देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका लागि सार्वजनिक सूचनामार्फत सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । उनले भने, ‘उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यसैले जीउज्यानको सुरक्षालाई ध्यान दिएर ‘ट्रेकिङ’का लागि पदयात्रा क्षेत्रका कुनै पनि स्थानमा ननिस्कन भनेर आग्रह गरेका हौँ ।’ दसैँको बिदाका कारणले विगतका वर्षहरूमा यहाँका पदयात्रा क्षेत्रमा पदयात्रीहरूको भीड लाग्ने गरेको थियो । यस वर्ष प्रशासनले भारी वर्षा तथा हिमपातको पूर्वानुमानसहित पदयात्रामा नजान अनुरोध गरेपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ । दसैँ र तिहारको बिदामा पदमार्गहरूका होटल तथा रेष्टुराँ पर्यटकहरूले भरिभराउ हुने गरेका थिए । यसैगरी प्रशासनले वर्षाका कारण बाढीपहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ, सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौंका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ । सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र वनस्थली लगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो । यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको सहप्रवक्ता थापाले जानकारी दिए । विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । विपद् पूर्वतयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्वतयारी एवं परिचालनसम्बन्धी जानकारी लिए । सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको सहप्रवक्ता थापाले जानकारी दिए ।
ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा उडान रोकियो
काठमाडौं । जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौं ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन् । एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए । विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार म्युनिखबाट प्रस्थान गर्न तय गरिएका १७ उडानहरू बिहीबार राति स्थगित गरिएका थिए । यस कारण करिब तीन हजारभन्दा बढी यात्रुहरू प्रभावित भएका छन् । त्यस्तै, अवतरणका क्रममा रहेका १५ वटा विमानहरूलाई आपत्कालीन रूपमा स्टटगार्ट, न्युरेमबर्ग, भियना र फ्रान्कफर्ट सहितका अन्य शहरहरूमा मोडिनु परेको थियो । प्रभावित यात्रुहरूको असुविधा कम गर्नका लागि अस्थायी व्यवस्था स्वरूप विमानस्थलले क्याम्प बेड, कम्बल, पेय पदार्थ र खाजाको सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि, उडानहरू कहिले पुनः सञ्चालनमा आउने भन्ने विषयमा भने कुनै निश्चित जानकारी दिइएको छैन । बिहीबार साँझ करिब १९३० जिएमटीमा र त्यसको एक घण्टापछि पुनः म्युनिख विमानस्थल वरिपरि धेरै व्यक्तिहरूले ड्रोन देखेको बताएका थिए । यस घटनापछि दुवै धावन मार्ग सुरक्षाका कारण करिब एक घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरी प्रवक्ताले बताए । जर्मन अधिकारीहरूले तत्कालै ड्रोनको उत्पत्ति पत्ता लगाउन खोजी कार्य प्रारम्भ गरेका छन् । यस क्रममा प्रहरी हेलिकप्टरहरू समेत तैनाथ गरिएको भए तापनि ड्रोनको किसिम र सङ्ख्याबारे हालसम्म कुनै आधिकारिक विवरण प्राप्त हुन सकेको छैन । यो घटना जर्मनीको प्रसिद्ध ओक्टोबर्फेस्ट महोत्सवको अन्तिम सप्ताहन्त अघि भएको हो । विश्वभरबाट सयौँ हजार मानिसलाई दैनिक रूपमा आकर्षित गर्ने यस पर्वको पूर्वसन्ध्यामा यस्तो घटना हुनुले सुरक्षाप्रति थप चिन्ता बढाएको छ । युरोपका अन्य मुलुकहरूमा समेत हालै यस्ता घटनाहरू दोहोरिएका छन् । विशेषगरी कोपेनहेगन, ओस्लो र वार्साका विमानस्थलहरूमा पनि ड्रोन देखिएपछि अस्थायी रूपमा सञ्चालन रोकिएको थियो । यसै कारण अहिले जर्मनी पनि उच्च सतर्क अवस्थामा रहेको छ । पोल्यान्ड र डेनमार्कले यस्ता अवरोधहरूका लागि प्रत्यक्ष रूपमा रूसलाई दोषारोपण गरेका छन् । यसैबीच, युरोपेली सङ्घ (इयु) का २७ सदस्य राष्ट्रका प्रतिनिधिहरू बिहीबार कोपेनहेगनमा भेला भई सम्भावित हवाई खतराबाट बच्न ‘ड्रोन पर्खाल’ निर्माण गरेर सुरक्षा सुदृढ गर्ने विषयमा छलफल गरेका थिए । गत साताभरि जर्मनीका विभिन्न भागमा सैन्य तथा औद्योगिक स्थलगत क्षेत्रमा समेत ड्रोनको झुण्ड देखिएको रिपोर्ट सार्वजनिक भएपछि अधिकारीहरूले बढ्दो ड्रोन खतराबारे स्पष्ट चेतावनी दिएका छन् । यसै सन्दर्भमा जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले भने, ‘हामी हाइब्रिड स्वरूपको नयाँ खतरासँग जुधिरहेका छौँ । यसलाई सामना गर्न अब नयाँ प्रकारका उपाय र प्रतिक्रियाहरू खोज्न अपरिहार्य छ । आवश्यक परे हाम्रो हवाई क्षेत्रमा प्रवेश गर्ने सम्भावित ड्रोनहरूलाई खसाल्ने कार्यान्वयन पनि गर्नुपर्ने हुनसक्छ ।’
युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिए अमेरिकालाई गम्भीर क्षति पुर्याउने पुटिनको कडा चेतावनी
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन् । उनले यस्तो कदमले मस्को-वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे । कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पुर्‍याइएमा त्यसले रूस-अमेरिका सम्बन्धलाई गुणात्मक रूपमा नयाँ चरणमा धकेल्ने बताए । तर, उनले रूसी सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीलाई छिट्टै नयाँ खतरासँग अनुकूलन गर्ने दाबी गरे । ‘यस्ता मिसाइलहरूले केही क्षति पुर्याउन सक्छन्, तर युद्धको मैदानमा बलको सन्तुलनलाई भने परिवर्तन गर्ने छैन,’ पुटिनले भने । उनले रूसी सेना अहिले पनि सुस्त तर निरन्तर प्रगतिमा रहेको उल्लेख गर्दै युद्धमा आफ्नो पक्ष बलियो भइरहेको दाबी गरे । हामी नाटो ब्लकसँग लडिरहेका छौँ साढे ३ वर्षभन्दा लामो युद्धपछि पनि सानो छिमेकी युक्रेनलाई पराजित गर्न नसकेको भन्दै रूसलाई कतिपय पश्चिमी विश्लेषकहरूले ‘कागजी बाघ’ भनेर व्यङ्ग्य गरेको प्रसङ्गमा पुटिनले प्रतिवाद गर्दै भने, ‘हामी केवल युक्रेनसँग मात्र होइन, सम्पूर्ण नाटो गठबन्धनसँग लडिरहेका छौँ । आत्मविश्वासका साथ हामी अघि बढिरहेका छौँ । यदि कोही भन्छन् रूस ‘कागजी बाघ’ हो भने, त्यसो भए गएर आफैंले त्यस ‘कागजी बाघ’ सँग व्यवहार गरेर देखाउनुस् ।’ यसैबिच, नाम नखुलाउने सर्तमा बोल्ने एक ह्वाइट हाउस अधिकारीले पुटिनले आफ्नै हितका लागि अनुकूल शान्ति सम्झौता प्रस्तावलाई बारम्बार अस्वीकार गरेका कारण रूस आर्थिक र कूटनीतिक रूपमा क्षतिग्रस्त भएको टिप्पणी गरे । ट्रम्पसँगको शिखर बैठकको प्रशंसा राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत अगस्टमा अलास्कामा सम्पन्न शिखर सम्मेलनलाई फलदायी भन्दै विशेष प्रशंसा गरे । उनले ट्रम्पसँग संवाद गर्न सहज महसुस भएको भन्दै युक्रेनी सङ्कट समाधानका सम्भावित उपायबारे चर्चा गर्न पाउनु सकारात्मक भएको टिप्पणी गरे । त्यस्तै उनले सन् २०१० को न्यु-स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुने भएपछि त्यसलाई अझ एक वर्षका लागि विस्तार गर्ने आफ्नो प्रस्तावलाई पुनः दोहोर्याए । उक्त सन्धिले अमेरिका र रूस दुवैलाई १ हजार ५५० भन्दा बढी तैनाथ आणविक हतियार तथा ७०० तैनाथ मिसाइल र बम वर्षकमा सीमित गरेको छ । ‘यदि अमेरिकालाई यो आवश्यक छैन भने हामीलाई पनि आवश्यक छैन,’ पुटिनले भने, ‘तर हामी हाम्रो आणविक क्षमताप्रति पूर्ण रूपमा आत्मविश्वासी छौँ ।’ तेल ट्याङ्कर, ‘समुद्री डकैती’ र फ्रान्समाथि कटाक्ष युक्रेनलाई सहयोग गर्ने पश्चिमी मुलुकहरूले रूसी तेल बोक्ने ट्याङ्करहरू नियन्त्रण गर्ने प्रयासलाई राष्ट्रपति पुटिनले ‘समुद्री डकैती’ को संज्ञा दिए । यस्तो कदमले विश्व तेल बजारलाई अस्थिर पार्ने मात्र नभई बलियो प्रतिक्रिया प्राप्त गर्ने चेतावनी पनि दिए । फ्रान्सको एटलान्टिक तटमा एक तेल ट्याङ्कर रोकिएको घटनाबारे प्रश्न सोधिँदा उहाँले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई लक्षित गर्दै भने, ‘म्याक्रोनले आफ्ना आन्तरिक समस्याबाट ध्यान मोड्न यस्ता नाटक गर्नुभएको हो ।’ उनले व्यङ्ग्य गर्दै म्याक्रोनलाई ‘नेपोलियन’ सँग तुलना गरे । डेनमार्क ड्रोन घटना र नेटो आरोपको उपहास हालै डेनमार्कको आकाशमा देखिएको अज्ञात ड्रोन तथा युरोपका अन्य मुलुकहरूले लगाएको आरोपलाई पुटिनले ‘नाटोले रक्षा खर्च बढाउन र तनाव चर्काउन गरेको प्रयास’ भन्दै खारेज गरे । गत महिना मात्र पोल्यान्डमा रूसी ड्रोनको झुण्ड देखिएको, एस्टोनियामा रूसी लडाकू विमानले सीमा उल्लङ्घन गरेको र डेनमार्क–जर्मनीसहितका देशमा अज्ञात ड्रोनहरू देखिएको खबर बाहिरिएका थिए । पश्चिमी अधिकारीहरूले यसलाई रूसले नाटोको प्रतिक्रिया परीक्षण गर्ने रणनीति भएको दाबी गरेका थिए । तर, पुटिनले यस्तो दाबीलाई ‘मूर्खतापूर्ण’ भन्दै अस्वीकार गर्दै भने, ‘हामी युरोपको सैन्यीकरणलाई ध्यानपूर्वक हेरिरहेका छौँ । यदि आवश्यक भयो भने रूसको प्रतिक्रियात्मक कदम आउन ढिलो लाग्ने छैन ।’ चार्ली किर्कको हत्या र पुटिनको प्रतिक्रिया अमेरिकी राजनीतिक कार्यकर्ता चार्ली किर्कको हत्याबारे प्रश्न उठ्दा पुटिनले यसलाई ‘जघन्य अपराध’ भन्दै अमेरिकाको समाजभित्र रहेको गहिरो विभाजनको प्रतिबिम्ब बताए । उनले किर्कलाई परम्परागत मूल्यहरूको पक्षमा लड्ने नायकका रूपमा चित्रण गर्दै प्रशंसा गरे । उनले सन् २०२४ मा युक्रेनमा युद्धरत अवस्थामा मारिएका सिआइएका पूर्व उपप्रमुखका छोरा माइकल ग्लोसको पनि स्मरण गरे । उनले ग्लोसलाई पदक प्रदान गरिएको जानकारी दिँदै उक्त पदक राष्ट्रपति ट्रम्पका दूत स्टिभ विटकफमार्फत परिवारलाई हस्तान्तरण गरिएको बताए । ‘ग्लोसले रूसका सैनिकका रूपमा परम्परागत मूल्यहरूको रक्षा गर्दै जीवन अर्पण गरे र किर्कले अमेरिकाभित्रै उस्तै मूल्यहरूको लागि लड्दै ज्यान गुमाए । उनीहरू समान उद्देश्यका नायक हुन्,’ पुटिनले भने । यस विषयमा सिआइएले विज्ञप्ति जारी गर्दै माइकलको निधनलाई निजी पारिवारिक विषयका रूपमा सम्मान गरिएको र यसलाई राष्ट्रिय सुरक्षा मुद्दा नबनाउने जनाएको छ । पुटिनको व्यङ्ग्यात्मक ठट्टा ४ घण्टा लामो प्रत्यक्ष कार्यक्रमका क्रममा पुटिनले अतीतमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस तथा उनका प्रशासनिक अधिकारीहरूसँगको भेट स्मरण गर्दै आफैंलाई हाँसोको शैलीमा ‘सिआइए निर्देशक’ भनेर सम्बोधन गरे ।
