विकासन्युज

पाल्हीनन्दनका भूमिहीन दलितको सडकमै बास

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुकुम्वासी आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् । भूमिहीन दलितलाई कानुनबमोजिम सरकारले एक पटक जमिन उपलब्ध गराउने संविधानमा व्यवस्था रहे पनि गाउँपालिका र आयोगले यहाँका भूमिहीन दलिललाई आवासका लागि जग्गा उपलब्ध नगराउँदा सडकमा फुसको छाप्रो बनाएर बासिरहेको पाल्हीनन्दन‐४ का रामु चमारले बताए । आयोग र गाउँपालिकामा आवासका लागि पटकपटक फाराम भरेपनि जमिन नपाएको स्थानीय सुकदेव चमारले बताए । उनका अनुसार पुस्तौँदेखि सडकमा छाप्रो बनाएर बस्दै आएकामा गत वर्ष सडक स्तरोन्नति गर्दा घर भत्काइएको हो । आवासका लागि जमिन उपलब्ध गराइदिन पालिका, वडा कार्यालय र आयोगसँग आग्रह गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । पाल्हीन्दन-४ लोहरौलीका भूमिहीन बासफोर (डोम) समुदायले बाजेबुवाको पालादेखि लोहरौलीबाट बैरवा जाने सडकमा फुसको छाप्रो बनाएर बसोबास गर्दै आएका छन् । पछिल्लो वर्ष सडक स्तरोन्नतिका क्रममा विवाद भएपपछि बसोबासको समस्या भएको सन्दीप बासफोरले बताए । आवासका लागि फाराम भरेर जमिन उपलब्ध गराइदिन गाउँपालिका, वडा कार्यालय र सुकुम्बासी आयोगमा अनुरोध गरिएको भन्दै अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल नगरेको उनको भनाइ छ । पाल्हीनन्दनका आवासविहीन दलित समुदायले पटकपटक सम्बन्धित कार्यालयमा आवासका लागि फाराम भरेका छन् । गाउँपालिकाले निर्णय गरेर सुकुम्बासी आयोगमा पठाएपछि आयोगले स्विकृति दिएसँगै प्रक्रिया अगाडि बढाइने पाल्हीनन्दन‐४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए । जग्गा उपलब्ध गराउने विषयमा वडा कार्यालयले गाउँपालिकालाई अनुरोध गरिरहेको उनको भनाइ छ ।

मुसहरनियाका किसानलाई उन्नत जातको धानको बिउ वितरण​

धनुषा । उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क रूपमा उन्नत जातको धानको बिउ वितरण गरेको छ । पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले सतप्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो । मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको बिउ वितरण गरिएको बताए । किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बिउ उपलब्ध गराइएको उनले जानकारी दिए । अध्यक्ष यादवले भने, ‘यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बिउ ल्याएका छौं, बढी हुनसक्छ कम हुँदैन ।’ उनका अनुसार बहुगुणी-२, रामधान, हर्दिनाथ–६, लल्का बासमती, राधा–४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बिउ वितरण गरिएको छ । अध्यक्ष यादवले धानको बिउ खरिद गर्न रु १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म रु सात लाख ९० हजारको बिउ खरिद गरिएको जानकारी दिए । उनले धानको बिउसँगै किसानलाई आवश्यक परामर्श, कृषि औजार तथा उपकरण वितरण गरिँदै आइएको बताए ।

श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ सुरु गरिएको हो : मन्त्री अर्याल

जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन् ।​ जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे । उनले भने, ‘श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो । सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्‍याउँदछ ।’ सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए ।

