कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि-स्टेटको जग्गाको अवस्था ? (फोटो फिचर)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि-स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ । टि-स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ । अहिले कस्तो अवस्थामा छ ? बेचिएको भनिएको जग्गामा अहिले ठूलो मानवीय बसोवास भएको बस्ति, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय छन् । ११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिव ४ सय घर परिवार बसोवास गरिरहेका छन् । बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ विघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ । प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन् । त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन् । झापाको गिरीबन्धु टि-स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोवास गर्नेहरूमा अन्योल छाएको छ । यता गिरीबन्धु टि-स्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सदन र सडकमा आमने सामने हुने निश्चित छ । वास्तविकता के हो ? बिस्तारै खुल्दै जाला । अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टि-स्टेटको जग्गाको विषयले नेपालको राजनीति तात्ने निश्चित छ ।
एमबीबीएस छात्रवृत्तिमा अन्तर्राष्ट्रिय चलखेल, पास भएकालाई हटाएर अर्कै विद्यार्थीको नाम छनोट
काठमाडौं । अछाम मंगलसेनका प्रकाश कठायतको दैनिकी आजभोलि मन्त्रालय धाउँदै र मन्त्रीलाई भेट्दै बितिरहेको छ । छात्रवृत्ति कोटामा एमबीबीएस पढ्न बंगलादेश जाने तयारीमा गरिरहेका उनको नाममा बंगलादेशले फरक व्यक्तिको नाम पठाएपछि उनी न्यायका लागि मन्त्रालय र मन्त्रीकहाँ धाइरहेका छन् । ‘१३ दिन भयो राम्रोसँग खाना पनि खाएको छैन,’ प्रकाशले विकासन्युजसँग गुनासो गर्दै भने, ‘नेपाल सरकारले छात्रवृत्तिका लागि लिएको परीक्षा पास गरेर नामसमेत छनोट भयो । तर, अन्तिमममा अर्कैको नाम आयो, यस्तो कसरी भयो, थाहै भएन ।’ गत कार्तिक १८ गते सरकारले बंगलादेश पढ्न पठाउने विद्यार्थीको परीक्षा लिएको लिएको थियो । त्यसमा प्रकाशले पनि परीक्षा दिए । उनी पास भएर छनोट समेत भए । तर, अन्तिममा नाम अर्कैको आयो । एमबीबीएसतर्फ १९ र बीडीएसतर्फ तीन जनाको लागि लिइएको परिक्षमा उनको पनि नाम निस्किएको थियो । छात्रवृत्तिमा नाम निस्किएपछि प्रकाशले बंगलादेश पढ्न जाने तयारी थाले । अछाम गएर परिवारसँग भेटघाट गरे । तर, गत वैशाख १८ गते बंगलादेशले पठाएको विद्यार्थीको सूचीमा प्रकाशको नाम भेटिएन । आफ्नो नाम नभेटिएपछि उनी छनोट भएको नाम कसरी कहाँबाट हट्यो र आफ्नो सट्टा अर्कैको नाम कसरी पर्यो भनेर जवाफ खोजिरहेका छन् । ‘कसरी यस्तो भयो भन्ने कुरा अचम्म लागेको छ,’ प्रकाश भन्छन्, ‘सबै तयारी गरिसकेको थिएँ, घरपरिवार र आफन्तलाई पढ्न जाँदैछु भनेर आएँ, उनले प्रश्न गर्दै भने, ‘अब म न्याय खोज्न कहाँ जानु ?’ प्रकाशले नेपालमै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा बिडीएसतर्फ छात्रवृत्ति पाएका थिए । तर, एमबीबीएसतर्फ बंगलादेशमै पढ्न छात्रवृत्ति पाउँदा उनले यहाँ पाएको छात्रवृत्ति छोडे । अहिले नाममा चलखेल हुँदा उनी न यता न उताको भएका छन् । प्रकाशजस्तै एमबीबीएसमा नाम निस्केका १९ मध्ये ९ र बीडीएसमा ३ जनामध्ये एक जनाको नाममा चलखेल भएको उनीहरूको आरोप छ । चिकित्सा शिक्षा आयेगले बंगलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने २२ जनाको नाम छनोट गरेर शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बंगलादेशको राजदूतावासमा पठाएको थियो । आयोगले पठाएको सूचीभन्दा बंगलादेशले फरक नामावली पठाएपछि छनोट भएका १० जनाको नाम हटेर उनीहरूको सट्टा नयाँ नाम आएपछि अहिले यो विषय सबैले चासोका साथ हेरेका छन् । बंगालदेशको सरकारले प्रत्येक वर्ष नेपाललाई चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएसतर्फ छात्रवृत्ति दिने गरेको छ । दुई देशको सम्झौताअनुसार सन् २०२३/०२४ का लागि एमबीबीएसतर्फ १९ र एमडीएसतर्फ २३ गरी जम्मा २२ सिटका लागि कुटनीतिक नाोटमार्फत नेपालमा रहेको बंगलादेशको दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । परराष्ट्रले शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई नोट पठाउँदा यसै वर्ष परीक्षा भयो । बंगलादेशको नोटको आधारमा चिकित्सा शिक्षा आयोगले सूचना निकाल्यो । उसले आवश्यक मापदण्ड तोकेर परीक्षा लियो । आयोगले समयमै परीक्षाको नतिजा पनि सार्वजनिक गर्यो । सार्वजनिक गरेको नतिजा शिक्षा मन्त्रालयमा पठायो । शिक्षा मन्त्रालयले फेरि परराष्ट्र मन्त्रालयमा पठायो । परराष्ट्रले नेपालमा रहेको दूतावासमार्फत बंगलादेशको डिरेक्टर जनरल मेडिकल एजुकेशन (डीजीएमई) लाई पठायो । बंगलादेशको चिकित्सा शिक्षा महानिर्देशनालयले वैशाखको १८ गते निकालेको सूचीमा नेपाल सरकारले सबै प्रक्रिया पूरा गरेर पठाएको विद्यार्थीको ९ जना एमबीबीएस र एकजना बीडीएसको नाम काटेर नयाँ विद्यार्थीको नाम पठाएको देखिन्छ । आफ्नो नाम काटेर अरुको नाम आएपछि नेपाली विद्यार्थी अहिले यो कसरी भयो भन्ने विषयमा खोजी गर्दै न्याय मागिरहेका छन् । १० जनामध्ये दुई जना नेपालमा भर्ना भइसकेको र बाँकी ८ जना अहिले मन्त्रालय धाइरहेका छन् । यी हुन् सुरुमा छनोटमा भएका विद्यार्थी एमबीबीएस तर्फ १. राहुल शाह २. देबशिखर रौनीयार ३. पारस कठायत ४. आशिर्वाद झा ५. अनु कुमारी शाह ६. अमृता कुमारी ७. ललनकुमार दास ८. पुनम चुनारा ९. समिक्षा बोहरा १०. बीडीएस तर्फ ११. अस्वीन पुरानो हटाएर नयाँ थपिएका विद्यार्थी १. गौरव झा २. नेहा अन्सारी ३. आदित्या महतो ४. आशिस अधिकारी ५. आशिस कुमार साह ६. आदर्शकुमार यादव ७. अहसान जमाल ८. अभिशेक शाह ९. एमडी मासोम अन्सारी आश्चर्यमा आयोग र मन्त्रालय विद्यार्थीको नाममा कसरी चलखेल भयो भन्ने विषयमा अहिले शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र परराष्ट्र मन्त्रालय नै अचम्ममा परेका छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रा.डा अञ्जलीकुमार झाले आयोगले एकिकृत प्रवेश परीक्षा मार्फत् छनोट भएका विद्यार्थीको नामावली शिक्षा मन्त्रालयमा पठाएको र त्यसपछि के भयो भन्नेबारे जानकारी नभएको बताए । ‘हामीले परीक्षा लिएर २२ जना विद्यार्थीको नाम पठाएका हौं, त्यो मध्ये केही विद्यार्थीको कन्फ्रमेशन आयो र केही विद्यार्थी त्यो लिस्टमा नपरेको सूचना आयो, यो विषयमा हामीलाई पनि अचम्म लागेको छ,’ उनले भने । झाले चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पठाइएको सूचीमा एकनास देखिन्छ । सबैको नाम ठिकै छ । तर, बंगलादेशबाट आउने सूचीमा कहाँबाट हामीले छनोट नगरेका विद्यार्थीको नाम आयो भन्ने विषयमा सोधपुछको काम भइरहेको बताए । उनी कुनै न कुनै पहँचको आधारमै यस्तो भएको हुन सक्ने बताउँछन् । शिक्षा