विकासन्युज

गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (तस्बिरहरु)

काठमाडौं । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् ।  

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमबार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्‍याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् । प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका उनले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् । उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित छन् । त्यस्तै साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भएका छन् । क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष हुन् । त्यसैगरी, उनी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक पनि हुन् । त्यस्तै उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत रहेका छन् । आईसीटी एक्सिेलेन्स अवार्ड २०२४ बाट सम्मानित भएपछि अधिकारीले यो क्षेत्रमा अझ सक्रिय भएर लाग्न थप प्रोत्साहन मिलेको बताएका छन् ।

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

ढोरपाटन । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन् । एक दशक अगाडिसम्म अधिकारीचौर गाउँका फाँटमा धान, मकै र गहुँ फल्थे । बारीमा उत्पादन भएको खाद्यन्नले स्थानीयलाई वर्षभरी खान पुग्दैनथ्यो । प्रसस्त बारी भएर पनि उत्पादन कम हुँदा धेरैले ज्याला मजदुरी गरेर परिवार चलाउनुपर्ने स्थिति थियो । तर अहिले त्यो परिस्थिति फेरिएको छ । घर छेउमा रहेका बारी अचेल सेताम्य प्लास्टिकले ढाएिका छन् । कतै काठ त कतै फलामको रडले टेको लगाएर प्लास्टिकले छाइएका टनेलभित्र लटरम्म फलेका गोलभेडा, कलकलाउँदा साग, बन्दा र काउली उब्जिएका छन् । पहिले बाँझो रहेका बारीमा पनि अहिले तरकारी फल्न थालेका छन् । ढोरपाटन – ५ पर्ने अधिकारीचौर, नाथुरी, बाहुनगाउँ र प्याङ्खोलाका किसानलाई एकैछिन पनि फुर्सद छैन । जिल्लाको अन्य ठाउँमा बसाइँसराइले गाउँ रित्तिदै गएको सन्दर्भमा अधिकारीचौरमा भने गाउँलेनै तरकारी खेतीमा लागेका छन् । विसं २०६५मा गाउँका केही किसानले तरकारी खेतीको सुरुआत गरे पनि धेरैले यसप्रति चासो दिएका थिएनन् । विसं २०७९ मा व्यावसायिक तरकारी खेती गर्ने किसान बढे, त्यसपछि सिङ्गो गाउँमा तरकारी लगाउने लहरनै चल्यो । अहिले यस गाउँमा तरकारी खेती नगर्ने किसान भेटउनै मुस्किल पर्छ । एउटा परिवारले बढीमा पाँच वटासम्म प्लास्टिक टनेल निर्माण गरेर तरकारी उत्पादन गर्दै आएका छन् । ढोरपाटन -५ का दुई सय ६५ घरले करिब चार सय ५० टनेल निर्माण गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । पछिल्लो समय यस ठाउँ पौरखी गाउँका रुपमा परिचित बन्दै गएको छ । पौरखी किसानले तरकारी खेतीलाई गाउँभरी विस्तार गरेपछि अहिले बाँझो जमिन घटेको छ । युवाले रोजगार पाएका छन् । टाढाबाट देख्दा पनि गाउँमा सेताम्य प्लास्टिकका टनेल देखिन्छन् । बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै रहेको यि गाउँका किसानसमेत निकै मेहनती छन् । गाउँमै परिवारसँग बारीमा पसिना बगाएर तरकारी फलाउँदा किसान निकै खुसी छन् तर बजारमा आउने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा चिन्तित हुने गरेका छन् । नगरपालिकाले तरकारीको मूल्य निर्धारण गरि दिए आफूलाई बजारको पिर नहुने ढोरपाटन –५ स्थित नमुना किसान समूहका अध्यक्ष कृष्णलाल कँडेलले बताए । पहिले एक मुरी मकै फल्ने बारीमा अहिले वार्षिक ५० हजार बढीको तरकारी फलाउने गरेको उनको भनाइ । पछिल्लो समय तरकारी खेती गर्ने किसानको