विकासन्युज

प्रधानमन्त्रीको सचिवालयमा ३ सल्लाहकार नियुक्त, को हुन् खनाल, श्रेष्ठ र तिमिल्सिना ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् ।  प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्व सम्पादक हुन् ।  त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन सङ्कायमा स्नातकोत्तर अध्ययनरत छन् ।  नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।  प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

चर्खेपिङ संरक्षण गर्दै गाउँले

काठमाडौं । चर्खेपिङ लोप हुँदै गएपछि बागलुङ नगरपालिका-९ सिगानाका स्थानीयले संरक्षण सुरु गरेका छन् । स्थानीय राज जिसीले गत वर्षदेखि आफ्नै लगानीमा चर्खेपिङ निर्माण गरेका छन् । बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्ति अभाव हुँदा राख्न छाडिएको पिङ यहाँ १३ वर्षपछि हाल्न थालिएको हो । पहिले पहिले यहाँ एउटै गाउँमा तीनदेखि चार वटा चर्खेपिङ हाल्ने गरिन्थ्यो । जिसिले एउटा चर्खेपिङ निर्माण गर्न व्यक्तिगत ४० हजार रुपैयाँ लगानी गरेको बताए ।  ‘पोहोरकै सामाग्रीहरु जडान गरेर यसपालि पनि पिङ हालिएको छ । पछिल्लो समय देखिनै छाडेको चर्खेपिङ संरक्षण गर्नु सबैको दायित्व हो,’ उनले भने । विगत चार वर्षदेखि बागलुङ नगरपालिका-५ साँझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको स्थानीयहरुले पनि चर्खेपिङ हाल्न थालेको स्थानीय जुना न्यूरेले बताए । ११ वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेले बताए ।  दसैँमा भूँइ छाड्नुपर्छ भन्ने परम्परागत मान्यता छ । दसैँ तिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ ।  ‘यहाँ लिङ्गे पिङ नै थियो, गत वर्ष सामुदायिक वनको सक्रियतामा परम्परा संरक्षण गर्न चर्खेपिङ हाल्ने निर्णय गरेर लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो,’ न्यूरेले भने, ‘१० वर्ष पहिला मालिकाको पन्चासेमा दुई वर्ष मात्रै चर्खे पिङ हालिएको थियो, त्यस यता चर्खे पिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।’ न्यूरेका अनुसार चर्खेपिङ महङ्गो हुने भएकाले सुनाखरी सामुदायिक वन उपभोक्ता समिति मार्फत काठ लिएर २० हजार रुपैयाँ खर्चेर पिङ तयार गरिएको हो । बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दुई दशकअघि गाउँ-गाउँमा अनिवार्यजसो चर्खेपिङ बनाइने गरे पनि अहिले चर्खे पिङ देखिनै छाडेको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठले बताए ।  ‘कतिपयले संस्कृतिको संरक्षणका लागि गाउँमा चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनै पिच्छे चर्खेपिङ देख्न पाइँदैन,’ उनले भने, ‘अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे अबको पाँच वर्षपछि चर्खेपिङ हैन लिङ्गे पिङ समेत हराउँछ ।’

अर्थमन्त्री खनालले गरे ३ हजार ८ सय गुनासो सम्बोधन

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विभिन्न माध्यमबाट आएका सयौं गुनासाहरूको सम्बोधन भएको बताएका छन् । खनालले आफू अर्थमन्त्री बनेपछि ह्वाट्सएप, इमेल लगायत माध्यमबाट प्राप्त ३ हजार ८ सय गुनासाहरुको सम्बोधन भएको जानकारी दिएका हुन् । उनका अनुसार २ हजार २ सय ह्वाट्सएप सन्देश, १ हजार ५ सयभन्दा बढी टेक्स्ट सन्देश र केही १२१ ईमेलबाट प्राप्त गुनासाको प्रतिक्रिया दिइएको छ । अझै केही गुनासा बाँकी रहेकाले दसैँको टिका अगाडि नै सक्ने लक्ष्य रहेको उनको भनाइ छ । अर्थ मन्त्रालय मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दवाब दिएको एवम् घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा आफूलाई गुनासो गर्न उनले आग्रह गरेका छन् ।  

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो ।  फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । 

