तनहुँको झाँगाझोली आन्तरिक पर्यटकको रोजाइमा
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ झाँगाझोलीमा निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडिबुटी उद्यान’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । नेपालमा पाइने अधिकांश जडीबुटीका बिरुवा रोपेर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन लागेपछि अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका हुन् । उद्यानमा बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिए । ‘करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ,’ उनले भने, ‘आगन्तुकलाई जडीबुटी, वनस्पतिलगायत बिरुवाको बारेमा जानकारी दिन नेमप्लेट (नामसहितको विवरण) टाँस गरी राखेका छौँ ।’ उक्त स्थानलाई ‘शैक्षिक हब’कारुपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित जडिबुटी र वनस्पति रोप्ने अभियानअघि बढाइएको सञ्चालक पौडेलले बताए । उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायत औषधिजन्य जडीबुटी लगाइएको उनले जानकारी दिए । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाममा उक्त उद्यान स्थापना गरिएको हो । एक करोड ५० लाखको लागतमा स्थापना गरिएको जडीबुटी उद्यानसहितका विभिन्न भौतिक संरचनाले यहाँ घुम्न आउने पर्यटकलाई आकर्षित गर्ने गरेको पौडेलको भनाइ छ । उद्यानमा जडीबुटीका साथै हात्ती, गैँडा, बाघ, घोडालगायत विभिन्न जातका पन्छी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको उद्यानका सञ्चालक शंकरप्रसाद अधिकारीले बताए । उनले भने, ‘खोलाको वरपर रहेको जङ्ङगलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने जोकोही पर्यटक खुसी भएर फर्किने गरेका छन् ।’ अधिकारीका अनुसार ५० भन्दाबढी प्रजातिका फलफूलका बिरुवा लगाएर नामसहितको सुन्दर बगैंचा स्थापना गरिएको छ । ‘विभिन्न जातका जडीबुटीका बिरुवा हेर्न आउनेलाई उक्त बिरुवाको महत्वका बारेमा जानकारी गराउने गरेका छौँ’, उनले भने । पछिल्लो समय झाँगाझोलीमा पर्यटकको आवागमन बढेसँगै यस क्षेत्रको प्रचारप्रसार हुन थालेको सञ्चालक अधिकारीले बताए । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउने लक्ष्यसहित अभियान थालिएको भन्दै यहाँको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको जीवनस्तर सुधार हुँदै जाने उनको भनाइ छ । रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिर रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकले मनोरम दृश्यसहित मनोरञ्जन लिन सक्नेछन् । ‘पारिवारिक वातावरणमा अर्गानिक खाना र आरामदायी बसाइका लागि उत्कृष्ट गन्तव्यको रुपमा झाँगाझोलीलाई विकास गर्दै लगेका छौँ,’ सञ्चालक अधिकारीले भने । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेका छन् । दुवै जिल्लाका झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित छन् । यस क्षेत्रको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने स्थानीयको भनाइ छ ।
दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह
झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन् । ‘दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उनले भनिन् ‘मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरू अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उहाँले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताइन् । दुग्ध विकास संस्थानको भण्डारमा १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उनले जानकारी दिइन् । मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याइन् । दुधबाट बनेका बस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनले बताइन् । कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिँदै आएको बताइन् । किसानहरूलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरुलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उनले जानकारी दिइन् । दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए । उनले दुध उत्पादक किसान र व्यवसायीका समस्या समाधानका लागि संस्थानले पहल गर्ने बताए । उनले संस्थान र निजी क्षेत्रका गोदामहरू दूधजन्य उत्पादनको भण्डारणले भरिएको हुँदा यसको विक्री वितरणको चाँडो व्यवस्था नभए आउँदो आर्थिक वर्षको सुरुदेखि नै नयाँ उत्पादन राख्ने ठाउँ नहुने बताए । कोशी प्रदेश डेरी उद्योग समितिका संयोजक रामचन्द्र उप्रेतीले एक दशकमा कोशी प्रदेशमा ११ वटा ठूला डेरी उद्योग सञ्चालनमा आएका उल्लेख गर्दै प्रदेश सरकारको २० करोड रुपैयाँ अनुदानमा निजी क्षेत्रका उद्योगीले ३० करोड रुपैयाँको लागतमा पाउडर उद्योग स्थापना गरेको बताए । मेचीनगर–१४ दुहागढीस्थित एनएमसी एग्रो फार्ममा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट डेरी उद्योगका रूपमा एनएमसी डेरी उद्योग, उत्कृष्ट सहकारीका रूपमा चितवनको पिठुवा दुग्ध उत्पादक सहकारी र सुनसरीको कामधेनु दुग्ध विकास सहकारी संस्था, उत्कृष्ट कृषकका रूपमा झापाका राजकुमार तामाङ र मोरङका विज्ञान बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक अभियान पत्रिकाका समाचारदाता प्रशान्त खड्कालाई उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्मान गरिएको थियो ।
यी हुन् संसारका ७ सबैभन्दा ताता ठाउँ
काठमाडौं । देशका धेरै सहरमा गर्मीले रेकर्ड कायम गरेको छ । दुई दिनअघि मात्रै नेपालगञ्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै काठमाडौं उपत्यकाको तापक्रम पनि ३३ डिग्री सेल्सियसमाथि मापन गरिएको छ । यसैगरी छिमेकी देश भारतको तापक्रम ५० डिग्री सेल्सियस नाघेको छ । गर्मी यति चर्को छ कि दैनिक काम गर्न घरबाहिर निस्कनुअघि सय पटक सोच्नुपर्छ । तर, ५० डिग्री सेल्सियस तापक्रम मापन भइरहँदा पनि भारतको कुनै पनि सहर विश्वका १० सबैभन्दा तातो ठाउँमा पर्दैन । संसारमा यस्ता ठाउँ पनि छन् जुन सबैभन्दा तातो ठाउँ भनेर चिनिन्छन् । यी हुन् संसारमा सबैभन्दा धेरै गर्मी हुने ठाउँ डेथ भ्याली, अमेरिका संसारको सबैभन्दा तातो ठाउँ अमेरिकामा छ र यो ठाउँलाई डेथ भ्याली भनेर चिनिन्छ । गर्मीमा यहाँको हावाको औसत तापक्रम ४७ डिग्री सेल्सियससम्म रहन्छ भने जमिनको तापक्रम पनि बढी हुन्छ । १० जुलाई १९१३ मा डेथ भ्यालीमा अहिलेसम्मकै उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसको लोकप्रियता एक यात्रा गन्तव्य र पृथ्वीमा सबैभन्दा तातो तापक्रम मापन गर्ने ठाउँको रूपमा बढेको छ । डेथ भ्याली तातो रहन्छ किनभने यो लामो र साँघुरो बेसिन हो र समुद्र सतहबाट २८२ फिट तल छ । केबिली, ट्युनिसिया ट्युनिसियाको दक्षिणमा रहेको एक सहर केबिली हो । यो उत्तर अफ्रिकाको सबैभन्दा पुरानो ठाउँमध्ये एक हो । यो सहर ट्युनिसियामा मानव बसोबासको सबैभन्दा पुरानो प्रमाणको साइट हो, जुन लगभग २ सय हजार वर्ष पुरानो हो । विश्व मौसम विज्ञान संगठनका अनुसार अफ्रिकाको केबिलीमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ । जुलाईको मध्यमा यहाँको तापक्रम नियमित रूपमा ४०.