विकासन्युज

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस – २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब पच्चिस सय भक्तजनहरुका लागि पिउने पानी तथा मिठाई वितरण गरिएको बैंकले जनाएको छ । त्यसैगरि बैंकको धनगढी शाखाद्वारा धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई एक लाख पचास हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बिचैमा पढाई छोड्न नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोष मार्फत विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैंकको सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रम सँगसगै बैंकको नारायणगढ शाखाद्वारा देवघाटधाम, तनहूँमा अवस्थित गलेश्वर आश्रमलाई तिन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्घेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्राङ्गणमा नेपाली ढुङ्गा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । बैंकको बाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भु प्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

व्यवसायीलाई साढे ३ खर्ब छुट, निर्यात नबढेपछि नीति पुनरावलोकनको सुझाव

काठमाडौं । उद्योगी व्यवसायीहरूले नेपालबाट विदेश वस्तु तथा सेवा पैठारी गर्दा साढे ३ खर्ब बढी छुट पाएका छन् । कुनै पनि वस्तु तथा सेवा निर्यात गर्दा सरकारले प्रचलित कानुनबमोजिम लगाएको दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन बढाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था गरिएको छ । सोही बमोजिम उद्योगी व्यवसायीहरूले ५ वर्षको अवधिमा वस्तु तथा सेवा निर्यात गर्दा सरकारबाट ३ खर्ब ४१ अर्ब ७४ करोड ४३ लाख छुट पाएका हुन् । भन्सार विभागको आसिकुडाको तथ्यांकअनुसार भन्सार राजस्वतर्फ आर्थिक वर्ष २०७९/८० मा ९९ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ४१ अर्ब २४ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा ४४ अर्ब २१ करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ६ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ छुट दिएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसमा प्रदेश तथा स्थानीय तह र आन्तरिक राजस्व विभागले दिएको छुटको रकम समावेश उल्लेख गरिएको छैन । राजस्व छुट वर्सेनि बढ्दो क्रममा रहेकाले सोमा पुनरावलोकन हुनु पर्ने महालेखापरीक्षकले औँल्याएको छ । राजस्व छुट दिन सक्ने व्यवस्थामा क्रमशः सुधार हुँदै गए तापनि वस्तु तथा सेवाको पैठारीमा लाग्ने महसुल दरमा दिने छुट र द्रष्टव्य, अनुसूची तथा पटके निर्णयका आधारमा दिने छुटको दायरा बढेको देखिएको छ । सार्क मुलुकबाट उत्पादित सामानहरू प्रतितपत्र खोली दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत प्रमाणपत्र संलग्न गरेर पैठारी भएमा वि.सं २०६२ पुस १७ गते कायम रहेको भन्सार महसुल दरमा निश्चित प्रतिशतले भन्सार महसुल छुट दिने व्यवस्था भएको थियो । यस्तो व्यवस्था लागु भएको १८ वर्ष व्यतीत भइसकेको छ । मन्त्रालयबाट प्राप्त विवरण अनुसार साफ्टाको सुविधा उपयोग गरी २०७९/८० मा विभिन्न व्यवसायीले प्लाष्टिक ग्रेनुअल, स्टिल पाता, ग्लासवेयर, प्राइमरी रेजिन, ग्लास बोतल, फलाम वा अमिश्रित स्पातका एङ्गल, सोयाबिन मिल, प्रिफेब्रिकेटेड हाउस लगायतका सामान पैठारी गर्दा भन्सार महसुल ९ अर्ब २१ करोड ७३ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ गरी १० अर्ब ४१ करोड ५५ लाख रुपैयाँ राजस्व छुट पाएका छन् । सरकारले साफ्टा छुटमा कच्चा पदार्थ तथा पार्टपुर्जालगायतका वस्तुहरू पैठारी गरी सोबाट स्वदेशमा उत्पादन वृद्धि गरेर तयारी मालवस्तु निकासी गरी तुलनात्मक रूपमा फाइदा लिन सकेको छैन । साफ्टा छुटबाट फाइदा लिन स्वदेशी उत्पादन वृद्धि गरी निकासी प्रवर्द्दनमा जोड दिनुपर्ने बताइएको छ । वैदेशिक सहायतामा सञ्चालन हुने आयोजनामा निर्माण कार्यका लागि सम्झौतामा व्यवस्था भएबमोजिम पैठारी हुने निर्माण सामग्री तथा उपकरणमासरकारको निर्णयबाट भन्सार महसुल, कर तथा शुल्क छुट दिने व्यवस्था छ । सोही बमोजिम २०७९ फागुनसम्म मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानहरू र निर्माण व्यवसायीहरूलाई आर्थिक ऐन, २०७९ को दफा २ बमोजिम पैठारी मूल्य २७ अर्ब ८४ करोड १८ लाख रुपैयाँमा ५ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ र दफा ३ बमोजिम पैठारी मूल्य २४ अर्ब ५ करोड ६८ लाख रुपैयाँमा ४ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ छुट दिएको विवरण मन्त्रालयगत प्रगति प्रतिवेदनमा उल्लेख छ ।

