दशैंको शुभकामना दिदैं देउवा भन्छन् - जेनजी आन्दोलन इतिहासकै अकल्पनिय र दु:खद
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् । सोमबार बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरे । सन्देशमा भनिएको छ, 'नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहीत बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति,व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ ।' उनले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद् क्षणमा ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर, डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन् । संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताए । सन्देशमा भनिएको छ ,'नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।' उनले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताए । सभापति देउवाले बडादसैँ २०८२ को अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
चाडपर्वमा पनि तलब नपाएको ५०० भन्दा बढी गुनासो, छानबिन गर्ने मन्त्री पुनको घोषणा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा समेत शिक्षक र कर्मचारीले तलब नपाएको गुनासो आएको भन्दै छानबिन गर्ने बताएका छन् । मन्त्री पुनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ५०० भन्दा बढी गुनासो आफूलाई फोन र इमेलबाट प्राप्त भएको जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै गुनासो मधेश प्रदेशबाट आएको छ । उनले लेखेका छन्, 'तलब पाइएन भनेर मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ। वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडपर्वको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाइ तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन र इमेलबाट आयो । शिक्षा मन्त्रालयले सबै पालिकालाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।' मन्त्री पुनले पालिकाबाट देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीकै कारण शिक्षाकर्मी प्रभावित भएको भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाइने बताएका छन् ।
क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम खर्च गर्ने
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० दोस्रो संशोधन गर्दै उक्त निर्देशन जारी गरेको छ । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले सो निर्देशन जारी गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ४५ को उपदफा (२) को खण्ड (घ) पछि देहायको खण्ड (ङ) थप गरिएको छ प्राधिकरणले जनाएको छ । जसमा प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्च गरिने उल्लेख छ ।
चीनको गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल यातायातका लागि खुल्यो
काठमाडौं । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा आइतबार बिहान विश्वको सबैभन्दा अग्लो पुल ट्राफिकका लागि खुलेको छ । जसले तीन वर्षको निर्माणपछि गहिरो घाटी पार गर्ने यात्रा समय दुई घण्टाबाट घटाएर केवल दुई मिनेटमा ल्याएको छ । गुइझोउको पहाडी भूभागमा बेइपान नदीभन्दा ६२५ मिटर माथि रहेको हुआजियाङ ग्रान्ड क्यान्यन पुल सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिजभन्दा लगभग नौ गुणा अग्लो छ । गुइझोउ प्रान्तीय अधिकारीहरूका अनुसार १ हजार ४ सय २० मिटरको मुख्य स्प्यानको छ । यो परियोजना पहाडी भूभागमा विश्वको सबैभन्दा लामो स्प्यान स्टील ट्रस गर्डर सस्पेन्सन ब्रिज बनेको छ । पृथ्वीको दरार भनेर चिनिने हुआजियाङ ग्रान्ड क्यान्यनमा फैलिएको २ हजार ८ सय ९० मिटर लामो संरचना विश्वको दोस्रो ठूलो अर्थतन्त्रको द्रुत गतिमा विस्तार भइरहेको पूर्वाधार नेटवर्कमा पछिल्लो थप हो । बेइपान नदीमाथि फैलिएको पहिलेको विश्वको सबैभन्दा अग्लो पुल हुआजियाङ ग्रान्ड क्यान्यन पुलबाट १ सय किलोमिटरभन्दा केही टाढा अवस्थित छ । २०१६ मा खोलिएको अघिल्लो रेकर्ड होल्डरमा पुलको डेकबाट तल नदीको सतहसम्म ५६५.४ मिटरको ठाडो क्लियरेन्स छ । वर्षौंको दौडान, चीनको सबैभन्दा कम विकसित प्रान्तहरू मध्ये एक गुइझोउले आफ्नो पहाडी भूभागमा ३० हजार ००० भन्दा बढी पुलहरू निर्माण गरेको छ । जसमा विश्वका तीनवटा अग्ला पुलहरू पनि समावेश छन् । यो प्रान्त विश्वका १०० अग्ला पुलहरू मध्ये लगभग आधाको घर हो ।
