सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए । यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए । ‘प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ । सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ,’ तिमिल्सिनाले भने । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट । यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार साँझ पोखरा आएका हुन् ।
दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो, ७० करोड बढी बक्यौता
चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मंसिरयताको २२ करोड रुपैयाँ बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् । जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये १ लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ १ लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।
युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने
काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित असार आगामी ६ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजी संरचना संशोधन, अन्य नयाँ परियोजनामा लगानी गर्ने,कम्पनीको चुक्तापूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एंव निर्णय गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै उक्त अवधिको वित्तीय विवरणहरू समेत पारित गरिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चो बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी संस्थापक सेयरधनीका नाममा रहेको १६ हजार ८ सय ३० कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको समयमा आवेदन नपरे उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
एलआईसी नेपालले बोलायो २२औं साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन । सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९र८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । यस्तै विनियोजन विधेय, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, भन्सार महसुल विधेयक,२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।
केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् । बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेशा निकालेर फाइबर धागो बनाउने र कम्पोष्ट मल बनाउने सीप सिकेका छन् । सोही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेशा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ । केरा पकेट क्षेत्रको रूपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेको केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताए । उनका अनुसार तालिममा केराको थामबाट रेशा निकालेर फाइबर, धागो तयार गर्न र रेशा तयार गर्दा खेर जाने केराको थामको धुलोलाई उपयोग गरेर कम्पोष्ट मल तयार गर्ने विधि, तरिका सिकाइएको छ । केराको रेशाबाट पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड तयार गर्न सकिने भएकाले केराको थामलाई प्रशोधन गरेर व्यावसायिक रूपमा नै उद्योग सञ्चालन गर्ने योजना बनाएको स्थानीय सीमा थापाले बताए । ‘हामीले यसअघि केराका कोसा मात्रै बिक्री गथ्र्यौं, थाम त्यसै कुहिएर खेर जान्थ्यो, अब थामबाट धागो उत्पादन गरेर आयआर्जन गर्न सक्ने भएका छौँ,’ उनले भने । तालिममा राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य सन्दीप सापकोटा, गीता पौडेल, ज्योति मल्लले प्रयोगात्मक अभ्याससमेतको सहजीकरण गरेका थिए । तीन वर्षको अनुसन्धानपछि केराको थामको रेशाबाट फाइबर, धागो, सेनेटरी प्याडलगायतका सामान उत्पादन गर्न सम्भव देखिएपछि अभियानको रूपमा केराको थामको उपयोग गर्न थालिएको प्रशिक्षक सापकोटाले जानकारी दिए । केराको थामबाट बनेका सामग्री प्राकृतिकरूपमा उपयोगी हुने भएकाले यसको व्यावसायिकताले महिलाको आयआर्जनमा टेवा पुग्ने उनले बताए । बेनी नगरपालिकाले केराका थामबाट फाइबर, धागो र सेनेटरी प्याड बनाउने तालिमसँगै उद्यमीलाई त्यसमा निरन्तर लाग्न अभिप्रेरित गर्दै उपकरण पनि प्रदान गरेको छ ।