विकासन्युज

खेल पर्यटन प्रबर्द्धन गर्न पर्यटन बोर्ड र क्यानबीच समझदारी

काठमाडौं । नेपालको खेल पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले नेपाल प्रिमियर लिग सिजन–२ प्रबर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ ।  यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ ।  छोटो समयमैअन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भएको एनपीएल–२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।  बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रियस्तरका इभेन्ट आयोजना गर्नसक्ने प्रमुख खेलका रूपमा लिइएको छ । एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ । एनपीएल- २ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस्‌बाट गरिने भएको छ । जसले गर्दा विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा थप टेवा पुग्‍ने बोर्डको विश्‍वास छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि विशेषगरी एनपीएल–२ ले–खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए । अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर, तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटनका अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिजम डेस्टिनेशन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ । एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभवहरू र सांस्कृतिक समृद्धिलाई समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदयीमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई होटल सब्रिनामा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहक र कर्मचारीले लाभ लिने बैंकले विश्वास लिएको छ।

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजस्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे । उनले वर्तमान सरकारसँग काम गर्ने समय करिव साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यस बीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताए ।  अर्थमन्त्री खनालले भने,‘मेरो कार्यकाल अव साढे ३ महिना मात्रै बाँकि छ । फागुन २१ गते निर्वाचन भईसकेपछि त म मन्त्री पदमा रहन्न । त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचार संहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका कामहरु गर्न पाइन्न । सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही अवश्य पनि हुन्छन । त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ । केही मुलुकहरुमा भन्सार सम्बन्धि काम त्यस अन्तर्गतकै निकायले हेर्छन् ।’ अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सकिने बताए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि दोहोर्याए । 

जेनजी आन्दोलन र बाढीको असर निर्जीवन बीमा कम्पनीको नाफामा, १४ मध्ये १२ कम्पनी ऋणात्मक

काठमाडौं । गत भदौको जेनजी आन्दोलन र असोज महिनामा गएको बाढीको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरूको नाफामा परेको छ । बीमा कम्पनीहरूले सार्वजनिक गरेको पहिलो त्रैमास (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ मध्ये १२ कम्पनीको नाफा ऋणात्मक देखिएको हो ।  पहिलो त्रैमासमा नेशनल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मात्रै नाफामा गएको छ । नेशनल इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी १८ करोड ३ लाख रुपैयाँले घाटामा थियो ।  प्रभु इन्स्योरेन्सले असोज मसान्तसम्ममा ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत जेनजी आन्दोलनको क्रममा भएको क्षतिको सबैभन्दा धेरै दाबी परेको सिद्धार्थ प्रिमियरको असोज मसान्तसम्ममा नाफा २९ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोनबाट सिद्धार्थ प्रिमियरमा ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बराबरको ४०१ वटा दाबी परेको छ । त्यस्तै, असोज १८ गतेदेखि देशभर परेको अविरल वर्षाको कारण भएको क्षतिको ५० करोड ९४ लाख रुपैयाँ दाबी परेको छ ।  जेनजी आन्दोलनको क्रममा भएको क्षतिको दोस्रो धेरै दाबी परेको द ओरियन्टलको पहिलो त्रैमासमा नाफा २८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी २४ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो । उक्त कम्पनीको जेनजी आन्दोलनको मात्रै ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको १०१ वटा र बाढीको २१ करोड ४३ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, तेस्रो धेरै जेनजी आन्दोलनको दाबी परेको सिद्धार्थ प्रिमियरको पहिलो त्रैमासमा नाफा २० करोड ७६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । असोजसम्ममा शिखर इन्स्योरेन्सको नाफा १५ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनी ११ करोड ५२ लाख रुपैयाँ ऋणात्मक थियो । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स २६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सलिकोले अघिल्लो आवको यही अवधिमा ८ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । सलिकोपछि नेको इन्स्योरेन्सको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवको यही अवधिमा नेकोले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  हिमालय एभरेष्ट इन्स्यारेन्सको १० करोड ९३ लाख रुपैयाँ, सानिमा जिआइसीको २० करोड २ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १५ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ९ करोड ९५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ बराबरको नाफा ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा हिमालयन एभरेष्टले ६ करोड ६१ लाख रुपैयाँ, सानिमा जिआइसीले ५ करोड ८ लाख रुपैयाँ, एनएलजीले ४ करोड ८९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

