एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक संकटसँग जुध्न सक्षम पार्टी भएको र पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । दैलेखको पटांगीनी, दुल्लूमा आइतबार जिल्ला कमिटीद्वारा आयोजित जन सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई “निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई “राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र”का रूपमा चित्रण गरे । उनले भने, ‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्र विरुद्धको गम्भीर अपराध हो । हामी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ ।’ उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपील गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेलले मुलुकलाई दिगो स्थिरता दिन आउँदो निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउनुपर्ने धारणा राखे । कँडेलले भने, ‘जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो । अब नेता-कार्यकर्ता सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ ।’ एमाले दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको सरकारले असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गरे मात्र मुलुकले मार्गनिर्देशन पाउने दाबी गरे । उनका अनुसार एमाले र जनता एक भएर अघि बढे मात्र देश संकट मुक्त बन्न सक्छ । शाहीले कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतासँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सबैलाई सक्रिय हुन अपिल गरे ।
निजी क्षेत्रमाथि लुटपाट, तोडफोड र आगजनी गर्ने कारबाही गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वको सो टोलीले घटनामा संलग्नहरूमाथी कारबाही नगर्ने हो समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरीक्षक कार्कीको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष ढकालले आन्दोलन पछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको बताए । ‘जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपि पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ,’ उनले भने । उनले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहरिन सक्ने जोखिम कायम रहने धारणा राखे । निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि पहिलो सर्त सुरक्षा भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नहुने हो भने आर्थिक गतिविधि र लगानी निरुत्साहित हुने बताए । ‘आन्दोलन पछि व्यवसायीहरूले प्रमाणसहित जाहेरी दिए पनि नलिएको अवस्था छ । काठमाडौं बाहिरका जिल्लाहरूबाट पनि जाहेरी नलिएको गुनासो व्यवसायीहरूबाट आइरहेको छ । यसले व्यवसायीहरूमा एक प्रकारको निराशा छाएको छ । तसर्थ यसलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु,’ उनले भने । यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने गरे पनि यो पटक निजी क्षेत्रमाथि योजनाबद्ध रुपमा आक्रमण गरिएको बताए । उनले शान्ति सुरक्षा विना स्थायित्व कायम नहुने र स्थायित्व बिना आर्थिक गतिविधि चलायमान नहुने हुनाले शान्ति सुरक्षाको प्रत्याभूति अत्यन्तै आवश्यक रहेकोमा जोड दिए । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शान्ति-सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध भएर लागेको बताए । आन्दोलनका क्रममा गलत घुसपैठ गरी हिंसा, तोडफोड र अराजक कार्यमा संलग्न जो-कसैलाई पनि प्रमाणका आधारमा कानूनी कारबाही दायरामा ल्याइने धारणा राखे । ‘निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार हो । यो क्षेत्रको संरक्षण विना अर्थतन्त्र चलायमान हुन सक्दैन । नेपाल प्रहरी निजी क्षेत्र, आम नागरिकको सुरक्षाको लागि सधैं संवेदनशील छ । यसमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने । प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी सम्पत्ति माथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइने र यसका लागि सबै जिल्ला स्थित प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको जानकारी दिए । महासंघका उपाध्यक्षहरू सुर कृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्य लगायतको सहभागिता थियो ।
एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै, ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य
काठमाडौं । नेशनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, ३ वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरू अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । एनपीएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस पटक दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट २ दिन अगाडि नै बिक्री भइसकेको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५ सय रुपैयाँ र १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार रुपैयाँ र प्रिमियरतर्फ २ हजार रुपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ । एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपीएलबाट ४० करोड रुपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ ।
