जनताको जीवनस्तर परिवर्तन नभए राजनीतिक परिवर्तन संस्थागत हुँदैन : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन नभएमा राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने बताएका छन् । मंगलबार बागमती प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष परिवर्तन नआएसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत हुन नसक्ने बताएका हुन् । उनले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको उल्लेख गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए । मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ गर्न संविधानको सफल कार्यान्वयन गर्नु आवश्यक रहेको बताए । उनले प्रणालीगत र संरचनागत सुधार गर्दै आवश्यक ऐन, कानुनको निर्माण, निर्माण गरिएका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन र पुराना ऐन, कानुनको समयानुकुल परिमार्जन गर्नुपर्ने बताए । उनले संविधानमा व्यवस्था भए अनुसार संघीय सरकारले प्रदेश सरकारलाई अधिकारहरू यथाशीघ्र हस्तान्तरण गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको जगमा टेकेर तीव्र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसहितको विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने बताए । उनले सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिए । गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मकवानपुरका ६५ जना सहिद परिवारलाई सम्मान गरेको छ । आगामी दिनमा प्रदेशभरिका सम्पूर्ण सहिद परिवारलाई सम्मान गरिने मन्त्री श्रेष्ठले जानकारी दिए । त्यसैगरी मन्त्रालयले विभिन्न विधामा पत्रकारिता पुरस्कार पनि वितरण गरेको छ ।
कर्णाली प्रदेशको बेरुजु ४ अर्ब पुग्यो
भेरीगङ्गा । कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो । प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायको बेरुजु रकम तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०७८/७९ सम्म कर्णाली प्रदेशको कूल बेरुजु दुई अर्ब ९८ करोड ५० लाख दुई हजार रुपैयाँ रकम रहेको थियो । आव २०७९/८० मा मात्रै ९६ करोड ७७ लाख ५२ हजार रुपैयाँ रकम बेरुजु थप भएको महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको छ । प्रदेश सरकार र मातहतका कार्यालय गरी एक सय ५५ कार्यालयको ३७ अर्ब ३३ करोड ६८ लाख ९७ हजार रुपैयाँको लेखापरीक्षण गरिएकामा ९६ करोड ७७ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार सात वटा प्रदेशमध्ये कर्णालीको बेरुजु देशभरकै दोस्रो नम्बरमा रहेको बताइएको छ । कर्णालीको दुई दशमलव ५९ प्रतिशत बेरुजु रहेको छ । रासस
निर्जीवन बीमाको व्यवसाय ३३ अर्ब बढी, १० महिनामा बिक्री गरे पौने २५ लाख पोलिसी
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३३ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैशाखसम्म ४ लघुबीमासहित १८ वटा बीमा कम्पनीले २४ लाख ७८ हजार ७२७ वटा बीमा पोलिसी बिक्री गरी ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । १० महिनासम्म १४ वटा ठूला बीमा कम्पनीले २३ लाख ९३ हजार १८२ वटा बीमा लेख बिक्री गरी ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ र ४ वटा लघुबीमा कम्पनीले ८५ हजार ५४५ बीमालेख बिक्री गरी १९ करोड ३९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । समीक्षा अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ लाख ६१ हजार २५२ वटा पोलिसी जारी गरी ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख ४३ हजार १५ बीमा लेखवापत ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ५३ हजार ५८७ बीमा लेख बिक्री गरी ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ लाख १० हजार ९०३ बीमा लेख बिक्री गरेर २ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ९८ हजार ४४३ बीमा लेख बिक्री गरेर २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । नेको इन्स्योरेन्सले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९४ करोड ६५ लाख रुपैयाँ संकलन गरेका हुन् । ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड २५ करोड ८७ लाख र नेशनलले ९४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल माइक्रोले ३८ हजार ४९२ बीमा लेख जारी गरी ७ करोड ६७ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले २० हजार ३३३ बीमालेख बिक्री गरेर ६ करोड १४ लाख रुपैयाँ, स्टार माइक्रोले २१ हजार १२९ बीमालेख वापत ४ करोड २५ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ५ हजार ५९१ बीमा लेख वापत १ करोड ३० लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका हुन् ।
१७७ यात्रु बोकेको विमानभित्र जब बम भएको सूचना आयो