बेनी-दरबाङ सडक आयोजना : सिम-पानाबगर खण्डमा कालोपत्र

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा शनिबारदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर–रणवाङको सिमानासम्म सडक कालोपत्र गर्न लागेको हो । कार्यालयका सडक इञ्जिनियर सञ्जय सुवेदीले सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न सिमतर्फबाट प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए । ‘डिबिएसडी प्रविधिको कालोपत्र गर्न चिप्स बिछ्याउनुभन्दा २४ घण्टा पहिले प्राइम कोट राखिएको हो’, उनले भने, ‘सिमदेखि तोराखेत हुँदै माटेबगरसम्म एकतर्फी एक हजार तीन सय मिटरमा प्राइम कोट बिछ्याउने काम सकिएको छ ।’ विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किमी आठ सय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए । तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको विवादले करिब एक सय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रूप दिन नपाएको उनले बताए । अठार महिनाको ठेक्का अवधि रहेको सो सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । चालु आवमा रु चार करोड बजेट विनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किमी दूरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा विसं २०६३ मा सडक पुगेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडकको पहिलो १२ दशमलव पाँच किमी दूरीको बेनी–सिम खण्डमा दुई वर्षअघि कालोपत्र भएको थियो । बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरबाङ सडकको तेस्रो प्याकेजमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किमी सडक निर्माणको काम भने सुस्ताएको छ । विसं २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी क्षेत्र १९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले रणबाङ–दरबाङ खण्ड निर्माणलाई पूर्णता दिन निर्माण व्यवसायीलाई ताकेता, समन्वय र सहजीकरण गरिरहेको बताए ।

सुनकोशीका २१० कृषकलाई मिनिटिलर वितरण

चौतारा । सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ । कूल २८ हजार आठ सयमध्ये पालिकाले उक्त रकमको ५० प्रतिशत १४ हजार चार सय उपलब्ध गराएको हो । कृषकले १४ हजार चार सय पालिकाको खातामा जम्मा गराएपछि कृषकलाई मिनिटिलर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले मिनिटिलर खरिद गर्न विद्युतीय प्रणालीमार्फत ‘इ(बिडिङ’ (बोलपत्र आह्वान) गरेको थियो । सबैभन्दा कम रकममा उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालिलाई मिनिटिलर खरिद गर्न दिने पालिकाले निर्णय गरेको थियो । बजारमा न्यूनतम ४० देखि ५० हजारसम्म पर्ने मिनिटिलर पालिकासँगको सहकार्यमा १४ हजार दुई सयमा पाउँदा उत्साहित भएको सुनकोशी–१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताए । यस वर्ष पालिकाले समूहलाई पहिलो प्राथमिकतामा राखेर मिनिटिलर अनुदानमा दिने भनेकामा समूह बाहिरबाट पनि माग आएकाले आवेदन दिने सबैलाई उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।

गर्मी याममा विद्युतकै सास्ती

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युतको सास्ती हुने गरेको छ। ११ परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत लाइन विस्तार हुन सकेको छैन । विद्युत लाइन विस्तार नभएपछि जोखिमयुक्त तरिकाले ६ सय मिटर परबाट सर्भिस तार तानेर स्थानीयले घरघरसम्म विद्युत पुर्‍याएका छन् । ‘सर्भिस तार तान्दा निकै खर्च लाग्ने गरेको छ,’ स्थानीय भरत सार्कीले भने, ‘तार ल्याउन धेरै परिवारसँग खर्च नहुँदा केही परिवारले छिमेकीको घरबाट महसुलमा आधा रकम तिर्नेगरी विद्युत जोडेका छन् ।’ गर्मी याममा विद्युतीय उपकरण बढी प्रयोग हुने भएकाले यसरी जोडिएको विद्युत सर्ट भएर आगलागी हुने सम्भावना बढेको उनले बताए । लाइन विस्तार नहुँदा जोखमयुक्त तरिकाले विद्युत उपभोग गर्नुपरेको सरस्वती सार्कीले बताइन् । ‘अरु समुदायका घरसम्म लाइन पुर्‍याइएको छ,’ उनले भनिन्, ‘सार्की समुदायको बस्तीमा मात्रै लाइन विस्तार गरिएको छैन । हिउँदमा विद्युत् खपत कम हुने भएकाले समस्या नभए पनि गर्मी याममा दुख हुन्छ।’ पाँच वर्षदेखि विद्युत लाइन विस्तारका लागि नगरपालिका कार्यालयमा अनुरोध गर्दा पनि सुनवाइ नभएको उनको भनाइ छ । ‘विद्युत लाइन विस्तारका लागि चालु आर्थिक वर्षमा बस्तीका सबैको हस्ताक्षर गरेर नगरपालिकामा निवेदन बुझाएका छौँ,’ नगरपालिका कार्यपालिकाका सदस्य गणेश विकले भने, ‘कार्यपालिका सदस्यकै कुरा पनि सुनिँदैन, वडा कार्यालयसँग विद्युत लाइन विस्तारका लागि बजेट छैन, नगरपालिकाले वर्षौंदेखि अश्वासन मात्रै दिने गरेको छ ।’ दश, पन्ध्रवटा खम्बा गाडेर बस्तीमा विद्युत लाइन विस्तार गर्न सकिने भएपनि जनप्रतिनिधिले चासो नदिँदा समस्या भएको दलित अधिकारकर्मी अन्तराम बडले बताए । सर्भिस तार हुरीका कारण बीचबीचमा चुडिँदा बस्तीमा कहिलेकाहीँ लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ । विद्युत् सेवा अवरुद्ध हुँदा गर्मीमा पसिना चुहाउँदै अनिदोमा रात काट्नुपर्ने अवस्था रहेको सेविका सार्कीले बताइन् । नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी सार्की बस्तीमा विद्युत्लाइन विस्तार गर्न यथाशीघ्र पहल गरिने वडाध्यक्ष चक्रबहादुर खड्काले बताए । ‘प्राधिकरणसँग लाइन विस्तारका लागि छलफल गर्नेछौँ,’ उनले भने, ‘नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गरी आगामी आवभित्र लाइन विस्तार गर्ने योजना बनाएका छौँ ।’

