विकासन्युज

नेपाललाई विवाह गर्ने हब बनाइने, लुम्बिनीलाई बर्थिङ हब

काठमाडौं । नेपाललाई विवाह गर्ने थलको रुपमा विकास गरिने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए । नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकहरूका लागि सहजीकरण गरी साँस्कृतिक तथा पर्यटकलाई विवाह गन्तव्यमा रुपान्तरण गरिने बताएका हुन् ।

खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड विनियोजन

काठमाडौं । सरकारले खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड  रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनीक गरेको बजेटमा पशुपंक्षीको महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने उल्लेख छ । यस्तै आगामी ३ वर्ष भित्र पीपीआर र क्लासिकल स्वाइन फीवर रोग उन्मुलन गर्ने गरी नि:शुल्क खोप अभियान सञ्चालन गरिने छ । खोरेत रोग नियन्त्रण गर्न सघन खोप कार्यक्रम सञ्चलन गरिने जनाइएको छ ।

प्रचण्ड निवास खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै ललितपुरको खुकलटारमा ज्ञानकञ्ज पार्क स्थापना गर्ने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास नजिकै सो पार्क स्थापना गर्नका लागि १७ करोड बजेट विनियोजन गरेका हुन् ।

निजी क्षेत्रलाई बिजुली बिक्रीको ढोका खुल्यो, उर्जा क्षेत्रका लागि पौने ५१ अर्ब बजेट

काठमाडौं । अब बिजुली बिक्रीमा निजी क्षेत्रको पनि संलग्नता हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै बिजुली बिक्री वितरणमा निजी क्षेत्रको पनि संलग्नता हुने बताएका हुन् । अहिले नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको बिक्री वतरण गर्दै आएको छ । उनले उर्जा क्षेत्रको विकासका लागि लागि ५० करोड ७४ करोड विनियोजन गरेको बताएका छन् ।

बजेट भाषण सुरु (LIVE)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त बैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो । संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।

कृषि लगानी दशक घोषणा

काठमाडौं । सरकारले कृषि लगानी दशक घोषणा गरेको छ । २०८१ देखि २०९१ सम्मको वर्षलाई सरकारले कृषि लगानी दशकका रूपमा घोषणा गरेको हो । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न कृषि लगानी दशक घोषणा गरेका हुन् ।

गणतन्त्र स्थापनापछिका १६ वर्षको उपलब्धि

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र आएपछि देशमा ठूलो विकास भएको बताएका छन् । उनले सरकारले गरेको विकासबारे जानकारी दिँदै संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्नुअघि गणतन्त्र आएपछि भएको विकासको नालीबेली सुनाएका हुन् । उनले आर्थिक वर्ष ६४/६५ मा कूल गार्हस्थ्य उत्पादन ८ खर्ब १५ अर्ब रहेकोमा अहिले ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान रहेको बताए । यस्तै, उनले प्रतिव्यक्ति आय ४९१ अमेरिकी डलरबाट बढेर १ हजार ४५६ पुगेको सुनाए । उनले उत्पादन ७०० मेगावाटबाट ३ हजार मेगावाटभन्दा बढी पुगेको, ५६ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको जानकारी गराए । गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको बताउँदै उनले गणतन्त्र आइसकेपछिको अवधिमा १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको जानकारी गराए । यस्तै, २०६५ सालमा वाणिज्य बैंकका ५९१ शाखा रहेको सुनाउँदै अहिले ५ हजार ४२ वटा वाणिज्य बैंकका शाखा रहेको बताए ।

बजेट : आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए । सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत खर्च हुन नसकेको, लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुलगायत वर्षौंदेखि अर्थतन्त्रमा देखिएका समस्या निराकरणका लागि सुधारका नयाँ कार्यक्रममार्फत् समृद्धिको आकांक्षा पूरा गर्ने गरी बजेट ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ ।