विकासन्युज

३७ अर्ब ७३ करोडको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ ८ गते ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँमध्ये ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल जार गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि सोमबार जेठ ७ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण तथा ५ अर्बको नयाँ ट्रेजरी र १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

दोदा बगरमा तरकारी खेती गरेर आकर्षक आम्दानी गर्दै किसान

वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन् । बगरमा उत्पादित तरकारी बिक्री गरेर उनले घरखर्च जुटाउँदै आएका छन् । ‘दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ,’ उनले भने, ‘आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।’ उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन् । दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । डाँगाजाईंका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन् । त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्छन्, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।’ डाँगाजाईंका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो । विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउछन् । ‘बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ,’ उनले भने, ‘बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।’ दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए । ‘वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी,’ उनले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ ।

पाँचथर पावरले डाक्यो आठौं वार्षिक साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समिति बैठकले आगामी जेठ २७ गते साधारण सभा डाकेको हो । सभा काठमाडौं बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा कम्पनीको नियमावली नियम २७ (२) बमोजिम सञ्चालक समिति संख्या संशोधन गर्ने, एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने/गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ । सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकले प्रस्तुत गरेकाे गत आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको जनाएको हो । सेयरको न्यूनतम मूल्य २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ । इच्छुक लगानीकर्ताले आगामी जेठ १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

  तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा बन्द गरिएको हो । रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए । व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे । व्यास नगरपालिका–५ रानीटारीदेखि म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ । कुल १ हजार ९ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको १ हजार ६ सय मिटर काम पूरा भएको छभने नौ किलोटिर नाला लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिए । ‘आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ,’ उनले भने ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।’

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ महाशाखाले जनाएको छ । कोशी र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अब सहकारी ठग्नेमाथि अनुसन्धान हुने, यस्तो बन्यो संसदीय छानबिन समिति

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धि अनुसन्धान गर्न संसदीय समिति बन्ने भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएपछि अब सहकारीको रकम अपचलन गर्नेविरुद्द छानबिन हुने भएको हो । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा सहमति भएको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सो समितिको संयोजक बन्ने बुझिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् । यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्ने बुझिएको छ । पछिल्लो समय सहकारीमा ठूलो समस्या छ । अधिकांश सहकारीमा बचत फिर्ताको समस्या छ ।