मन्त्रालयले पनि यो विषयमा अहिले छानबिन गरिरहेको छ । शिक्षा मन्त्रालयले बंगलादेशलाई कुटनीतिक नोट पनि पठाइसकेको बताइसकेको छ । यो विषयमा शिक्षामन्त्री सुमना श्रेष्ठले नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिननोमान चौधरीसँग भेट पनि गरिसकेकी छन् । अन्तर्राष्ट्रिय चलखेलको आशंका शिक्षा मन्त्रालय, पराराष्ट्र मन्त्रालय र चिकित्सा शिक्षा आयोगले नै थाहा नभएको जानकारी दिइरहँदा यसमा अन्तर्राष्ट्रिय चलखेलको आशंका गरिएको छ । विद्यार्थीका अभिभाव सिद्धराज ढुङ्गानाले यसमा छानबिन हुनुपर्ने माग राखेका छन् । ‘छनोट भएका विद्यार्थीको नाम कसरी र कसले हटायो, यस विषयमा छानबिन हुनुपर्छ, नयाँ नाममा अटाएका विद्यार्थीको कुन नेतासँग पहुँच छ, यस विषयमा जानकारी हुनुपर्छ, यस विषयमा हामी अदालत पनि जान्छौं,’ ढुङ्गानाले भने । [pdf id=483964]
आइपीओ जारी गर्दै ठमेल प्लाजा होटल
काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी प्रस्तावसहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आइपीओ जारी प्रस्ताव पेस हुनेछ । यस्तै हाल कायम सेयरधनीलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ ।
सञ्चारकर्मीलाई हुण्डाई मोटर अस्सेम्ब्ली प्लान्टमा भ्रमण, टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न
रामग्राम । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरुद्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो । त्यसअघि उद्घाटन समारोहको पहिलो दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो । लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ।
आजबाट काठमाडौंका यी क्षेत्रमा बिजुली नआउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकाभित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणको एक सूचना जारी गरेर पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारी, भक्तपुरले विद्युत लाइन अवरुद्ध हुने जनाएको हो । जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध प्राधिकरणले बताएको छ । नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य निरन्तर भएकाले सेवा अवरुद्ध सूचनामा उल्लेख छ । आज नयाँ बजार, खुसिब, सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल र जेठ ५ गते सोह्र खुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा अवरुद्ध हुने छ । त्यसै गरी जेठ ६ गते काष्ठमण्डप भिमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल र ८ गते भिमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल, त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने जनाएको हो ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म्कै उच्च मुल्य हो । त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
चार्टर्ड उडानबाट भियतनामका २१८ पर्यटक नेपाल आए
