ग्रामीण विकास लघुवित्तले डाक्यो नवौं वार्षिक साधारण सभा
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा डाकेको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले असार १५ गते प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे सुरु हुने गरी साधारण सभा डाकेको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आर्थि २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोसम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ असार २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनी कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।
लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी
काठमाडौं । हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा ती प्रदेशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ । विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउ अनुरोध गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको हो । कम्पनीको यो सेयर चैत ८ गतेसम्म सेयर कायम गर्ने सेयरधनीहरूले मात्र प्राप्त गरेका हुन् । उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको पनि क्रमशः डिम्याट खातामा बोनस सेयर जम्मा गराइने कम्पनीले जनाएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूलाई भने कम्पनीले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । साथै, कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस सेयर र नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन आउन समेत आग्रह गरिएको छ ।
मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज अपराह्न भारत जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदैछन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।
कहाँ पुग्यो अरुण-३ जलविद्युत आयोजना निर्माण ?
सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) को करिब १ खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । विद्युत उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ । आयोजनाको ११ दशमलव आठ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी एक वर्षभित्रमा विद्युत उत्पादन हुने जानकारी दिए । ‘काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ,’ उनले भने । सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गाप्राप्तिमा पनि सरकारबाट सोहीअनुरूप सहयोगको अपेक्षा गरेको उल्लेख गरे । उनले भने, ‘आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।’ शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) तीन दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७ दशमलव तीन मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९ दशमलव ७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६ दशमलव ५० प्रतिशत भइसकेको छ । यस्तै मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै एक सय ५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका–३ पुकुवामा रहने विद्युत्गृहमा चारवटा टर्वाइनमध्ये दुईवटा टर्वाइनको जडान सकिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि पाँच सय ९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् तीन सय पाँचवटा टावर निर्माण भइसकेको छ । साथै, दुई सय १७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्त रूपमा गरेका थिए । विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता ९पिडिए० भएको थियो । सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युतसहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताए । त्यसअवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई यस आयोजनाले सहयोग पुर्याउने बताएका थिए । साथै, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि भएको सम्झौता कार्यान्वयन गर्न यो आयोजना महत्त्वपूर्ण भएको बताए । रासस
पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै
पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुइ एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ । एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न सुरु गरेको हो । पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेण्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए। उनका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको विस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलले बताए। कार्यालयले खेतमा धानको बीउ उमार्ने, रोप्ने, गोडमेल गर्ने, उत्पादित बीउ छनौट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले जानकारी दिए। बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ । अहिले उमार्न थालिएको मूल बीउबाट जिल्लाको सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने परियोजना प्रमुख पौडेलले जानकारी दिए । यस वर्ष उत्पादित बीउबाट आगामी वर्ष जिल्लाका साथै अन्य जिल्लामा पनि बिक्री गर्ने उद्देश्यले उत्पादन थालिएको उनले बताए । जेठोबुढो धानको विस्तारका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको कार्यालयले जनाएको छ । जुनसुकै हावापानीमा पनि सहज रुपमा उत्पादन गर्न सकिने