विश्वमा साइबर अपराधको बिगबिगी

काठमाडौं । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत् ‘व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू आर्सेनि बढ्दै जाने’ बताएका थिए । कृत्रिम बौद्धिकता (एआई) को आगमनसँगै विश्वमा साइबर अपराधको वृद्वि भइरहेको छ । साइबर अपराध भनेको कम्प्युटर नेटवर्कमार्फत गरिने आपराधिक गतिविधि हो । बढ्दो प्रविधिको प्रयोगले मानिसको जीवनलाई अत्यन्तै सहज बनाए पनि यसको सही सदुपयोग नहुँदा यसले समाजमा विकृति पैदा गरिरहेको छ । इजरायलको अर्थतन्त्रले साइबर आक्रमणका कारण वार्षिक १२ अर्ब डलर नोक्सान बेहोरेको देशको राष्ट्रिय साइबर निर्देशनालयले जारी गरेको नयाँ प्रतिवेदनले जनाएको छ । उक्त प्रतिवेदनमा प्रस्तुत गरिएको रकम छोटो अवधिमा आक्रमणबाट हुने क्षतिलाई सम्हाल्ने लागतहरूको विश्लेषणमा आधारित रहेको छ । साइबर आक्रमणबाट राष्ट्रिय उत्पादनमा परेको ठूलो आर्थिक भार र अर्थतन्त्रमा हुने नोक्सानी पहिलोपटक तथ्यांकले देखाएको एएनआईले उल्लेख गरेको छ । भियतनामको प्रहरीले हालै घरेलु र अन्तर्राष्ट्रिय रूपमा हजारौं फेसबुक खाताहरू चोरी गरी नियन्त्रणमा लिएको आरोपमा २० जनालाई पक्राउ गरेको थियो । यसबाट उनीहरूले झन्डै ४० लाख डलर नाफा कमाएका छन् । भियतनामी अनलाइन समाचारपत्र भीएनई एक्सप्रेसका अनुसार २५ हजारभन्दा बढी उच्च–मूल्य व्यापार खाताहरू अधीनमा लिन मालवेयर फैलाएको आरोप छ । मालवेयर भनेको प्रयोगकर्ताको सहमतिबिना कम्प्युटरमा स्थापना गरिएको सफ्टवेयर हो जसले पासवर्ड वा पैसा चोर्ने जस्ता खराब कार्यहरू गर्दछ । मालवेयर पत्ता लगाउने धेरै तरिकाहरू छन् तर सबैभन्दा सामान्य खराब फाइलहरू वा प्रोग्रामहरूका लागि कम्प्युटर स्क्यान गर्नु हो । यो समूहको नेतृत्व ३१ वर्षीय दाङ डिन्ह सनले गरेको विश्वास गरिन्छ । उनले फेसबुक प्रयोगकर्ताको खाताको जानकारी चोर्न ४१ हजार दुई सय डलरको मालवेयर स्रोत खरिद गरेका थिए । यो मालवेयर प्रयोग गरी दुई फोटो सम्पादन साइटहरू ‘आर्ट बे एआई’ र ‘इभोटो स्टुडियो’सँग सम्बन्धित दुई लोकप्रिय फेसबुक फ्यान पृष्ठहरू नियन्त्रण गर्नप्रयोग गरेको त्यहाँको मिडियाले जनाएको छ । आर्ट बे एआई (कृत्रिम बुद्धिमत्ता कला) डिजिटल कलाको कुनै पनि रूप हो जुन एआई उपकरणहरूद्वारा सिर्जना वा परिष्कृत गरिन्छ । इभोटो स्टुडिया अर्को पुस्ताको फोटो रिटचिङ उपकरण हो । यसले फोटो सम्पादनका विभिन्न पक्षहरूलाई स्वचालित र वृद्धि गर्न उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिहरू प्रयोग गर्छ । त्यसपछि तिनीहरूले फेसबुक प्रयोगकर्ताहरूलाई एउटा अनुप्रयोग डाउनलोड र स्थापना गर्न प्रलोभन दिएर यसको मालवेयरले प्रयोगकर्ताहरूको उपकरणहरूमा प्रवेश गर्नेछ । चोरी भएको डाटा सङ्कलन गरी सनद्वारा नियन्त्रित सर्भरमा फिर्ता पठाइयो र त्यसपछि टेलीग्राममा पाँच समूहहरूमा वितरण गरियो, ताकि उसको टोलीका सदस्यहरूलाई प्रयोगकर्ता खाताहरू अपहरण गर्न अनुमति होस् । गिरोहले नाफाका लागि उच्च मूल्यका फेसबुक खाताहरू बेचेको थियो । कम मूल्यका अन्य खाताहरू इ–कमर्स प्लेटफर्महरूमा कपडा र अन्य वस्तुहरू बेच्न विज्ञापनहरू चलाउन प्रयोग गरिएको थियो । त्यसबापत अभियुक्तले ३८ लाख डलर कमाएको थियो । अप्रिलसम्म भियतनाम फेसबुक प्रयोगकर्ताहरूको कुल संख्याको आधारमा विश्वमा सातौं स्थानमा रहेको समाचार ऐजेन्सी एएफपीमा उल्लेख भएको थियो । यस्तै एउटा वेबसाइट जसले अन्तर्राष्ट्रिय साइबर ठगीकर्ताहरूलाई ७० हजार ब्रिटिस पीडितहरूलाई बैंक खाता विवरण र पासवर्डहरू जस्ता व्यक्तिगत जानकारीहरू प्रकट र ठगी गर्न अनुमति दिएको लन्डन प्रहरीले बताएको छ । उनीहरूले ल्याबहोस्ट साइट कब्जा गरेको थिए, जसले दुई हजारभन्दा बढी अपराधीहरूलाई ‘फिसिङ’ साइटहरू सिर्जना गर्न सक्षम बनाएको छ । फिसिङ एक प्रकारको सोसल इन्जिनियरिङ आक्रमण हो, जुन प्रायः लगइन प्रमाणहरू र क्रेडिट कार्ड नम्बरहरूसहित प्रयोगकर्ता डेटा चोरी गर्न प्रयोग गरिन्छ । यसले पीडितहरूलाई चार लाख ८० हजार बैंक कार्ड नम्बरहरू र ६४ हजार नम्बरहरू प्रकट गर्न पाएको छ । बेलायत र विदेशमा कानून प्रवर्तनले अप्रिलदेखि ३७ जनालाई गिरफ्तार गरेको र अन्य आठ सय जनाले पुलिसलाई उनीहरूको पहिचान थाहा छ भनेर चेतावनी दिइएको थियो । तीमध्ये धेरैको अनुसन्धान जारी रहेको छ । बेलायती प्रहरीले हजारौँको व्यक्तिगत डाटा चोरी गर्ने साइबर जालसाजी नेटवर्कलाई अवरुद्ध गरेको छ । साइटले ४० हजार घोटाला साइटहरू सेट अप गर्न एक सय ७० कम्पनीहरूको प्रोफाइलहरू प्रयोग गर्न कम प्राविधिक जानकार प्रयोगकर्ताहरूका लागि टेम्प्लेटहरू र कसरी गर्ने पाठ प्रदान गर्यो । पुलिसले २५ हजार बेलायतका पीडितहरूलाई उनीहरूको डेटा सम्झौता भएको बारे सूचित गरेको समाचार ऐजेन्सी एपीले प्रकाशित गरेको छ । डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकहरूमा यो समस्या अझ विकराल बन्दैछ । नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ । मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ । सेक्स टोसन अपराधमा, अपराधीले पीडितलाई आफ्नो निजी र नग्न तस्बिरहरू वा भिडियोहरू फोनमा साझा गर्न प्रलोभन दिन्छ र प्रेरित गर्दछ । धेरै अवस्थामा व्यक्ति डेटिङ एप्स वा वैवाहिक वेबसाइटहरू र एपहरूमार्फत अज्ञात व्यक्तिहरूसँग सम्पर्कमा आउँछन् । तिनीहरूसँग जोडिएका प्रोफाइलहरू प्रायः नक्कली हुन्छन् । उदाहरणको रुपमा एक जना युवतीलाई करिब पाँच महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा युवकको‘फ्रेण्ड रिक्वेस्ट’ आयो । फेसबुक वालमा युवतीको आकर्षक तस्वीर देखेपछि युवकले साथी बन्ने प्रस्ताव पठाएका थिए । युवतीसँग युवकले केहीदिन कुरा गरेपछि युवक युवतीसँग अत्याधिक नजिक हुँदै जान्छन् । करिब एक महिनाको कुरा गरेपछि युवकले युवतीलाई नग्न तस्विरहरू र भिडियोहरू साझा गर्न प्रेरित गर्छन् । पछि युवतीले दिएको नग्न तस्वीरहरू युवकले राखी युवतीलाई ब्ल्याकमेल गर्न थाल्छ । उसले पैसाका लागि युवतीलाई जबरजस्ती गर्न थाल्छ । पैसा नदिएको खण्डमा युवकले युवतीको तस्बिर र भिडियो इन्टरनेटमा उसको परिवार आफन्त साथीहरूसँग सेयर गर्ने धम्की दिन्छ । हाल हाम्रो समाजमा यस्ता घटनाहरु बढिरहेको र साइवर अपराधलाई बढावा दिइरहेको छ । साइवर अपराध २१औँ शताब्दीको प्रमुख समस्या भएको छ । यसलाई समय अनुकूल रोक्न सकिएन भने भोलि कोभिड–१९ भन्दा बढी डरलाग्दो समस्या ल्याउनसक्ने साइवर सुरक्षामा संलग्न व्यक्तिहरू बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समय अनुकूल कडा कानुन निमार्णका लागि जोड दिइरहेको बेला नेपालमा पनि नयाँ कानून ल्याउन लागिएको छ । यसको कार्यान्वयनमा जोड दिन सकिएमा सामाजिक सद्भाव बढाउन र आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न सहयोग पुग्नेछ । एजेन्सी