काठमाडौं महानगरको कडाइपछि सहकारीले तोक्न थाले सूचना अधिकारी
काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको सञ्चार तथा सूचना ऐनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधानबमोजिम कामपाले गत वैशाखभित्र अधिकारी तोकेर विभागमा जानकारी गराउन दिएको निर्देशनलाई आत्मसात् गर्दै सहकारीले सूचना अधिकारी राख्न थालेका हुन् । कामपाको सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सहकारीहरुले सूचना अधिकारी तोकेर जानकारी गराउन थालेका छन् । अहिले करिब १५ सहकारीले सूचना अधिकारी तोकेर जानकारी गराइसकेका उनले जानकारी दिए । ‘अन्यले पनि राख्नेबारे जानकारी गराइसकेका छन्,’ प्रमुख त्रिपाठीले भने, ‘यसरी सूचना अधिकारी राख्दा सहकारीकै कर्मचारी वा सहकारीको सदस्य हुनुपर्ने कानूनी व्यवस्था छ ।’ उनका अनुसार हाल कामपामा एक हजार ९ सय सहकारी सञ्चालनमा छन्। एक हजार छ सय २८ बचत तथा ऋण, दुई सय ६४ बहुउद्देश्यीय, तीन श्रमिक, १५ कृषि सहकारी, १३ उपभोक्ता सहकारी, तीन सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन्। सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका एकरएक वटा सहकारी रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भइ सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो। कामपामा सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन् । साझा सोच र आवश्यकता भएका व्यक्तिहरुले सामूहिक आर्थिक, सामाजिक, सांस्कृतिक विकास र गतिशीलताका लागि सञ्चालित आर्थिक कारोबार गर्ने उद्देश्यले स्थापित संस्था सहकारी हो । पछिल्लो समय सहकारीहरु ताला लगाएर बेपत्ता भएपछि घरधनीले तालाबन्दी खोलिदिनुपर्यो भन्ने निवेदन आउने गरेको कामपाको भनाइ छ । बचत फिर्ता भएन भनेर बचतकर्ताले रकम गराइ पाउन भनेर निवेदन दिने गरेका कामपाको सहकारी विभागका प्रमुख त्रिपाठीले बताए । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका बीचको दृष्टि एउटै हुनुपर्ने र सहकारीले आफूलाई इमान्दार तथा स्वनियममा राख्नुपर्ने उनको भनाइ छ । सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, धितो नलिइ वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्नेलगायत कारण रहेका सहकारी विभागले जनाएको छ ।
पर्यटकको रोजाइमा मच्छिम डाँडा ‘भ्युस्टेसन’
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम संकलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ । पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ । यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता छ । छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब एक सय १४ घरधुरीको मिश्रित बसोबास छ । गाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय नगेन्द्र मल्ल ठकुरीले बताए । गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजित मेलाबाट संकलन भएको रकमले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार डाँडामा दृश्यावलोकन स्थल, सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गरिएको छ । ‘मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर भ्युस्टेसनमा पूर्वाधार बनाएका हौं,’ ठकुरीले भने, ‘पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब ९ लाख रुपैयाँ खर्च भएको छ ।’ यहाँबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सूचनामूलक बोर्ड राखिएको छ । गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने स्थानीय ठकुरीले बताए । ‘पानी पर्दा, हावाहुरी चल्दा प्रतीक्षालयमा आश्रय लिन सकिन्छ । शव दाहस्थल, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छ,’ उनले भने । गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्दछ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले मच्छिमबाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ । गाउँबाट एक किमी पश्चिममा छन्त्यालको टुकटुके र छिनोका माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ । मच्छिम गाउँबाट केही माथि डाँडामा छन्त्याल जातिले कुल पूजा गर्ने कुल मन्दिर छ । उक्त मन्दिर परिसरबाट हिमशृङखला आँखै अगाडि उभिएको देखिन्छ । गाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा सक्रिय भएर पूर्वाधार निर्माणमा जुटेका अगुवा महिला तिला छन्त्यालले बताइन् । उनका अनुसार युवाले विविध सांस्कृतिक कार्यक्रम र चन्दा संकलन गरेर हेम नमूना आवासीय मावि काफलडाँडा, मच्छिमको भूमे आधारभूत विद्यालय र फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन् । गाउँका विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई दाल, चामललगायत खाद्यान्न सामग्री सहयोग गर्ने गरेका छन्त्यालले बताइन् । यहाँका युवा फुर्सदका समयमा सामाजिक काम र खेलकुदका गतिविधिमा सहभागी हुँदै आएका उनको भनाइ छ ।
