१० महिनामा ६० प्रतिशत बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६०.३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रुपैयाँ बराबर खर्च भएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५.९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७.०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ । त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२.६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो । यस अवधिको कुल सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ५८.२ प्रतिशत छ । चालु आवमा रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा रु आठ खर्ब ५७ अर्ब दुई करोड ८० लाख बराबर असुली भएको छ । कर राजस्वतर्फ रु १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७.२१ प्रतिशत अर्थात् रु सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर लक्ष्य रहेकोमा ७२.७ प्रतिशत अर्थात् रु ८५ अर्ब १० करोड चार लाख बराबर असुली भएको छ । त्यस्तै, ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर अनुदान लिइएको छ । रासस
बैंक अफ जापानद्वारा सरकारी ऋणपत्रको खरिदमा कटौती
काठमाडौं । बैंक अफ जापानले सोमवार नियमित खरिद सञ्चालनमा खरिद गर्न प्रश्ताव गरेको जापानी सरकारी ऋणपत्रको रकम घटाएको घोषणा गरेको छ । केन्द्रिय बैंकले ४२५ बिलियन येन (लगभग २.७३ बिलियन अमेरिकी डलर) जापानी सरकारी ऋणपत्रमा पाँचदेखि १० वर्षको म्याच्युरिटी बाँकी रहेकोमा किन्न प्रश्ताव गरेको छ । जुन अघिल्लो यस्तो सञ्चालनको तुलनामा ५० बिलियन येन कम हो ।
मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला
काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल’ को लागि आवेदन खुलेको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस यूनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भनिन्, ‘मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ । म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरुको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।’ प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गते सम्म खुल्ला रहनेछ । इच्छुक महिलाहरुले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाईन फारम भरेर आवेदन पेश गर्न सक्छन् । आवेदन खुला हुने अवधि भर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरुको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरुले पनि सहभागिता जनाउन पाउनेछन् । सहभागीहरुले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरु प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्प्रर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धिहरु छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धिहरु छानिनेछ । त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनिहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ । यस पटकको मिस युनिभर्स नेपालको ग्रान्ड फिनालेमा मिस युनिभर्स २०२३ शेन्निस पलासिओसको पनि उपस्थिती रहनेछ । प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरुले २ दिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धिहरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन् । प्रतियोगिताका विजयीहरुलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस यूनिभर्स नेपाल २०२४को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक रेजिस्ट्रेसन पार्ट्नरको रुपमा खल्ती रहेको छ भने स्किन केयर पार्ट्नरको रुपमा मिस युनिभर्स स्किन केयर रहेको छ । त्यसै गरी नेपाल पर्यटन बोर्ड आधिकारिक टुरिज्म पार्ट्नर रहेको छ ।
ब्याज आम्दानी र सम्पत्ति बिक्रीले बीमा कम्पनीको नाफामा उछाल, मर्जरको प्रभाव पनि देखिँदै
