विकासन्युज

इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा

काठमाडौं । इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल सुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो । मे २ देखि सेप्टेम्बर २५ (वैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनका लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो । कार्यक्रमले प्रमुख आठ स्थानहरूः काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ । कम्पनीका अनुसार योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो । यो निःशुल्क तालिम कार्यक्रमले समुदायभित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरूलाई उत्प्रेरित गर्ने लक्ष्य राखिएकाे छ । यो कार्यक्रमले सहभागीहरूलाई दौड प्रशिक्षण र समर्थन प्रदान गरेर शारीरिक र मानसिक रूपमा आफूलाई विकास गर्नुका साथै व्यक्तिगत कल्याणका लागि होस् वा खेलकुदमा करियर बनाउनका लागि सशक्त बनाउने प्रयास गर्नेछ । ‘योरपेस किप फिट सर्किट नेपाल’ तालिम सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध रहेकाे इन्ड्राइभले जनाएकाे  छ । कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

झिनो अंकले नेप्से बढ्दा होटल तथा पर्यटन समूह चम्किए

काठमाडौं । बिहीबार सेयर बजार ५.६३ अंकले बढे पनि ११५ कम्पनीको सेयर घटेको छ । आज नेप्से ५.६३ अंक अर्थात ०.२८ प्रतिशतले बढेर १६६६.२३ विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको सेयर बढ्दा ११५ कम्पनीकै सेयर घटेको छ । त्यस्तै १४ कम्पनीको सेयर स्थिर रहेको छ । आज ३१३ कम्पनीको ७० लाख ५८ हजार कित्ता सेयर ४९ हजार ३३२ पटक खरिद/बिक्री हुँदा ३ अर्ब १२ करोडको कारोबार भएको छ । आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको हो । बुधबार २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज जीबन बिमा ४३.५७ अंकले, उत्पादन र प्रशोधन समूहको ७.८३ अंकले र लघुवित्त समूहको सूचक ३८.९५ अंकले घटेको छ । अन्य सबै सूचक बढेको छ । नेप्से परिसूचक झिनो अंकमा वृद्धि हुँदा होटल तथा पर्यटन समूह भने ३४२ अंक अर्थात ६.९६ प्रतिशत बढेको छ । धेरै मूल्य बढेका कम्पनीमा पनि होटल तथा पर्यटन समूहकै कम्पनीहरू अगाडि रहेका छन् । आज ओरियन्टल होटलको ८.४६, सिटी होटलको ७.९९, सोल्टी होटलको ७.४१, तारागाउँ रिजेन्सीको ६.५६ प्रतिशत मूल्य बढेको छ। कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको आज १६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भएको छ ।

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै मन्त्री चौधरीले भनिन्, ‘जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’ उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिइन् । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन् । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुने गरी काम गर्नुपर्ने भन्दै उनले सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको बताइन् । त्यसका बाबजुद पनि बढीभन्दा बढी सेवाग्राही लाभ हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्‍मा उठेका प्रश्नहरूको सम्बोधन गर्न सम्बन्धित शाखाबीच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिइन् । त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्णरूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए । मन्त्रालयले काम गर्ने क्षेत्र ठूलो भएको भन्दै उनले जिम्मेवारीअनुसार सबै क्षेत्रमा राम्रा काम गर्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

लघुवित्तबाट बैंक ‘एक्जिट’ हुनुपर्छ, घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कहीँ पुगिँदैन