अविरल वर्षा र पहिरोले ६ ठाउँमा राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न ६ ठाउँमा सोमबार पनि राजमार्ग बन्द रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए । उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका-३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ । रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल-चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । आज रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका-७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा सोमबार खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार परिोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।
अनियमिततामा मुछिँदा प्रमुख र लेखापाल मन्त्रालयमा तानिए, छानबिन पनि थालियो
काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ । कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन् । कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए । मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा सङ्लग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छ । छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन र अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।
नख्खु कारागारबाट फरार ६५१ कैदीबन्दी फर्कन बाँकी
ललितपुर । गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण एक हजार २८० जना कैदीबन्दी भागेका थिए । फरार कैदीमध्येमा हालसम्म पाँच सय ८७ जना स्वेच्छाले कारागारमा फर्किएका छन् भने केही देशका विभिन्न कारागारमा पुनःस्थापित भएका छन् । अझै ६५१ जना फरार कैदी नख्खु कारागार प्रशासनले सूचनामार्फत फर्कन आह्वान गरे पनि फर्किएका छैनन् । कारागार व्यवस्थापन विभागले फरार रहेका सबै कैदीबन्दीलाई स्वेच्छाले फर्कनका लागि असोज २० गते सोमबारसम्मको समय दिएको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन, २०७९ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागले फरार कैदीलाई खोजी गर्न तथा फिर्ता ल्याउन सहयोग पुर्याउन कैदीबन्दीका परिवारजन, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार माध्यम र अन्य सरोकारवाला निकायसँग सहकार्यका लागि आग्रह गरेको छ । फरार कैदीहरूले तोकिएको म्यादभित्र आफैंँ नजिकको प्रहरी कार्यालय, कारागार वा सम्बन्धित निकायमा सम्पर्क गरेर आत्मसमर्पण गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।
दसैँमा बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)
काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दसैँको रौनकता छाइरहेको छ । घरको आँगनमै दसैँ आइपुगिसकेको छ । घटस्थापनादेखि दसैँको रौनक सुरु भएदेखि विभिन्न स्थानमा विभिन्न काम विशेषले रहेका मान्छे आ-आफ्नो घरतर्फ लागिरहेका छन् । यसपटक दसैँमा असोज १३ गते (फूलपती)देखि असोज १८ गतेसम्म सार्वजनिक बिदा रहेको छ । नेपाल राष्ट्र बैंकले पनि सार्वजनिक बिदाको सूची २०८२ अनुसार दसैँ अवधिमा घटस्थापना (असोज २ गते) र फूलपाती (असोज १३ गते)देखि निरन्तर असोज १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूका लागि बिदा रहने जनाएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले दसैँ अवधिमा पनि सीमित शाखा तथा काउण्टर खुला राखेर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने भएका छन् । नेपाल बैंक नेपाल बैंकले दसैँमा कोशी प्रदेशका मेची भन्सार यात्रु शाखा काउण्टर, मुख्य काउण्टर खुला र कृष्णनगर भन्सार काउण्टर खुला राख्ने जनाएको छ । उक्त काउण्टर बिहान ६ बजेदेखि राती १० बजेसम्म खुला रहने बैंकले जनाएको छ । बैंकका अनुसार बागमती प्रदेशको काठमाडौं बैंकिङ अफिस न्युरोडको विदेशी मुद्रा सटही काउण्टर खुला रहनेछ । बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले असोज १३ गतेदेखि असोज १८ गतेसम्म ७ वटा ठाउँका शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार सुख्खा बन्दरगाह विराटनगर, मुख्य शाखा कार्यालय, वसन्तपुर काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा, सुख्खा बन्दरगाह भैरहवा, धनगढी र इटहरी शाखा खुला रहने छन् । बिहान १० बजेदेखि २ बजेसम्म कारोबार समय रहेको बैंकले जनाएको छ । दसैँको दिनमा भने सबै शाखा बन्द रहने बैंकले जनाएको छ । नबिल बैंक नबिल बैंकले दसैँ अवधिभर ३१ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकले कोशी प्रदेशमा ७ वटा, मधेश प्रदेशमा २ वटा, बागमती प्रदेशमा १५ वटा, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ वटा, कर्णाली र सुदूरपश्चिममा १/१ वटा शाखा तालिका अनुसार खुला रहनेछन् । खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिने बैंकले जनाएको छ । दसैँ होलिडे काउण्टरमार्फत १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न र २ लाख रुपैयाँसम्म रकम निकाल्न सक्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले दसैँ अवधिमा उपत्यकाभित्र २१ वटा र उपत्यका बाहिर २५ वटा शाखा तथा काउन्टर खुला रहने जनाएको छ । बैंकका अनुसार असोज १३ गते २६ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते ६ वटा, असोज १६ गते १ र असोज १७ गते २३ वटा शाखा खुला रहने छन् । शाखा कार्यालय खुला रहने समय भने फरक फरक तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले दसैँ अवधिमा खुला रहने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकका अनुसार असोज १३ गते नयाँ बानेश्वर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी शाखा खुला रहेनछन् । यस्तै, असोज १४ गते नयाँ बानेश्वर, विराटनगर, पोखरा शाखा, असोज १५ गते नक्साल र धरान शाखा, असोज १७ गते न्युरोड काठमाडौं र विराटनगर शाखा खुला रहनेछन् । दसैँमा खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म वित्तीय सेवा दिने बैंकले जनाएको छ । हिमालयन बैंक हिमालयन बैंकले असोज १३ गते ९ वटा, असोज १४ गते ७ वटा, असोज १५ गते ७ वटा, असोज १७ गते ६ वटा शाखा खुला राख्ने जनाएको छ । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह हुनेछ । बैंकका अनुसार २६५ दिन खुल्ने हिटी दरबार, पाटन र न्युरोड शाखा असोज १३ गतेदेखि असोज १८ गतेसम्म नियमित बिदाको काउण्टर खुल्ने समयमा बन्द रहनेछन् । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले दसैँ अवधिमा १४ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन सकिने बैंकले जनाएको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले दसैँमा बागमती प्रदेशको न्युरोड र पुल्चोक शाखा खुला रहने जनाएको छ । उक्त शाखाबाट ग्राहकहरूले नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, विदेशी मुद्रा विनिमय सुविधा (उपलब्धताको आधारमा) लिन सक्ने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान १० बजेदेखि अपरान्ह १:३० बजेसम्म खुल्नेछन् । बैंकका अनुसार वीरगंज भन्सार कार्यालय, आईसीडी तथा आईसीपी र नेपालगन्ज भन्सार कार्यालय, भन्सार कार्यालयको तालिका अनुसार संचालनमा रहने छन् । राजस्व काउन्टरहरु माथि उल्लेखित समयमा सरकारको निर्णय अनुसार खोलिने छन् । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले दसैँमा १६ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, बिर्तामोड, दमक, मधेश प्रदेशका वीरगञ्ज र जनकपुर, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड (खिचापोखरी), थानकोट, नारायणगढ शाखा, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा, लुम्बिनीमा बुटवल र नेपालगञ्ज, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढी चौराहा शाखा खुला रहेनछन् । खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र न्युरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म सेवा दिने छन् । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले दसैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । असोज १३ गते १० वटा, असोज १४ गते ११ वटा, असोज १५ गते ८ वटा र असोज १७ गते ७ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । कुमारी बैंक कुमारी बैंकले दशैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । बैंकका अनुसार असोज १३ गते १४ वटा, असोज १४ गते १५ वटा, असोज १५ गते ११ वटा र असोज १७ गते १२ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालयबाट बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा लिन सकिनेछ । लक्ष्मी सनराइज बैंक लक्ष्मी सनराइज बैंकले दसैँमा खुल्ने शाखाबाट कार्यालय बिहान १० बजेदेखि २ बजेसम्म सेवा प्रवाह हुने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशमा असोज १३ गते इटहरी, तिनपैनी, बिर्तामोड शाखा, असोज १४ गते विराटनगर (पुष्पलाल चोक), दमक, इनरुवा, असोज १५ गते विराटनगर (हनुमान