मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले नगरपालिकाका अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दीपेशकुमार साह, कार्यापालिका सदस्य सोगरा खानुत, वडा नम्बर १ का वडाअध्यक्ष अनिलकुमार झाविरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेकाे छ । उनीहरूमाथि जलेश्वर नगरपालिक-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोप लागेकाे छ ।
बालमन्दिर जग्गा प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं नक्सालस्थित बालमन्दिर जग्गा प्रकरणमा तत्कालीन पदाधिकारीसहित २० जना विरुद्ध पक्राउ पुर्जी गरेको छ । बालमन्दिरका तर्फबाट जाहेरी परेपछि सिआइबीले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो । बालमन्दिरले आजै सिआइबीमा जाहेरी दिएको थियो । जाहेरी परेकाको नाम र पक्राउ पुर्जी जारी गरिएकाको नाम भने बाहिर आएको छैन । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । धेरैजसो जग्गा विभिन्न सरकारी निकायले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा बृहस्पति विद्या सदन नामक निजी विद्यालयलाई ५९ वर्षका लागि सस्तो भाडामा दिइएको बताइएको छ । यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । उक्त अनुसन्धानबाट जग्गा दुरुपयोग भएको खुले पनि औपचारिक रूपमा जाहेरी नपर्दा मुद्दा प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजस्व संकलन
कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म विभिन्न राजस्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ रुपैयाँ राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए । निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ रुपैयाँ राजस्व संकलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार ९ सय राजस्व संकलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार ९ सय ८, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख ६ हजार ५ सय २५ राजस्व संकलन गरेको छ । यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम १ लाख १८ हजार आठ सय रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व संकलन गरेको उनले बताए । जसअन्तर्गत कार्यालयले सवारीसाधन कर शीर्षकबाट सबैभन्दा बढी ४७ करोड १७ लाख ७२ हजार १ सय ४४ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १५ करोड ४२ लाख ७६ हजार ७ सय २५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट १ करोड २२ लाख ६ हजार ५० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट ९ लाख ९२ हजार १५ राजस्व संकलन गरेको छ । यस आर्थिक बर्षमा बेरुजु रकम १ लाख ६३ हजार चार सय ८० रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । यस्तै कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न राजस्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार १ सय ९२ राजस्व संकलन गरेको जनाइएको छ ।
सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा
काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक पेमेन्ट क्युआर सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार डाइनामिक पेमेन्ट क्युआर सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको सूचना र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ । डाइनामिक पेमेन्ट क्युआर सिस्टममा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आइपीयस एप लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ । ‘अरु क्षेत्रमा ‘डाइनामिक क्यूआर’ पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरक–फरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले भने, ‘यस ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’को मद्दतले सेवाग्राहीहरूले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइटमार्फत् आफ्नो विवरण भरेर ‘डाइनामिक क्यूआर’ प्राप्त गर्ने र सो ‘डाइनामिक क्यूआर’ स्क्यान गरी छिटोछरितो रूपले बीमाशुल्क भुक्तानी गर्न सक्नाका साथै भुक्तानीको विवरण सेवाग्राहीहरूले तुरुन्तै एसएमएसमार्फत प्राप्त गर्न सक्नुहुनेछ ।’ यो सुविधा लिन हाम्रा बिमितहरुले देश भरि रहेका १७८ शाखा कार्यालयहरु वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई सर्भिस अपसनमा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सकिनेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्की सर्वोच्च अदालतमा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालतमा पुगेका छन् । बिहीबार बिहान कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक रहेको भन्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनको रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गरिएको छ । उनले कोशीको मुख्यमन्त्रीमा आफूलाई नै निरन्तरता दिनसमेत माग गरेका छन् । कार्कीको रिट निवेदन आइपुगे पनि त्यसमाथि अध्ययन भइरहेकाले दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासन स्रोतले बताएको छ । उता भने कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । उनले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेस गरेका हुन् ।
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो । उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । ‘यसपालि उखु मिलबाट सबै रकम पाइयो’, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरी भन्छन्, ‘तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौँ ।’ आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ । उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाह भन्छन्, ‘यो अवैज्ञानिक छ ।’ बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्याङ्कनलाई मूल्य निर्धारणको आधार बनाइन पर्ने उनी बताउँछन् । अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा कमसेकम रु सात सय प्रतिक्विण्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगबीचको सहमतिपछि छ सय १० रुपैयाँ कायम भएको । पाँच सय ४० रुपैयाँ उखुको मूल्यबापत उद्योगले दिने र ७० रुपैयाँ सरकारले अनुदानबापत दिने गरेको छ । किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम पाउन बाँकी छ । उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ । एकदशकअघि १८ हजार बिघामा उखुखेती हुनेगरेको थियो । उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताए । एभरेष्ट चिनी उद्योग वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिए । उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ । रासस
आर्थिक मन्दीले ९१ साना उद्योग बन्द
पर्वत । कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले बताए । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको सङ्ख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ वटा उद्योग खारेज भएका थिएभने दुई सय ७४ वटा व्यवसाय दर्ता भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ वटा योजना रहेकामा १९ वटा योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले बताए । रासस
अटो क्षेत्र अब एकादेशको कथा बन्ने अवस्था आउँदैछ : करण चौधरी
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रको बिजनेस ७२ प्रतिशतले घटेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘विगतमा चारपांग्रे सवारीसाधन १९ हजार आयात हुन्थ्यो, अहिले ६ हजारमा सीमित भएर यो महिना १२ हजार पुग्छ कि भन्ने विश्वास छ,’ उनले भने, ‘त्यो पनि ईभीको संख्या जोडेर ।’ अध्यक्ष चौधरीले अहिले नेपालमा कमर्सियल भेइकलको काम इण्डियन मालवाहक भेइकलले गरेको पनि बताए । यस्तै उनले मान्छे डिजेल पेट्रोलका गाडीबाट ईभीमा ट्रान्सफर भए भन्ने बजार हल्ला पनि गतल भएको बताए । अध्यक्ष चौधरीले अहिलेको समयमा अटो क्षेत्रले मात्रै नभएर डिलरहरू पनि समस्यामा भएको बताए । ‘डिलरको पनि लगानी डुबिरहेको छ, अधिकांश डिलरले जग्गा लिनु भनेर भन्छन् ।’ उनले गाडीका ४० प्रतिशत पार्टस् र लुब्रिकेन्ट अवैध रूपमा भित्रिरहेको बताए । ‘यो अवस्थामा अब अटो क्षेत्रको भविष्यमाथि प्रश्न गर्ने बेला आएको छ, अब सबैका लागि एकादेशको कथा अटो क्षेत्र बन्न सक्छ,’ उनले भने ।