इन्डोनेसियाका राष्ट्रपतिको यो निर्देशनले रोकिँदैछ राज्यको ४५ ट्रिलियन घाटा
काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले अवैध टिन खानी बन्द गर्न निर्देशन दिएका छन् । सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब १ हजार अवैध टिन खानी बन्द गर्न आदेश दिएका हुन् । राष्ट्रपति प्रबोवोको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ । ‘बङ्गका बेलितुङबाट हुने टिन उत्पादनको करिब ८० प्रतिशत साना डुङ्गादेखि यात्रु डुङ्गासम्म विभिन्न च्यानल मार्फत विदेशमा तस्करी भइरहेको छ,’ राष्ट्रपति प्रबोवोले भने । सबै तस्करी मार्गहरू हाललाई बन्द गरिएको बताउदै तस्करीको लागी कुनै बाटो नरहेको र डुङ्गाबाट तस्करी गर्न नसक्ने व्यवस्था मिलाएको उनको भनाइ छ । अवैध उत्खननलाई रोक्न र राज्यको राजस्वलाई सुदृढ पार्ने आफ्नो प्रशासनको दृढतालाई उल्लेख गदै प्रबोवोले खनिजहरू पहिचान गर्न मद्दत गर्न रसायन शास्त्री भर्ती गर्न भन्सार महानिर्देशनालयलाई निर्देशन दिए ।
घटस्थापनादेखि आजसम्म ४ लाख ६७ हजारले छाडे उपत्यका, साढे २ लाख काठमाडौं भित्रिए
काठमाडौं । पछिल्लो २४ घण्टामा १ लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि १ लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा ४ लाख ६७ हजार ९७७ जना काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा २ लाख ५२ हजार ७५५ जना काठमाडौं उपत्यका भित्रिएका प्रहरीले जनाएको छ । दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेका कारण काठमाडौं उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक सुधारका लागि ५ सुझाव पेस, मर्जरमा जाने कि पुँजी थप्ने ?
काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सुधारका लागि विभिन्न सुझावहरु पेस भएका छन् । सञ्जय चौधरी एण्ड एसोशिएट नामक अडिट फर्मले टिका खतिवडाको संयोजकत्वमा बनेको बैंक व्यवस्थापन समितिलाई ड्यु डिलिजेन्स अडिट रिपोर्ट बुझाउँदै विभिन्न सुझावहरु दिएको हो । समितिले सो अडिट रिपोर्ट राष्ट्र बैंक समक्ष पेस गरिसकेको छ । समितिले असुल नहुने ऋणहरू तत्काल असुल गर्न पहल गर्नका लागि ऋण असुल रणनीति बनाउनु पर्ने सुझाव दिएको छ भने शेयरधारक वा बाह्य लगानीकर्ताबाट पूँजी प्रवाहका विकल्पहरू खोजिनुपर्ने सुझाव राष्ट्र बैंक समक्ष राखेको छ । वर्तमान वित्तीय सङ्कटका कारण बलियो संस्थासँग रणनीतिक विलय तथा मर्जरको सम्भावित समाधान हुन सक्ने सुझाव समितिको छ । खर्च न्यूनिकरण र सुशासन सुधार वित्तीय स्थिरताका लागि आवश्यक रहेको र नेपाल राष्ट्र बैंकसँग सक्रिय छलफल गरी सम्भावित राहत उपाय वा चरणबद्ध अनुपालन रणनीतिहरू अगाडि बढाउनु पर्ने सुझाव लेखापरीक्षकले दिएको छ । २०८१ सालको पौष मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको खुद सम्पत्ति १ अर्ब ९० करोड ७३ लाख १७ हजार रुपैयाँ नोक्सानीमा रहेको रिपोर्टमा उल्लेख छ । आवश्यक समायोजन र यथोचित मूल्याङ्कनपछि, खुद सम्पत्ति झन् बिग्रँदै २ अर्ब ४६ करोड ७७ लाख ४४ हजार नोक्सानीमा रहेको उल्लेख छ । यसले गम्भीर वित्तीय सङ्कट देखाएको निश्कर्ष छ । प्रतिवेदनका अनुसार बैंकको पुँजी पर्याप्तता अनुपात ९३.६५ नोक्सानीमा झरेको छ, जुन विकास बैंकका लागि आवश्यक ११ प्रतिशतभन्दा निकै कम हो । प्रतिवेदनमा ऋण दुरुपयोग, अनधिकृत वितरण र धितोको नक्कली मूल्याङ्कनका उल्लेख्य घटना फेला परेको उल्लेख छ । असुल नहुने वा डुबेको ऋणका लागि थप ४३ करोड १५ लाख २३ हजार रुपैयाँ बराबरको लोन लस प्रोभिजन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । धितोको मूल्याङ्कनका आधारमा (सरकारी मूल्याङ्कनमा ३० प्रतिशशत% र बजार मूल्याङ्कनमा ७० प्रतिशत वजन) कुल बाँकी रकमको करिब ५९ प्रतिशत मात्र असुल गर्न सकिने अनुमान प्रतिवेदनमा गरिएको छ । समितिको प्रतिवेदनले १ अर्ब ५० करोड २२ लाख ६७ हजार रुपैयाँ बराबरको हिनामिना तथा अनधिकृत कारोबार पहिचान भएको देखाएको छ, जसले बैंकको वित्तीय स्थितिमा ठूलो असर पारेको उल्लेख छ । अन्तर–बैंक कारोबारमा एक करोड रुपैयाँ बराबरको शंकास्पद कारोबार तथा हिनामिनाको पहिचान भएको प्रतिवेदनमा उल्लेख छ । गैर–बैंकिङ सम्पत्ति र पुनर्मूल्याङ्कन लाभ समेतलाई खुद सम्पत्तिको अनुमानमा समावेश गरिएको उल्लेख गर्दै बैंकले आ.व. २०७७/७८ देखि अहिलेसम्म वार्षिक साधारण सभा आयोजना नगरेको पनि प्रतिवेदनमा भनिएको छ । ‘धितोपत्र बोर्ड नेपालमा प्रतिवेदन पेश गरेको छैन, र कर विवरण समयमै बुझाएको छैन, यसका कारण करिब ४१ लाख ५७ हजार रुपैयाँ बराबरको जरिवाना हुने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ । नकारात्मक खुद सम्पत्ति, गम्भीर पुँजी अभाव, नियामक मापदण्ड उल्लङ्घन, र उच्च स्तरको असुल नहुने सम्पत्तिका कारण कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले अविराम सञ्चालनमा गम्भीर जोखिम सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ । वित्तीय स्थिरता पुनःस्थापना गर्न तत्काल पूँजी प्रवाह, सम्पत्ति असुली, आक्रामक ऋण असुल रणनीति, र सम्भावित विलय÷अधिग्रहण जस्ता उपाय खोजिनु जरुरी रहेको समितिको ठहर छ ।
दसैँले बजारमा भीडभाड, चहलपहल अनुसार छैन व्यापार
काठमाडौं । बडादसैँको चहलपहलसँगै चितवनका बजार चलायमान भएका छन् । चितवनको नारायणगढ बजारमा किनमेल गर्नेहरूको धेरै भीड देखिन्छ । दसैँको समयमा विशेषगरी कपडा, जुत्ता चप्पल, खाद्यान्न, भाँडाकुँडा, सुन चाँदीलगायत पसलमा बढी भिड देख्न सकिन्छ । यहाँको मिलनरोड, सहिद चोक, कमलनगर, पुतलीबजार, लायन्स चोकलगायत स्थानमा भीडभाड बढेको छ । दसैँमा गाउँघर जानेहरू आवश्यक सामान किन्न र बाहिरबाट आएकाहरूको उपस्थितिले चहलपहल हुने गर्छ । नारायणगढ बजारमा बिहानैदेखि साँझ अबेरसम्म भीडभाड हुने गरेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले बताए । बजारमा चहलपहल बढे पनि अपेक्षाकृत व्यापार भने हुन नसकेको उनले बताए । नारायणगढ बजारमा घटस्थापनापछि भीडभाड र चहलपहल बढेको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताए । ‘दसैँ नजिकिएसँगै बजारमा निकै भीड बढेको छ । पछिल्लो समय देशमा भएको राजनीति घटनाक्रम र आन्दोलनका कारण चहलपहलअनुसार व्यापार