विकासन्युज

नुवाकोटको ङारदिमको संरक्षण गर्न ९० लाख बजेट विनियोजन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान वंशको थातथलोको अवलोकन गरेका छन् । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोष गरे । मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलय बनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्वन केन्द्र’ शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका हुन् । यसैगरी बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसको ठाउँको संस्कृति जोगाउनुपर्ने बताए । उनले भने, ‘ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि जोगाउनुपर्छ। ’ थातथलो अवलोकनको क्रममा बागमती प्रदेश पूर्व सांसद ओमबहादुर ग्लानले यस थातथलोलाई चिनाउनका लागि मन्त्रीले बजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै थातथलोलाई सबैले विर्सन नहुने बताए । त्यस्तै बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा (चुल्हो) डाँडा पर्यटकको आकर्षण थलो बनेको छ । यस्तै गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले भाषा, संस्कृति र थातथलो पहिचान गर्दै गर्दा त्यस स्थानबाट छुटेर गएका अन्य ग्लानहरुलाई थप सहजीकरण समेत हुने बताए । त्यस्तै पालिकाकी उपाध्यक्ष माकुरी तामाङले नेपालभरि छरिरहेका ग्लान समुदायले उद्गमथलोलाई खोजी गर्ने अभियानमा लागेकोमा खुशी व्यक्त गरिन् । गाउँपालिकाका पूर्व अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार ग्लानको थातथलोको पहिचान र पालिकाकै पर्यटनको आकर्षण र पछिल्लो पुस्तालाई थातथलो बुझाउन डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको बताए । ‘आउँदो वर्षमा यसै थलोमा ग्लानको सामुहिक राष्ट्रिय भेला गर्नेछु ।’ उनले वचनबद्वता गरे । छरिएर रहेका ग्लानहरुलाई उद्गमथलोसम्म ल्याइपुर्‍याने वातावरण सिर्जना गर्नुपर्ने बताए । यसैगरी आनन्दी ग्लानले स्नातोकत्तर अध्ययनमा लपताबकै विषयमा अध्ययन गरेको बताइन् । उनले ग्लानको थातथलो नाम्सापुरान आउने अवसर मिलेकोमा खुशी बताइन् । पूर्व गाउँपालिका अध्यक्ष तामाङको पालामा बनेको कुदाप र डम्फु पार्कले ग्लान वंशको पहिचान र आन्तरिक तथा बाह्य पर्यटनको लागि आकर्षक बन्दै गएको छ । ग्लान समाज नेपालले आयोजना गरिएको थातथलो अवलकोन कार्यक्रममा मन्त्री लागयत ग्लानहरु पुगेका हुन् । तामाङ जातिको ग्लान थरको थातथलो (बाब्सा) मा उनीहरूले कुल पूजा गर्दा कुदापमा पकवान गरेर प्रसाद खाने चलन रहेको स्थानीय ८१ वर्षिय टोकबहादुर ग्लानले जानकारी दिए ।

आँबुखैरेनी-मुग्लिन सडक आज ४ घण्टा बन्द हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए । पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।

प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ । गोप्य शिलबन्दी आवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार सभा काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि सुरु हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

ग्रामीण विकास लघुवित्तले डाक्यो नवौं वार्षिक साधारण सभा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा डाकेको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले असार १५ गते प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे सुरु हुने गरी साधारण सभा डाकेको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आर्थि २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोसम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ असार २ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनी कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको चेतावनी

काठमाडौं । हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा ती प्रदेशका बाँकी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा ती प्रदेशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ । विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले सतर्कता अपनाउ अनुरोध गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको हो । कम्पनीको यो सेयर चैत ८ गतेसम्म सेयर कायम गर्ने सेयरधनीहरूले मात्र प्राप्त गरेका हुन् । उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको पनि क्रमशः डिम्याट खातामा बोनस सेयर जम्मा गराइने कम्पनीले जनाएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूलाई भने कम्पनीले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । साथै, कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस सेयर र नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन आउन समेत आग्रह गरिएको छ ।

मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज अपराह्न भारत जाँदै 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदैछन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।  प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए  ।