भएकाले जिल्लाका ६१ वटै वडामा जेठोबुढो धानखेती गर्न सकिने कार्यालयले जनाएको छ । खानका लागि चामल मात्र नभई बीउ नै उत्पादन गर्न सकेमा कृषकको आम्दानीसमेत बढ्ने बिहादी–२ बर्राचौरका कृषक रामप्रसाद पराजुलीले बताए। यस वर्षदेखि प्राविधिकको निगरानीमा वैज्ञानिक र आधुनिक पद्धतिबाट उत्पादन गरिने उक्त बीउले वैधानिकता पाउनेमा कृषक विश्वस्त छन् । कृषक गोविन्द पराजुलीले उत्पादित बीउ सहज रुपमा बिक्री वितरणको व्यवस्था परियोजनाले मिलाइदिनुपर्ने बताए । उनले कृषकलाई प्रोत्साहन गर्न उत्पादित धानका साथै बीउको बिक्रीमा बजारीकरणमा सहजीकरण गरिदिन उनले आग्रह गरे । परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि बाँझै रहेको जग्गामा कतिपय कृषकले खनजोत गरेर धानखेती गर्न थालेको पराजुलीले बताए । पर्वतमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाभर २६ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्वतमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठोबूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिन्छ । केही पुराना जातका धान भने लोप भइसकेको केन्द्रले जनाएको छ ।
गर्मी छल्न बागमती किनारमा (तस्बिरहरू)
विगतका वर्षभन्दा यस वर्ष देशभरि अत्यधिक गर्मी छ । काठमाडौं उपत्यकाको तापक्रम पनि दिनहुँ बढ्दै गइरहेको छ । अत्यधिक गर्मीबाट जोगिन मानिसहरू शीतल बस्ने ठाउँको खोजी गरिरहेका हुन्छन् । केही समयअघि काठमाडौं र ललितपुरको सिमाना बनेर बगेको बागमती नदी किनारमा मुखै थुनेर हिँड्नुपर्ने बाध्यता थियो । फोहोरका थुप्रा, पानी जमेका सडकका खाल्डा र हिँड्दा पनि असुरक्षित महसुस हुने कोरिडोरको अहिले भने मुहारै फेरिएको छ । पछिल्लो समय बागमती कोरिडोरको सौन्दर्यीकरण गरिएपछि मानिसका बिहान बेलुकी जगिङ र शीतलमा बस्नका लागि उपयुक्त थलो बनेको छ । अहिलेको अत्यधिक गर्मीकाे समयमा त गर्मी छल्ने थलो नै बनेको छ । सोही बागमती कोरिडोरमा केटाकेटी खेल्ने, साथीभाई भेटघाट गर्ने, पारिवारीक समय बिताउने गर्न थालिएकाे छ ।
नेपाली कफी प्रवर्द्धन गर्न ‘कप टेस्टर च्याम्पियनसिप,’ १६ ब्राण्डका कफीको स्वाद लिन पाइने
काठमाडौं । कफी पारखीलाई लक्षित गरेर नेपालमा पहिलोपटक ‘कप टेष्टर च्याम्पियनसिप २०२४’ आयोजना गरिएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको एकदिने कप टेष्टर च्याम्पियनसिपमा कफी पारखीलाई नेपाली कफी चखाउने उद्देश्य राखिएको छ । नेपाली कफीलाई प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा समेत ब्राण्डिङ गर्ने उद्देश्य राखेर द वारिष्ता कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटी कफी र लेकाली कफीले सयुक्तरूपमा एकदिने आयोजना गरेको हो । कार्यक्रम आयोजकमधयेका विनायक मल्लले नेपाली कफीले अन्तर्राष्ट्रिय क्षेत्रमा उचित बजार र मूल्य नपाइरहेका समयमा यसलाई ब्राण्डिङ गर्ने मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘कफी क्षेत्रमा युवा सहभागिता बढाएर भविष्य सुनिश्चितता गराउन सकिन्छ ।’ नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो त्यो नपाइरहेको र ब्राण्डिङ पनि राम्रो नभइरहेको अवस्थामा यस्ता प्रतिस्पर्धाले थप हौसला प्रदान गर्ने मल्लको भनाइ छ । प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन् । कफी उत्पादक, कफी सपका सञ्चालक, वारिस्ताहरूदेखि कफी पारखीले सहभागीता जनाएको निमातेन्जीङ शेर्पाले बताए । पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेका बेला यस्ता खालका च्याम्पियनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ । २ वर्षअघि पहिलोपटक यस्तै प्रतिस्पर्धाको आयोजना गरे पनि बिचमा रोकिएको थियो। अब भने हरेक वर्ष यस्ता खाले प्रतिस्पर्धा आयोजना गर्दै जाने शेर्पाले बताए । प्रतिस्पर्धामा जो कोही सहभागी हुन सक्नेछन् । आयोजकले केही समयअघि सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धामा सहभागी हुनका लागि सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए । आवेदन दिएकालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराइन्छ । एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ । तीमध्ये २ वटा एउटै स्वादको र अर्को केही फरक हुन्छ। प्रतिस्पर्धीले ३ मध्ये १ कफ चाखेर फरक छुट्याउनुपर्छ । निर्णायकले त्यो सही हो या हैन भन्ने छुट्याउँछन् । सोही आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ । सुरुवाती चरणमा केही सहज हुँदै गए पनि पछि केहि गाह्रो हुने आयोजकको भनाइ छ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रियस्तरमा हुने कफी टेष्ट प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । कफी क्षेत्रमा लामो समय काम गरेका निमा तेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्लको टिमले सहकार्य गरेर इभेन्ट आयोजना गरेका हुन् । यस प्रतिस्पर्धामा अन्तर्राष्ट्रियस्तरमा हुने प्रतिस्पर्धाको मापदण्ड कायम गरिएको जनाइएको छ । च्याम्पियनसिपमा प्रतिस्पर्धा मात्र हैन त्यहाँ पुग्नेहरूले इच्छा अनुसार छानीछानी विभिन्न ब्राण्डका कफीको स्वाद लिन पाउनेछन् । कार्यक्रम स्थलमा विभिन्न नेपाली ब्राण्डका १६ वटा कफीले स्टल राखेका छन् । त्यहाँ कफीको स्वादसहित कफी र त्यसमा लाग्ने मेसिन खरिदको पनि जानकारी दिन पाइनेछ ।