भने छैन,’ उनले भने । पछिल्लो समय सुनचाँदी क्षेत्रमा व्यापार बढ्न सकेको छैन । मूल्य निरन्तर बढेपछि विगतमा जस्तो सुनचाँदीको व्यापार नभएको व्यवसायी बताउँछन् । न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्य यो क्षेत्र विदेशमा रहेकाहरूले यहाँ आएर विवाह गर्ने र सुनचाँदी किन्ने भएकाले केही राहत मिलेको बताउँछन् । ‘विगतमा जस्तो सुनचाँदी किन्नेहरू छैनन् । पुराना सुन ल्याउने र नयाँ बनाएर लैजानेको सङ्ख्या बढी छ । मूल्य बढ्ने आशमा पुराना सुन बिक्री गर्नेहरू भने घटेका छन्,’ उनले भने, ‘विगतको जस्तो व्यापार नभए पनि चाडपर्व भएका कारण अरु समयको भन्दा बढी चहलपहल छ ।’
ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ । गत हप्ता अरब र मुस्लिम नेताहरूसँगको वार्ता पछि युद्ध अन्त्य गर्ने, बन्धक मुक्त गर्ने र प्यालेस्टिनी उग्रवादीहरूलाई निशस्त्र बनाउने सम्झौता प्रभावकारी रूपमा सम्पन्न भएको ट्रम्पले बताएका छन् । द टाइम्स अफ इजरायल र अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पको योजनाले तत्काल युद्ध विराम, इजरायली सेनाको फिर्ती र बन्धकहरूलाई ४८ घण्टा भित्र रिहा गर्न आह्वान गरिएको छ । त्यस पछि इजरायलले १ हजार भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको जनाइएको छ । तथापि, नेतान्याहू भने गाजा सहरमा इजरायली सैन्य आक्रमण रोक्न तयार नभएको जनाइएको छ । गत जनवरीमा ट्रम्पको शासनकाल सुरु भए पछि नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो । गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारले ट्रम्पलाई आफ्नो गाजा प्रस्तावलाई समर्थन गर्न खुला पत्र मार्फत आग्रह गरेका छन् । विज्ञहरुले नेतान्याहुको युद्ध जारी राख्ने र हमासलाई पराजित गर्ने स्पष्ट प्राथमिकतामा ट्रम्पले कति टाढासम्म धकेल्न सक्नुहुन्छ भन्ने विषयमा निर्भर हुने बताएका छन् । यसका लागि ट्रम्पको पेचिलो दबाब र स्पष्ट तथा दिगो रणनीति चाहिने उनीहरुको दाबी रहेको छ । गाजाका नागरिकरुहरुले भने भने ह्वाइट हाउस बैठक अघि आशा, थकान र अविश्वास व्यक्त गरेका छन् ।
खुल्यो नारायणगढ-मुग्लिन सडक
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । अपरान्ह १२ बजे पहिरो खसेपछि दिनभर सडक अवरुद्ध भएको थियो । अहिले साँझ ६ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
डार्क दशैं, स्याड पानु
डार्क अर्थात् पुरै अँध्यारो पृष्ठभूमि । थचक्क भूँईमा थच्चिएको बालक । दुई घुँडामा दुई हात राखेर घोप्टिएको अवस्था । आँखाबाट झरेको आँशुको थोप्ला प्रष्ट गालामा देखिन्छ । ऊ एक्लो छ । बत्तिको उज्यालोले कालो पन्छाउने प्रयास गरेको छ । बालकले आँखा टुलुक्क हेरेको छ । ‘दशैं २०८२’ शब्दमा यत्ति लेखिएको छ । त्यही फोटो पोष्ट गरे भाटभटेनीका सीओओ पानु पौडेलले फूलपातीका दिन । १५ दिने दशैंको मध्यान्तरमा । विगत १८ वर्षदेखि भाटभटेनीमा आवद्ध पौडेल भाटभटेनीका वरिष्ठतम् कर्मचारी हुन् । उनले 'दशैं २०८२' को डार्क फोटोसँगै 'स्याड स्ट्याटस' पनि राखेका छन् । ‘हर्ष, उमंग र खुसीको पर्व दशैं, तर २०८२ को यस क्षणमा हामीले कहिल्यै नसोचेको पीडा र अन्धकारको सामना गरिरहनु परेको छ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका अधिकांश स्टोरहरू तोडफोडमा परे र १२ वटा स्टोरहरू जलेर पूर्ण रूपमा नष्ट भए । यो कुनै सामान्य घटना होइन । यो आतंककारी शैलीमा गरिएको कार्यले हामी सबैमा गहिरो आघात पुर्याएको छ,' पानुले लेखेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । 'हामी र हाम्रो टिमलाई त्यसदिनको घटनाले निकै दु:खी तुल्याएको छ । हाम्रो मनमा उमंगको पर्वले पनि खुसी दिन सकिरहेको छैन । मनमा गहिरो स्तब्धता लुकेको छ । दशैंजस्तो सबैभन्दा ठूलो चाड नजिकिँदै गर्दा, हाम्रा कर्मचारीहरू उत्सव मनाउने कुनै मनोवृत्तिमा छैनन् । डर र अन्यायको अनुभूति उनीहरूको मुहारमा स्पष्ट देखिन्छ' पानुले लेखेका छन् । पानुलाई जस्तै यस पटक भाटभटेनीमा आवद्ध झण्डै १० हजार कर्मचारीको मन कुँडिएको छ । भलै भाटभटेनीको प्रबन्ध निर्देशन मिनबहादुर गुरुङले यस पीडाको क्षणमा पनि कर्मचारी नहटाउने र तलब सुविधा पनि कटौती नगर्ने प्रतिवद्धता जनाएका छन् । भाटभटेनीका सीओओ पानु पौडेल लेख्छन्, 'हाम्रो संरचना मात्र होइन, मनोबल पनि भत्काइएको छ । तर, हामी आशा गुमाउँदैनौं । हामी फेरि उठ्नेछौं-अझ मजबुद भएर, अझ एकतामा बाँधिएर । यो अन्धकारका पछाडि उज्यालो पक्कै आउनेछ ।’ ध्वस्त भएका १२ वटा स्टोर बन्द भएपनि १६ वटा स्टोरहरु नियमित सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ । खुलेका भाटभटेनीहरुमा भने ग्राहकहरुको चाप उच्च रहेको पाइएको छ । ध्वस्त भएका १२ सुपरमार्केट पनि छिट्टै सञ्चालनमा ल्याउने प्रबन्ध निर्देशन गुरुङले बताएका छन् ।
चीनका पूर्व कृषि मन्त्रीलाई घुसकाण्डमा मृत्युदण्डको फैसला
काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यस बारेको जानकारी उत्तर पूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत् सार्वजनिक गरेको हो । अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब २ अर्ब ६८ करोड युआन (अन्दाजी ३ करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरुप लिएको प्रमाणित भएको छ । फैसलामा भनिएको छ, ‘यस घुस काण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पुर्याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ ।’ अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चाताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो । यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो । सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन्। ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए । उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारी पूर्व रक्षा मन्त्री ली साङ्फु र वेइ फेङ्घेसँगै जोडिएको मानिन्छ । लीलाई पदभार ग्रहण गरेको ७ महिनामै हटाइएको थियो र पछि घुसखोरी लगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमहरूले जनाएका थिए । अहिले उनका उत्तराधिकारी डोङ जुन पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन् ।