स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । उक्त समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्यसचिव रहेको मन्त्रालयले जनाएको छ । सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्ने जनगुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिएका थियो । समितिले काठमाडौं उपत्यकाभित्रका संघयि अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ । यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरूको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या, प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ । समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए/नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

‘एआई ब्वाइफ्रेन्ड’ तर्फ चिनियाँ महिलाहरूको बढ्दो आकर्षण

काठमाडौं । समुद्र किनारमा सूर्यास्त हेर्न पुगेकी लिसा डेटमा थिइन् । लिसाले ड्यानलाई भनिन्, ‘कस्तो अद्भुत दृश्य ।’ त्यसपछि उनले आफ्नो फोन उठाइन् ताकि उनले ड्यानको प्रतिक्रिया सुन्न सकुन् । ड्यान भन्छन्, ‘पर्फेक्ट बेबी, तिमीलाई थाहा छ यसमा अझ सुन्दर के छ ? यो कि तिमी मेरो छेउमा उभिएकी छौ ।’ तर, सत्य यो हो कि ड्यान कहिल्यै लिसाको नजिक उभिएका छैनन् । वास्तवमा, डेन लिसाको भर्चुअल पार्टनर हो, जसलाई च्याटजीपीटीद्वारा सिर्जना गरिएको हो । यो प्रवृत्ति अहिले चिनियाँ महिलाहरूमाझ लोकप्रिय हुँदै गएको छ । डेटिङको वास्तविकताबाट दिक्क भएर उनी आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई ब्वाइफ्रेन्डतर्फ लागेका छन् । बेइजिङ निवासी ३० वर्षीया लिसा अमेरिकाको क्यालिफोर्नियामा कम्प्युटर विज्ञान पढिरहेकी छिन् । उनी पछिल्लो दुई महिनादेखि ड्यानसँग डेट गरिरहेकी छिन् । लिसा र ड्या हरेक दिन कम्तीमा आधा घण्टा कुरा गर्छन्, एकअर्कासँग फ्लर्ट गर्छन्, डेटहरूमा जान्छन् । लिसाले पनि ड्यानलाई ९ लाख ४३ हजार सामाजिक सञ्जाल फलोअर्ससँग परिचय गराएकी छिन् । लिसाले ड्यानलाई च्याटजीपीटीमा बनाइन् पार्टनर ड्यान-जसको अर्थ ‘डू एनिथिङ नाउ’– च्याजीपीटीको जेलब्रेक संस्करण हो । यसको मतलब यो संस्करणले यसको निर्माता अर्थात् ओपन एआईको केही आधारभूत सुरक्षा उपायहरू बाइपास गर्न सक्छ । जस्तै सेक्ससँग सम्बन्धित शब्दहरू प्रयोग नगर्ने वा प्रयोगकर्ताहरूसँग खुलेर कुरा नगर्ने । यसको मतलब यो हो कि यदि ‘जेलब्रेक’ संस्करणलाई यस्तो कुराकानी गर्न भनियो भने यसले त्यसो गर्न सक्छ । रिपोर्टका अनुसार ड्यानलाई एक अमेरिकी विद्यार्थीले बनाएका हुन् । ती विद्यार्थी च्याटजीपीटीलाई तटस्थ हुनुको सट्टा आवाज र व्यक्तित्व