९ डिग्री सेल्सियससम्म पुग्छ र रातमा तापमान विरलै २५.५ डिग्री सेल्सियसभन्दा तल झर्छ । मित्रिबाह, कुवेत मित्रिबाह उत्तरपश्चिम कुवेतमा स्थित एक वेदर स्टेसन हो । मित्रिबाह २१ जुलाई २०१६ मा तेस्रो उच्च तापक्रम भएको ठाउँ थियो । त्यतिबेला यहाँको तापक्रम ५३.९ डिग्री सेल्सियस पुगेको थियो । यो बेलायतमा रेकर्ड गरिएको तापक्रमभन्दा १५ डिग्री सेल्सियस बढी हो र एसियामा अहिलेसम्मकै उच्च तापक्रम पनि हो । कुवेतमा जुलाईको तापमान नियमित रूपमा कम्तीमा ४० डिग्री सेल्सियससम्म पुग्छ र यहाँ मानिसहरू दिउँसो एसी भवनभित्रै बस्न रुचाउँछन् । तुर्बात, पाकिस्तान पाकिस्तानको दक्षिणी बलुचिस्तानमा अवस्थित शहर हो तुर्बात । यहाँको तापक्रम २८ मे २०१७ मा ५३.७ डिग्री सेल्सियस पुगेको थियो । योसँगै यो पृथ्वीको चौथो सबैभन्दा तातो ठाउँ बनेको छ । जुनमा यस ठाउँको औसत तापक्रम ४२ डिग्री सेल्सियस हुन्छ । यहाँको ग्रीष्म ऋतु अत्यधिक आर्द्र र सुख्खा हुन्छ र तापक्रम वर्षभरि ६ डिग्री सेल्सियस भन्दा कम हुन्छ । डल्लोल, इथियोपिया उत्तरी इथियोपियाको यो क्षेत्र नुन संरचना, ग्यास गीजर र एसिड स्प्रिङहरू भएको हाइड्रोथर्मल क्षेत्र हो । सन् १९६० देखि १९६६ सम्म यस क्षेत्रको वार्षिक औसत तापक्रम ३४.४ डिग्री सेल्सियस थियो, जबकि सोही अवधिमा रेकर्ड गरिएको औसत दैनिक अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो। सहारा मरुभूमि अफ्रिकी महाद्वीपमा अवस्थित यो मरुभूमि विश्वको सबैभन्दा ठूलो तातो मरुभूमि हो र यसले उत्तर अफ्रिकाको अधिकांश भाग ओगटेको छ । यहाँ वर्षा एकदमै कम हुन्छ र मौसम सामान्यतया घाम र सुख्खा हुन्छ । यहाँको जमिनको तापक्रम प्रायः ७६ डिग्री सेल्सियसभन्दा बढी हुन्छ । पोर्ट सुडानमा बालुवाको तापक्रम ८३.५ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ । फ्लेमिङ माउन्टेन्स, चीन फ्लेमिङ माउन्टेन चीनको सिनजियाङमा बञ्जर बालुवा ढुंगाको पहा हुो । यो ठाउँको हावापानी एकदमै कडा छ । यहाँको तापत्रलम अविश्वसनीय रूपमा ५० डिग्री सेल्सियससम्म वा योभन्दा बढी पुग्छ । यो चीनको सबैभन्दा तातो ठाउँ पनि हो । एजेन्सी
चीनमा खाद्य सुरक्षा कानुन लागु
बेइजिङ । अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य सुरक्षा कानुन शनिबारदेखि लागु हुने भएको छ । डिसेम्बर २०२३ मा शीर्ष व्यवस्थापिकाले पारित गरेको कानुनमा उत्पादन र भण्डारदेखि परिसंचरण–प्रशोधनलगायत आपूर्तिको सम्पूर्ण प्रक्रियालाई समेट्ने प्रावधानका ११ अध्याय समावेश छन् । अन्न प्रशोधनको सन्दर्भमा, कानुनले उद्योग विकासलाई प्रोत्साहन र मार्गदर्शन गरी अन्न प्रशोधन उत्पादनको आपूर्ति र सुरक्षा सुनिश्चित गर्ने प्रयास प्रस्ताव गरेको छ । जसमा अन्न प्रशोधन अपरेटरले सान्दर्भिक औद्योगिक मापदण्ड पालना गर्न पर्ने व्यवस्था छ । उनीहरूको उत्पादनको गुणस्तर र सुरक्षाको लागि जवाफदेही हुनुपर्ने कानुनले निर्दिष्ट गर्दछ । चीनले खाद्य सुरक्षालाई महत्त्व दिई १।४ अरब मानिसलाई विश्वको खेतीयोग्य भूमिको नौ प्रतिशत प्रदान गरेको छ । नव निर्मित कानूनमा कृषियोग्य भूमिको संरक्षणका प्रावधानसमेत समावेश छन् ।
