विकासन्युज

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष बरालले लिए शपथ

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सोमबार राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरूको उपस्थित थियो ।

डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरी सेवा प्रवाह गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष सिलवालले भने, ‘संसारमैं डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेशागत बीमा अभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्छ ।’ बीमा मार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ, बीमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफै विस्थापित हुन्छन् ।’ अध्यक्ष सिलवालले बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बीमा सम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बीमा अभिकर्ताहरूलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरण, संचालक समितिका सदस्य कपिल देव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बीमालेख बिक्री गर्दा देखिएका समस्याहरू लगायतका विषयमा प्रस्तुती गरे । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदैआएको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले प्राधिकरणले जारी गरेको डिजिटल बीमालेख निर्देशन बीमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बीमाको पहुँच बढाउन भएको स्पष्ट गरे । कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेशागत बीमा अभिकर्ता सङ्घका महासचिव ओम के.सी. ले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुती गरिएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सामान्य अकंले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अकंको सुधार देखिएको छ । आज नेप्से परिसूचक ३.९३ अकंले बढेर दुई हजार एक सय १३.२७ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता सेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह ०.७४, होटल तथा पर्यटन समूह ०.४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ०.६३, वित्त समूह  १.४१, जलविद्युत् ०.२५, लगानी १.८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड ०.४९, व्यापार ०.२२ र अन्य समूह ०.६४ प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार चार सय ३४ रुपैयाँ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता सेयर किनबेच भएको छ ।

मन्त्री भण्डारीले गरे उद्योग परिसरको छड्के अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सोमबार छड्के अनुगमन गरेका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए । सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिएका थिए । सेवाग्राहीले उक्त कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा उनले समक्ष गुनासा सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए । अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दीपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झालगायत कर्मचारीलाई मन्त्री भण्डारीले सेवाग्राहीलाई झन्झटरहित ढङ्गबाट छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिए । सो क्रममा मन्त्री भण्डारीले उद्योग परिसरभित्रका भौतिक संरचनाको समेत अनुगमन गरेका छन् । जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारको मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने संरचना प्रयोगमा ल्याउन निर्देशन दिए । साथै उनले सार्क हस्तकला केन्द्र स्थापना गर्न भवन व्यवस्थापनका लागिसमेत अनुगमन गरे ।

१९ करोडमा ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै

खोटाङ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन अस्पताल भवनको भूइँतलामा इमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ्ग) सेवा, दोस्रो तलामा वाड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । एघार महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित १९ करोड ३० लाख ४४ हजार एक सय ६४ रुपैयाँ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिलारपुरुष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको निर्माणस्थलमा खटिएका कम्पनीका इञ्जिनियर नवीनकुमार यादवले बताए । उनका अनुसार अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै र्‍याम्प भर्‍याङ (ह्वील चियर गुडाउन मिल्ने भर्‍याङ) निर्माण भइरहेको छ । भवनको भूइँ र दोस्रो तलामा प्लास्टर सम्पन्न गरेर तेस्रो तलामा इँटा जोड्ने काम सुरु गरिएको इञ्जिनियर यादवले जानकारी दिए । ‘साढे तीनतला अग्लो भवनको अन्तिम तलाको ढलान यही जेठ ६ गते सम्पन्न गरेका छौँ । अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाएर काम गरिरहेका छौँ’, उनले भने, ‘संरचनाको काम सम्पन्न भइसकेको छ । असार मसान्तभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने योजनाअनुसरा तीव्रता दिएका छौँ ।’ आगामी साउन १ गतेदेखि रङरोगनको काम सुरु गरेर निर्धारित समयमा भवन हस्तान्तरण गर्नेगरी कामलाई तीव्रता दिइएको इञ्जिनियर यादवले जानकारी दिए । विसं २०७९ साउन २६ गते सम्झौता गरी गत माघ २३ सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि आगामी साउन २५ गतेसम्मका लागि पहिलो पटक म्याद थप गरिएको उनको भनाइ छ । जग्गा विवादका कारण ढिलागरी काम सुरु भएको भन्दै भवन गुणस्तरीय बनाउन, थपिएको मितिमा सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष गीरेन्द्रबहादुर राईले जानकारी दिए । ‘सुरुमा जग्गा विवादले सम्झौता ढिलो भयो । वर्षाको समयमा सम्झौता भएकाले ठेकेदार कम्पनीले काम गर्न सकेनन्’, उनले भने, ‘अहिले छ महिनाको म्याद थप भएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ ।’ प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल विसं २०७७ मङ्सिर १५ गते नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री राजन राईले शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, १० र १५ शय्याका तीन सय नौ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐँसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो । अस्पतालका लागि स्थानीय पर्शुराज भण्डारीले ३० लाख रुपैयाँ बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारको लगानीमा सुरु गरिएको पालिकास्तरीय अस्पतालको काम अन्तिम चरणमा पुग्दा स्थानीय हर्षित भएका छन् । स्थनीयस्तरमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अधिकांश वडावासी अहिले पनि ऐँसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन् । रासस

न्युरोडमा फुटपाथ बढाउने महानगरको निर्णयविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं । न्यूरोडका स्थानीय बासिन्दाले यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गरेका छन् । सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैँन्, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागेको छ । तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।

गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सहकारी ठगी प्रकरण्मा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।  उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका हुन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरेका छन् । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउन माग गरिएको हो ।