दास रोड), धरान, काँकडभिट्टा र असोज १७ गते विराटनगर (हनुमान दास रोड) शाखा खुला रहने छन् । यस्तै, बागमती प्रदेश (उपत्यका भित्र) असोज १३ गते हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी असोज १४ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, सुकेधारा, टेकु, लगनखेल पाटन अस्पताल, भक्तपुर (सल्लाघारी), असोज १५ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, तिनकुने, पेप्सीकोला, असोज १७ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, मुलपानी (पिपलबोट), खुसिबु हात्तीसार र असोज १८ गते हात्तिसार र गैह्रीधारा शाखा खुला रहेनछन् । बागमती प्रदेश (उपत्यका बाहिर) भने नारायणघाट (लायन्स चोक) शाखा खुला रहेनछ । मधेश प्रदेशमा जनकपुर (वजरङ्ग चोक), वीरगंज (आदर्शनगर) जनकपुर (भानु चोक) वीरगंज (लिङ्ग रोड), गण्डकी प्रदेशमा पोखरा चिप्लेढुङ्गा) बाग्लुङ, पोखरा औद्योगिक क्षेत्र, दमौली पोखरा (न्यूरोड), रजहर, पोखरा (अमरसिंह), वालिङशाखा खुला रहेनछन् । कर्णाली प्रदेशमा विरेन्द्रनगर (यरि चोक), विरेन्द्रनगर (विरेन्द्रनगर चोक) छिञ्चु र श्रीनगर शाखा खुला हुनेछन् । सुदुरपश्चिम प्रदेशमा धनगढी (शहिदगेट), धनगढी (लक्ष्मी नारायण चोक), महेन्द्रनगर र लुम्बिनी प्रदेश नेपालगंज (कारकाँदो चोक), भैरहवा घोराही, बुटवल (मिलन चोक) शाखा खुला हुनेछन् । बैंकका अनुसार एटिएम कार्ड तथा अन्य डिजिटल बैंकिङ्ग सम्बन्धी सहायताका लागि चौविसै घण्टा उपलब्ध हुनेछन् । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले दसैँ अवधिभर २७ वटा शाखा खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, नाम्चे, इटहरी, धरान, बिर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगंज, जनकपुर शाखा खुल्नेछन् । यस्तै, बागमति प्रदेशका हात्तिसार, कुमारीपाटि, सूर्यविनायक, गंगबु, बौद्ध, स्वयम्भू, न्युरोड, तिनकुने नारायणघाट, हेटौडा शाखा, गण्डकी प्रदेशको पोखरा (सभागृह चोक), लुम्बिनी प्रदेशको नेपालगञ्ज, तुलसीपुर, बुटवल शाखा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चि प्रदेशको धनगढी, अत्तरिया, टिकापुर, महेन्द्रनगर शाखा खुला हुनेछन् । बैंकका शाखाबाट बिहान १० बजेदेखि १ बजेसम्म सेवा लिन सकिनेछ । कृषि विकास बैंक कृषि विकास बैंकले दसैँ अवधिमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिने छ । बैंकका अनुसार फुलपातीका दिन २२ वटा शाखा, महाअस्टमीका दिन २६ वटा शाखा र एकादशीका दिन २० वटा शाखा खुला हुनेछन् । नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउसको नियम बमोजिम बैंकका आरटीजीएस, ईसीसी र राष्ट्र ऋण भुक्तानी लगायतका सेवाहरु सञ्चालन हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिनेछ । बैंकका अनुसार असोज १३ गते ५७ वटा शाखा, असोज १४ गते २४ वटा, असोज १५ गते १६ वटा, असोज १६ गते ३ वटा, असोज १७ गते २५ वटा र असोज १८ गते १८ वटा शाखा खुला रहनेछन् । सिटिजन्स बैंक सिटिजन्स बैंकले असोज १३ गते १५ वटा, असोज १४ गते १६ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ७ वटा र असोज १८ गते ५ वटा शाखा खुला रहेनछन् । दसैँ अवधिमा खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । प्राइम बैंक प्राइम बैंकले असोज १३ गते १४ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ११ वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । एनएमबि बैंक एनएमबि बैंकले असोज १३ गते ११ वटा, असोज १४ गते ४ वटा, असोज १५ गते ८ वटा, असोज १७ गते ९ वटा शाखा खुला रहनेछन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । नेपाल राष्ट्र बैंकको सूचना बमोजिम दसैँको बिदाको दिन बबरमहलस्थित सेन्ट्रल ट्रेड अप्रेसन बिहान १० बजेदेखि १ बजेसम्म खुला रहेनछ । प्रभु बैंक प्रभु बैंकले दसैँको समयमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । काठमाण्डौ उपत्यका भित्र मुख्य शाखा, बबरमहल, कमलादी, ललितपुर (जावलाखेल) र भक्तपुर शाखा खुला हुनेछन् । यस्तै, उपत्यका बाहिर बिराटनगर (गोल्छाचोक) इटहरी, बिरगंज (आदर्शनगर), जनकपूर, नारायणगढ, हेटौडा, कावासोती, बागलुङ, दमौली, गोरखा पोखरा (रत्नचोक), नेपालगञ्ज, भैरहवा र धनगढी शाखा खुला हुनेछन् । सानिमा बैंक सानिमा बैंकले असोज १३ गते २६ वटा, असोज १४ गते २४ वटा, असोज १५ गते २४ वटा, असोज १७ गते २१ वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् ।