मोरक्कोमा जेनेरेशन जेडको नेतृत्वमा आन्दोलन, ३ जनाको मृत्यु
काठमाडौं । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न शहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकार विरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा ३ जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी रह्यो । प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन् । धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन् । राजधानी रबातदेखि व्यापारिक सहर कासाब्लान्कासम्म ठूलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका छन् । आन्दोलनको माग र नाराहरू प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि केही ठाउँमा हिंसात्मक घटनामा परिणत भएका छन् । बुधबार मात्रै, बैंकहरू लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट गरिएका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको थियो । मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष प्रायः सरकारतर्फ नै केन्द्रित हुँदै आएको छ । बिहीबारको प्रदर्शनमा सहभागी सयौं युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकारलाई हटाऊ’ भन्ने नारा लगाउँदै राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको प्रतिक्रिया प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै मृतकहरूको निधनमा शोक व्यक्त गरे। उनले सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको सङ्केत गरे । ‘संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशले सामना गर्ने समस्याहरूलाई समाधान गर्ने एक मात्र सही बाटो हो,’ अखान्नोचले भने । हिंसा र क्षतिको विवरण गृह मन्त्रालयका अनुसार तटीय सहर अगादिर नजिकैको लेक्लिया भन्ने सानो सहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप हुँदा ३ युवाको मृत्यु भयो । मन्त्रालयले उनीहरू प्रहरी हतियार खोस्ने प्रयासमा मारिएको दाबी गरेको छ, तर प्रत्यक्षदर्शीहरूले यसलाई पुष्टि गर्न सकेका छैनन् । उक्त भिडन्तमा ३५४ जना घाइते भएको बताइएको छ, जसमा अधिकांश सुरक्षाकर्मी रहेको मन्त्रालयको दाबी छ । तेइस वटा प्रान्तमा सयौं कार, बैंक, पसल र सार्वजनिक भवन क्षतिग्रस्त भएका छन् । मन्त्रालयले देशभर करिब ७० प्रतिशत प्रदर्शनकारीहरू नाबालिग रहेको अनुमान गरेको छ । ‘जेन जेड २१२’ आन्दोलन कथित जेनेरेशन जेड २१२ नामक नेतृत्वविहीन आन्दोलनले यी प्रदर्शनहरू आयोजना गरेको हो । इन्टरनेट र सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्ने युवाहरूको यो समूह हालसम्म मोरक्कोमा देखिएको सबैभन्दा ठूलो युवा आन्दोलन बनेको छ । प्रदर्शनकारीहरूले दैनिक जनताका लागि आवश्यक स्वास्थ्य र शिक्षा सेवामा भएको कमीलाई भ्रष्टाचारसँग जोड्दै आलोचना गरेका छन् । उनीहरूले सन् २०३० को विश्वकप आयोजनाका लागि अर्बौं डलर खर्च भइरहे पनि विद्यालय र अस्पतालहरू अभावग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन् । ‘स्वास्थ्य सेवा पहिले, हामीलाई विश्वकप चाहिँदैन’ भन्ने नारा सडकमा सबैभन्दा लोकप्रिय बनेको छ । अर्को चर्चित नारा थियो- ‘स्टेडियमहरू तयार छन्, तर अस्पतालहरू कहाँ छन ?’ हालै अगादिरको एक सार्वजनिक अस्पतालमा ८ महिलाको मृत्यु भएको घटनाले स्वास्थ्य प्रणालीप्रति असन्तोष झन् बढाएको छ । व्यापक असमानताप्रति आक्रोश मोरक्को द्रुत विकासतर्फ अघि बढिरहेको भए पनि समाजमा गहिरो असमानता रहेको तथ्य प्रदर्शनहरूले उजागर गरेका छन् । ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सुविधाको अवस्था निकै कमजोर छ, रोजगारीको अवसर न्यून छ र यही कारण युवाहरू आक्रोशित भएका छन् । जेनेरेशन जेड २१२ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य, शिक्षा र सम्मान जनक जीवनको अधिकार केवल नारा होइन, यो गम्भीर माग हो ।’ गिरफ्तारी र झडप देशभर एक हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । मानव अधिकार संस्थाहरूका अनुसार, पक्राउ परेकामध्ये धेरैजना नाबालिग छन् । केहीलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीहरूले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्ताका क्रममा समेत नियन्त्रणमा लिएको देखिएको छ । प्रदर्शनका आयोजकहरूले बारम्बार आन्दोलनलाई शान्तिपूर्ण राख्न आग्रह गरे पनि कतिपय सहरमा स्थिति नियन्त्रण बाहिर गएको छ । डिस्कोर्डमार्फत जारी एक सन्देशमा आयोजकहरूले ‘दमनकारी सुरक्षा दृष्टिकोण’ को निन्दा गर्दै प्रदर्शनकारीलाई संयमित रहन अपिल गरेका थिए । तर विभिन्न शहरका प्रत्यक्षदर्शीहरूले दिएको विवरणअनुसार, धेरै स्थानमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरे, गाडीमा आगो लगाए र सरकारी भवनहरूमा तोडफोड गरे । अन्तर्राष्ट्रिय तुलना विशेषज्ञहरूले मोरक्कोको यो आन्दोलनलाई नेपाल, केन्या र मेडागास्कर जस्ता मुलुकहरूमा हालै देखिएका युवा निर्देशित आन्दोलनसँग तुलना गरेका छन् । यी सबै आन्दोलनहरूको केन्द्रमा भ्रष्टाचारविरुद्धको असन्तोष, असमानता र आधारभूत सेवाप्रतिको माग रहेको देखिन्छ ।
बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४० भन्दा बढी घाइते
काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए । दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।
मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय, बाहिरिन केही ढिला हुने
काठमाडौं । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए । मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट उत्पन्न न्युन चापीय प्रणालीका कारण आज अपरान्हदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बदली देखिएको उनले जानकारी दिए । वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने बताए । ‘त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ,’ उनले भने । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो । असार ६ देखि भने देशभर फैलिएको थियो ।