११ दिनपछि मनसुन भित्रिने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ,’ भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।
कानुन नमान्ने सहकारीहरू खारेजी प्रक्रियामा लैजान काठमाडौं महानगरलाई विज्ञको सुझाव
काठमाडौं । काठमाडौं महानगरपालिका कार्य क्षेत्र बनाएर दर्ता भएपछि सम्पर्कमा नभएका करिब ९ सय सहकारीको दर्ता खारेजी प्रक्रिया सुरु गर्न विज्ञहरूले सुझाव दिएका छन् । महानगरपालिकाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक अभिमुखीकरण तालिममा सहकारीविज्ञ काशीराज दाहालले भने, ‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य बचतकर्ताहरुको नाममा सम्पर्क गर्न आउनका लागि सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानु, समस्या समाधानका लागि थाल्नु पर्ने प्रक्रिया हो ।’ यो प्रक्रिया अबलम्बन गर्न थालेपछि सरोकारवाला सम्पर्कमा आउन उनले बताए । सञ्चालक नआए बचतकर्ता सम्पर्कमा आउने र उनीहरूको सम्पर्कबाट सञ्चालक भेटिने ठाउँमा पुग्न सहयाेग हुने उनकाे भनाइ छ । काठमाडौं महानगरपालिका कार्य क्षेत्र भएका १ हजार ९ सय २३ सहकारी संस्थामध्ये गएको आर्थिक बर्षको अन्त्यसम्ममा ९६८ सहकारी मात्र अद्यावधिक भएपछि बाँकी सहकारीलाई के गर्ने भन्ने प्रसङ्गमा यी सवाल उठेका हुन् । यस्ता सहकारीका कारण सिर्जित समस्या समाधानको उपाय भनेकै प्रतिवादको अवसर दिएर खारेजको प्रक्रियामा लाग्ने हो, छलफल यही विषयमा केन्द्रित थियो । सञ्चालनमा भएका सहकारीहरूमा ‘स्वनियमको पालना’, ‘लोकतान्त्रिक नियन्त्रण प्रणाली’ ‘एकाधिकार’, ‘लगानीका क्षेत्र’, ‘सिद्धान्तको अनुसरण’ माथि नियमित नियमन हुनुपर्नेमा छलफलले जोड दिएकाे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए । सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सहकारी ऐनको संशोधित व्यवस्थाअनुसार २५ करोड रुपैयाँसम्मको कारोबार भएका सहकारीको नियमन स्थानीय तहबाट, २५ करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्मको कारोबार हुने सहकारीको नियमन प्रदेश र ५० करोड रुपैयाँभन्दा धेरै कारोबार गर्ने सहकारीको नियमन संघीय सरकारबाट हुनेछ । कारोबार २५ करोड रुपैयाँसम्म (स्थानीय सरकारको क्षेत्राधिकार) वा २५ करोड रुपैयाँभन्दा धेरै ५० करोड रुपैयाँसम्म (प्रदेश सरकारको क्षेत्राधिकारभित्र) भएको, कार्यक्षेत्र पालिका वा प्रदेशभन्दा धेरै भएको संस्थाको केन्द्रीय कार्यालय जुन पालिका वा प्रदेशमा छ त्यसको नियमन त्यही पालिका र प्रदेशबाट हुने उनले प्रस्ट पारे । यसअघि कार्य क्षेत्रका आधारमा वर्गीकरण गरिएको थियो । संशोधित व्यवस्थामा सहकारीलाई एकीकरण र विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । साधारण सभाको निर्णयका आधारमा र नियमनकारी निकायको कारवाहीबाट सहकारीहरु बन्द हुन सक्छन् । त्रिपाठीकाअनुसार संशोधित व्यवस्थाले सम्पत्ति रोक्का र फुक्का गर्न सहकारीको शिफारिसमा मालपोतबाट हुन सक्ने व्यवस्था भएको छ । महानगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने तयारी गरेको त्रिपाठीको भनाइ छ । विभागका दर्ता प्रवर्द्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठ भन्छन्, ‘असल आचरण गर्ने सहकारीबाट उत्थानमा पुगेको लाभको प्रवर्द्धन गर्दै सहकारीहरुलाई सञ्चालन क्षमता बढाउने योजनालाई महानगरपालिकाले नियमित कामका रूपमा अगाडि बढाएको छ ।’ नेपालमा करिब ३२ हजार संख्यामा सहकारी संस्था छन् । तीमध्ये संघ सरकारको मातहतमा १४६ वटा, प्रदेश सरकारको मातहतमा करिब १९ प्रतिशत सहकारी छन् । यसरी हेर्दा भएका सहकारीमध्ये ८० प्रतिशत सहकारी स्थानीय सरकारको नियमन क्षेत्राधिकारभित्रका छन् । यसकारण सहकारीको नियमनका लागि स्थानीय सरकारको क्षमता बढाउनु पर्नेमा छलफलले सुझाव दिएको छ ।
इटालीमा औद्योगिक उत्पादकको मूल्य लगातार छैठौं महिनामा पनि घट्यो
काठमाडाैं । इटालीमा औद्योगिक उत्पादकको मूल्य लगातार छैठौं महिनामा पनि घटेको छ । इटालीको तथ्यांक निकायले जनाएअनुसार मुख्यतया ऊर्जा लागतमा निरन्तर कमीका कारण उत्पादकको मूल्य घटेको हो । इटालियन नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सले औद्योगिक उत्पादकहरूको मूल्य अघिल्लो महिनाको तुलनामा अप्रिलमा ०.९ प्रतिशतले घटेको बताएको छ । इटालीमा समग्र मुद्रास्फीति अक्टोबर २०२३ देखि घटेको छ । यो गिरावट उत्पादकको मूल्यमा आएको गिरावटसँग व्यापक रूपमा आएको हो ।
पाल्हीनन्दनका भूमिहीन दलितको सडकमै बास
पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुकुम्वासी आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् । भूमिहीन दलितलाई कानुनबमोजिम सरकारले एक पटक जमिन उपलब्ध गराउने संविधानमा व्यवस्था रहे पनि गाउँपालिका र आयोगले यहाँका भूमिहीन दलिललाई आवासका लागि जग्गा उपलब्ध नगराउँदा सडकमा फुसको छाप्रो बनाएर बासिरहेको पाल्हीनन्दन‐४ का रामु चमारले बताए । आयोग र गाउँपालिकामा आवासका लागि पटकपटक फाराम भरेपनि जमिन नपाएको स्थानीय सुकदेव चमारले बताए । उनका अनुसार पुस्तौँदेखि सडकमा छाप्रो बनाएर बस्दै आएकामा गत वर्ष सडक स्तरोन्नति गर्दा घर भत्काइएको हो । आवासका लागि जमिन उपलब्ध गराइदिन पालिका, वडा कार्यालय र आयोगसँग आग्रह गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । पाल्हीन्दन-४ लोहरौलीका भूमिहीन बासफोर (डोम) समुदायले बाजेबुवाको पालादेखि लोहरौलीबाट बैरवा जाने सडकमा फुसको छाप्रो बनाएर बसोबास गर्दै आएका छन् । पछिल्लो वर्ष सडक स्तरोन्नतिका क्रममा विवाद भएपपछि बसोबासको समस्या भएको सन्दीप बासफोरले बताए । आवासका लागि फाराम भरेर जमिन उपलब्ध गराइदिन गाउँपालिका, वडा कार्यालय र सुकुम्बासी आयोगमा अनुरोध गरिएको भन्दै अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल नगरेको उनको भनाइ छ । पाल्हीनन्दनका आवासविहीन दलित समुदायले पटकपटक सम्बन्धित कार्यालयमा आवासका लागि फाराम भरेका छन् । गाउँपालिकाले निर्णय गरेर सुकुम्बासी आयोगमा पठाएपछि आयोगले स्विकृति दिएसँगै प्रक्रिया अगाडि बढाइने पाल्हीनन्दन‐४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए । जग्गा उपलब्ध गराउने विषयमा वडा कार्यालयले गाउँपालिकालाई अनुरोध गरिरहेको उनको भनाइ छ ।