विकासन्युज

दूरसञ्चार घोटालाका ४९ हजार संदिग्ध व्यक्ति म्यान्माद्वारा चीनलाई हस्तान्तरण : प्रहरी

बेइजिङ । सन् २०२३ जुलाई देखि हालसम्म म्यान्माले दूरसञ्चार र इन्टरनेट घोटालाका ४९ हजार भन्दा बढी आपराधिक संदिग्धहरूलाई चिनियाँ हिरासतमा हस्तान्तरण गरेको सार्वजनिक सुरक्षा मन्त्रालय (एमपीएस) ले जनाएको छ । घोटालमा आवद्ध कुख्यात आपराधिक समूह तथा धेरै प्रमुख आपराधिक संदिग्धहरूलाई पक्राउ गरी हस्तान्तरण गरिएको मन्त्रालयले पत्रकार सम्मेलनमा जनाएको छ । सन् २०२३ को सुरुदेखि उत्तरी म्यानमामा चिनियाँ नागरिकहरू संलग्न दूरसञ्चार र इन्टरनेट घोटालाका घटनाहरूको सङ्ख्या उच्च रहेको थियो । परिणामस्वरूप अवैध सीमा पार र हिरासतजस्ता आपराधिक कार्यहरू भएका थिए । एमपीएसले यस्तो परिस्थितिलाई प्राथमिकता दिई अपराधविरुद्ध उच्च दबाबसहितको कारबाहीको गरेको थियो । पछिल्लो पाँच वर्षमा सार्वजनिक सुरक्षा निकायहरूले देशभर १० लाख ९४ हजारभन्दा बढी दूरसञ्चार र इन्टरनेट घोटालाका मुद्दाहरू सुल्झाएका छन् । एमपीएसका अनुसार यस्ता घोटालाका नयाँ घटनाहरूको मासिक सङ्ख्या लगातार आठ महिनादेखि घट्दै गएको छ । यसले अपराधमा भएको वृद्धिलाई प्रभावकारी रूपमा कम गरिएको सङ्केत गर्दछ । रासस

कामना सेवा विकास बैंकका ग्राहकले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने भएका छन् । बैंकले बुटवल, रुपन्देही स्थित ड्रिम इन्टरनेशनल होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

एनआईसी एशियाको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जनाएको छ । बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

सरकारी कार्यालयसँग ६७ हजार सवारी साधन, कुल सम्पत्ति २ खर्ब बढी

काठमाडौं । तीनै तहका सरकारका कार्यालयहरूको कुल सम्पत्ति २ खर्ब बढी रहेको देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन अनुसार सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका कार्यालयहरूको कुल २ खर्ब १ अर्ब २६ करोड रुपैयाँको सम्पत्ति अभिलेख राखेको देखिएको हो । सङ्घीय सरकारअन्तर्गत ३ हजार ५८४ कार्यालयको कुल १ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ सम्पत्ति रहेको छ । यस्तै, प्रदेशअन्तर्गतका सरकारी कार्यालयहरूमध्ये १ हजार ३०७ कार्यालयमा कुल २९ अर्ब ७८ करोड रुपैयाँ र स्थानीय तहतर्फको ७११ को ३६ अर्ब ७२ करोड रुपैयाँको सम्पत्ति रहेको छ । सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापन प्रणालीको विवरणअनुसार तीनै तहका कार्यालयहरूमा ६७ हजार ३१७ सवारीसाधन रहेका छन् । जसमध्ये सङ्घीय सरकारी कार्यालयहरूमा २४ हजार ६६० वटा मोटरसाइकल र ११ हजार ९ कार जिप, प्रदेशस्तरका कार्यालयहरूमा ९ हजार ५७१ मोटरसाइकल र १ हजार ९७६ कार जीप, भ्यान तथा स्थानीय तहमा १८ हजार ७११ मोटरसाइकल र १ हजार ३९० वटा कार जीप भ्यान सवारी साधन रहेका छन् । तर, यस्ता सवारी साधान परिचालनको मापदण्ड बनाई व्यवस्थित गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । सङ्घीय सरकारअन्तर्गत २०७९/८० मा ४ हजार ५२ कार्यालय रहेकोमा ३ हजार ५८४ कार्यालयले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा विवरण प्रविष्ट गरेका छन् । आर्थिक वर्ष २०७७/७८ देखि नै सबै तहमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागु भए तापनि हालसम्म पनि सबै कार्यालयको विवरण प्रविष्टि नभएकोले उक्त प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन । तसर्थ सबै प्रकारका सामानको आम्दानी, खर्च र मौज्दात प्रविष्ट हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा सिनेमाण्डु नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ । मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिकरूपमै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।

