विकासन्युज

गणतन्त्रबाट मुलुकको विकास र जनताको समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले अहिलेको शासन व्यवस्थाले सबै नागरिकलाई समानताका अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास तथा जनताको समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । लोकतान्त्रिक आन्दोलनका लागि जीवनको बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवर्तनको लाभ जनतासम्म पुर्याउन आवश्यक नीति तथा कानुनी व्यवस्थामा परिमार्जन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले संविधानले कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गरेको उल्लेख गर्दै समाजवादोन्मुख व्यवस्थाको परिकल्पना गरेको बताए । समृद्ध राष्ट्र निर्माणका लागि समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोडदिँदै उनले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य, एकता र समन्वयको खाँचो औँल्याए । राज्यका सबै तहका साथै सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको विकास गरी जनताको सामाजिक, आर्थिक रुपान्तरणका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गरे ।

बुद्धभूमी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ३० गते विशेष साधारण सभा बोलाएको हो । उक्त सभा काठमाडौं पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ । सभाले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ ।

नवलपुरमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उनले बताए । यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए ।

नदी कटान नियन्त्रण गर्न ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो । सो योजना निर्माणका लागि रु नौ करोड ५६ लाखमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो । कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट ९नयाँ प्रविधिको हेभी पर्खाल० र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको रौताह–बिएनबी जेभीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । उनका अनुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरू प्रयोग गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो पक्की पर्खाल निर्माण गरिएको छ । पर्खाल निर्माणका लागि कालीगण्डकी नदीलाई डाइभर्सन गरिएको थियो । यो ठेक्कामार्फत् यसअघि कालीपुल बसपार्कमा ८० मिटर लामो, आठ मिटर अग्लो ग्राभिटी र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । विसं २०८१ वैशाखसम्म ठेक्का सम्झौताको म्याद भए पनि २०८० चैतमै निर्माण सकिएको रौताह-बिएनबीका प्रतिनिधि श्रेष्ठले बताए । परियोजनामार्फत् करिब ४८ करोड लागतमा सञ्चालित सातमध्ये चारवटा योजना सम्पन्न भएका र थप तीनवटा सम्पन्न हुने चरणमा छन् । परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताए । बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न दुई करोड ३० लाखमा ठेक्का लिएको हिमालयन कन्ट्रक्सनले दुई वर्षको काम चार महिनामै सकेको थियो । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको कालीगण्डकी आमा समूहको भवन पछाडि ८४ मिटर लामो र आठ मिटर अग्लो पर्खाल बनाउन रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले शुरू गरेको चार महिनामै ९० प्रतिशत निर्माण सकेको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताए । जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँटस्थित कालीगण्डकी किनारमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्न तीन करोड २० लाखमा माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । जलजला–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यो योजना निर्माणका लागि माछापुच्छ्रे निर्माण सेवाले चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा दुई सय ६२ मिटर कम्पोजिट पर्खाल बनाउन १२ करोड ३७ लाखमा ठेक्का लिएको सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले बर्खाअघि नै निर्माण सकिने बताए । बेनी नगरपालिका–९ गलेश्वरस्थित राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न भाग्यलक्ष्मी कन्ट्रक्सनले दुई करोड २५ लाखमा ठेक्का लिएको थियो । राहुघाट नदी किनारमा पर्खाल निर्माण भइसकेको र कालीगण्डकी किनारमा दुई–तीन दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् । सबै योजना निर्धारित समयभित्रै काम सकिएका र सम्पन्न हुने चरणमा रहे पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण कम्पनीका सञ्चालकले गुनासो गरेका छन् । चालु आवमा रु नौ करोड विनियोजन भएको बजेट भुक्तानी भइसकेको र थप नौ करोड बजेट रकमान्तरणका लागि सङ्घीय अर्थ मन्त्रालयमा कागजात पेस गरेको परियोजनाका प्रमुख शाहीले बताए । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो । बेनी नगरपालिका–४ सिङ्गा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आवमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताए । रासस

हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्स डाक्यो विशेष साधारण सभा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा डाकेको गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३१ गते बस्ने गरी विशेष साधारण सभा डाकेको हो । सभा काठमाडौं टंगालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजे आयोजना हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १०० सेयरबापत १५ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभाले हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २५ गतेका दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् । त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी र व्यवसाय प्रवर्द्धन अधिकृत, मनिषकुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल, मुख्य प्रबन्धक, सुरज मानन्धर लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी देशभरि गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभरि गणतन्त्र दिवस मनाइन्छ । दिवसको अवसरमा सरकारले सार्वजनिक आज सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्य रूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उनको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो । समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।