शिक्षक सरुवा निर्देशिका स्वीकृत, स्थानीय तहले शिक्षकलाई पालिकाभित्र मात्रै सरुवा गर्न पाउने

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त निर्देशिका स्वीकृत गरेकी हुन् । शिक्षक सरुवासम्बन्धी विभिन्न गुनासा सम्बोधन गर्न जिल्लान्तर सरुवा रोक्का गरिएको थियो । यही निर्देशिका बमोजिम शिक्षक सरुवा र व्यवस्थापन सुचारु हुने मन्त्रालयले जनाएको छ । निर्देशिकामा शिक्षकले सरुवाका लागि आफै विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको दाबी मन्त्रालयको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत निर्देशिकामा आवश्यकताअनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राखेर सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइटमा समेत प्रकाशन गर्नुपर्ने छ । स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा सबैको जानकारीका लागि राख्नुपर्ने छ । रिक्त पदमा सरुवा हुन इच्छुक शिक्षकले शिक्षा नियमावलीको अनुसूची १७ बमोजिम आफू कार्यरत विद्यालयको सहमतिसहित निवेदन दिनसक्ने छन् । आवश्यक कागजातसहित निवेदन दिने म्याद समाप्त भएको दिन सम्बन्धित प्रधानाध्यापकले विवरण प्रमाणित गरी विद्यालयको वेबसाइट र सूचना पाटीमा निवेदकको विवरण टाँस गर्नुपर्ने छ । यस्तै निर्देशिकामा सरुवाका लागि प्राथमिकताक्रम निर्धारणको कार्यविधि पनि राखिएको छ । निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकता क्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नुपर्ने प्रावधान राखिएको छ । स्थानीय तह अन्तर्गतको सरुवाका लागि स्थानीय तहले पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्नेछ । जिल्लान्तर सरुवाका लागि भने स्थानीय तहले तीन दिनभित्र सहमति प्रदान गर्नुपर्नेछ र सहमतिका लागि इकाईमा पठाउनुपर्नेछ । दफा १९ बमोजिम सहमति प्राप्त भइसकेपछि पेस भएका कागजात रुजु गरी तीन दिनभित्र इकाईले सरुवासम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय र स्थानीय तहलाई जानकारी दिनुपर्ने प्रावधान समेटिएको शिक्षा मन्त्रालयले जनाएको छ । रिक्त पदको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नगरी शिक्षक सरुवा सहमति प्रदान गर्न वा शिक्षक सरुवा गर्न नपाइने व्यवस्था समेटिएको छ । निर्देशिकामा सरुवा सहमति दिन नहुने अवस्थाहरूको पनि उल्लेख गरिएको छ भने सरुवाका लागि सहमति दिँदा कुनै पनि प्रकारको शुल्क वा सहयोग लिएको/दिएको पाइएमा दुवैलाई प्रचलित नेपाल कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने भनिएको छ । विशेष कारणको अवस्थाका शिक्षक (घातक रोग लागेका, अपाङ्गता भएका, तीन वर्षभन्दा सानो उमेरका बच्चाको आमा) र मातृ शिशु स्वास्थ्य संवेदनशीलता भएका शिक्षकको हकमा विशेष कारणको अवस्थामा रहेका शिक्षक व्यवस्थापनसम्बन्धी कानुनी प्रबन्धबमोजिम सम्बन्धित इकाईबाट जान चाहेको विद्यालयमा दरबन्दी रिक्त भएमा जुनसुकै बखत सरुवा भई जान सक्ने व्यवस्था गर्न सकिने प्रावधान निर्देशिकामा राखिएको छ । शिक्षक सरुवाका सम्बन्धमा कुनै गुनासो भए सरुवाको निर्णय गर्ने अधिकारीसमक्ष गुनासो गर्न सकिने र ७ दिनभित्र त्यस्तो गुनासो सम्बोधन गरी शिक्षकलाई जानकारी दिनुपर्नेछ । शिक्षक सरुवा लगायतका विषय सहज र सरल बनाई शिक्षकलाई थप प्रोत्साहित बनाउन मन्त्रालयले थप योजनाहरू पनि प्रस्ताव गरेको जनाएको छ । शिक्षकलाई आवश्यक सूचना एकै ठाउँमा प्राप्त गर्न संघीय संसदबाट यसै वर्षको नीति तथा कार्यक्रममार्फत एकीकृत विद्युतीय प्रणाली ‘शिक्षक पोर्टल’ बनाउने कुरा पारित भैसकेको छ । उक्त पोर्टलमा शिक्षकले खुला पदहरूबारे जानकारी पाउने देखि स्थानान्तरणको आवेदन गर्न सक्नेछन् । शिक्षकले आफ्नो कार्यस्थलबाटै कामलाई कुनै असर नहुने गरी पारदर्शी, न्यायोचित र अनुमानयोग्य सरुवा प्रक्रियामा सहभागी हुन सक्नेछन् । विद्यालय, स्थानीय तह, इकाई र केन्द्रको अधिकारी पनि पोर्टल मार्फत सुनिश्चित गरिनेछ । यो निर्देशिका प्रारम्भ हुनुअघि सहमति प्राप्त गरी प्रक्रियामा रहेका सरुवासम्बन्धी विषयहरू यसै निर्देशिका बमोजिम भएको मानिने भनिएको छ । [pdf id=486484]