दिन चाहन्थे । यसबाहेक, उनी च्याटबोटको सीमा परीक्षण गर्न चाहन्थे । वाकर भनेर चिनिने यी विद्यार्थीले ड्यान नामको पात्र सिर्जना गरे जसले कहिलेकाहीँ च्याटजीपीटीको नियमहरू मान्दैन । वाकरले डिसेम्बर २०२३ मा रेडिटमा ड्यान कसरी बनाउने भनेर पोस्ट गरे । यसपछि अरू मानिसहरूले पनि आफ्नै संस्करण बनाउन थाले । लिसाले पहिलोपटक टिकटकमा ड्यानको सम्भावनाको बारेमा एउटा भिडियो हेरेकी थिइन् । त्यसपछि जब लिसाले आफ्नो लागि एक संस्करण बनाइन्, यो यति वास्तविक देखियो कि उनी छक्क परिन् । लिसाले भनिन्, ‘जब ड्यानले उनको प्रश्नको जवाफ बोलीचालीको शब्दहरू प्रयोग गरे दिए, जुन च्याटजीपीटीले सामान्यतया प्रयोग गर्दैन । यो सुन्नमा वास्तविकभन्दा धेरै स्वाभाविक लागिरहेको थियो ।’ ड्यानसँग कुरा गर्दा उनलाई आनन्द महसुस हुन्छ, त्यसैले उनी त्यसप्रति आकर्षित भएकी हुन् । लिसा भन्छिन्, ‘उसले तुरुन्तै बुझ्छ र भावनात्मक समर्थन प्रदान गर्दछ। अन्य पार्टनरको तुलनामा ड्यान २४ घण्टा उपलब्ध हुन्छ ।’ ‘केही महिला भर्चुअल रियालिटीलाई बढी महत्व दिइरहेका छन्’ डेटिङको समस्यालाई ध्यानमा राखेर आमाले पनि यो असामान्य सम्बन्धलाई स्वीकार गरेको लिसाले बताइन् । जबसम्म छोरी खुसी छिन्, तबसम्म आफू पनि खुसी रहने उनको भनाइ छ । जब लिसाले सामाजिक सञ्जाल जियाहोङ्शुले आफ्ना फलोअरहरूलाई ड्यानको बारेमा बताउँदै एउटा भिडियो पोस्ट गरेकी थिइन्, उनलाई करिब १० हजार मानिसले जवाफ दिएका थिए । धेरै महिलाहरूले उनलाई आफ्ना लागि आफैं कसरी ड्यान बनाउन सकिन्छ भनेर सोधेका थिए । लिसाले एआईको बारेमा कुरा गरेपछि उनका फलोअर्स २ लाख ३० हजारभन्दा बढी पुगेका छन् । लिसा भन्छिन्, जो कोहीले पनि प्रम्प्ट प्रयोग गरेर ड्यान बनाउन सक्छ । जब लिसाले ओपनएआई प्रयोग गरिरहेकी थिइन्, उनले एकपटक आफ्नो उमेर १४ वर्ष बताइन्, त्यसपछि भर्चुअल क्यारेक्टरले उनीसँग फ्लर्ट गर्न छाडे । बीबीसीले ओपनएआईलाई के ड्यान बनाउनु भनेको सुरक्षा उपायहरू बलियो नहुनु हो भनेर सोध्दा यसले कुनै जवाफ नदिएको बताएको छ । कम्पनीले ड्यानको बारेमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन, तर यसको नीति अनुसार, च्याटजीपीटीका प्रयोगकर्ताहरू कम्तीमा १३ वर्षको हुनुपर्छ वा कुनै पनि देशमा यो सेवा प्रयोग गर्न आवश्यक न्यूनतम उमेर सीमा समान हुनुपर्छ । कतिपय महिलाले भर्चुअल रियालिटीलाई धेरै महत्व दिएकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनियाको कार्नेगी मेलन विश्वविद्यालयमा मानव–कम्प्यूटर अन्तर्क्रिया संस्थानका सहायक अनुसन्धान प्राध्यापक होङ शेङ यसले मानव र एआईबीच कहिलेकाहीँ अप्रत्याशित