दिक्तेल-खानीडाँडा-आहाले सडक : ६ वर्षपछि कालोपत्र सुरु
खोटाङ । कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं. २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्ने गरी याक्थुङहाङ-साप-सिरुवा जेभीले विसं.२०७५ असोज १ गते ठेक्का लिएको थियो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भ्याटसहित २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्ने गरी १० दशमलव ९७४ किलोमिटर सडकखण्ड कालोपत्रको ठेक्का लगाएको थियो । मूल ठेकेदारसँग सम्झौता गरी यसअघि दुई वटा ठेकेदार कम्पनीले पेटी ठेक्का लिएर अलपत्र छाडेका थिए । हाल बाँकी काम गर्ने जिम्मा श्रीनिक बिल्डर्स प्रालिले लिएको छ । दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने उक्त सडक अहिले धमाधम कालोपत्र भइरहेको स्थानीयवासी सन्तोष पौडेलले जानकारी दिए । ढिलै भए पनि सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । सुरुमा राम्चे निर्माण सेवा कम्पनीका कल्याण दाहाललाई प्रतिनिधि राखेको ठेकेदार कम्पनीले दोस्रोपटक खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिका खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको थियो । दाहाल र राईले काम नगरेपछि अहिले श्रीनिक बिल्डर्स प्रालिका प्रोप्राइटर भैरव बस्नेतलाई जिम्मा दिइएको याक्थुङहाङ-साप-सिरुवा जेभीले जनाएको छ । कालोपत्र भइरहेको दिक्तेल-खानीडाँडा-आहाले सडक यही जेठ मसान्तमा सम्पन्न गरेर असार पहिलो साताभित्र प्राधिकरणलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको प्रोप्राइटर बस्नेतले बताए । ‘अघिल्लो ठेकेदार कम्पनीले नाली, साइड ड्रेन, ग्राभेल, बेस तथा सब-बेसलगायत अधिकांश भौतिक संरचनाका काम सम्पन्न गरेको भनेर भुक्तानी लिएका रहेछन् । ती कामहरू अहिले पुनः गर्नुपर्यो । हामीले जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न गर्ने तयारी छ”, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित ७० जना कामदार खटिएका छन् । जेठ मसान्तभित्र कालोपत्रको सबै काम सकिन्छ ।’ अघिल्लो दुई वटा ठेकेदार कम्पनीका प्रतिनिधिले प्राधिकरणबाट १३ करोड ६९ लाख पाँच सय ३८ रुपैयाँ भुक्तानी लिइसकेका छन् । बाँकी कालोपत्र सम्पन्न गर्न श्रीनिक बिल्डर्स प्रालिले सात करोड २२ लाख तीन हजार चार सय ३५ रुपैयाँमा पेटी ठेक्का लिएको हो । सडकको नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसी ढलान, साइड ड्रेन, ग्राभेलसहित ६।२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र हुनेछ । १८ महिनाभित्र सम्पन्न गर्ने भनिएको सो सडक वि।सं।२०७५ मङ्सिर १ गते तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शिलान्यास गरेका थिए । निर्माणमा ठेकेदारको चरम लापरबाही भएपछि प्राधिकरणले विसं.२०७६ पुस ९ गते लिखितरूपमा पत्राचार गरी काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा/गिट्टी घोलेर प्रयोग भइरहेको गुनासो आएपछि निर्माण रोकिएको थियो ।
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की रितु थापा मगर घरधन्दा सकेर ढाका बुन्छिन् । चार वर्षअगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उनी व्यवसायमा लागेकी हुन् । ‘तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ। फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ,’ उनले भनिन्, ‘त्यसपछि निरन्तर यही पेसामा छु।’ फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उनको भनाइ छ । व्यवसाय थालेपछि अरूसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। ‘पैसा चाहिँदा अरूसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो। घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरूलाई पनि उद्यम गर्न आग्रह गर्छु,’ उनले भनिन् । ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौंबाट ल्याउने गरेको उनले बताइन् । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गरेकी उनले अहिले सारीको माग धेरै भएको जानकारी दिइन्। उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्ता सुरुवाल बनाउन सकिन्छ । थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । आठ हजारदेखि १२ हजार रुपैयाँसम्ममा सारी बिक्री हुन्छ । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्ने गर्छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताए । हरेक व्यक्ति उद्यमी बन्न सके मात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ । यता, दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेका छन् । व्यास नगरपालिका–२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेका हुन् । ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताए । उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँ मात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौंलगायतका ठाउँबाट माग हुने गरेको छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि ढाकाको कपडा किन्ने गरेका छन् । ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए । जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुईमहिने निःशुल्क ‘एडभान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ। युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए ।
निजी सुरुङदेखि अन्डरवाटर म्युजिक सिस्टमसम्म, यस्ता छन् बिल गेट्सको घरका रोचक तथ्य
काठमाडौं । अमेरिकी धनाढ्य बिल गेट्सले सन् १९७५ मा पल एलेनसँग मिलेर माइक्रोसफ्ट नामक सफ्टवेयर कम्पनी स्थापना गरेका थिए । बिल गेट्सको विश्वास गर्छन्– यदि तपाईं गरिब भएर जन्मिनुभयो भने त्यो तपाईंको गल्ती होइन, तर यदि तपाईं गरिबीमा मर्नुभयो भने त्यो तपाईंको गल्ती हो । बिल गेट्ससँग यति धेरै सम्पत्ति छ कि हरेक दिन दुबै हातले खर्च गरे पनि त्यो समाप्त हुँदैन । तर, के तपाईंलाई थाहा छ अर्बपति बिल गेट्सको बंगलामा धेरै सुविधाहरू छन्, जुन वासिङ्टनमा अवस्थित छ। वासिङ्टन ताल नजिकै रहेको उनको बंगलाको नाम शानाडु हो । करिब १.५ एकड (६६,००० स्क्वायर फिट) मा फैलिएको यो बंगलामा ७ सयनकक्ष, २४ बाथरुम, ६ वटा किचन, स्विमिङ पुल, २ हजार ३०० स्क्वायर फिटको रिसेप्शन हल र २ हजार ५०० स्क्वायर फिट व्यायामका लागि व्यवस्था गरिएको छ । सुन्दर इन्टेरियर भएको यो बंगला आधुनिक इलेक्ट्रोनिक प्रणालीले सुसज्जित छ। बिल गेट्सको बंगलामा यस्तो सुविधा छ जुन मुकेश अम्बानीको एन्टिलियामा पनि छैन । मुकेश अम्बानीको घर एन्टिलिया ४ लाख स्क्वायर फिटमा फैलिएको छ । एन्टिलियाको मूल्य करिब १५ हजार करोड रुपैयाँ छ । यदि बिल गेट्सको बंगलाको कुरा गर्ने हो भने यसको मूल्य करिब १०६६ करोड भारु हो । बिल गेट्सको यो बंगलामा अन्डरवाटर म्युजिक सिस्टमदेखि राजमार्ग जोड्ने सुरुङसम्मका सुविधाहरू छन् । शानाडु एक हवेली हो जुन लेक वासिङ्टनको किनारमा निर्मित छ। हाइटेक सिस्टम बिल गेट्सको घर निकै हाइटेक छ । घरभित्र स्क्वास कोर्ट र ट्राम्पोलिन कोठा छ । घरको सबै कुरा फोनबाट नियन्त्रित हुन्छ । शानाडुलाई राजमार्गसँग जोड्ने निजी सुरुङ छ । यस बंगलाको सबैभन्दा ठूलो विशेषता भनेको घरमा जुनसुकै बेला जो हिँडे पनि उनीहरूको पाइलाको दबाबका आधारमा परिवारका सदस्य वा सुरक्षाकर्मीले घरमा को–को छ भनी पत्ता लगाउन सक्छन् । घरमा बत्तीहरू स्वचालित रूपमा आउँछ र बन्द हुन्छ । घरमा जडान गरिएका स्पिकरहरूमा बज्ने संगीतले घरमा उपस्थित व्यक्तिलाई एक कोठाबाट अर्को कोठामा पछ्याउँछ । टिभी सेटदेखि एसी र बत्तीसम्म सबै पोर्टेबल टच प्याडबाट नियन्त्रण गरिन्छ । घर हेर्न आउने मानिसलाई घरभित्र पस्नुअघि निरीक्षणका लागि माइक्रोचिप दिइन्छ । एजेन्सी
३ करोड ८१ लाख लागतको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा
डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रूपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो । भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । तीन वर्षअघि निर्माण सुरु भएको उक्त ‘बेलिब्रिज’ विविध कारणले ढिलासुस्ती भएको थियो । डोल्पाका राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीको निरन्तर खबरदारीका कारण ‘बेलिब्रिज’ सञ्चालनमा ल्याउन सफल भएको प्रजिअ दाहालले बताए। ‘बेलिब्रिज’ सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ, गाडी दुनैसम्म पुग्न थालिसकेका छन्, अब बर्खामा यातायात सञ्चालन गर्न भेरी करिडोरबीचका केही खोलाहरुमा ह्युमपाइप राख्न पहल भइरहेको छ,’ प्रजिअ दाहालले भने । यो करिडोरले भारतको रुपैहिडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकका रूपमा लिइएको छ । करिडोरअन्तर्गत तल्नुबगर, छलगार्ड र खदाङमा पक्की पुल निर्माण सुरु भएको छ । भेरी करिडोर कार्यालय जाजरकोटका नायब सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबार भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको बताए । ‘बेलिब्रिज’ले २५ टनसम्म भार थेग्नसक्ने उनले जानकारी दिए । तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज निर्माणका लागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन वर्षपछि ‘बेलिब्रिज’ सञ्चालनमा आएको हो । विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाख रूपैयाँमा ‘बेलिब्रिज’ निर्माणको जिम्मा पाएको थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । अब बाँकी खोलाहरुमा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गर्ने बिषयमा छलफल भइरहेको उनको भनाइ छ । भेरी करिडोर कार्यालयका अनुसार एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रका ५६ किमी सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडक फराकिलो बनाउने काम सुरु गरिएको छ । जाजरकोट-डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको ‘बेलिब्रिज’ यसअघि निर्माण भइसकेको छ । रुपगार्ड खोलाको ‘बेलिब्रिज’को काम सुरु भइसकेको छ । रुपगार्डको ‘बेलिब्रिज’ निर्माण भएपछि भेरी करिडोरअन्तर्गत पाँच वटा खोलाका पुल बन्नेछन् । अझै सानातिना खोलामा गरेर आठ वटा खोलामा पुल बन्न बाँकी छ । रासस
जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन् । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा पाँच/छ पटकसम्म विश्वासको मत लिनुपर्ने परिस्थिति आउनसक्ने पनि बताए । ‘कांग्रेसका एकजना नेताले १३ पटकसम्म लिनुपर्छ भन्नुभएको थियो। यसपालि ५/६ पटक लिनुपर्ने देख्छु,’ उनले भने ‘तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु, धेरै टेन्सन लिनुपर्दैन, कहले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । त्यसकारण दुविधामा नपर्न पार्टीका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरे। ‘एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुविधामा छैन, तपाईंहरु पनि दुविधामा पर्नु पर्दैन,’ उनले भने । प्रधानमन्त्री दाहालले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताए । उनले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्यता मिलाइ ल्याउने गरी तयारी भइरहेको बताए ।
सुदूरपश्चिम प्रदेश : १० महिनामा ट्राफिक कारबाहीबाट ४ करोड राजस्व संकलन
कैलाली । सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व संकलन गरेको छ। ट्राफिक प्रहरीले चालु आवको साउनदेखि बैशाख मसान्तसम्म को अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो। सो अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लंघन गर्ने ६२ हजार नौ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए। त्यस्तै सो अवधिमा भएका दुई सय ६० वटा सवारी दुर्घटनाबाट एक सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी एक सय ४५ जनाको मृत्यु भएको तथा चार सय ५५ जना घाइते भएको उनले जानकारी दिए । उनका अनुसार सो अवधिमा एक सय ७५ मोटरसाइकल, ४४ जिपरकार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा , १६ टेम्पो, १४ ट्रकरट्यांकर, सात टिपर, सात माइक्रो, तीन वटा डोजर र चार अन्य गरी तीन सय ३८ वटा सवारी दुर्घटनामा परेका हुन्। गत आव २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व संकलन भएको थियो । सोही वर्ष दुई सय ५५ सवारी दुर्घटनाबाट एक सय ७७ जनाको मृत्यु, एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए । चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेटलगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उनको भनाइ छ । उनले भने, ‘ठूला सार्वजनिक सवारी दुर्घटनामा त कमी आएको छ । ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै गएको छ, साना तथा व्यक्तिगत सवारी दुर्घटना बढेका छन् ।’