विकासन्युज

कुलमानले निर्यातको मार्केटिङ गरेपछि उद्योगी ‘चुर’, प्राधिकरण खुद निर्यातकर्ता बनेको आरोप

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय बिजुलीको निर्यात बढेको जानकारी सञ्चार माध्यमलाई गराएपछि उद्योगी व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन् । नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति उनीहरूले आक्रोश पोखेका हुन् । आफूहरूलाई बिजुली नदिएर विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको भन्दै उद्योगीहरूल विरोध जनाएका हुन् । शुक्रबार उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसंघले विज्ञप्ति नै जारी गरेर प्राधिकरणको विरोध गरेको हो । ‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं’, परिसंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ । हाल विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गरेको भए पनि प्राधिकरणले उल्टै निर्यात गरेको प्रति उनीहरूले विरोध गरेका हुन् । प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको परिसंघको भनाइ छ । यसको मारमा उद्योगहरु परेको परिसंघको भनाइ छ । ‘अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ, प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गरेको छ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघले माग गरेको छ । बिहीबार मात्रै प्राधिकरणले दैनिक चार सय मेगावाट विद्युत निर्यात भइरहेको बताएको थियो । खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको प्राधिकरणको भनाइ थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको बताएका थिए । ‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ । विगत सात÷आठ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक÷डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर चार÷साढे चार करोड युनिट पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भनेका थिए ।

होटल संघले चीनमा नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने

काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल संघ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ । संघका अध्यक्ष विनायक शाहले चीनबाट बढीभन्दा बढी पर्यटक नेपालमा भित्र्याउने र उनीहरुलाई यहाँ आउन आकर्षित गर्ने लक्ष्यका साथ चीनमा पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्न लागिएको बताए । उनका अनुसार चीनको बेइजिङमा जेठ २०, २१ र २२ गते तथा छेन्दुमा जेठ २३, २४ र २५ गते कार्यक्रम गरिनेछ । ‘कोभिडपछि हामीले पर्यटन प्रवर्द्धन पनि गरेका छैनौँ, त्यसैले नेपाल भ्रमण प्याकेज कार्यक्रमसहित भ्रमणका लागि अग्रिम समय लिने (बुक) गर्ने उद्देश्यले चीन जादैँछौँ’, अध्यक्ष शाहले भने। उनका अनुसार नेपाल ‘डेष्टिनेसन वेडिङ’का रुपमा भारत र चीनको रोजाइमा पर्ने गरेको छ । ‘नेपालमा पर्यटन भित्र्याउन हामी सबै हिसाबले तयारी छौँ’ भन्ने सन्देश दिनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागिएको शाहको भनाइ छ । कोभिड–१९ महामारीपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल संघ नेपालका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटल सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । कोभिडपछि चिनियाँ पर्यटकको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको अध्यक्ष शाहले बताए । नेपाली प्रतिनिधिमण्डलले ‘चिनियाँ ट्राभल तथा टूर अपरेटर’सँग ‘बीटूबी मिटिङ’ गर्ने भन्दै उनले प्रवर्द्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक नेपालमा बढाउन प्रत्यक्ष योगदान पुग्ने अपेक्षा गरिएको बताए । बेइजिङ र छेन्दुमा होटल सङ्घ नेपाल र समकक्षी चाइना होटल सङ्घ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न सङ्घसंस्थाबीच तालिम, प्रशिक्षणका साथै दुई पक्षीय पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिए । दुई देशबीचको सम्बन्धलाई पथ प्रगाढ तुल्याउन मद्दत गर्ने विश्वास लिइएको छ । चीनबाट बढीभन्दा बढी हवाई सम्र्पक सञ्जाल अभिवृद्धिका लागि पनि पहल गरिने अध्यक्ष शाहको भनाइ छ । उनका अनुसार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारीरुपमा सञ्चनल गर्न पहल गरिने योजना छ । उक्त कार्यक्रमको समन्वय बेइजिङस्थित नेपाली राजदूतावास तथा छेन्दुस्थित महावाणिज्यदूतको कार्यालयले गर्ने होटल संघका प्रवक्ता साजन शाक्यले बताए । उनका अनुसार नेपालको पर्यटनसम्बन्धी प्रस्तुतिकरण पर्यटन बोर्डबाट हुनेछ ।

