मुस्ताङमा १ लाख ८ हजार विदेशी पर्यटक भित्रिए
काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा १ लाख ८ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ १ लाख २ हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गत वर्षको तुलनामा ५.३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९.९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ । तर, यस यामको अनुकूल पर्यटक ‘सिजन’मा प्रतिकूल मौसम र युवाहरुको जेनजी आन्दोलनको उत्पन्न परिस्थितिका कारण कम विदेशी पर्यटक आएका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले बताए । उनका अनुसार सन् २०२४ को सप्टेम्बरमा ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत यहाँका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गरेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तव्यहरु यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदाहरु रहेको एक्यापले उल्लेख गरेको छ ।
आज घर घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद अर्थात् सहायक हुन्,’ उनले भने । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिए । हनुमानढोका दरबारको दसैँ घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राम्हणले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकोमा गणतन्त्र स्थापनापछि संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्षको फूलपाती सोमबार अपरान्ह साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरूको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ गरिँदै, राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने
काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति छन् । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह-२०८२’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिने छ । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँ घरमा साइत जुराएर भित्रयायसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुने छन् । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।
भीमसेन स्थान नजिक आगलागी, क्षतिको पूर्ण विवरण सङ्कलन हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए । ‘बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ,’ उनले भने ।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते
काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धीखर्क-ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोट दह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने-७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।
यस वर्ष ५ हजार रुपैयाँसम्म सस्तियो भेडा च्याङ्ग्राको मूल्य
काठमाडौं । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडा च्याङ्ग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडा च्याङ्ग्राको मूल्य ५ हजार रुपैयाँ र प्रतिकिलोग्राम जिउँदाको मूल्य ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष ४० हजार रुपैयाँ तिरेर भेडा च्याङ्ग्रा किनेकोमा यसपालि ३५ हजार रुपैयाँमै पाइएको बताए । ‘३ वर्षअघि रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ५२ हजार रुपैयाँ र च्यालु (हिमाली भेडा) को मूल्य ४०/४२ रुपैयाँ हजार थियो,’ उनले भने, ‘मूल्य सस्तीएपछि लेकाली भेडा च्याङ्ग्राको मासुका परिकार खाएर दसैँ मनाउने मध्यम वर्गका उपभोक्ताको रहर पुरा गर्न सहज भएको छ ।’ नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतबाट पनि च्याङ्ग्रा आउनु, मुस्ताङमा च्याङ्ग्रा पालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए । श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट २ हजार ५ सय च्याङ्ग्रा काठमाडौं पुर्याएका छन् । गत वर्ष काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो १ हजार ३ सय रुपैयाँका दरले बिक्री गरेकोमा यसपालि १ हजार २५० रुपैयाँका दरले बिक्री गरेको श्रेष्ठले बताए । दसैँका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौं, चितवन र बुटवलका बजारमा झारिएका भेडा च्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो । तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङबाट मात्र भेडा च्याङ्ग्रा मात्र झरेका छन् । पोषिलो, स्वास्थ्य प्रवर्द्धक, शक्ति वर्द्धक, स्वादिलो हुने भएकाले चाडपर्वमा जडिवुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका नेत्रराज सुवेदीले बताए । यस बर्ष ३५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको १४ हजार ६६८ भेडा च्याङ्ग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ । ७ हजार ६६८ मुस्ताङका किसानले पालेका, ६ हजार ८६८ डोल्पा, मुगु र जुम्लाबाट आएका भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरेर बजार पठाउन अनुमति दिएको केन्द्रका प्रमुख लालमणि अर्यालले बताए । किसानले अधिकतम च्याङ्ग्रालाई ३५ हजार रुपैयाँ र भेडा (च्यालु) लाई २८ हजार रुपैयाँमा बेचेका छन् । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपभोगी मानिन्छ । शरिरमा लामो रौ भएका च्याङग्रा रैथाने हुन् । तिब्बतबाट ल्याएको च्याङ्ग्राको शरिरमा रौ छोटो हुन्छ । लोमानथाङ गाउँपालिका-३ नामग्यालका किसान तेन्जीङ गुरुङले च्याङ्ग्रा पालनबाट जीविकोपार्जन गरेको बताए । यसपाली ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताए । मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडा च्याङ्ग्राको खपत बढी हुने गरेको छ । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमानथाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रा पालन हो । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रा पालक किसानको प्रमुख चुनौती हो । यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडा च्याङ्ग्राको लागि आहाराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकता भन्दा बढी हिउँ पर्दा भेडा बाख्रा आहाराको अभावमा मर्ने समस्या पनि छ ।
दुर्गा पक्षको आठौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौं । बडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको हो । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौ दिन शुक्रबार सूर्योदय कालमा चौथी तिथि रहेकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले यस वर्षको नवरात्र दशरात्र बनेको छ । छैटौँ दिन शनिबार स्कन्दमाता र सातौँ दिन आइतबार कात्यायनी देवीको पूजा आराधना गरियो । आठौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । आश्विन शुक्ल सप्तमीका दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
जेनजी आन्दोलनका घाइतेलाई सरकारको २० हजार सहयोग, परिचयपत्र पनि वितरण गरिने
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आइतबार गृहमन्त्रालयले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार गर्न २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज १२ गतेको निर्णयअनुसार घाइते व्यक्तिहरूको पहिचान र सहज उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आजैदेखि परिचयपत्र वितरणको काम सुरु गरिएको उल्लेख गरेको छ । सरकारले प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेलाई रकम निकासा गरिएको जानकारी गराएको छ ।