विकासन्युज

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ जेठ २२ देखि

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, संस्करण- ३ यही जेठ २२ गतेदेखि जेठ २४ गतेसम्म इमाडोल, ललितपुरस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रूपमा रहेको छ । कुल ३१ खेलहरु हुने र १६० जना खेलाडीहरु रहने उक्त लिगमा ७ वाणिज्य बैंक, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने छ । उक्त लिगको उद्घाटन समारोह जेष्ठ २२ गते बिहान ७ बजे र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २५ गते हुनेछ । शुक्रबार आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा महालक्ष्मी विकास बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखहरूले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका थिए । साथै, सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी वितरण गरेका थिए । लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सको सहभागिता रहने छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक÷युटयुब च्यानल) मार्फत हुनेछ ।

१५ लाख खर्चेर चिडिया तालसम्म पदमार्ग निर्माण

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँको लागतमा चार सय मिटर लामो पदमार्ग निर्माण गरेको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन गर्न तथा वनभोजका लागि सहज हुने निमित्त प्रमुख बोहराले बताए । ‘पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको हो,’ उनले भने । ताल क्षेत्रमा खानेपानी, उद्यानलगायत संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ। यसका लागि प्रदेश सरकारले योजना बनाइरहेको निमित्त प्रमुख बोहराले बताए । पूर्व–पश्चिम राजमार्गदेखि करिब दुई सय ५० मिटर उत्तरमा रहेको सो ताल सामुदायिक वन क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा साना र ठूला गरी अन्य १२ वटा ताल रहेका छन्। रमणीय ठाउँ भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय एकेन्द्र शाही बताउँछन् । पदमार्ग बनेपछि ताल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ। सीमसार क्षेत्र रहेकाले सो ताल क्षेत्रमा विभिन्न प्रजातिका चरा, कछुवा, माछा, अजिङ्गरलगायत पाइन्छन् । करिब ३० बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । विश्व रामसार क्षेत्र सूचीकृत घोडाघोडी ताल नजिकै रहेकाले उक्त ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताए । यसैगरी कैलालीको चुरे गाउँपालिका–६ स्थित चमेरो गुफासम्म समेत पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ लाख रुपैयाँको लागतमा सो पदमार्ग निर्माण गरिएको चुरे गाउँपालिकाका रोजगार संयोजक हीरा विष्टले जानकारी दिए ।

सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्यो : अध्यक्ष कुँवर

काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन् । ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो गुनासो गरेका हुन् । उनले श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनुले श्रम बजार अस्थिर बनेको बताए । श्रम निरीक्षण कमजोर हुनुले पनि श्रम ऐन कार्यान्वयनमा समस्या थपिएको उनकाे भनाइ छ । उनले श्रमजीविहरूले ज्याला नपाउँदै गर्दा, कार्यस्थल असुरक्षित हुँदा र सामाजिक सुरक्षा नपाउँदा पनि बाध्य भएर सोही स्थानमा काम गर्नुपर्ने अवस्था रहेको बताए । श्रम बजारलाई मर्यादित बनाउन थप सुदृढ गर्ने सन्दर्भमा चुनौति रहेको जिकिर गरे । उनले धेरै ठाउँमा ट्रेड युनियनको उपस्थिति पनि कमजोर भएको पनि बताए । ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू हुने गरेको तर नभएको ठाउँमा समस्या यथावत रहेको बताए । अध्यक्ष कुँवरले केन्द्र, प्रदेश र स्थानीय सरकारमा प्रभावकारी समन्वय हुन नसक्दा पनि कतिपय समस्या सिर्जना भइरहेको बताए ।

चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

चितवन । चितवनस्थित संघीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो । यसअघि नीति तथा कार्यक्रममा संघीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए । अस्पतालको जग्गामा रहेको सिटिइभिटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अध्यक्ष पौडेलले यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सिटिइभिटीमा पत्राचार भइसकेको बताए । लामो प्रयासपछि चिकित्सा शिक्षाको पढाइ सञ्चालन गर्ने विषयलाई बजेटमा समेटन सफल भएको उनको भनाइ छ । दुई तले उक्त संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सरकारसँग ५५ करोड रुपैयाँ थप माग गरेको जानकारी दिँदै अध्यक्ष पौडेलले २५ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिने र बाँकी रकमले विभिन्न उपकरण तथा सामग्री खरिद गर्ने योजना रहेको बताए । भरतपुर अस्पतालले यसअघि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) को आङ्गिक क्याम्पसको स्वीकृति पाइसकेको छ । नेम्सअन्तर्गत एक सय विद्यार्थीलाई चिकित्सा शिक्षा पढाइने उनले बताए । अध्यक्ष पौडेलले भने, ‘जनशक्ति अस्पतालसँग छ, भवनको व्यवस्था भएपछि कक्षा सञ्चालन हुन्छ ।’ यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको नेतृत्वको टोलीले शुक्रबार भरतपुर अस्पतालको अनुगमन गरेको छ । त्यस क्रममा उनले भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउन सकिने अवस्था रहेको बताए । जिल्लामा हाल चितवन मेडिकल कलेज र ‘कलेज अफ मेडिकल साइन्सेस’मा चिकित्सा शिक्षा पठनपाठन हुँदै आएको छ ।

नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र तातो हावाले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ । नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ । केही दिनअघि नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियससम्म मापन भएको थियो । गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौं । सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको जनाएको छ ।

कामपाको श्रम बैङ्कमा साढे चार हजार बढीको आवेदन, सरकारी क्षेत्रमा समेत अवसर

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । कामपाले गत भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएको कामपा श्रम बैङ्कका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको थियो । ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ’, उनले भने । कामपाले श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सयजना छनोट गरी कामपामा खटाएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशपक्ति रहेको कामपाले जनाएको छ । ‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो,’ उनले भने, ‘कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।’ सोही विवरणका आधारमा आवश्यकता पर्ने जो सुकैले श्रमिकलाई काममा लगाउन र उचित पारिश्रमिक दिन सक्नेछन् । चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ । आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ काठमाडौँमा बसोबास भएको हुनु पर्नेछ । यस कार्यक्रमले आवश्यक श्रमशक्तिको उपलब्धता सहज हुनेछ । उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था छ ।

तपाईसँग हतियार छ ? सरकारले बनायो नयाँ नियम

काठमाडाैं । सरकारले हातहतियार राख्न इजाजत प्राप्त व्यक्तिले हतियार बोकेर हिँड्न यात्रा अनुमति लिनुपर्ने निर्णय गरेको छ । त्यसरी यात्रा अनुमति लिए पनि सरकारले तोकेको स्थानमा भने हतियार लिएर जान नपाइने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को यही जेठ १७ गतेको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयले आज जानकारी दिएको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम इजाजतपत्र प्राप्त गरेका, यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत वाहकले घरबाहिर लैजान नपाउने तर यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने ।’ सरकारले सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्दै उक्त निर्णय गरेको हो । गत चैतमा सर्वोच्च अदालत परिसरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षकबाट जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा इजाजतपत्र जारी भएको २२ बोर ए-३५४७५२ हतियार फेला परेको थियो । सो विषयमा सर्वाेच्च अदालतले उक्त हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिए पनि देशभर लैजान पाउने गरी इजाजत नभएको उल्लेख गर्दै कसरी इजाजत प्राप्त भयो भनी आवश्यक छानबिन गर्न र कानुन बनाउन आदेश दिएको थियो । सोही आदेश कार्यान्वयन गर्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिको सिफारिसका आधारमा गृहको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।