काठमाडौं । रुप्से होलिडेजले चार्टर्ड फ्लाईटबाट २१८ भियतनामी पर्यटक नेपाल ल्याएको छ । यती ठूलो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी तिर्थयात्रीहरुको एकैपटक आगमन भएको पहिलो पटक हो । १८० तिर्थालु भियतनामको हनोईबाट रुप्से होलिडेजले व्यवस्थापन गरेको चार्टर्ड फ्लाईटबाट सोझै काठमाडौं अवतरण गरेका हुन् भने अरु यात्रुहरू रसिया, युरोप र अमेरिकाका विभिन्न गन्तब्यहरूबाट काठमाडौं आइपुगेका भियतनामी नागरिकहरू नै हुन् । १८० भियतनामी पर्यटकलाई लिन गएको हिमालय एअरलाईन्सको एअरबस ए३२० जहाज रुप्से होलिडेज्ले चार्टर्ड गरेको थियो । जसमा नेपाली पर्यटक समेत भियतनाम भ्रमणका लागि भियतनामको हनोई पुगेका छन् । नेपाल र भियतनाम विच चार्टर्ड फ्लाईट मार्फत सोझो हवाई सम्बन्ध स्थापना गर्दै दुईतर्फी पर्यटन प्रबर्धनमा अग्रसर भएको रुप्से होलिडेजले नेपाललाई बौद्ध धर्मालम्बिको धार्मिक पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न गरेको प्रयासको चौतर्फी सह्राना गरिएको छ । ७ रात र ८ दिनको यात्रामा काठमाडौं ओर्लिएका यी भियतनामी बौद्ध धर्मालम्बीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्नुका साथै पूर्वमा रहेको हलेसीको समेत दर्शन तथा भ्रमण अवलोकन गर्नेछन् । पूर्णरूपमा धार्मिक पर्यटकको रूपमा आएका यी भियतनामी नागरिकले ध्यान र बौद्ध शिक्षाका लागि काठमाडौंमा रहेका विभिन्न चैत्य तथा गुम्बाहरूमा ६ दिन र हलेसीमा १ रात बिताउने छन् । ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने यी यात्रुले नेपालबाट फर्किदा नेपालमा जन्मिएका बुद्धको सन्देश बोकेर जाने निश्चित छ । त्यसैले पनि यो समूहको भ्रमणलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ । भियतनामबाट नेपाल आएका यी पर्यटकहरूले नेपालमा लक्जरी धार्मिक पर्यटनको नयाँ सम्भाव्यता खोलेका छन् । जहाजै चार्टर नेपाल आएका यी पर्यटकहरू हायात प्लेस, लेमन ट्रि प्रिमियर, दुसित प्रिन्सेस लगायतका पाँच तारे होटलमा बसेका छन् भने उनीहरूको आरामदायीताको पूर्ण ख्याल राख्दै लक्जरी कार तथा टुरिस्ट बस मार्फत सेवा प्रदान गरिएको छ । रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुली प्राप्त यो सफलता प्रति खुसी व्यक्त गर्दै भन्छन्, ‘यस प्रयत्नले नेपाल भियतनाम द्वयदेशीय पर्यटनमा नयाँ सम्भाव्यताको ढोका मात्र खुलेको छैन नेपालमा नयाँ अथाह पर्यटकीय सम्भाव्यता रहेको समेत पुष्टि भएको छ ।’
बिजनेश इन्टरेष्ट ग्रुपले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले कृषि क्षेत्रको व्यवसायिकता र दिगोपना, उत्पादन प्रवद्र्धन, उत्पादकत्व बृद्धि तथा बजार सुनिश्चितताको लागि काम गरिरहेको छ । यस कम्पनीको हाईलाईफ एग्रो एण्ड फुड्स ईन्डष्ट्रिज लिमिटेड तथा पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा सबैभन्दा ठुलो लगानी रहेको छ । विभिन्न उद्योग, व्यापार, होटल तथा पर्यटन लगायतका क्षेत्रमा व्यापार सञ्चालन र विस्तार गर्न आफ्नो पूर्ण स्वामित्वका विभिन्न सातवटा सहायक कम्पनी स्थापना गरी काम अगाडि बढाएको छ । उपभोक्ताहरुलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराउन गो मार्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले पूर्ण स्वामित्वको चितवन फुड्स ईन्डष्ट्रिज लिमिटेड मार्फत दाल, चामल, तेल, आटा र गेडागुडी लगायतका खाद्य सामग्रीको उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले नमुना कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्र साथै खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि विभिन्न स्थानमा करिब ६० बिघा जग्गा खरिद गरी काम गरिरहेको छ । ‘जोड्दै नेपाली मन, खोज्दै आफ्नो पन’ भन्ने नारासहित स्वदेशी उत्पादन र उद्यमशीलता मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कम्पनीका काम देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।