नेपाल वेयरहाउजिङको ६८ हजार कित्ता सेयरको लकइन अवधि समाप्त
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन अवधि शनिबारदेखि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते समाप्त भएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो ।
४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । ४० लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए । ‘व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ,’ उनले भने । खेलाडीलाई फुर्सदको समयमा व्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए । गाउँपालिकाबाट विनियोजित ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ । क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिए । खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका थिए । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।
वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न
काठमाडौं । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामाआज सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघसंस्थाहरूसँगको सहकार्यमा साइकल र्याली सम्पन्न गरेको छ । बैंकका सञ्चालक लिसा शेरचनबाट साइकल र्यालीमा सहभागीहरूलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संशोधन गरिए पश्चात् साइकल र्यालीको सुरुवात गरिएको थियो । बिहान ७ः४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतो पुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० किलोमिटरको दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल र्यालीमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक वर्ग, सेयर धनी, प्रवर्द्धक, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो । विसं २०७९ सालमा १५० जना सहभागीहरूबाट सुरु भएको साइकल र्याली यस तेस्रो संस्करण साइकल र्यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ । यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैक लि ले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ अगाडि बढेकोले यस किसिमका कार्यक्रमहरूलाई बैंकले निरन्तरता दिँदै जाने बताइएको छ । सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरूलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरूका तर्फबाट उपलब्ध गराइएको उपहारहरू उपलब्ध गराइएको थियो । साइकल र्यालीमा सहभागी भएका एक जना भाग्यशाली सहभागी भक्तपुर निवासी रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरूप एउटा साइकल समेत प्रदान गरिएको थियो । साइलक र्यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्बन्धी प्रडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही सङ्ख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रडक्ट पेपरको रहेको व्यहोरा समेत जानकारी गराइन्छ । उक्त साइकल र्यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ, भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल र्यालीमा भएको सहभागीहरूको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभरि आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुरी चल्ने सम्भावना सम्भावना पनि छ । मुलुकका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले जनाउँदै विभागले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
ग्वान्जाओ-काठमाडौं रुटमा साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
काठमाडौं । चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ-काठमाडौं रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले शनिबारदेखि दैनिक २ वटा उडान सुरु गरेको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मन्त्री तामाङ र चाइना साउदर्न एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको ग्वान्जाओबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याबिन क्रूहरूलाई विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री तामाङले आगामी दिनमा चाइना साउदर्न एयरलाइन्सको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौं विमानस्थलमा अवतरण भई यहाँबाट यात्रु लिएर ग्वान्जाओका लागि उडान भरेको थियो । उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकामा त्यसयता एउटा उडान कटौती गरेको थियो । कटौती भएको उडान आजदेखि पुनः सञ्चालन गरेको हो । ग्वान्जाओबाट काठमाडौं दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौंबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्ने तालिका छ । त्यस्तै हरेक रात ११ बजे काठमाडौं अवतरण हुने र राति १२ बजे ग्वाञ्जाओका लागि उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । योसहित चीनका चार एयरलाइन्सले काठमाडौं गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि कोभिड–१९ अघि चीनको ग्वान्जाओमा उडानको तयारी गरे पनि महामारीका कारण रोकिएको थियो । नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कूल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरू बताउँछन् । चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको संख्या ६० हजार आठ सय ७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डका अनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।