‘पठाओ पार्सल डेलिभरी’ सेवा अब नेपालभर, उपत्यका भित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र

काठमाडौं । राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो ‘पठाओ पार्सल’ सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परिक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिनेछ । व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परेमा पठाओ पार्सलको सेवा लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार काठमाडौं उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि डेलिभरीका लागि एक पटकको पिकअपका लागि २० भन्दा बढी एक/एक केजीका पार्सल दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ । ‘कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरू गरिसकेको छ’, कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले भने, ‘पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी विजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ ।’ उनका अनुसार पठाओले यस सेवामार्फत परिक्षण अवधीमै मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको छ । पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले ‘ड्यासबोर्ड’ तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत नै निगरानी गर्न सक्ने बताइएको छ । पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार क्यास अफ डेलिभरी जम्मा भएको पैसा मर्चेन्टको खातामा ४८ घण्टाभित्र जम्मा हुनेछ । नेपालका सबैजसो मुख्य सहरमा आफ्नै हब रहेकाले पठाओ पार्सलसँग देशकै सबैभन्दा ठूलो डेलिभरी सञ्जाल बन्दै गरेको कम्पनीको भनाइ छ । पठाओले पार्सल डेलिभरीसँगै दुई पांग्रे र चार पांग्रेसमा राइड सेयरिङ, पठाओ फूड, पठाओ बजारको सेवा पनि उपलब्ध गराउँदै आएको छ । पठाओले पार्सल सुविधा प्रयोग गर्न चाहनेले ०१-५९७००९९ मा सम्पर्क गर्न सक्नेछन् ।

आयकर छुटदेखि आलु प्याजमा भ्याट मिनाहा, यस्ता छन् सरकारका ‘पाँच स्कीम’