दलहरू निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दैछ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले शीर्ष नेताहरू नेतृत्वमा रहिरहन बहानाबाजी गर्न थालेको आरोप लगाएका छन् । जेनजी आन्दोलनको माग नेतृत्व परिवर्तन भए पनि संकटको बेला नेतृत्वलाई जोगाउनुपर्ने भन्दै पुराना नेताहरूले कार्यकर्ताको भावना दोहन गर्न थालेको उनले बताए । महासचिव भुसालका अनुसार मुलुकलाई संकटमा पुर्‍याउने शक्तिहरू नै अहिले आफूलाई बचाउन भाष्य खडा गरिरहेका छन् । 'वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन्, मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन्,' उनले भने । भुसालले दलका नेताहरू पुनः सत्तामा रहन बहानाबाजी गर्न थालेको दाबी गर्दै यस्तो परिपाटीले दलहरूलाई जनतासामु लैजानै नसक्ने बताए । उनका अनुसार आगामी निर्वाचन गराउन नसक्दा मुलुक अर्कै दिशामा जानेछ । 'चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरू सक्रिय छन्। प्रत्यक्ष कार्यकारी राष्ट्रपति लगायत पपुलिस्ट नाराहरू उठाउँदैछन्,' भुसालले भने, 'समाजका पुराना, परम्परागत र राष्ट्रवादी भनिने शक्तिहरूले पनि संविधानविरुद्ध गतिविधि गर्ने संकेत देखिएका छन् ।' अर्थतन्त्रमा ठूलो धक्का लागिसकेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले मुलुकलाई बहुपक्षीय द्वन्द्वमा फसाउने चेतावनी दिए ।

पाथीभरा क्षेत्रमा मदिरा निषेध

फुङ्लिङ । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सोमबार एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो ।  समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ ।   साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

