विकासन्युज

प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान भयो : सांसद बलायर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन् । सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै छोरीहरुको अपमान गरेको बताएका हुन् । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो अपमान हुने खालको बजेट निवियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए । सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे । ‘महिला राजनीतिमा नेपालमा मात्रै नभएर एशियामा नै चर्चित नाम हो– एशियामा नै द्वारिकादेवी ठकुरानी । जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा छोरीहरुको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाईदिँदा जाति हुन्छ जस्तो मलाई लाग्दछ’, उनले भने । सांसद बलायरले सरकारले भूकम्प पीडितहरुको राहतमा एकरुपता ल्याउन नसकेको आरोप पनि लगाए ।

कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा नागरिकता र नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियममा बोल्दै उनले यस्तो बताएका हुन् । सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरी छलफलबाट आएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान सकिने बताए । निकट भविष्यमा नै नागरिकता सम्बन्धी देखिएका समस्याहरुलाई सम्बोधन कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको बताए । आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु सच्याउन जरुरी रहेको जानकारी दिए । ‘नेपाल सरकारले, गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने कोशिस गरिरहेको परिप्रेक्ष्यमा सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरेर त्यो छलफलबाट आएका निचोडहरुलाई, छलफलबाट निस्किएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान गर्न सकिन्छ’, उनले भने । उपप्रधानमन्त्री लामिछानेले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरु धेरै रहेको बताए । नागरिकले नागरिकता प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गराउनु नहुने बताए । नागरिकले प्राप्त गर्ने अधिकारमा राज्यको तर्फबाट कुनै बाधा हुनु नहुने जानकारी दिए ।

विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण (फोटोफिचर)

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा बुधबार देशैभरका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवस नेपालसहित विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।    

वुलिङको विंगो कार किन्न नबिल बैंकले ९.९९ प्रतिशतमै ऋण दिने

काठमाडौं । नेपालमा विद्युतीय गाडी वुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले ग्राहकहरुलाई उत्कृष्ट वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । वुलिङ विंगो इभिमा रुचि राख्ने नेपाली ग्राहकहरुको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ। बैंक र पारामाउन्ट मोटर्सबीच भएको सम्झौता अनुसार गाडी किन्न बैंकले ५ वर्षसम्म परिवर्तन नहुनेगरी ९.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको हो । त्यसैगरी, गाडी किन्ने मासिले ७ वर्षे अवधिको अपरिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा १०.४९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । साथै, परिवर्तन हुने ब्याजदरमा रहेर कर्जा लिने ग्राहकले बैंकको बेस रेटमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम तिर्नेगरी कर्जा लिन सक्नेछन् । विंगो कारमा ब्यक्तिगत कर्जा लिँदा ८० प्रतिशतसम्म र फर्म वा कम्पनीको लागि ७० प्रतिशतसम्म ब्याजदर लाग्ने कम्पनीले जनाएको छ । बैंक र आयातकर्ता कम्पनी बीचको सम्झौताले विंगो ह्याचव्याक कार किन्ने ग्राहकले सहजै कर्जा सुविधा पाउने अवस्था बनेको हो । विलिङ विंगो सिंगल चार्जमा झण्डै ३३० किलोमिटर सीएलटीसी रेन्ज प्रमाणित भएको कार हो । निकै क्लासिकल डिजाइनमा तयार भएको कारमा थुप्रै आधुनिक फिचरहरु पाउन सकिने कम्पनीले जनाएको छ ।