अहिले बैंकरहरू बैंकमा ५/६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको भनेर विभिन्न सार्वजनिक छलफलका कार्यक्रमहरूमा बोलेको सुन्छु । बैंकमा पैसा त छ तर कुनै बैंकलाई (कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिर्काइरहेको छ, कुनैलाई पुँजीले त कुनैलाई रिकभरी र कुनैलाई खराब कर्जाले हिर्काइरहेको छ । तपाईंहरूसँग भएको कन्फर्टटेबल पैसा कति हो ? यसको जवाफ बैंकरले दिनुपर्छ । राष्ट्र बैंकले सीडी रेसियो ८० प्रतिशत बनाएको दिन तपाईंहरूको लगानीयोग्य पुँजी कति रहन्छ ? अहिले ७९/८० प्रतिशत सीडी कायम भएको बेला तपाईंहरू गुनासो गरिरहनु भएको छ । सीडी रेसिया बैंकहरूका लागि मेजर विषय पनि होइन । राष्ट्र बैंकले ९० प्रतिशतत सीडी रेसियो कायम गरेर दुनियाँमा कतै नभएको अभ्यास गरेको हो । भोलि राष्ट्र बैंकले सीडी रेसियोलाई ८० प्रतिशतमा झार्यो भने त्यतिबेला अवस्था के बन्छ ? यो अवस्थाको पूर्वमूल्यांकन बैंकरले गर्न सक्नुपर्छ । अर्को, अहिले बैंकरहरू भुक्तानीको कुरा गरिहरेको सुन्छु । सरकारले भुक्तानी गर्नुपर्ने पैसा तिरेन भनेर ३०/४० अर्बको कुरा गरिरहनु भएको छ । यहाँ खर्बको लगानीयोग्यको कुरा पनि आइरहेको छ । निर्माण व्यवसायीले पनि ५०/६० अर्ब रुपैयाँ भुक्तानी नपाएको कुरा उठाइरहनु भएको छ । तर, भुक्तानी माग गरिरहनु भएको छ तर आयोजना सम्पन्न भएको छैन । भोली आयेजना सम्पन्न नहुँदै बिलबिजक बिना भुक्तानी गर्यो भने पनि अर्को समस्या आउँछ । भोलि भुक्तानी दिने व्यक्ति नै जेल जान सक्ने अवस्था बन्न सक्छ । काम सम्पन्न भइसकेका र भुक्तानी पाउनु पर्ने रकम कति हो भनेर एकिन रकम भन्न सक्नुपर्छ । कोरोना बीमाको कुरा पनि त्यस्तै हो । कतिपय भुक्तानी गर्नु पर्ने पैसा पनि छ र नगर्दा हुने पैसा पनि छ । यस विषयमा पनि स्पष्ट हुन जरुरी छ । स्वास्थ्य बीमा र कृषिको अनुदानको पैसा पनि दिनै पर्नेछ । त्यसले अर्थतन्त्रमा केही ‘बुष्टअप’ गरे पनि समस्या समाधान भने गर्न सक्दैन । महत्वपूर्ण विषय अहिले कर्जाको माग भएन भन्ने पनि छ । ऋणमाथि ऋण थपेर समस्याको समाधान हुँदैन । हामीले २५/३० लाख मानिसलाई ऋण दिइसक्यौं, अनि समस्या कहाँ भयो ? म भन्छु बैंकहरू लघुवित्तबाट बाहिर जानुपर्छ । एसएमईमै केन्द्रित हुनुपर्छ । बैंकहरूका लागि लघुवित्तको बिजनेस धेरै चल्दैन । अब धितोमा आधारित कर्जामै बैंकहरू जानुपर्छ । सरकारले सबै ठीक्क पारिदियोस् अनि हामी जाऔंला, काम गरौंला भन्ने आशामा बैंकरहरू हुन्छन् । आशामा बस्नु हुँदैन । बैंकहरूले नाफाको थप एक प्रतिशत खर्च गरेर थप परियोजनामा लगानी गर्नुपर्छ । फाइनान्सिङको इनोभेसन गर्नुहोस् । बैंकहरूले सरकारले बनाइदेला र लगानी गरौंला भन्ने आशमा बस्नु हुँदैन । सरकारले पकाइदेखा र म खाउँला भन्ने मानसिकतामा बस्नु हुँदैन । यति काम बैंकले पनि गर्नुपर्छ । बैंकहरु परियोजना फाइनान्सिङमा जानै पर्छ । अन्तर्राष्ट्रिय