राष्ट्र बैंकको सम्पत्ति २६.२३ खर्ब रुपैयाँ पुग्यो, सरकारलाई ४२ अर्ब रुपैयाँ दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९.२३ प्रतिशतले वृद्धि भएको हाे । केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । वार्षिक प्रतिवेदनअनुसार आव २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा बैङ्कले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
बजारको तह र वस्तुको मापदण्ड निर्धारणका वाणिज्य विभागले माग्यो सुझाव
काठमाडौं । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारण गर्नका लागि अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ । नागरिक तथा उपभोक्तासमेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ । वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरूपता, पारदर्शिता र नियमनको आवश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनका साथै बजारको नियम समेतलाई मध्यनजर गर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा भएको विभागले स्पष्ट पारेको छ । मूल्य निर्धारण मापदण्डका लागि स्पष्ट आधार तथा औचित्य समेतलाई विचार गरी १५ दिनभित्र सुझाव दिन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ ।
टियु क्रिकेट ग्राउण्डमा ठडिए एक अर्ब लगानीका फ्लड लाइट र आकर्षक प्याराफिट, दोस्रो चरणको काम गर्न १० अर्ब बजेट
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइटको उद्घाटन र १० हजार सिट क्षमताको प्यारापेटसहितको पहिलो चरणको निर्माण कार्य सम्पन्न भई नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सम्पन्न यस कार्यले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय नियमन तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई रंगशाला हस्तान्तरण गरेको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले फ्लडलाइटको उद्घाटन गरे । कीर्तिपुर मैदान नेपालको क्रिकेट इतिहासको साक्षी रहँदै आएको छ । डिभिजन ५, ४, ३ को विश्व च्याम्पियनसिपदेखि २०१४ मा टी-२० विश्वकपमा नेपालको सहभागिता, २०१५ मा डिभिजन २ बाट डिभिजन १ मा उक्लिने क्रम र २०१८ मा ओडीआई प्लेइङ नेशन बन्दासम्म यस मैदानको महत्त्वपूर्ण भूमिका रहेको छ । सहरी विकास मन्त्रालयका अनुसार पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापेट निर्माण र छ वटा हाई मास्ट फ्लडलाइट जडान गरिएको छ । यसको लागि प्यारापेटमा ४९ करोड २५ लाख र फ्लडलाइटमा ४७ करोड ३७ लाख रुपैयाँ लगानी भएको छ । यी पूर्वाधारहरू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आवश्यक लक्स (चम्किलोपन) पुरा हुने गरी निर्माण गरिएका छन्, जसमा डिएमएक्स प्रविधि समेत जडान गरिएको छ । मन्त्री घिसिङले दोस्रो चरणको कामको लागि सरकारले करिब १० अर्बको गुरुयोजना स्वीकृत गरिसकेको र आगामी २ देखि ३ वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले यो सम्पन्न भएपछि कीर्तिपुर मैदान पूर्ण पूर्वाधारले सम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो दिनलाई निकै ठूलो ऐतिहासिक दिन बताउँदै नेपाली क्रिकेटप्रेमीहरूको डे-नाइट क्रिकेट हेर्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरे । उनले यस कार्यका लागि पूर्ववर्ती र वर्तमान सरकारलाई धन्यवाद दिँदै हरेक प्रदेशमा फ्लडलाइटसहितको रंगशाला बनाउनुपर्नेमा जोड दिए। यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पोलहरू मात्रै ठडिएको होइन, नेपाली खेलप्रेमीहरूको सपना ठडिएको छ भन्दै यो पहिलो आफ्नै लगानीमा फ्लडलाइटसहितको रंगशाला बनेकोमा गर्व व्यक्त गरे । यस्तै, कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुखले कीर्तिपुरको प्रांगणमा अन्तर्राष्ट्रिय स्तरको खेल हुँदा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै यसले कीर्तिपुरको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आशा व्यक्त गरे । पहिलो चरणको निर्माण कार्यमा संलग्न परामर्शदाता र निर्माण व्यवसायीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । दोसो संस्करणको एनपीएलको उद्धघाटन कार्यक्रम सोमबार प्रधानमन्त्री सुशिला कार्कीले गर्ने छिन् ।
