दलहरूबीच बैठक राखेका हुन् ।
जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताएका छन् । मंगलबारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जिडिपीमा उद्योग क्षेत्रको योगदान बढाउन धेरै ठूलो सुधारको आवश्यकता रहेको पनि उल्लेख गरे । सरकारलाई निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहित गर्दै योगदान बढाउन सबै मिल्नुपर्ने जानकारी दिए । उनले तुलनात्मक लाभ लिइ व्यापार बिस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उद्योगको प्रवद्र्धन गर्ने, स्वदेशी उद्योगलाई महत्व दिन पनि मन्त्रालय तयार रहेको पनि बताए । विदेशी लगानी आकर्षित गर्न र उद्योग क्षेत्रमा कसरी लगानी प्रवद्र्धन गर्न सकिन्छ ? विदेशी लगानी कर्तालाई भित्र्याउन सकिन्छ भन्नेमा निजी क्षेत्रको अनुभव समेतको आधारमा विदेशी लगानी कर्ता प्रोत्साहित गर्न निजी क्षेत्रको समेत महत्वपूर्ण भुमिका रहेको जानकारी दिए । मन्त्री भण्डारीले सरकारले उद्योग सञ्चालन गर्ने नभइ सहुलियत प्रदान गर्ने रहेको बताए । उनले सरकारले विशेष गरी कानूनी जटिलताहरुको समाधान गर्ने रहेको जानकारी दिए । कानूनी जटिटलताहरु समाधान गर्न सरकारले अझै नसकेको बताए । यही समयावधिमा पनि संसद सञ्चालन भएको दुई वर्ष पुग्न लागेको भन्दै दुई वर्षमा जम्मा दुई वटा पनि कानून बन्न नसकेको बताए । राज्यका अंगहरु, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाको क्षेत्राधिकार उद्योगमैत्री नरहेको पनि जानकारी दिए । ‘अहिलेको परिवर्तित सन्दर्भमा अब यहाँ थुप्रै सन्दर्भमा थुप्रै अभिव्यक्तिहरु आउँछन् । हिजोका उद्योग रुग्ण अवस्थामा रहे । किन सञ्चालन हुन सकेनन् । त्यतिखेर राज्यले सञ्चालन गरेका उद्योगहरु । खै हिजो बेच्यौँ, तर आज सरकारले एउटा पनि उद्योग चलाउ भन्छौँ । कानून निर्माण गर्न हामी तयार छौँ । संसदमा टेबलु भयो, छलफल भयो, समितिमा पठाउँ भन्दा संसद अवरुद्ध भएर पठाउन सकिएन । दुई वटा संसद अधिवेशनका सेसनहरु गए तर दुई वटा कानून बनेनन्’, उनले भने । मन्त्री भण्डारीले राजनीतिक दलहरु कानूनमा केन्द्रित भएर नीति निर्माण गर्नुपर्ने ठाउँमा सत्तामा केन्द्रित भएको बताए । सत्ता प्राथमिकतामा राख्दा आवश्यक कानून निर्माण हुन नसकेको, बनेका कानूनहरु पनि कार्यान्वयनमा आउन नसकेको जिकिर गरे । वस्तुमा आधारित उद्योगलाई प्रमोशन गर्न राज्य नै तयार नभएको जटिलतापूर्ण अवस्था रहेको जानकारी दिए । उद्योग क्षेत्रको योगदान निर्माण गर्न नसकेसम्म र विकास गर्न नसकेम्म आर्थिक अवस्थालाई चलायमान बनाउन नसकिने बताए ।
केबी उप्रेतीको गुनासो : बिरामी भएर भारत गएको थिएँ, भाग्यो भनेर चर्चा भयो
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा बोल्दै उनले आफूविरुद्ध सडयन्त्र गर्ने किसिमले गलत सन्देश प्रवाह गरेर भागेको चर्चा भएको बताएका हुन् । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र अझै पनि यही क्षेत्रमा रहेर यस क्षेत्रको विकास र विस्तारमा लागिरहने धारणा राखे । उनले आफूमाथि गलत राजनीति भएको पनि टिप्पणी गरे । ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा गरियो, जुन दुःखद विषय हो, आफै आवद्ध राजनीतिक दलका साथीहरूबाट पनि असयोग हुँदो रहेछ,’ उनले भने । उनले वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे । अध्यक्ष उप्रेतीले अहिले आफू उपचार गराएर फर्किएको जानकारी गराए । केही समय अगाडि केही सञ्चार माध्यमले उनी आवद्ध सहकारी संस्थामा समस्या सिर्जना भएको र उनी फरार भएको समाचार सम्प्रेषण गरेका थिए ।
सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कुनै हालतमा छोडिँदैन : रजिष्ट्रार घिमिरे
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारवाही गरेरै छाड्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा बाल्दै उनले सहकारीको प्रभावकारी नियमनका लागि बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका हुन् । उनले सहकारीमा यस्ता किसिमका गोष्ठीले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने धारणा राखे । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही सर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने । अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै उनले सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर समाधानको बाटोतर्फ लाग्नु पर्ने धारणा राखे । ‘सबैले मःम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ, यसमा सञ्चालकको बदमासी कति छ, यो विषय पनि समीक्षा हुनुपर्छ,’ उनले भने ।
एनआईसी एशिया बैंकको कर्जासम्बन्धी छुट योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा छुट प्रदान गर्ने योजना ल्याएको हो । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकममा छुट प्रदान गर्ने योजना ल्याएको हो । मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी हुन सक्ने छन् । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।