सङ्ख्या बढेपछि बर्सेनी ५० लाख बढीको तरकारी बच्ने कँडेल बताउँछन् । नगरपालिकाले हाटबजार सञ्चालन गरिदिने र समय–समयमा अनुदान र प्राविधिक सहयोग गर्न सके ढोरपाटनलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । यहाँका किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको उनले बताए । अहिले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोचको विकास भएपछि सिङ्गो गाउँनै तरकारी खेतीमा लागेको कँडेल बताउँछन् । उनले भने– ‘६९ सालदेखि गाउँमा तरकारी खेती गर्ने लहरनै चल्यो, पहिले बाँझो जमिन धेरै थियो, अहिले भेटिन्न, जताततै टनेल हालेर तरकारी लगाउन थालिएको छ, ढोरपाटन–५ मा चार सय ५० बढी टनेल निर्माण भएका छन्, किसान समूहमा आवद्ध भएर काम गरिरहेका छौँ, अहिले गाउँमा चार वटा कृषि समूह छन्, बाह्रैमहिना तरकारी उत्पादन गर्छौँ, एक दिन एउटा सागको मुठा बेच्न पाइएन भने बिरामी हुन्छु, सिटामोल खानुपर्छ, हाम्रो मुख्य चुनौती भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नु हो ।’ व्यावसायिक तरकारी खेतीले किसानको जीवनशैलीनै बदलिदिएको छ । कृषि ज्ञान केन्द्रले पनि व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई साथ दिँदै आएको छ । तरकारी खेती सुरु गर्नुपूर्व छाक टार्न मुस्किल पर्ने स्थानीयले अहिले त्यो समस्या भोग्नु परेको छैन । तरकारी खेतीबाट परिवार चलाउन सहज ढोरपाटन नगरपालिका–५ नाथुरी गाउँका स्थानीय जनकराज पाण्डेले बताए । आफूले दिनभरबारीमै काम गर्ने र यताउता जान फुर्सदसमेत नहुने उनको भनाइ छ । गाउँभरी तरकारी हुन थालेपछि बाहिरबाट आउने मानिसले अधिकारीचौरलाई ‘तरकारी गाउँ’ भन्ने गरेको पाण्डेले बताए। हिउँदमा बारीबाटै गाडीमा तरकारी बजार पुर्याउने गरे पनि बर्खामा निकै सकस हुने पाण्डे बताउँछन् । ‘बुर्तिबाङ बजार नजिकै भएको हुँदा उत्पादन हुने तरकारै त्यही पुर्याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हाम्रो उत्पादनले उचित मूल्य बाउन सकेको छैन, हामीहरुलाई अर्को ठूलो चुनौती पनि छ, हिउँदमा गाडी बारीमै आउँछ, बर्खा लाग्यो भने गाउँमै आउन सक्दैन, खोलामा पुल बन्न थालेको धेरै वर्ष भयो अहिलेसम्म बनेको छैन,’ पाण्डेले भने ‘बर्खाको समयमा ढोकोमै बोकेर बजार पुर्याउनुपर्छ, असारदेखि मङ्सिरसम्म गाउँमा गाडी आउँदैन, बर्खाभरी सडक नचल्दा तरकारी कुहिने समस्या हुन्छ, पोहोर परार लाखौँको तरकारी कुहियो, किसानका थुप्रै समस्या छन् ।’ कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले अधिकारीचौर क्षेत्रमा दुई वर्ष तरकारी ब्लक सञ्चालन गरेको जनाउँदै यहाँका किसानले लगानी अनुसार प्रतिफल पाउन थालेको जानकारी दिए । ज्ञान केन्द्रले दुई वर्षमा करिब ५० लाख रुपैयाँ यहाँ लगानी गरेको जनाउँदै अहिले पनि बेमौसमी तरकारी उत्पादन गर्नका लागि प्राविधिक र आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ । यहाँका किसान पनि सक्रिय भएर लाग्दा बजारले थेग्न नसकेको पुनले बताए । उत्पादन धेरै हुन तर बजार सानो हुँदा भएको र बाहिरबाट आएको तरकारीका कारण किसान मारमा पर्नु परेको सूचना अधिकारी पुन बताए । उनले भने, ‘यहाँका किसान साँच्चिकै पौरखी हुनुहुन्छ, हाम्रो सहयोग र उहाँहरुको मेहनतले अधिकारीचौरले छुट्टै पहिचान बनाउन सफल भएको छ, किसानलाई बेलाबेलामा आवश्यक तालिम, परामर्श तथा अनुदानसमेत दिँदै आएका छौँ, आधुनिक प्रविधिको प्रयोग पनि गर्नु भएको छ, जसले उत्पादन वृद्धि गर्न टेवा पु¥याएको छ, उहाँहरुको त्यो परिश्रमले हामीहरुलाई पनि खुसी बनाएको छ, जिल्लामा धेरै तरकारी खेती गर्ने ठाउँमा अधिकारीचौर पनि पर्छ ।’ रासस

महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजार रुपैयाँ मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा आठ अर्ब ५० करोड ९२ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । प्रतिवेदनअनुसार काठमाडौं महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार रुपैयाँ, पोखरा महानगरको सात दशमलव ९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस्तै वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार रुपैयाँ, विराटनगरको ए दशमलव ०३ प्रतिशत अर्थात् सात करोड ११ लाख ५३ हजार रुपैयाँ र ललितपुरको शून्य ४६ अर्थात् चार करोड ५१ लाख रुपैयाँ बेरुजु छ । भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/८० मा महानगरको बेरुजु विगतका वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/७८ मा पेश्कीबाहेक बेरुजुमा शून्य दशमलव २५ प्रतिशत थियो । असुल गर्नु पर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ । महानगरपालिकाले वेरुजु नहुने गरी कार्यसम्पादनमा कडाई गरेका कारण बेरुजु घटेको उनले जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताए । उनले भने ‘ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फछ्र्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो ।’ गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको प्रमुख दाहालले भनाइ छ । उनले थपे, ‘हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौं ।’ भरतपुर महानगरपालिकाले बेरुजु फछ्र्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको छ । उनले भने, ‘जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।’ उपप्रमुख चित्रशेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको बताए । उनले भने, ‘छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको छ ।’ खर्चमा गरिएको मितव्ययिता, नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए । महानगरले तहगत रूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको जनाएको छ । देशमै विकासका हिसाबले अग्रणी भरतपुर महानगरपालिकाले सुशासनलाई बिशेष ध्यानमा राखेको जनाउँदै आएको छ ।

कांग्रेसद्वारा संसदीय छानबिन समिति बनाउन भएको सहमति अनुमोदन

काठमाडाैं । प्रमुख प्रतपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमितलाई अनुमोदन गरेको छ । मंगलबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली कांग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमबार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए । उनले सोमबारकाे बैठकले कार्यादेश, सदस्यहरू सबै सहमति गरिसकेकाले आजको प्रतिनिधि सभाको बैठकमा कार्यदलले अन्तिम रूप दिएपछि संसदमा आएर समितिका रूपमा बन्ने बताए । उनले ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुने जानकारी दिए । कांग्रेसले समितिका लागि आफ्नो तर्फबाट ३ बजेसम्म नाम दिइसक्ने बताए । उनले समग्र सहकारीको बारेमा कानूनी र संस्थागत प्रवन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो । बजेटसँगै वार्षिक विकास कार्यक्रम संसद्मा टेबुल हुने गरेको छ । आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनियोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्नेगरी सुनिश्चित गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकममा प्रधानमन्त्री दाहालले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताए । नीति तथा कार्यक्रममा पनि जनमुखी बजेट निर्माणका लागि आफूले निर्देशन दिएको र त्यसकै आधारमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले बताए । बैठकमा अर्थमन्त्री वर्षमान पुन, आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, मुख्यसचिव बैकुण्ठ अर्याल तथा आयोगका सदस्य र सदस्य सचिवलगायत उपस्थित थियो ।

महिनावारीको बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने

काठमाडौं । महिलालाई ट्राफिकलाई महिनावारी हुँदा चार दिन सडकमा ड्युटी गर्नु नपर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई महिनावारी हुँदा चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जानकारी दिएका हुन् । महिनावारीको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुपर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’

बजेट भाषणको समय सर्‍यो

फाइल फाेटाे काठमाडौं । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुनेछ । यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए । आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्ने कार्यसूची छ ।