८९औँ वर्षमा नेपाल बैंक, साढे ३ खर्ब निक्षेप, २.२३ खर्ब लगानी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक, आज (२०८२ कात्तिक ३० गते)देखि ८९औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा बचत सँस्कृतिको विकास सँगसँगै औद्योगिक एवं व्यापार व्यवसायको विकास एवं विस्तारमा नेपाल बैंकको महत्वपूर्ण योगदान छ । देशको पहिलो बैंकको रुपमा राष्ट्रिय वित्तीय संरचनालाई दिशा दिँदै नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अगाडि केन्द्रीय बैंकको समेत जिम्मेवारी बहन गरेको नेपाल बैंकले ८८ वर्षको लामो यात्रा पार गरिसकेको छ । यति लामो यात्रामा ग्राहकको विश्वास तथा भरोसा, कर्मचारीको अथक परिश्रम र सेयरधनीहरूको दृढ आत्मविश्वासले मात्रै सम्भव भएको बैंकका चीफ अप्रेटिङ अफिसर होम बहादुर खड्का बताउँछन् । समयसँगै परिवर्तन अथवा समयको मागलाई आत्मसात गर्दै आएको उनको भनाइ छ । आजभन्दा ८८ वर्ष अगाडि अर्थात् बिक्रम संवत् १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीमा नेपाल बैंक स्थापना गरेका थिए । अहिले बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । करिब ९ दशक पहिला थोरै मान्छेले मात्रै बैंक शब्द सुनेका बेलामा केही लगानीकर्ताबाट नेपाल बैंक स्थापना भएको हो । र, २० वर्ष केन्द्रीय बैंकको भूमिका समेत यस बैंकले निर्वाह गरेको छ । वि.सं २००२ सालमा नेपाल सरकारले पहिलोपटक नोट निष्काशन गर्दा नेपाल बैंकले भूमिका निर्वाह गरेको थियो । स्थापना कालदेखि हालसम्म अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक, बैंकिङकै पर्यायका रूपमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय बताउँछन् । बैंकिङ क्षेत्रको जननी बैंकका रूपमा स्थापित यस बैंकले देशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । सबै पिँढीको साथीका रूपमा युवादेखि ज्येष्ठ नागरिकसम्म २७ लाख ग्राहकले बैंकको सेवा उपभोग गरिरहेको उनले बताए । सरकारी बैंकिङ कारोबार समेत गर्ने जिम्मेवारी पाएको नेपाल बैंंकले मुनाफा सँगसँगै सामाजिक सेवालाई समेत उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । सीईओ पाण्डेयका अनुसार जनताको निक्षेपको सुरक्षा गर्दै अत्यन्त सावधानी पूर्वक निक्षेपलाई परिचालन गर्दै आइरहेको छ । लगानी विविधिकृत गरिएकै कारण बैंकको कर्जा जोखिमको समस्यालाई न्यूनीकरण गर्न सफल भएको उनले बताए । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न बैंक सफल भएको छ । बैंकको जगेडा कोषमा २३.९३ अर्ब रुपैयाँ रहेको छ भने ३८ अर्बभन्दा बढी नेटवर्थ रहेको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको पर्याप्तता अनुपात १३.०२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ५.४९ प्रतिशत, कर्जा निक्षेप अनुपात, ७६९.४२ प्रतिशत रहेको छ । यस्तै, बैंकले २३१ शाखा, ६१ वटा एक्सटेन्सन काउण्टर, २३७ वटा एटीएम मार्फत २७ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकका अनुसार १० लाख मोबाइल बैंकिङ ग्राहक रहेका छन् । सीईओ पाण्डेयका अनुसार आधुनिक डिजिटल प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य रहेको बैंकमा आउटसोर्सिङ सहित करिब ३ हजार ६०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् । ‘नेपालको अर्थतन्त्रको नेपाल बैंक एउटा प्लेयर हो । २० वटा वाणिज्य बैंकसङ्ग तुलना गरेर नेपाल बैंकलाई हेर्नुपर्छ । रुस युक्रेन, इजरायल-हमास लगायत क्षेत्रीय युद्धको कारण बैंकको व्यवसायमा प्रभाव परेको छ,’ बैंकको ८९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘५० करोड भन्दा बढी कर्जा लिएका ३/४ वटा उद्योगको प्रोभिजन गर्दा बैंकको नाफामा असर गरेको छ । मंसिरसम्ममा सबै व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौं ।’ उनका अनुसार जेनजी आन्दोलन पछि कर्जाको माग हुन सकिरहेको छैन, उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । विगतमा चाकरी गरेर निक्षेपका लागि दौडधूप गर्नुपर्ने बाध्यता अहिले नरहेको र बजारमा पैसा कहाँ राखौँ भन्ने अवस्था रहेको उनले सुनाए । नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मा बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताउँछन् । बाह्य र आन्तरिक कारणले अर्थतन्त्र चुनौतीको घेरामा रहेकाले सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रो मात्रै समस्या होइन, बाह्य परिवेशबाट उत्पन्न भएको समस्याका कारणले पनि अर्थतन्त्रमा कठिनाइ छ । जसले गर्दा दैनिक क्रियाकलाप र वित्तीय गतिविधि प्रभावित भइरहेको छ । साथै देशभित्रका विभिन्न क्रियाकलापले समेत बैंकिङ व्यवसायलाई प्रभावित गर्ने गरेको छ,’ उनले भने, ‘हामी राम्रै छौं, हामी भन्दा अरु नराम्रो भएका कारणले पनि हामी राम्रा भएका हौला । तर, हामीभित्र नियालेर हेर्दा चुनौती दिइरहेको छ । कर्मचारीको अथक मिहिनेतले बैंक यहाँसम्म पुगेको हो । बैंक बनाउने चिन्ता सबैभन्दा धेरै कर्मचारीलाई नै छ ।’
एनसेलले यसपटक पनि एनपीएलका हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकावापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ । गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो । गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २ हजार ६१२ सहित एनसेलले देशभरका ९ हजारभन्दा बढी विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ । एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ । यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिइएको छ ।