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा बीमा कम्पनीहरूको नाफामा उल्लेख्य वृद्धि भएको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा र १४ जीवन बीमा कम्पनीहरूको खुद नाफा ४९.३० प्रतिशतले बढेको हो । समग्र क्षेत्रमा आर्थिक मन्दीको असर परेको देखिए पनि बीमा क्षेत्रमा भने खासै असर नपरेकाे तथ्यांकले देखाउँछ । समीक्षा अवधिमा २८ वटा बीमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४९ करोड ७ लाख रुपैयाँ बढाएर १० अर्ब ५७ करोड ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकी गत आर्थिक वर्षको चैतसम्म ७ अर्ब ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । बीमाकर्मीहरू पछिल्लो समय व्यवसाय कम भएपछि जोखिम व्यवस्थापन कम गर्नु परेकाले नाफा वृद्धि हुन पुगेको बताउँछन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले आर्थिक मन्दीमा व्यवसाय घटेको भएपनि दाबी भुक्तानी कम भएकाले बीमा कम्पनीहरूको नाफा बढेको बताए । ‘९ महिनामा बीमा कम्पनीहरूको नाफा बढेको छ, मन्दीमा व्यवसाय घटेको बेला दाबी भुक्तानीको अनुपात पनि कम हुन्छ, अधिकांश कम्पनीहरूको इन्भेष्टमेन्ट प्रोफिट राम्रो छ, चुक्ता पुँजी वृद्धि गर्दा केही कम्पनीको सेयरको किनबेचका कारण पनि नाफा देखिएको हो,’ उनले भने, ‘जलवायु परिवर्तन, बाढी पहिरोका कारण समस्या देखिएको छ, पुनर्बीमा कमिसन रेट र अण्डरराईटिङ नाफा कम छ ।’ बीमा कम्पनीहरूले दाबी नतिरेर नाफा बढायो कि भन्ने अधिकांशको सोच भएपनि दाबी भुक्तानीमा समस्या नरहेको उनको भनाइ छ । गत वर्ष ४० अर्बको दाबी भुक्तानी गरेका थिए भने चालु आर्थिक वर्षमा १६/१७ अर्ब भुक्तानी गरिसकेको उनले बताए । एक कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतले अहिले अधिकांश कम्पनीले सेयर तथा अन्य सम्पत्ति बिक्री गरेको कारण नाफा वृद्धि भएको धारणा राखे । उनका अनुसार अधिकांश कम्पनीले सेयर तथा सम्पत्ति बिक्री गरेर अहिले नाफा बुक गरेका छन् । कात्तिकसम्म बैंकको ब्याज पनि राम्रै थियो, त्यसले पनि कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको छ, धेरैले सम्पत्ति बिक्री गरेर नाफा बुक गरेका छन्, मर्जर र मन्दीको समयमा खर्च घटाउँदा नाफामा त्यसको प्रभाव देखिएको छ, त्यस कारण पनि नाफा बढेको देखिएको हो,’ उनले भने । निर्जीवन बीमा कम्पनीहरूको नाफा साढे ५ अर्ब चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५५ प्रतिशत अर्थात् २ अर्ब ६७ लाख रुपैयाँ बढेर ५ अर्ब ६५ करोड १३ करोड रुपैयाँ आर्जन गरेका हुन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६४ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका थिए । समिक्षा अवधिमा दुई कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ । नेशनल इन्स्योरेन्सको खुद नाफा भने तेस्रो त्रैमासमा १४ करोड १० लाख रुपैयाँ धनात्मक भएको छ । जबकी गत वर्ष २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ । यस कम्पनीको २३७.१७ प्रतिशत बढेर ३९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, आईजीआई प्रुडेन्सियलको १८१.०३ प्रतिशत बढेर ४६ करोड ७६ लाख रुपैयाँ, हिमालयन एभरेष्टको १६२.८६ प्रतिशत बढेर ६० करोड ६५ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरको १०९.६६ प्रतिशत बढेर ५९ करोड ७१ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको १०१.१३ प्रतिशत बढेर ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को ५५.३२ प्रतिशत बढेर ४७ करोड ५४ लाख रुपैयाँ, युनाइटेड अजोडको ४६.०५ प्रतिशत बढेर २७ करोड ४२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २६.२२ प्रतिशत बढेर ३९ करोड २ लाख रुपैयाँ, सानिमा जीआईसीको २१.७९ प्रतिशत बढेर २० करोड ९ लाख रुपैयाँ नाफा गरेका हुन् । द ओरियन्टेल इन्स्योरेन्सको १७.७१ प्रतिशत बढेर ४६ करोड १७ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ३.२५ प्रतिशत बढेर १३ करोड ६७ लाख रुपैयाँ नाफा गरेका हुन् । यस अवधिमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा घटेको देखिन्छ । राष्ट्रिय बीमाको २४.७८ प्रतिशत घटेर ५१ करोड ६३ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १.६८ प्रतिशत घटेर ३७ करोड ७४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेका हुन् । जीवन बीमाको ४३ प्रतिशत बढ्यो समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले भने झण्डै ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चैत सम्मको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूको नाफा ४३.