गृहमन्त्रीलाई ध्रुब थापाको खुलापत्र

जेनजी आन्दोलनको जगमा भर्खर सरकार बनेको छ । अहिले यहाँहरूलाई भ्याइनभ्याइ होला, अतः यो दसैँको मुखमा यहाँलाई भेटेर आफ्ना कुरा राख्नुभन्दा पनि सबैलाई जानकारी हुने गरी सामाजिक सञ्जाल मार्फत यो खुलापत्र प्रेसित गरेको छु । अहिले यहाँहरू सरकारमा हुनुहुन्छ । तपाईँ कानुनको विद्यार्थी, यहाँलाई विधितै होला, कानुनी राज भएको हरेक देशमा सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै देशमा अमन चयन बहाल गर्नु हुन जान्छ । तर, सरकार बनेको यतिका दिन बितिसक्दा पनि हामी नागरिकले यस्तो महसुस गर्न सकेका छैनौँ । किनकि आजका दिनसम्म न त त्यो आन्दोलनमा सहादत प्राप्त गर्नेहरूले न्याय पाउन सकेका छन् न त घाइतेहरूले, न त हामी जस्ता निर्दोष घरपरिवार, जसले आन्दोलनको नाउँमा आफ्नो श्री सम्पत्ति मात्र नभएर मानवीय क्षति समेत गुमाउनुपरेको छ । गृहमन्त्रीज्यू, म र मेरो परिवार न त हामी कुनै सक्रिय राजनीतिमा संलग्न छौं न त कुनै त्यस्तो अवैध व्यापार गरेर धन कमाएका थियौँ । जेनजी उमेर (१७ वर्ष को हुँदा) देखि नै अथक मेहनत र परिश्रम गर्दै आयआर्जनमा इमान्दारिताका साथ सरकारलाई कर बुझाएर व्यवसाय गर्दै आएको थिएँ । तर, दुर्भाग्य यो आन्दोलनमा पोखरा स्थित मेरो आवास तथा व्यवसायमा पनि आगजनी, तोडफोड तथा लुटपाट गरि सम्पूर्ण रूपमा क्षति पु¥याइएको छ । साथै, मेरो घरमा काम गर्ने एकजना निर्दोष महिलालाई समेत जानाजान घरभित्रै थुनेर जिउँदै जलाएर हत्या गरिएको छ । देशमा बढ्दो भ्रष्टाचार र कुशासनबाट हामी पनि वाक्क दिक्क भएका थियौँ । त्यसैले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनप्रति हाम्रो पनि ऐक्यबद्धता थियो । तर, यो आन्दोलनले यो खालको विध्वंश तथा मानवीय क्षति ल्याउला भनेर कसैले कल्पना पनि गरेका थिएनौँ ।  जे नहुनु थियो, त्यो भइसक्यो । अब यो अवस्थामा राज्यको भूमिका महत्वपूर्ण हुन जान्छ । यस्तो विध्वंश मच्चाउन कसले योजना बनायो, को–को परिचालित थिए र ती अपराधीहरू कानुनी दायरामा कहिले आउँछन् भन्ने प्रश्न हामी पीडित पक्षबाट यहाँ समक्ष राख्न चाहन्छौं । आन्दोलन आयोजक जेनजीले आन्दोलनको आयोजना हामीले गरेपनि आगजनी तोडफोड जस्ता विध्वंश कार्यहरू हामीले गरेका होइनौ भनिसकेका छन् । यो कुरा सरकारमा बस्ने तपाईँहरूले पनि स्वीकार गर्नुभएको छ । यो कुरा हामी पनि जान्छौं । यसका लागि यथेष्ट सबूत प्रमाणहरू हामीसँग छन् पनि । जेन् जी समूहले यो विध्वंश,आतङ्क तथा हत्या गरेका होइनन् भन्ने कुराको लगभग निश्चित भइसकेको छ ।  यति कुराको जानकारी हुँदाहुँदै पनि ती घुसपैठ गरी देशमा आतंक मच्चाउनेहरूलाई सरकारले किन संरक्षण दिन खोजेको हो ? राष्ट्रिय तथा हाम्रो निजी सम्पत्तिहरू खरानी बनाउने, प्रहरीहरूलाई जिउँदै कुटीकुटी मार्ने हत्याराहरू समाजमा खुलमखुला हिँडिरहेको देख्दा हामी अहिले पनि आतङ्कित भइरहेका छौं । त्यसैले यस्ता मान्छेहरूहरूलाई तत्काल कानुनी दायरा भित्र ल्याउनु वर्तमान सरकारको दायित्व होइन र ? धेरै दिनदेखि हामी आफूसँग भएका सबुत प्रमाणहरू सहित जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन धाइरहेका छौँ । तर, माथिबाट आदेश आएको छैन भन्दै उजुरी दर्ता गर्न मानिएको छैन । कानुनी राज्यको उपहास यहाँ भन्दा बढी अरु के हुनसक्छ र ! मान्छेलाई घरभित्र जिउँदै जलाएर मार्ने नरपिचा्सहरूलाई समाजमा खुलमखुल्ला नै छोडिदिने हो गृहमन्त्रीज्यू ? अहिले फेरि गृहमन्त्रीज्यू स्वयंले यो आन्दोलन सम्बन्धमा जाँचबुझ आयोग गठन भएको र कारबाही प्रक्रिया पनि सोही आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै भदौ २३ र २४ गतेका घटनाका दोषीहरूलाई कारबाही गर्न रोक लगाउनुभएको भने जानकारीमा आएको छ । त्यो जाँचबुझ आयोगका सदस्यहरू पीडितहरूको घरघरमा आएर छानबिन गर्ने हुन् वा माथिबाटै छानबिन हुने हो ? नेपालमा जाँचबुझ आयोग गठन गर्नुको अर्थ, तत्काल जनताको आवेगलाई शान्त पार्न ति मागहरुलाई सम्बोधन गरेजस्तो गर्ने तर तिनीहरूलाई केही कारबाही नगरी उन्मुक्ति दिनु भन्ने मनसाय नै हो, भन्ने बुझिन्छ किनकि नेपालमा विगतमा जे जति जाँचबुझ आयोग गठन भएको थिए ति आयोगहरूले गरेका सिफारिसका आधारमा आजसम्म कुनै कारबाही गरिएको रेकर्ड छैन् ।  अनि गृहमन्त्रीज्यूलाई जानकारी नभएर हो कि के हो, कुनै पनि घटनामा प्रमाण पुगेका अपराधीहरूलाई कारबाही गर्न किन जाँचबुझ आयोग चाहिन्छ र ? तिनीहरूलाई कानुनी दायरामा ल्याउन हाल भइरहेको कानुन नै पर्याप्त छैन र ? छानबिन गर्न त जसको प्रमाण पुगेको छैन, जसलाई अनुसन्धान गरेर मात्र पत्ता लगाउनुपर्छ त्यस्ता घटनामा छानबिन आयोग गठन गर्नु स्वाभाविक हो। विगतदेखि नै नेपालमा आयोग गठनको बहाना बनाउने तर घटनामा संलग्न अपराधीलाई कारबाही नगर्ने प्रवृत्तिले यो देशमा दण्डहिनता मौलाउँदै गएको छ र यस्ता आपराधिक प्रवृत्तिलाई प्रोत्साहन गर्दै जाने हो भने विधिको शासनलाई थप कमजोर बनाउँदै लैजानेछ । अब सरकारले पनि पहिलेका सरकारले जस्तै गर्ने हो भने भोलिका दिनहरूमा अरु पनि कति निर्दोष नागरिकहरूले ज्यान गुमाउनुपर्ने हो र हामी जस्तै अन्य कति जनाले विध्वंशको सिकार हुनुपर्ने हो अहिले नै अनुमान लगाउन कठिन हुनेछ । अन्तमा, गृहमन्त्रीज्यूलाई सादर अनुरोध के छ भने, यहाँले आन्दोलनका क्रममा गोली बर्साएर ती अबोध भाइबहिनीहरूको ज्यान लिने, राष्ट्रिय सम्पदाहरू तथा हामी नागरिकका निजी सम्पत्तिहरू ध्वंस गर्ने, घरभित्र मान्छेहरूलाई जिउँदै जलाएर मार्ने आततायीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुहोस् अन्यथा भोलिका दिनमा हामी पीडित जनताहरू र हाम्रा शुभचिन्तकहरू आफ्नो सुरक्षाका लागि सडकमा आएर ति खुलमखुल्ला हिँडिरहेका अपराधीहरुलाई स्वयं कारबाही गर्न बाध्य हुनुपर्नेछ । यति मात्र होइन यदि यस्ता आतंककारीहरूलाई समयमै कानुनी दायरामा नल्याउने हो भने भोलिका दिनहरूमा पनि सानातिना आन्दोलनका नाममा समेत घर घरमा लुटपाट, आगलागी हत्या जस्ता जघन्य अपराधहरू हुने तथा त्यही मौका पारेर प्रतिशोध साध्ने जस्ता घटनाहरू बढ्दै जानेछन् । यहाँ कोही सुरक्षित हुने छैनन् । यसैले समय छँदा नै त्यस्ता अपराधीहरूलाई कारबाही गरियोस् र दण्डहिनताको अन्त्य गरियोस् साथै देशमा सरकार छ भन्ने आभास  दिलाइयोस् । अब फेरि पनि जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ नहोस्। सबैलाई विजयादशमीको शुभकामना !!