काठमाडौं । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मंगलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो । १७७ यात्रु बोकेको उक्त विमान विमानस्थलबाट उड्नुभन्दा केही मिनेटअघि रनवेमा रोकियो । सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो । तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला परेन । ‘अहिले विमान निरीक्षण भइरहेको छ । सबै सुरक्षा जाँच पूरा भएपछि, विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिनेछ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो राजधानी नयाँदिल्लीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको नक्कली बम धम्कीको श्रृङ्खलामध्ये पछिल्लो घटना हो । एजेन्सी
तनहुँमा विकास बजेटको खर्च कमजोर, वैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च
दमौली । तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका लागि विनियोजित विकास बजेटको खर्च अवस्था निराशा जनक देखिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये वैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । उक्त आर्थिक वर्षका लागि जिल्लामा तीन अर्ब ७९ करोड एक लाख ४० हजार आठ सय २९ रुपैयाँ विनियोजन भएकामा एक अर्ब ६० करोड ३१ लाख ७२ हजार ७८ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले सुरुका महिनामा कम खर्च देखिने उनको भनाइ छ । अन्य महिनामा भन्दा आर्थिक वर्षको अन्तिम असार महिनामा धेरै बजेट खर्च हुने गरेको छ । चालुतर्फ भने सोही अवधिमा ८० प्रतिशत रकम खर्च भएको छ । चालुतर्फ नौ अर्ब चार करोड ६९ लाख ८० हजार नौ सय रुपैयाँ विनियोजन भएकामा सात अर्ब ३१ करोड नौ लाख नौ हजार नौ सय ७५ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारमार्फत् जिल्लाका लागि दुई अर्ब ५१ करोड २८ लाख ६० हजार रुपैयाँ विनियोजन भएकामा यस अवधिमा एक अर्ब १५ करोड ६१ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । विकास बजेटतर्फ यस अवधिमा ४६ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ । चालतुर्फ भने ८६ करोड ५८ लाख २९ हजार पाँच सय ८० रुपैयाँ विनियोजन भएकामा ४२ करोड ६७ लाख आठ हजार १३ खर्च रुपैयाँ भएको छ । तनहुँमा करिब एक चौथाइ विकास बजेट अन्तिम असार महिनामा मात्रै खर्च हुने गरेको विगतको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै सङ्घ र प्रदेश सरकारबाट पुँजीगततर्फ विनियोजित बजेटमध्ये २२ दशमलब ३९ प्रतिशत बजेट खर्च भएको थियो । यसैबीच तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणले ऐतिहासिक तनहुँसुर दरबार परिसर सरसफाइ गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर गणले आज व्यास –११ स्थित तनहुँसुर दरबार परिसरमा सरसफाइ गरेको हो । सेनाको टोलीले दरबार, खड्गकाली मन्दिर आसपास सरसफाइ गरेको गणका सेनानी कुसुम पहारीले जानकारी दिइन् । उनले भनिन्, ‘तनहुँसुर ऐतिहासिक तथा पर्यटकीयस्थल हो । यसको सुन्दरतालाई कायम राख्नका लागि सेनाको टोलीले सरसफाइ गरेको हो ।’ तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने किम्बदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् । रासस
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
नवलपुर । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति २ बजेदेखि सो सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज दिउँसो १२ः१५ बजेदेखि एकतर्फी सञ्चालमा आएको प्रहरीले जनाएको छ । पुलको पहुँचमार्ग भासिएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन गैँडाकोटर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन भेडाबारीतर्फ रोकिएका थिए । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार एउटा एक्साभेटर र एउटा लोडरको सहायताले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘भासिएको पहुँचमार्गमा ट्रकको पछाडिको पट्टा भाँचिएकाले तत्काल सडक दुईतर्फी सञ्चालनमा ल्याउन समस्या देखिएको छ । यद्यपि सडक दुईतर्फी सञ्चालन गर्ने तयारी भइरहेको छ ।’ इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक एकतर्फी खुलेपनि यातायातको चाप घट्न समय लाग्ने बताए । दुवैतर्फ गरेर २० किलोमिटर भन्दा लामो सवारीसाधनको लाइन रहेको उल्लेख गर्दै प्राथमिकताका आधारमा सवारीसाधन पठाइने उनले बताए । अत्यावश्यक सवारीसाधन, साना सवारीसाधन, यात्रुबाहक सवारीसाधन पठाएर मात्रै ट्रक, टिप्पर पठाउने गरी एकतर्फी सडक सञ्चालन गरिएको उनको भनाइ छ । रासस
गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (तस्बिरहरु)
काठमाडौं । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् ।
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमबार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित छन् । त्यस्तै साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भएका छन् । क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष हुन् । त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक पनि हुन् । त्यस्तै उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत रहेका छन् । आईसीटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको बताएका छन् ।