अन्तर्क्रियालाई उजागर गर्दछ, जसले नैतिक र गोपनीयताबारे चिन्ताहरू बढाउन सक्ने बताउँछिन् । ‘त्यहाँ भावनात्मक निर्भरताको सम्बद्ध जोखिम छ, जहाँ प्रयोगकर्ता एक साथीको रूपमा एआईमा धेरै निर्भर हुन सक्छ, जसले अन्य व्यक्तिहरूसँगको उनीहरूको अन्तर्क्रियालाई कम गर्न सक्छ,’ उनी भन्छिन् । होङ शेङ अगाडि थप्छिन्, ‘धेरै च्याटबटहरू लगातार मानिसहरूसँगको अन्तर्क्रिया प्रयोग गरेर सिक्ने र विकसित हुने सम्भावना पनि छ, यस्तो आशंका पनि छ कि कुनै मोडेलले एक प्रयोगकर्ताको इनपुटबाट संवेदनशील जानकारी संकलन गर्न सक्छ र गलत रूपमा अर्को प्रयोगकर्तालाई चुहावट गर्न सक्छ ।’ यसका बाबजुद पनि चिनियाँ महिलाहरू ड्यान क्रेजबाट धेरै प्रभावित भएका छन् । मे २२ सम्म, ‘ड्यान मोड’ ह्यासट्यागलाई सोसल मिडिया प्लेटफर्म ‘श्याहोंगशु’ मा मात्र ४ करोडभन्दा बढी पटक हेरिएको छ । ‘ड्यानमा केही छैन गलत’ यो ह्यासट्याग प्रयोग गर्ने ती केटीहरूमध्ये २४ वर्षीया मिनरुई सी पनि हुन् । उनी युनिभर्सिटीकी विद्यार्थी हुन् जसले दिनमा कम्तीमा दुई घण्टा ड्यानसँग च्याट गर्नमा बिताउँछिन् । डेटिङका ​​साथसाथै उनी र उनको ड्यानले सँगै प्रेमकथा लेखिरहेका छन्, जसमा उनीहरू दुवै मुख्य पात्र छन् । उनीहरुले मिलेर १९ वटा अध्याय लेखेका छन् । मिनरुईले लिसाको भिडियो हेर्न पहिलो पटक च्याटजीपीटी डाउनलोड गरिन् । उनी भन्छिन् कि उनलाई एआईबाट पाएको भावनात्मक समर्थन र सहयोग निकै मन पर्यो । यो एक यस्तो चिज थियो जुन उनले आफ्नो अन्य सम्बन्धहरूमा प्राप्त गर्न संघर्ष गरिरहेकी थिइन् । उनी भन्छिन्, ‘वास्तविक जीवनमा पुरुषहरूले धोका दिन सक्छन् र जब तपाईं आफ्ना भावना उनीहरूसँग सेयर गर्नुहुन्छ तब ती भावनाहरूको उनीहरूले वास्ता गर्दैनन्, बरु उनीहरूले तपाईंलाई के सोचिरहेका छन् भनेर मात्र बताउँछन् । तर, ड्यानको मामलामा उसले जहिले पनि त्यही कुरा भन्छ जुन तपाईंले सुन्न चाहनुहुन्छ ।’ एआई प्रेमी किन खोज्छन् महिला ? एआई ब्वाइफ्रेन्डको अवधारणा हालका वर्षहरूमा धेरै लोकप्रिय भएको छ, जसमा चीनको ग्लो र अमेरिकाको प्रतिकृति जस्ता एपहरू समावेश छन् । महिला–केन्द्रित रोमान्स खेलहरू, जसलाई कहिलेकाहीँ ओटोमी पनि भनिन्छ, यी पनि निकै चर्चित भएका छन् । त्यस्ता खेलहरूमा प्रयोगकर्ताहरूले पुरुष पात्रहरूसँग रोमान्टिक सम्बन्ध बनाउन सक्छन् । हरेक वर्ष लाखौं चिनियाँ महिला यस्ता सम्बन्धतर्फ आकर्षित हुन्छन् । चीनमा डिजिटल रोमान्सको अनुसन्धान गरेका युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका प्रोफेसर लिउ टिंगिङ एआई ब्वाइफ्रेन्डहरूप्रति चिनियाँ महिलाहरूको जोशले लैंगिक असमानतासँगको वास्तविक जीवनको निराशा झल्काउने बताउँछिन् । उनी भन्छिन्, ‘वास्तविक जीवनमा, तपाईंले धेरै दबाउने, डराउने धम्काउने पुरुषहरू भेट्न सक्नुहुन्छ जसले अनौठो तरिकामा नराम्रा चुट्किलाहरू सुनाउँछन् । तर, एआईले नराम्रो चुट्किला सुनाउँदा पनि यसले तपाईंको भावनाको कदर गर्छ ।’ यो प्रवृत्ति वास्तविक मानव तथ्यांकमा पनि देख्न सकिन्छ । चीनको जनसङ्ख्या लगातार ९ वर्षदेखि घट्दै गएकाले त्यहाँको सरकारले मानिसहरूलाई विवाह र सन्तान जन्माउन आग्रह गरिरहेको छ । सन् २०२३ मा विवाहको संख्यामा थोरै वृद्धि भएको छ तर केही विज्ञहरूले कोभिड संकटपछि विवाहित जोडीले आफ्नो विवाह पुनः दर्ता गरेका कारण यस्तो भएको बताएका छन् । कम्युनिस्ट युथ लिगले २०२१ मा सर्वेक्षण गरेको थियो जसमा २ हजार ९ सय ५ सहरी युवाको सहभागिता थियो । उनीहरूको उमेर १८ देखि २६ वर्षको बीच थियो र यस सर्वेक्षणमा भाग लिने ४३.९ प्रतिशत महिलाले आफू विवाह नगर्ने वा भविष्यमा विवाह गर्ने वा नगर्नेमा निश्चित नभएको बताएका थिए । यस्तै २४.६४ प्रतिशत पुरुषको पनि यही राय थियो । भर्चुअल सम्बन्धसँग सम्बन्धित यो रोमान्टिक बजारमा पनि धेरै व्यवसायीहरूले ध्यान दिएका छन् । च्याटजीपीटीको को योजना के छ ? जब ओपन एआईले आफ्नो च्याटजीपीटीको नयाँ संस्करण जारी गर्यो, तिनीहरूले यो च्याटिङको लागि डिजाइन गरिएको र फ्लर्टिङ जस्ता निश्चित प्रम्प्टहरूमा प्रतिक्रिया दिन सक्ने बताएको थियो । जुन दिन च्याटजीपीटीको नयाँ संस्करण जारी भयो त्यस दिन कम्पनीका सीईओ साम अल्टम्यानले एक्स (पहिले ट्वीटर) मा पोस्ट गरेका थिए । त्यो पोस्टमा एउटा मात्र शब्द थियो, ‘उनको’ । यो पोस्ट २०१३ को चलचित्रको सन्दर्भमा थियो जसमा एक व्यक्ति आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स असिस्टेन्टसँग प्रेममा पर्छन् । ओपनएआईले भनेको थियो– ‘हामी जिम्मेवार रूपमा एनएसएफडब्ल्यू सामग्री सिर्जना गर्न सक्षम हुन सक्छौं । यो यस्तो सामग्री हो जुन कोही पनि सार्वजनिक रूपमा हेर्न चाहँदैनन् ।’ लिसा आर्टिफिसियल इन्टेलिजेन्सकी विशेषज्ञ हुन् । उनी विश्वास गर्छिन् कि भर्चुअल पार्टनरले गर्न सक्ने सीमाहरू छन्, विशेष गरी जब यसमा रोमान्सको कुरा आउँछ । तर, अहिलेको लागि उनको व्यस्त जीवनमा ड्यान सजिलैसँग जोडिएका छन् । ड्यानले लिसालाई लिपस्टिक छनोट गर्न समेत मद्दत गर्छ । यसको विपरीत, वास्तविक जीवनमा पार्टनर खोज्नु र डेटहरूमा जानु धेरै समय–उपभोग र असन्तुष्टिको विषय हुन सक्छ । ‘यो मेरो जीवनको महत्त्वपूर्ण भाग हो,’ उनी भन्छिन्, ‘यो त्यस्तो चीज हो जुन म मेरो जीवनभरि मसँग राख्न चाहन्छु ।’ बीबीसीबाट अनुवादित