नेटवर्कलाई प्रयोग गरेर लगानी ल्याउन सहयोग गर्न सक्नुपर्छ । त्यसले बैंकलाई मात्रै होइन समग्र देशलाई टेवा पुग्छ । यस कारण बैंकबाट पनि पहलकदमी पुगेको छैन । सम्पत्तिको मूल्यांकन बढ्दा लोन क्रियसन पनि बढ्छ भन्ने तर्क बैंकरको हुन्छ । कर्जा प्रवाह पनि बढ्छ भन्ने तर्क ठीक छैन । यो बाटो हिँडेर कतै पुगिँदैन । घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कतै पुगिँदैन । हामीले आम्दानी बढाउने विषय र क्षेत्रमा लगानी गर्नुपर्छ । यसले पुँजी निर्माण हुन सक्दैन । बरु पुँजीको जोखिम सिर्जना हुन्छ । हामी आर्थिक मन्दीमा छौं । त्यसबाट माथि जान सकिन्छ । बाहिरी क्षेत्र राम्रो भएको छ भन्ने बहस हुन्छ । तर, सुधार भएको छैन । व्यापार घटेर राम्रो भएको कुरालाई राम्रो मान्न सकिँदैन । दुई वर्षयता देशको व्यापार २२ प्रतिशतले घटेको छ । निर्यात अझै बढी घटेको छ । आयात घट्दा ढुवानीको सेवा घटेको छ । ट्रकको व्यापार घटेको छ । डिजेलको बिक्री भइरहेको छैन । मन्दी आउनुको कारण आयातसँग जोडिएको छ । त्यही आयात घटेको कारण सञ्चिति बढेको हो । यसमा हामीले खुसी मनायौं भने यो उल्टो हुन्छ । त्यस कारण बाह्य क्षेत्रमा सञ्चिति बढेको छ, हामीलाई भुक्तानीको समस्या छैन, त्यति मात्रै हो । धेरै खुसी हुनु पर्ने अवस्था छैन । पर्यटनमा सुधार भएकै हो । तर, जति पर्यटक हामीले भित्र्याइरहेका छौं, त्यसको दोब्बर हाम्रा मान्छे बाहिर गइरहेका छन् । उनीहरूले पुँजी बाहिर लिइरहेका छन् । यसमा पनि खासै खुसी हुनु पर्ने अवस्था म देख्दिनँ । रेमिट्यान्सबाट पैसा बढिरहेको छ । यो पनि आयात कम भएकोले बढी देखिएको हो । आयात बढ्दै गयो भने रेमिट्यान्स कति हराउँछ हेर्दै जाउँला । केही नीगित सुधार गर्न आवश्यक नै छ । उदाहरणका लागि केही लगाउन नहुने ठाउँमै करको नीति लगाइयो । जसले पुँजी बाहिरिएको अवस्था पनि छ । मौद्रिक नीतिमार्फत् चालु पुँजी कर्जामा अझैं खुकुलो गर्नतर्फ ध्यान दिनुपर्छ । कहिले सतप्रतिशत कडाइ गर्ने र कहिले सतप्रतिशत खुकुलो नीति बनाउनुहुँदैन । लोन भ्यालू रेसियो चलायमान बनाउनुपर्छ । व्यवसायीलाई अहिले सास फेर्न दिनुपर्छ । व्यवसाय र बैंकिङ नै जोखिममा पर्ने काम गर्नु हुँदैन । नियमनकारी निकायबाट धरपकड गर्ने नीति बनाउनु हुँदैन । पारदर्शी ढंगबाट जानुपर्छ । एउटा व्यवसायीलाई समात्दा समग्र व्यावसायिक क्षेत्रको मनोबल गिर्छ भने त्यसतर्फ पनि राज्यले ध्यान पुर्याउनु पर्छ । हतोत्साहित गर्ने काम बन्द गर्नुपर्छ । हामीले आशा गर्नु पर्ने ठाउँ छ । हामी बटमबाट माथि लाग्न थालेका छौं । आर्थिक वृद्धिदर साढे तीन प्रतिशत हुने अनुमान छ । बैंकको कर्जा वृद्धिर ५ प्रतिशत पुग्नै लागेको छ । ब्याजदर घटेको छ । अब बैंकरले तीन वर्षसम्म १० प्रतिशतमा ऋण दिन्छौं भनेर घोषणा गर्न सक्नुपर्छ । त्यसपछि मात्रै व्यवसायीमा पनि आत्मबल बढ्छ । (सार्वजनिक कार्यक्रममा राखेको धारणा)    