जगदम्बा मोटर्सले ल्यायो टिभिएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । सो अभियान बुधबारदेखि प्रारम्भ भई आगामी शनिबारसम्म चल्ने छ । कम्पनीका अनुुसार ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस, राइड मोडहरू र जीटीटी अर्थात ग्लाइड थ्रु ट्राफिक जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने छ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ। सो सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा ६ हजार रुपैयाँ सम्मको क्यास डिस्काउन्टका साथै पुरानो मोटरसाइकलमा ६ हजार रुपैयाँसम्मको थप मूल्याङ्कन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुुसार त्यसैगरी यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३ हजार ९९९ रुपैयाँ प्रति महिनाको ईएमआई पनि उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।

गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।  

यी हुन् बेरुजु शून्य भएका स्थानीय तह

काठमाडौं । आर्थिक वर्ष २०७९र८० मा पाँचथरको याङवरक गाउँपालिकासहित ५ स्थानीय तहको बेरुजु शून्य देखिएको छ ।​​ याङवरकसँगै काभ्रेपलान्चोकको महाभारत, ताप्लेजुङको पाथीभरा याङवरक र धादिङको बेनीघाट रोराङको बेरुजु शून्य देखिएको हो ।​​​​​ महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय तहको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिकामा उक्त आर्थिक वर्षा १ अर्ब २५ करोड ४४ लाख ६२ हजार रुपैयाँको लेखापरीक्षण भएको थियो । अघिल्लो आर्थिक वर्ष अर्थात् ०७८र७९ मा गरिएको लेखापरीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजु देखिएको थियो । गाउँपालिकामा अध्यक्ष कान्छाला जिम्बाले अघिल्लो वर्ष केही बेरुजु देखिएपछि शून्यता कायम गर्न विकास बजेटलाई सही सदुपयोग गरिएको बताए । उनले भने, ‘बेरुजु शून्यमा झार्नु पनि गौरवको विषय हो, शतप्रतिशत विकास हो ।’ महाभारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा महाभारतपछि पनौती नगरमा कम देखिएको छ । उसको शून्य दशमलव २२ प्रतिशत बेरुजु देखिएको हो । पनौती नगरको २ अर्ब ६६ करोड रुपैयाँको लेखापरीक्षण भएको थियो । यसैगरी रोशी गाउँपालिका शून्य दशमलव ६६ प्रतिशत बेरुजु देखिएको छ भने भुम्लु गाउँपालिकामा सबैभन्दा धेरै चार दशमलव २३ प्रतिशत बेरुजु देखिएको छ । उक्त गाउँपालिकाभन्दा दोस्रो धेरै बेरुजु देखिनेमा ३ दशमलव २६ प्रतिशतको नमोबुद्ध नगरमा रहेको छ । त्यस्तै ०७८र७९ मा गरिएको लेखापरीक्षणमा खानीखोला गाउँपालिकाको एक दशमलव १९, बनेपा नगरको एक दशमलव ०२ प्रतिशत, बेथानचोक गाउँपालिकाको एक दशमलव २१ प्रतिशत, मण्डनदेउपुरमा एक दशमलव ४२, धुलिखेल नगरमा एक दशमलव ६३ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा एक दशमलव ७९ र पाँचखाल नगरको एक दशमलव ९९ प्रतिशत बेरुजु देखिएको हो ।