एक मिलियन वृक्षरोपण अभियानका लागि सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दीर्घकालीन सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ सञ्चालन गर्न औपचारिक सम्झौता गरेको छ । प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारलाई मुख्य उद्देश्य बनाइएको यो अभियानले देशभरका समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार एक मिलियन रूख रोप्ने यस अभियानले जलवायु परिवर्तनका चुनौतीहरू न्यूनीकरण गर्न, कार्बन उत्सर्जन घटाउन र देशभर हरियाली वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । वातावरणीय सन्तुलन कायम गर्दै भविष्यका पुस्तालाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गर्नु यस अभियानको मूल लक्ष्य हो । सहकार्यपछि कम्पनीले सबै प्रदेशमा शाखामार्फत अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४८ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

एनएफआरएस–१७ अनुसार त्रैमासिक विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलाे बीमा कम्पनी बनेकाे छ ।  नेपाल लेखामान बोर्डले चालु आर्थिक वर्षदेखि लागू हुने गरी जारी गरेको एनएफआरएस- १७ पूर्ण रूपमा अपनाउने देशको पहिलो कम्पनी बन्न सफल भएको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणको वित्तीय विवरणसम्बन्धी निर्देशिका अनुसारको नियमित त्रैमासिक विवरणसँगै एनएफआरएस–१७ बमोजिमको विशेष संरचित विवरण समेत एकैसाथ प्रकाशन गरेको हो । विश्वव्यापी रूपमा प्रयोग हुने वित्तीय प्रतिवेदनका मापदण्डहरूसँग तालमेल मिलाउने यो कदमले कम्पनीको सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन पारदर्शितामा महत्त्वपूर्ण फड्को मार्ने कम्पनीले जनाएकाे छ । यो उपलब्धीसँगै शिखर इन्स्योरेन्स नेपाली बीमा बजारमा गुणस्तरीय वित्तीय प्रतिवेदन र अन्तर्राष्ट्रिय मानकको प्रयोगमा अग्रणी संस्थाको रूपमा स्थापित भएको छ । शिखर इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ७ लाख, यस्ता छन् अन्य सूचक  

एनपीएल सिजन २ का लागि काठमाडौं गोर्खाजसँग फोनपे प्लाटिनम प्रायोजक

काठमाडौं । फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभा विकास र समुदायस्तरमा सहभागिता वृद्धि गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ ।  फोनपेका अनुसार यो प्रायोजन युवालाई सशक्त बनाउने, खेलकुदमार्फत एकता र अनुशासनको संस्कृति विस्तार गर्ने, तथा राष्ट्रव्यापी डिजिटल भुक्तानीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने उद्देश्यसहित अघि बढाइएको हो । फोनपे नेपालका सीईओ दिवासकुमारले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ । फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ । खेलकुद मानिसहरूलाई एकत्रित गर्ने माध्यम हो, र त्यही भावना बोकेको टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।' काठमाडौं गोर्खाजले पनि फोनपेले प्रदान गरेको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा यो सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने प्रतिक्रिया दिएको छ ।  एनपीएल सिजन २ का लागि भएको यो प्रायोजनले देशमा खेलकुदको विकास र व्यावसायिक क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेको इन्स्योरेन्सको खुद बीमा शुल्क २९ करोड ५४ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा ऋणात्मक रहेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीको नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले नाफा ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ४ दशलमव २३ प्रतिशतले बढेको छ ।  तेस्रो त्रैमाससम्ममा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ दशलमव ४६ प्रतिशतले बढेको छ । २ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ करोड ७४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १६ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७५ करोड ४६ लाख रुपैयाँ र अन्य इक्युटीमा ३२ करोड ७४ लाख रुपैयाँ थियो।  पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३५ पैसाले ऋणात्मक रहेको छ । पीई रेसियो ४६.९४ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २२७.१५ रुपैयाँ रहेको छ ।