काठमाडौं ।  सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि विभिन्न छुट तथा सहुलियतका कार्यक्रम ल्याइएको छ । करको दायरामा आउनेहरुका लागि छुटको व्यवस्था ल्याइएको छ । ‘कुनै व्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ’, आन्तरिक राजस्व विभागले भनेको छ, ‘यसरी आय विवरण र सोबमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिल्ला आय वर्षको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा व्याज बुझाउनु पर्ने छैन ।’ आय विवरण बुझाउन बाँकी करदातालाई पनि छुट योजना ल्याइएको छ । स्थायी लेखा नम्बर लिइ आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, आय विवरणअनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा हुनेछ । भ्याटमा दर्ता भइसकेका तर विसं २०८० असार मसान्तसम्मको ‘भ्याट’ विवरण पेस नगर्ने करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको भ्याट र र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम आगामी फागुन मसान्तभित्र बुझाएमा त्यस्ता करदाताको जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ । अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक व्यक्ति तथा संस्थाले विसं २०८० जेठ १५ गतेदेखि विसं २०८० असोज मसान्तसम्मको अवधिमा हवाई यातायात सेवामा सङ्कलन गर्नुपर्ने मूल्य अभिवृद्धि कर सङ्कलन नगरेको वा दाखिल नगरेको भएमा त्यस्तो मूल्य अभिवृद्धि कर, जरिवाना, थप दस्तुर तथा ब्याज मिनाहा हुने विभागले जनाएको छ । त्यसैगरी नेपालबाट उडान सुरु नगर्ने अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक (अफलाइन एअरलाइन्स) ले विसं २०८० जेठ १५ गतेदेखि सङ्कलन गरेको मूल्य अभिवृद्धि कर आगामी असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भई बुझाएमा सोमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाहा हुने जनाइएको छ । भ्याटमा दर्ता भई कारोबार गर्नुपर्ने ढुवानी साधनको भाडा तथा ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिले विसं २०७६ जेठ १५ गतेदेखि विसं २०७८ जेठ १४ गतेसम्म गरेको करयोग्य कारोबार रकमको एक प्रतिशतले हुने रकम आगामी मङ्सिर मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, थप दस्तुर, व्याज र जरिवाना मिनाहा हुनेछ । यसरी कारोबारमा कर निर्धारण भई बक्यौता रहेको वा सोउपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई कारोबार रकमको एक प्रतिशतले हुने रकम विसं २०८१ मङ्सिर मसान्तसम्म दाखिल गरेमा बाँकी कर र सोमा लागेको थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुने जनाइएको छ । नेपालमा उत्पादन भएका आलुप्याज तथा स्याउको कारोबार गर्ने व्यक्तिले विसं २०८१ जेठ १४ गतेसम्म त्यस्तो कारोबार गरेबापत लाग्ने मूल्य अभिवृद्धि कर सङ्कलन नगरेको भए त्यस्तो कर रकम र कारोबारमा आन्तरिक राजस्व कार्यालयबाट कर निर्धारण भई बुझाउन बाँकी रहेको भएमा त्यसको ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा गरिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई कर्जा सूचना सेवा प्रवाह गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८८ बमोजिम स्थापना भएका निकाय मूल्य अभिवृद्धि करमा दर्ता नभएका भए आगामी असार मसान्तभित्र मूल्य अभिवृद्धि करमा दर्ता भई सो अवधिसम्म सङ्कलन गर्नुपर्ने मूल्य अभिवृद्धि करको ५० प्रतिशतले हुने रकम आगामी असोज मसान्तभित्र बुझाएमा बाँकी मूल्य अभिवृद्धि कर, जरिवाना, ब्याज र थप दस्तुर मिनाहा हुनेछ । यस्तो कारोबारमा कर निर्धारण भई बक्यौता रहेको वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई आगामी असोज मसान्तसम्म दाखिल गरेमा बाँकी कर र सोमा लागेको थप दस्तुर, व्याज र जरिवाना मिनाहा हुने राजस्व विभागले जनाएको ।

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । जेठ १७ बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई बिहीबारदेखिनै लागू हुने गरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव सुभाष जम्मकटेलले बताए । कम्पनीका अनुुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको हो ।

माछापुच्छ्रे बैंकले विद्यालयमा निर्माण गर्यो खानेपानी पूर्वाधार

काठमाडौं । माछापुच्छ्रे बैंकले सल्यान जिल्लाको श्री त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकका अनुसार बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो । २८९ जना विद्यार्थी एंव १८ जना शिक्षक/कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थियो । उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको बैंकले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, सेवाग्राहीलाई बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता

दमौली । तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन् । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन । बिहीबार घर फर्किएर आज बिहानै ६ बजे उनी पुनः प्रशासन कार्यालय आइन् । आज उनले बिहान १० बजे राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराइन् । उनले भनिन्, ‘राष्ट्रिय परिचयपत्रका लागि निकै दुःख रहेछ । दुई दिनमा बल्ल बल्ल पालो आएर काम भयो ।’ सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउँदा कार्यालयमा निकै भीड रहेको उनको भनाइ छ । व्यास नगरपालिका–९ माझफाँटकी मीठुमाया विकले दुई दिनको पालो कुरेपछि काम भएको बताइन् । उनले भनिन्, ‘बिहीबार बिहानै ६ बजेदेखि आएर बसेँ, दिनभर बस्दा पालो आएन । आज फेरि बिहानै आएर बसेपछि पालो आयो र काम बन्यो ।’ म्याग्दे गाउँपालिका–१ गुणादी निवासी लक्ष्मी खनालले प्रशासन कार्यालयमा कर्मचारीको अभावमा जनतालाई सास्ती भएको बताइन् । उनले दुःखेसो पोख्दै भनिन्, ‘यस्तो गर्मीमा पाउनु दुःख पाइयो । परिचयपत्र बनाउन आएको पालो आउँदैन । टन्टलापुर घामले टाउको दुखिसक्यो । बिहानैदेखि भोकभोकै छु ।’ आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा बिहानै ६ बजेदेखि भीड हुने गरेको छ । सोही भीडमा पालो कुर्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले सहजरुपमा सेवा पाउने वातावरण बनाउन माग गरिन् । उनले भनिन्, ‘सरकारले जनतालाई कसरी हुन्छ सहजरुपमा सेवा दिनुपर्छ । यसरी दुःख दिएर भएन ।’ व्यास –१४ का देवबहादुर आलेले आमाको राष्ट्रिय परिचयपत्र बनाउन बिहान ७ बजेदेखि लाइनमा बसेको बताए । उनले भने, ‘पहिला वडा कार्यालयमा दर्ता गरेको, त्यतिबेलाको नम्बर अझै आएन । त्यही भएर प्रशासनमै गएर दर्ता गर्नुपर्छ भनेर बिहानैदेखि बसेको पालो नै आउँदैन ।’ यतिबेला राष्ट्रिय परिचयपत्र दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको छ । जिल्ला प्रशासन कार्यालयमा हाल दुई वटा विवरण दर्ता स्टेसनमार्फत परिचय पत्रको फारम भरिँदै आएको छ । उक्त दुई वटा दर्ता स्टेसनको दैनिक क्षमता करिब एक सय जना रहेकामा केही दिन यता राष्ट्रिय परिचयपत्रको लागि दैनिक चार सयसम्मको भीड लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ६/७ बजे नै जिल्ला प्रशासनमा लाइन लाग्न आइपुग्ने गरेको गौतमको भनाइ छ । सेवाग्राहीको अत्याधिक भीड बढेपछि कर्मचारीलाई अतिरिक्त भत्ता दिने गरी बिहान ७ देखि साँझ ७ बजेसम्म काममा लगाइएको प्रजिअ गौतमले बताए । उनले भने, ‘त्यति हुँदा पनि भीड थामिनसक्नुभएको छ । भीड बढेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशकसँग उपकरण सहितको थप तीनवटा दर्ता टोली थप गर्न अनुरोध गरेको छु ।”’ उपकरणसहित तीनवटा दर्ता टोली प्राप्त भएमा कर्मचारीको व्यवस्थापन गरी स्थानीय तहका वडाहरुमा नै राष्ट्रिय परिचयपत्रको फारम भर्ने व्यवस्था मिलाउन सकिने प्रजिअ गौतमको भनाइ छ । उनले भने, ‘८०/९० वर्षका बुबाआमा पनि दिनभरि लाइनमा बस्न बाध्य हुनुभएको छ । तीनवटा स्टेसन थप भएमा सम्बन्धित वडामा नै गएर फारम भर्ने व्यवस्था मिलाउन सकिन्थ्यो ।’ परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जेठ महिना लागेपछि परिचयपत्र वितरण कार्य पनि रोकिएको छ । त्यहाँ रहेका कर्मचारीले फारम भर्न नै नभ्याउने भएको कारण हाललाई परिचयपत्र वितरण कार्य रोकिएको प्रजिअ गौतमले बताए । स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन् । जिल्लाका स्थानीय तहले सूचना प्रकाशित गरी आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नवीकरण गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ । रासस

६० किलो सुन प्रकरणमा लामा पक्राउ, काँग्रेसमा आवद्ध

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा एक जनालाई पक्राउ गरेको हो । सीआईबीले दोस्रो चरणको अनुसन्धान अघि बढाएर यो प्रकरणमा संलग्न भएको भन्दै थर्कमान लामालाई पक्राउ गरेको हो । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनी नेपाली काँग्रेस पार्टीमा आवद्ध रहेको पनि बुझिएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनले उनको पनि यो प्रकरणमा शंकास्पद संलग्नता रहेको देखाएको थियो । राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । यो प्रकरणमा धेरै व्यक्ति पक्राउ परेका थिए ।