विकासन्युज

हेटौंडा-काठमाडौं जोड्ने २ सडकमा राति सवारी साधन चलाउन रोक

काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा आजदेखि ३ दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौँडा-भैँसे-काठमाडौं सडकमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए । जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ । त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् । विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।

म्याग्दीको धारापानी-झिनडाडा सडक कालोपत्र गरिदैं, ५८ प्रतिशत भौतिक प्रगति

काठमाडौं । एक दशकअघि मार्ग खुलेको म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाडा खण्डको सडक स्तरोन्नतिले गति लिएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडक अन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । आर्थिक वर्ष २०७०/७१ मा मार्ग खुले पनि अहिले आएर स्तरोन्नति सुरु गरिएको धवलागिरी गाउँपालिका-७ का अध्यक्ष अशोक खत्रीले बताए । हाल धारापानी र ताकम गाउँमा पर्ने सडक पक्की बनाउने गरी काम भइरहेको उनको भनाइ छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । ४ किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले २ वर्षको ठेक्का अवधि भएको योजनाको हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । बर्खा याममा पनि सडक निर्माण भएको थियो । यो सडक हाल ४ देखि ५ मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने बनाइएको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा १ अर्ब रुपैयाँ बजेटको आयोजनाको गत असारमा ठेक्का सम्झौता भएको जानकारी दिए । ​​​​​​ धवलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

आज देशभर साधारणतया बदली हुने, यी ५ प्रदेशमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू-भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आन्तरिक हवाई उडानको उच्चतम भाडा दर सार्वजनिक, कुन ठाउँ जान कति लाग्छ ?

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर ताेककाे छ । दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर ताेकेकाे हाे । नेपालीहरूको महान चाड पर्व (दशैं, तिहार तथा छठ) को समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगो भाडा दरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न प्राधिकरणले उच्चतम भाडा सार्वजनिक गरेको हो । स्वीकृत उच्चतम भाडा दर भन्दा कम भाडा दरमै टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर उच्चतम भाडा दर ९ हजार ७८५ रुपैयाँ, काठमाडौं-भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौं-भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौं-जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौं-पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ तोकिएको छ ।  यस्तै, काठमाडौं-धनगढी १७ हजार ५७९ रुपैयाँ, काठमाडौं-सिमरा ३ हजार ९७८ रुपैयाँ, काठमाडौं-भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौं-राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौं-सुर्खेत ९ हजार ३० रुपैयाँ, काठमाडौं-तुम्लिङ्गटार ७ हजार ६३० रुपैयाँ उच्चतम भाडा दर तोकिएको छ । उच्चतम हवाई भाडा दर भन्दा कुनै पनि वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता तथा ट्राभल एजेन्सीले यात्रुसँग बढि रकम लिई टिकट बिक्री वितरण गरेको पाइएमा कारवाही गरिने प्राधिकरणले जनाएको छ । 

विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने इतिहास रच्दै एलन मस्क

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोर्ब्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो २ अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका हुन् ।  टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै ५ खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार-चढावका कारण बुधबार बिहान ५ खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर ४ खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोर्ब्सको रियल-टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ । विश्वका अन्य धनी व्यक्तिहरू मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन ३ खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग २ खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् ।  मस्कको यात्रा: विद्यार्थीदेखि उद्यमीसम्म पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे । त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने  कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए ।  २ अङ्कको खर्बपति बन्ने सम्भावना विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ ।

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन् ।  यही असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आज आयोजित मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिएका हुन् ।  उनले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने पनि बताए । सम्भावित विपद्लाई मध्यनजर गरी गृहमन्त्री अर्यालको समुपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागितामा आज बैठक सम्पन्न भएको हो । चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूको उपस्थितिमा भर्चुअल बैठक आयोजना गरिएको हो ।

५ प्रदेशमा ४ दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ प्रदेशमा ४ दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए ।  जल तथा मौसम विज्ञान विभागले ४ दिनसम्म ५ प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उनले बताए । मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको हो । बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बग्ने  स-साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । यसैले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको उनले बताए ।  प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउने बारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिन र अरूलाई पनि जानकारी दिन, आवश्यक पर्ना साथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरिएको छ । तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट, भनिन्- सहिदको रगतले न्याय पाउनुपर्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेका हुन् ।  प्रधानमन्त्रीले नागार्जुन-३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरे । प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न गएका थिए । मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजी आन्दोलनका मृतक तथा सहिद परिवारसँग भेटघाट र कुराकानी गरियो, सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो ।’