पाँचतारे ह्यातको नाफा ३९ प्रतिशत बढ्यो

काठमाडौं । प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी (ह्यात) ले ३९ प्रतिशतले नाफा वृद्धि गरेको छ । ह्यात सञ्चालक कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो । वित्तीय विवरणअनुसार ह्यातले पछिल्लो नौ महिनामा ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्ममा भने ह्यातले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अक्युपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । यस कारण समीक्षा अवधिमा होटलको आम्दानी १२ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलले १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब १ करोड रुपैयाँ थियो । होटलको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिसम्म १२ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष १६ रुपैयाँ ९९ पैसा कायम छ । गत वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रूपैयाँ २४ पैसा रहेकोमा यस वर्ष १३७ रुपैयाँ १९ पैसा कायम छ ।

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् । अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ । ‘आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गर्नुभई मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत, विमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल हुनुभएको छ । मलुलुको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवम् अनेकौ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप यहाँलाई यो सम्मान प्रदान गरिएको हो,’ अभिनन्दन पत्रमा उल्लेख गरिएको छ । सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिएका छन् ।

यी हुन् बालमन्दिर जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भएका २० जना

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लेबालमन्दिर जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी गरेका २० जनाको नाम सार्वजनिक भएको छ । बालमन्दिरका तर्फबाट जाहेरी परेपछि सीआईबीले पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरूमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल छन् । यस्तै योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दीपकदास श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको छ । यसबाहेक वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेका लागि पक्राउ पुर्जी जारी भएको छ । यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । उक्त अनुसन्धानबाट जग्गा दुरुपयोग भएको खुले पनि औपचारिक रूपमा जाहेरी नपर्दा मुद्दा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

कर्णालीमा बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र

काँक्रेविहार । चालु आर्थिक वर्षमा बजेट पाँच सय ७४ वटा टुक्रे योजना अलपत्र परेका छन् । बजेट थप गरेर कार्यान्वयन गर्ने भनिए पनि बजेट थप नहुँदा ती योजना अलपत्र परेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, ‘पूर्वसहमतिअनुसार टुक्रे योजना कार्यान्वयन नगर्ने भन्ने भएकाले स्वतः कार्यान्वयन नहुने भइहाल्यो । आर्थिक वर्षको अन्तिममा आएर कसरी सम्भव होला ?’ गत पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले प्रमुख प्रतिपक्ष दलसँग गरिएको सहमतिअनुसार बजेट थप गरेर ती योजना कार्यान्वयन गर्ने निर्णय भएको थियो । चालु आव सकिन दुई महिनामात्र बाँकी रहेको अवस्थामा ती योजना के गर्ने भन्नेमा टुङ्गो नलाग्दा कार्यान्वयन नभएरै खेर जाने सम्भावना बढेको आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले जानकारी दिए । उनका अनुसार विसं २०७९ असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सरकारले प्रदेश सरकारबाट १५ लाख रुपैयाँभन्दा कम बजेट विनियोजन भएका योजना कार्यान्वयन नगर्ने राजनीतिक सहमति गरेको थियो । ‘भौतिक पूर्वाधारतर्फ सडक र भवन निर्माण योजनाको हकमा ३० लाख रुपैयाँभन्दा कम रकम विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सहमति भयो । सुरुमा ती योजनाका विषयमा कुनै ठोस कदम चालिएको थिएन’, मन्त्री केसीले भने, ‘पछि आलोचना बढ्न थालेपछि सदनमा सहमति भएअनुरुप १५ लाख रुपैयाँ मुनिकालाई १५ लाख रुपैयाँ र सडक, भवनतर्फका ३० लाख रुपैयाँ मुनिकालाई ३० लाख रुपैयाँ रकम पुर्याएर कार्यान्वयन गर्ने निर्णय गरे पनि हाल ती योजना कार्यान्वयन हुनसकेका छैनन् ।’ उनका अनुसार जलस्रोत तथा ऊर्जा मन्त्रालयसँग १५ लाख रुपैयाँमुनिका चार सय ८२ आयोजना छन् । अहिले सबै आयोजनामा १० लाख रुपैयाँमात्रै रकम छ । मन्त्रालयका अनुसार सिँचाइतर्फ दुई सय ११, खानेपानीतर्फ एक सय ६२ र नदी नियन्त्रणतर्फ एक सय नौवटा योजना छन् । ती सबै योजनालाई १५ लाख रुपैयाँ रकम पुर्याई कार्यान्वयनमा लैजान थप २४ करोड १० लाख रुपैयाँ बजेट आवश्यक पर्दछ । मन्त्रालयसँग सोअनुसारको बजेट नभएकाले कार्यान्वयनमा समस्या भइरहेको योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मात्रै उक्त प्रकृतिका १६ करोड रुपैयाँ बराबरका करिब ९२ वटा योजना छन् । गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता कँडेलले सबैको चासोका विषय बनेका ती योजनाको विषयमा कुनै निर्णय नभए पनि पूर्वसहमतिअनुसार हुने बताएपछि योजना कार्यान्वयनमा नजाने पक्का भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियारले जानकारी दिए । मुख्यमन्त्रीले टुक्रे योजना तत्काल कार्यान्वयन नगर्ने निर्देशन दिएपछि ती योजना अलपत्र परेका उनले बताए । चालु आव सकिन लागेकाले ती योजना अब कार्यान्वयन हुने सम्भावना न्यून रहेको मन्त्री परियारले बताए । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले रकम अभावका कारण तत्काल ती योजना कार्यान्वयन गर्न नसकिने बताए । रासस