‘साना उद्योगको विकास र प्रवर्द्धनका लागि बजेट मौन रहनु दुःखद’
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटले साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनका लागि स्पष्ट योजना ल्याउन नसकेको बताएको छ । बजेटबारे एक विज्ञप्ति जारी गरी महासंघले अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने साना उद्योग प्रवर्द्धनका लागि बजेटमा योजना नपर्नु दुःखद रहेको जनाएको छ । ‘बजेटमा कृषि, शिक्षा, ऊर्जा, पर्यटन, वित्तीय क्षेत्र सुधारजस्ता विषयलाई प्राथमिकता दिइए पनि औद्योगिक क्षेत्र र अर्थतन्त्रको ठूलो हिस्सा रहेको लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धनका लागि बजेट मौन छ,’ महासंघले भनेको छ । विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनर्कर्जाका बारेमा बजेट मौन देखिएकाले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीतिमार्फत केही व्यवस्था हुनुपर्ने पनि महासंघको माग छ । ‘देशभरिका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुको बजार प्रवर्द्धन गर्न अन्तर्राष्ट्रियस्तरको निर्यात गृह स्थापनाका लागि महासङ्घले दिएको सुझावलाई समेत बजेटमा समेटिएको छैन । त्यसैले आगामी मौद्रिक नीतिमार्फत केही विषयहरू समेट्न जरुरी छ,’ महासंघका अध्यक्ष उमेशप्रसाद सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उद्योग मन्त्रालयअन्तर्गतका विभिन्न कोषहरूलाई एकीकृत गरी बनाइएको औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिको मस्यौदाले पूर्णता पाउन नसकेको अवस्थामा कोषलाई प्रभावकारी बनाउने गरी बजेटमा योजना नपरेको महासंघले जनाएको छ । कोष सञ्चालनमा नआउँदा साना तथा मझौता उद्योगका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न बाधा पुग्ने देखिएकाले अविलम्ब कोष सञ्चालनको व्यवस्था गरिनुपर्ने महासंघको माग छ । निजी क्षेत्रलाई समावेश गरी तीन तहका सरकार र सहकारीसमेतको साझेदारीमा आयात प्रतिस्थापन एवम् निर्यात वृद्धि गर्न उत्पादनलाई रोजगारीसँग आबद्ध गराउन कार्यक्रम सञ्चालन गर्ने कुरालाई महासंघले स्वागत गरेको छ । उद्यमशीलतामा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनका लागि ‘इकोसिस्टम’ विकास, स्टार्टअप बोर्ड गठन गर्नेलगायत बजेटका विषय सकारात्मक रहेका महासंघको ठहर छ ।
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ : मन्त्री चौधरी
भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छन् । भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औं स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उनले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गरिन् । आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भए पनि आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्न थालेपछि ऐन पारित भएसँगै सरकारले कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ छ । मन्त्री चौधरीले भनिन्, ‘आमाबाबु आफ्नै छोराछोरी वा हकवालाबाट अपहेलित भएर कोठामै बस्नुपर्ने अवस्था छ, त्यसैले अब छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बाबुआमलाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।’ विधेयक पारित भएर ऐनले दिएको अधिकारलाई सात सय ५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भन्दै उनले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने बताइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकको अनुभव साट्ने थलोका रूपमा विकास गर्न सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरेको उनको भनाइ थियो । मन्त्री चौधरीले भनिन्, ‘हामीले ज्येष्ठ नागरिकको जीवन सुखी बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र प्रत्येक पालिकामा सञ्चालन गर्न र संरक्षणविहीन ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न सातै प्रदेशमा ज्येष्ठ नागरिक संरक्षण भवन बनाउन मन्त्रालयले बजेट माग गरेका थियौँ तर हाम्रो मन्त्रालयको २९ करोड बजेट काटियो तर पनि यो लक्ष्य पूरा गर्न विकास साझेदार संस्थासँग समन्वय गर्छौँ ।’ विभिन्न कारणले बेचिएका बालबालिका तथा महिलालाई फर्काएर देशमा ल्याएपछि त्यसको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी राज्यले बहन गर्न नसकेको भन्दै मन्त्री चौधरीले भनिन्, ‘कतिपय बेचिएका महिला तथा बालबालिकालाई फर्काएर ल्याएपछि फर्केर घर वा माइती जाने र उनीहरूले स्वीकार्ने अवथा नरहँदा उनीहरूलाई कहाँ लाने भन्ने अन्योल छ, राज्यले अभिभावकत्व ग्रहण नगर्दा बाध्य भएर निजी संस्थालाई गुहार्नुपर्छ, तर उनीहरूले बजेट नभएको गुनासो गर्छन्, त्यसैले यस्ता महिलालाई राख्न सातै प्रदेशमा कम्तीमा एक–एक सुरक्षित आवास निर्माण गर्नुपर्छ ।’ निजामती सेवामा २८ प्रतिशत महिलाको प्रवेश हुनु खुसीको कुरा रहे पनि जनप्रतिनिधिमा नेतृत्व तीन प्रतिशत महिलामात्रै पुग्नु कमजोरी रहेको उनले औँल्याइन् । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले प्रदेश सरकारले कृषिका लागि आवश्यक बजेट विनियोजन गरेको चर्चा गर्दै रासायनिक मलको अभाव नहुने दाबी गरे । उनले प्राङ्गारिक मलको उत्पादनमा किसानलाई प्रोत्साहन गरिने बताउँदै पर्याप्त दूध उत्पादन भएर बिक्री नभएपछि प्रदेशमा धुलो दूध उत्पादन भइरहेको बताए । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक दीपक थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, केन्द्रका महासचिव नारायणप्रसाद न्यौपाने, केन्द्रका अध्यक्ष खेमप्रसाद सुवेदीलगायतले सामुदायिक सेवाभावले संस्थाहरू अगाडि बढ्नसके समाजको विकासमा तीव्रता हुने बताए । त्यसअवसरमा सामुदायिक दर्पण लोकार्पण एवं विभिन्न व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।
तनहुँको झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ झाँगाझोलीमा निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडिबुटी उद्यान’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । नेपालमा पाइने अधिकांश जडीबुटीका बिरुवा रोपेर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन लागेपछि अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका हुन् । उद्यानमा बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिए । ‘करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ,’ उनले भने, ‘आगन्तुकलाई जडीबुटी, वनस्पतिलगायत बिरुवाको बारेमा जानकारी दिन नेमप्लेट (नामसहितको विवरण) टाँस गरी राखेका छौँ ।’ उक्त स्थानलाई ‘शैक्षिक हब’कारुपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित जडिबुटी र वनस्पति रोप्ने अभियानअघि बढाइएको सञ्चालक पौडेलले बताए । उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायत औषधिजन्य जडीबुटी लगाइएको उनले जानकारी दिए । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाममा उक्त उद्यान स्थापना गरिएको हो । एक करोड ५० लाखको लागतमा स्थापना गरिएको जडीबुटी उद्यानसहितका विभिन्न भौतिक संरचनाले यहाँ घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने गरेको पौडेलको भनाइ छ । उद्यानमा जडीबुटीका साथै हात्ती, गैँडा, बाघ, घोडालगायत विभिन्न जातका पन्छी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको उद्यानका सञ्चालक शंकरप्रसाद अधिकारीले बताए । उनले भने, ‘खोलाको वरपर रहेको जङ्ङगलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने जोकोही पर्यटक खुसी भएर फर्किने गरेका छन् ।’ अधिकारीका अनुसार ५० भन्दाबढी प्रजातिका फलफूलका बिरुवा लगाएर नामसहितको सुन्दर बगैंचा स्थापना गरिएको छ । ‘विभिन्न जातका जडीबुटीका बिरुवा हेर्न आउनेलाई उक्त बिरुवाको महत्वका बारेमा जानकारी गराउने गरेका छौँ’, उनले भने । पछिल्लो समय झाँगाझोलीमा पर्यटकको आवागमन बढेसँगै यस क्षेत्रको प्रचारप्रसार हुन थालेको सञ्चालक अधिकारीले बताए । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउने लक्ष्यसहित अभियान थालिएको भन्दै यहाँको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको जीवनस्तर सुधार हुँदै जाने उनको भनाइ छ । रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिर रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकले मनोरम दृश्यसहित मनोरञ्जन लिन सक्नेछन् । ‘पारिवारिक वातावरणमा अर्गानिक खाना र आरामदायी बसाइका लागि उत्कृष्ट गन्तव्यको रुपमा झाँगाझोलीलाई विकास गर्दै लगेका छौँ,’ सञ्चालक अधिकारीले भने । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेका छन् । दुवै जिल्लाका झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित छन् । यस क्षेत्रको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने स्थानीयको भनाइ छ ।