जोखिम जहाँ हुन्छ, त्यहाँ बीमा हुन्छ

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् चंकी कुँवर क्षेत्री । क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरूको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् । ओरियण्टल इन्स्योरेन्स र साविक युनाइटेड इन्स्योरेन्समा काम गरिसकेका क्षेत्री २६ वर्षदेखि सलिकोमा कार्यरत छन् । बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव भएका सीईओ क्षेत्रीसँग बीमाको वर्तमान अवस्था, चुनौति, अवसर र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । बीमा कम्पनीहरू बलिया हुँदा उनीहरूले खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज वा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईंको कम्पनीले यसतर्फ के-के काम गरिरहेको छ ? मर्जरपछि कसरी सिनर्जी ल्याउन कम्पनीहरूले काम गरिरहेका छन् । मर्जर सम्पन्न भएको एक वर्ष भयो । यस अवधिमा जति सिनर्जी आउनु पर्ने हो त्यति धेरै आएको छैन । किनभने आर्थिक मन्दीका कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । व्यापार व्यवसाय वृद्धि हुन सकेको छैन । त्यसैले मर्जरमा गएका कम्पनीमा सिनर्जी नआएको हो । आगामी दिनमा पक्कै पनि सिनर्जी आउने अपेक्षा छ । बीमा कम्पनीहरू भावी योजना तथा रणनीति तयार गर्दै अगाडि बढिरहेका छन् । पुँजी वृद्धिपछि इनोभेटिभ प्रडक्ट, जनतालाई छिटो छरितो सेवा दिन कम्पनी सफल भएको छ । पोलिसी बेचेर व्यवसाय वृद्धि गर्ने नभई दाबी भुक्तानीलाई छिटोछरितो गर्ने गरी काम गरिरहेका छौं । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्याे । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम् अभ्यास गरिरहेको छ ? आर्थिक क्रियाकलाप भएर लगानी बढेपछि मात्रै सुरक्षा खोजिन्छ । त्यसको लागि बीमा आवश्यक पर्छ र एउटा औजार बन्न सक्छ । लगानी नै नभएपछि सुरक्षाको विषय नै उठ्दैन । हाल भइरहेको लगानीले व्यवसायमा कुनै असर परेको छैन । तर, बीमा व्यवसायको वृद्धि हुन सकिरहेको छैन । आर्थिक गतिविधि भएपछि बीमाको दायरा पनि बढ्छ । जीवन बीमाको हकमा जब मान्छे सहज अवस्थामा हुन्छ, आम्दानी बढ्छ, पैसाको पहुँचमा पुग्छ । त्यसपछि व्यक्तिले सुरक्षा खोज्छ र बीमाको दायरामा आउँछ । अर्थतन्त्र चलायमान भएर बीमा पोलिसी बिक्रीदर बढ्यो भने कम्पनीहरूको व्यवसाय पनि बढ्छ । बीमा भनेको के हो, यसको महत्व कति छ र उद्देश्य के हुन् भन्ने विषय सरकारले बुझ्न जरूरी छ । सरकारले बुझेको खण्डमा जनतामाझ जान बीमा कम्पनीलाई पनि सहज हुन्छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । किन, बीमा कम्पनीहरू आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? जहाँ लगानी हुन्छ, त्यो लगानीको सुरक्षा अवश्य चाहिन्छ । बैंक र बीमा एक रथका दुई पाङ्ग्रा हुन् । बीमाको सुरक्षा नहुँदासम्म बैंकले लगानी गर्दैन । तर, बीमा सचेतनाका कार्यक्रम व्यापक बन्दै गएपछि सर्वसाधारणले पनि महत्व बुझ्नुहुन्छ । त्यसपछि स्वस्फूर्तरूपमा आफैं बीमा गर्नुहुन्छ । वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ? बीमा व्यवसायका लागि अवसर नै अवसर छन् । किनभने नयाँ व्यवसाय, विकास निर्माणका काम हुन बाँकी नै छन् । अर्थतन्त्र जति छिटो चलायमान भयो त्यति न छिटो बीमाको दायरा बढ्छ । साथै, बीमा व्यवसाय सदावहार बढ्ने व्यवसाय पनि हो । वर्तमान समयमा बीमा व्यवसायमा समस्या के छन् ? जोखिम के छन् ? अवरोध के छन् ? बीमा व्यवसाय जोखिममा खेल्ने व्यवसाय हो । तर, प्रिमियमको आकार ठूलो भएन भने राम्रो रिइन्स्योरेन्स कम्पनी आउँदैनन् । रिइन्स्योरेन्स कम्पनी नआएपछि सबै जोखिम बीमा कम्पनीले बेहोर्न सक्दैनन् । जस्तो जलविद्युतको क्षेत्रमा जलवायु परिवर्तन, बाढी पहिरो र भौगोलीक बनावटका कारण दाबीका मुद्दा धेरै परेका छन् । तर, रेटेड रिइन्स्योरेन्स कम्पनीहरू नेपालको व्यवसायको आकार कम भएकाले आउन इच्छा राख्दैनन् । तत्कालका लागि बीमा कम्पनीहरूले यो चुनौति सामना गर्नु परेको छ । भौगोलीक बनावटका कारण पुर्वाधार विकास तथा निर्माण कार्यमा बाढी पहिरोको सामना