बीपीसीले आँधिखोला वितरण केन्द्रअन्तर्गतको विद्युत महसुल बढाएपछि स्थानीयकाे विराेध

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) ले विद्युत महसुल वृद्धि गरेपिछ निर्णय गरेपछि स्थानीयले विरोध गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिकामा उत्पादन तथा वितरण केन्द्र रहेको बुटवल पावर कम्पनीले  विद्युत महसुल वृद्धि गरेपछि स्थानीयले संघर्ष समिति बनाएर महसुल वृद्धिकाे विरोध गरेका हुन् । संघर्ष समितिले मंगलबार  रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै स्थानीय तथा सरोकारवालाको विरोधका बीच विद्युत नियमन आयोगले महसुल वृद्धि गरेपछि विराेध गर्नुपरेकाे बताएकाे छ । अहिले भएकाे वृद्धिदरअनुसार २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकका लागि हालको न्यूनतम प्रतियुनिट २ रुपैयाँबाट बढाएर २.९० पैसा पुर्‍याइएको छ भने २५० युनिट बढी खपत गर्ने ग्राहकका लागि प्रतियुनिट १० रुपैयाँ ३० पैसा तोकिएको छ । तर, यो महसुल दर विद्युत प्राधिकरणको न्यूनतम खपतमा लिइनेभन्दा सस्तो भएको बीपीसीको भनाइ छ । ग्रामीण क्षेत्रको अवधारणा लिएर २०४९ सालमा आधिखोला केन्द्रको नाममा स्थापना भएको परियोजना पछि आएर बुटवल पावर कम्पनी बनेको थियो । स्थानीयको साझेदारीमा काम गर्ने र स्थानीयलाई सेवा सुविधा दिने उद्देश्यले स्थापना भएको परियोजना पछिल्लो समयमा घाटामा गएको भन्दै जबर्जस्ती विद्युत महसुल बढाउन लागेपछि जनप्रतिनिधिदेखि स्थानीयले त्यसको विरोध गरेका छन् । सरकारले पछिल्लो समयमा २० देखि ५० युनिटसम्म विद्युत महसुस निशुल्क गर्न लागेको समयमा जनताको ढाड सेक्नेगरी ६५ प्रतिशतसम्म विद्युत महसुस वृद्धि गरेपछि स्थानीय सरकारदेखि सांसदसम्म सबै एक भएर यसको विरोधमा उत्रिनुपरेकाे स्थानीयकाे भनाइ छ । कार्यकाल सकिन लागेको अघिल्लो दिन तत्कालीन अध्यक्ष दिल्लीबहादुर सिंहले जबर्जस्ती विद्युत महसुल बढाउने निर्णय गरेपछि स्थानीयहरूले आयोगका पदाधिकारी आर्थिक चलखेलको आरोपसमेत लगाउँदै आएको बताएका छन् । ‘उपभोक्ता नभएको ठाउँमा सार्वजनिक सुनुवाइ गरेर विद्युत नियमन आयोगले स्थानीयलाई झुक्याएको हाम्रो ठहर छ, वृद्धि भएको मूल्य फिर्ता नभएसम्म सबै प्रकारका आन्दोलन गर्न हामी तयार छौं, यसै सन्दर्भमा शुक्रबार विद्युत नियमन आयोगको कार्यालय सानो गौचरन पुगे ध्यानाकर्षण पत्र समेत बुझाएका छौं, हाम्राे माग बेलैमा सम्बाेधन गरेर बेलैमा थप क्षति हुनबाट राेक्न सम्बन्धित निकाएकाे ध्यानाकर्षण गराउँछाैं,’ विज्ञप्तिमा उल्तलेख छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष बरालले लिए शपथ

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सोमबार राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरूको उपस्थित थियो ।

डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरी सेवा प्रवाह गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष सिलवालले भने, ‘संसारमैं डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेशागत बीमा अभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्छ ।’ बीमा मार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ, बीमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफै विस्थापित हुन्छन् ।’ अध्यक्ष सिलवालले बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बीमा सम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बीमा अभिकर्ताहरूलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरण, संचालक समितिका सदस्य कपिल देव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बीमालेख बिक्री गर्दा देखिएका समस्याहरू लगायतका विषयमा प्रस्तुती गरे । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदैआएको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले प्राधिकरणले जारी गरेको डिजिटल बीमालेख निर्देशन बीमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बीमाको पहुँच बढाउन भएको स्पष्ट गरे । कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेशागत बीमा अभिकर्ता सङ्घका महासचिव ओम के.सी. ले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुती गरिएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सामान्य अकंले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अकंको सुधार देखिएको छ । आज नेप्से परिसूचक ३.९३ अकंले बढेर दुई हजार एक सय १३.२७ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता सेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह ०.७४, होटल तथा पर्यटन समूह ०.४९ र निर्जीवन बीमा समूह शून्य दशमलव २२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ०.६३, वित्त समूह  १.४१, जलविद्युत् ०.२५, लगानी १.८० र जीवन बीमा समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड ०.४९, व्यापार ०.२२ र अन्य समूह ०.६४ प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार चार सय ३४ रुपैयाँ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता सेयर किनबेच भएको छ ।

मन्त्री भण्डारीले गरे उद्योग परिसरको छड्के अनुगमन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा सोमबार छड्के अनुगमन गरेका छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिसर पुगेका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गरेका थिए । सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिएका थिए । सेवाग्राहीले उक्त कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा उनले समक्ष गुनासा सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए । अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दीपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झालगायत कर्मचारीलाई मन्त्री भण्डारीले सेवाग्राहीलाई झन्झटरहित ढङ्गबाट छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिए । सो क्रममा मन्त्री भण्डारीले उद्योग परिसरभित्रका भौतिक संरचनाको समेत अनुगमन गरेका छन् । जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारको मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने संरचना प्रयोगमा ल्याउन निर्देशन दिए । साथै उनले सार्क हस्तकला केन्द्र स्थापना गर्न भवन व्यवस्थापनका लागिसमेत अनुगमन गरे ।

१९ करोडमा ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै

खोटाङ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित निर्माणलाई तीव्रता दिइएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन अस्पताल भवनको भूइँतलामा इमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ्ग) सेवा, दोस्रो तलामा वाड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । एघार महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित १९ करोड ३० लाख ४४ हजार एक सय ६४ रुपैयाँ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिलारपुरुष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको निर्माणस्थलमा खटिएका कम्पनीका इञ्जिनियर नवीनकुमार यादवले बताए । उनका अनुसार अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै र्‍याम्प भर्‍याङ (ह्वील चियर गुडाउन मिल्ने भर्‍याङ) निर्माण भइरहेको छ । भवनको भूइँ र दोस्रो तलामा प्लास्टर सम्पन्न गरेर तेस्रो तलामा इँटा जोड्ने काम सुरु गरिएको इञ्जिनियर यादवले जानकारी दिए । ‘साढे तीनतला अग्लो भवनको अन्तिम तलाको ढलान यही जेठ ६ गते सम्पन्न गरेका छौँ । अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाएर काम गरिरहेका छौँ’, उनले भने, ‘संरचनाको काम सम्पन्न भइसकेको छ । असार मसान्तभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने योजनाअनुसरा तीव्रता दिएका छौँ ।’ आगामी साउन १ गतेदेखि रङरोगनको काम सुरु गरेर निर्धारित समयमा भवन हस्तान्तरण गर्नेगरी कामलाई तीव्रता दिइएको इञ्जिनियर यादवले जानकारी दिए । विसं २०७९ साउन २६ गते सम्झौता गरी गत माघ २३ सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि आगामी साउन २५ गतेसम्मका लागि पहिलो पटक म्याद थप गरिएको उनको भनाइ छ । जग्गा विवादका कारण ढिलागरी काम सुरु भएको भन्दै भवन गुणस्तरीय बनाउन, थपिएको मितिमा सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष गीरेन्द्रबहादुर राईले जानकारी दिए । ‘सुरुमा जग्गा विवादले सम्झौता ढिलो भयो । वर्षाको समयमा सम्झौता भएकाले ठेकेदार कम्पनीले काम गर्न सकेनन्’, उनले भने, ‘अहिले छ महिनाको म्याद थप भएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ ।’ प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल विसं २०७७ मङ्सिर १५ गते नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री राजन राईले शिलान्यास गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, १० र १५ शय्याका तीन सय नौ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐँसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो । अस्पतालका लागि स्थानीय पर्शुराज भण्डारीले ३० लाख रुपैयाँ बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारको लगानीमा सुरु गरिएको पालिकास्तरीय अस्पतालको काम अन्तिम चरणमा पुग्दा स्थानीय हर्षित भएका छन् । स्थनीयस्तरमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अधिकांश वडावासी अहिले पनि ऐँसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन् । रासस