२० प्रतिशत अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ बढाएर ४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका थिए । ९ महिनाको अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स बाहेक सबै जीवन बीमा कम्पनीको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै र सर्वाधिक नाफा कमाउनेमा एशियन लाइफ रहेको छ । यस कम्पनीको नाफा २५४.९१ प्रतिशत बढेर ६९ करोड ११ लाख रुपैयाँ आजैन गरेको छ । यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको ९३.७१ प्रतिशत बढेर २ करोड ४५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ९२.९३ प्रतिशत बढेर ३० करोड ४८ लाख रुपैयाँ, सिटिजन लाइफको ८७.३५ प्रतिशत बढेर २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, आइएमई लाइफको ७५.७८ प्रतिशत बढेर ३३ करोड १५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को ७५.२६ प्रतिशत बढेर १९ करोड २४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३८.७४ प्रतिशत बढेर २६ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३३.८९ प्रतिशत बढेर २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेशनल लाइफले ३०.२९ प्रतिशत बढेर ३८ करोड ८३ लाख रुपैयाँ, मेट लाइफको २६.७० प्रतिशत बढेर २७ करोड ४ लाख रुपैयाँ, नेपाल लाइफको २२.२१ प्रतिशत बढेर ६० करोड ३ लाख रुपैयाँ, लियाबल नेपाल लाइफको १९.०९ प्रतिशत बढेर ३४ करोड २ लाख रुपैयाँ र सन नेपाल लाइफको ११.०५ प्रतिशत बढेर ४९ करोड ३६ लाख रुपैयाँ नाफा गरेका हुन् । तर, समीक्षा अवधिमा भने हिमालयन लाइफको नाफा सामान्य घटेको छ । यस कम्पनीको ७.९८ प्रतिशत घटेर ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन
अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ । बालबालिकाल आफ्नो घर मात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजन समेत सबै गुमाएका अफगानिस्तानस्थित उक्त संस्थाका निर्देशक अरशद मलिकले बताए । विश्व खाद्य कार्यक्रमको अफगानिस्तानस्थित कार्यालय र स्थानीय अफगान अधिकारीका अनुसार देशभर बाढीबाट तीन सय ३० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा बाघलान, तखार, बदख्सान र घोर प्रान्तमा धेरैको मृत्यु भएको हो । अफगानिस्तानका अधिकारीहरूले बाढीबाट मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने तथा बालबालिका सङ्क्रामक रोगको सिकार हुन सक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सोमबार बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम अनुगमन गर्न आठ आपतकालीन प्रतिकार्य टोली परिचालन गरेको छ । रासस
६० जना सहसचिवहरूको सरुवा, को-कहाँ पुगे ?
काठमाडौं । सरकारले ६० जना सहसचिवको एकैपटक सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग, कार्यालय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरकारको निर्णयअनुसार मधेसी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ भने रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । सूची
बैंकर्स संघ र बीमक संघबीच सम्झौता, तथ्यांक आदान प्रदान गर्ने
काठमाडौं । नेपाल बैंकर्स संघ र नेपाल बीमक संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख रुपैयाँ खर्च गरेको हो । सो अवधिमा प्रदेश सरकारले चालुतर्फ ५ अर्ब ३ करोड ४४ लाख र पुँजीगततर्फ ५ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी ४ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले २ अर्ब ४७ करोड ९ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७१ करोड १८ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए । सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १४ करोड ९ लाख र आर्थिक मामिला मन्त्रालयले ६ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, प्रदेश व्यवस्थापिकाले १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले ४ करोड ४ लाख र प्रदेश नीति तथा योजना आयोगले १ करोड ७३ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कुल २९ अर्ब २८ करोड ४० लाख रुपयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।