गर्नु परेको छ । जसकारण घाटा हुने सम्भावना धेरै भएकाले यसलाई समाधान गरेर अगाडि बढाउनुपर्छ । कृषिमा उत्पादन बढाउनर कृषकहरूलाई राहत पुग्ने गरि कृषि बीमामा सरकारले प्रिमियममा अनुदान दिएको थियो । सरकारले कृषिमा राम्रो पहल गरेको थियो । तर, बीमा कम्पनीलाई समयमा बीमा अनुदानको रकम नदिएका कारण समस्या उत्पन्न भएको छ । किनभने बीमा कम्पनीले प्रिमियम रकम पाएका छैनन् । तर, दाबी भुक्तानी गरिसके । जसकारण बीमा कम्पनीमा फाइनान्सियल क्रस भएको छ । यसलाई सरकारले राम्रोसँग सहजीकरण गर्याे भने बीमा कम्पनी गाउँगाउँमा जान तयार छन् । तर, ग्राहकहरू पनि जहिले पनि सरकारको अनुदानमा आत्मनिर्भर हुनु हुँदैन । ग्राहकहरूको व्यवहारमा परिवर्तन हुन जरूरी छ । बीमा कम्पनीहरू गाईभैँसी, पशुपालनहरूको बीमामा धेरै अगाडि छन् । प्रिमियम रकम कम छ, आगामी दिनमा क्षति भयो भने दाबी रकम पाइन्छ भनेर ग्राहकहरू आफैं बीमा गर्न आउनु हुन्छ । अन्नबालीहरूका लागि व्यवसायीक हुन सकेको छैन । त्यसका लागि बीमा कम्पनी गाउँगाउँमा जानुपर्ने छ । बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ? बीमा कम्पनीहरूको अभिभावक हो, बीमा प्राधिकरण । बीमा प्राधिकरणले ल्याएका नीति निर्देशन बीमा कम्पनीहरूले कार्यान्वय गर्नुपर्छ । प्राधिकरणले नीति निर्देशन परिवर्तन गर्दा कम्पनीहरूसँग सुझाव सल्लाह लिनुपर्छ । कहिलेकाहीँ राम्रो काम गर्दा गर्दै नकारात्मक प्रभाव परेका उदाहरण छन् । जस्तो बीमा कम्पनीले बजारमा कुनै नयाँ प्रडक्ट लायो भने सबै प्रडक्टहरू हिट र बिक्री हुन्छन् भन्ने हुँदैन । त्यसकारण बीमा क्षेत्र चलायमान गर्न सहकार्य गरेर अगाडि बढ्नुपर्छ । किनभने नियामक भएपछि कम्पनीलाई पेनाल्टी तोक्ने, कडा कारवाही गर्ने भन्दा पनि भइरहेका कामलाई सुविधा दिएर सहजीकरण गर्नुपर्छ । जोखिम वर्गीकरणका लागि दुइटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । बीमा कम्पनीहरूले पुनर्बीमा कम्पनीबाट कस्तो सेवा पाइरहेका छन् ? जोखिम जहाँ हुन्छ, त्यहाँ बीमा हुन्छ । त्यसलाई अण्डरराईट गरेर जोखिम न्यूनीकरण गर्ने हो । प्रिमियम र क्लेम रेसियोलाई जस्टिफाइ हुने गरी अण्डरराइट हुनुपर्छ । बीमा कम्पनी र पुनर्बीमा कम्पनीले व्यवसाय गर्दा छोटो अवधिका लागि नभई दीर्घकालिन नाफा हेर्छ । दीर्घकालमा विभिन्न घटनाहरू पनि घट्छन् । त्यसलाई बजारबाट रिकभरी कसरी गर्ने भन्ने सोचले तथ्याङ्कका आधारमा काम गर्नुपर्ने हुन्छ । नेपालको अवधारणा जलविद्युत, पर्यटनमा ठूलो छलाङ मार्ने देखिन्छ । फेरी त्यही क्षेत्रको बीमा भएन भने हामी धेरै पछाडि पर्छाैं ।यसलाई खाँचोका रूपमा लिएका छौं । यस विषयमा इप्पानसँग कुराकानी भइरहेको छ । रिइन्स्योरेन्ससँग पनि यो सन्देस पुर्याइरहेका छौं । आगामी दिनमा यो सबै अवस्था सहज हुने अपेक्षा छ । उहाँहरूको मनोबल बढाउनुपर्छ ।

मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले बताए ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तनहुँको घिरिङमा डेढ करोड लगानीमा व्यावसायिक अगुंरखेती गरिँदै

दमौली । जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अगुंरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अगुंरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अगुंर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए । उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, ‘पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।’ अगुंरखेतीका लागि एक करोड ५० लाख रुपैयाँ लगानी भएको छ । यहाँ उत्पादित अगुंर धादिङमा पठाउने गरिएको छ । धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अगुंरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए । कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अगुंरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो । कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’  फार्ममा ३२ प्रजातिका अगुंरखेती गरिए पनि आठदेखि १० प्रजातिका अगुंरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिए । रासस