भाटभटेनीमा 'डिजिटल दशैं' अफर सार्वजनिक, स्कुटर र टाटा पन्च इभी जित्ने मौका

काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा नेपालीहरूको महान पर्व दशैंको अवसरमा 'डिजिटल दशैं' अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाअन्तर्गत, प्रत्येक भाटभटेनी आउटलेटमा ग्राहकहरूले टीभीएस जुपीटर स्कुटर जित्न सक्नेछन् । साथै, बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत टाटा पन्च इभी जित्नेछन् । स्कुटरका लागि अफर असोज ६ गतेदेखि पुष १७ गतेसम्म, भने टाटा पन्च इभीका लागि असोज ६ गतेदेखि फागुण ३० गतेसम्म लागू हुनेछ । विजेताहरू भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गर्नेछ । यस अफरले दशैँको किनमेललाई थप लाभदायक बनाउने विश्वास लिइएको छ । नेपाल पे क्यूआर हाल देशभरका ५२ वटा बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेट, कनेक्ट आइपीएस तथा अलीपे पल्स नेटवर्कमार्फत स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । हालसम्म १० लाखभन्दा बढी मर्चेन्टहरु नेपाल पे क्यूआरमा आवद्ध भइसकेका छन् । भाटभटेनी सुपरमार्केट देशभर २७ भन्दा बढी शाखा भएको सबैभन्दा ठूलो रिटेल चेन हो । यहाँ दैनिक आवश्यक सामग्रीका साथै लुगाफाटा, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामानहरू एकै छानामुनि खरिद गर्न सकिन्छ । भाटभटेनीले आधुनिक र व्यवस्थित लेआउटमार्फत सहज र सुविधाजनक किनमेल अनुभव प्रदान गर्ने गर्दछ ।