विकासन्युज

जेजीआई डिस्ट्रिब्युसनको ६ महिनामा ५ अर्बको मदिरा व्यापार, साढे ४ अर्ब ऋणको रेटिङ

काठमाडौं । मदिरा तथा पेयपदार्थ वितरक कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको जेजीआई डिस्ट्रिब्युसन प्रालिले ६ महिनामा ५ अर्ब रुपैयाँ बढीको मदिरा कारोबार गरेको छ । सन् २०२४ को ६ महिनामा कम्पनीले ५ अर्ब ११ करोड ८० लाख रुपैयाँको मदिरा कारोबार गरेको हो । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६२ करोड ५० लाख रुपैयाँको मदिरा कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको मदिरा कारोबार गरेको थियो । जेजीआई जावलाखेल ग्रुपको मदिरा तथा पेयपदार्थ वितरक कम्पनी हो । देशभरि ४० युपी मदिरामा जावलाखेलको उपस्थिति बलियो छ । यस्तै, मदिरा बजारमा ४० युपीको गोल्डेन ओकको हिस्सा ठूलो छ । गत वर्ष कम्पनीको कुल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्रान्डीको ५९ प्रतिशत हिस्सा रहेको बताइएको छ ।यस्तै, भोड्का जिन र अइलाको २२ र बडबाइजर बियरको हिस्सा १९ प्रतिशत मात्र रहेको छ । सन् २०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजीआई स्थापना गरेको थियो । जावलाखेल ग्रुपका ५ डिस्टिलरीले उत्पादन गरेको मदिरा र बियर जेजीआईले देशभरि बिक्री गर्दै आएको छ । जेजीआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बडवाइजर बियर बिक्री वितरण गर्दै आएको छ । सन् १९७३ मा विजयबहादुर शाहले जावलाखेल डिस्टिलरी स्थापना गरेका थिए । कम्पनीले पहिलोपटक रुस्लान भोड्का उत्पादन सुरु गरेकाे थियो । हाल ग्रुपभित्र मदिरा र बियर उत्पादनका साथै मदिराको रिसर्च जेजीआई प्रालिले गरिरहेकाे छ । सरकारलाई बढी कर बुझाउनेमा जावलाखेल ग्रुप अगाडि आउँछ । आर्थिक वर्ष २०७८/०७९ को आय विवरणअनुसार व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्नेमा जावलाखेल ग्रुपका अध्यक्ष शाह सम्मानित भएका थिए । कम्पनीले ४ अर्ब ३२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले २ करोड ९० लाख सर्टटर्म र ४ अर्ब ३० करोड रुपैयाँको दीर्घकालीन ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालबाट ए फोर प्लसको रेटिङ पाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा दोषी ठहर, २५ वर्षसम्म जेल सजाय हुनसक्ने

अमेरिका । अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा सङ्घीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ । यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो । राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागु औषधको नशामा सन् २०१८ मा हाते बन्दूक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो । हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समय यो निर्णय आएको हो । बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले भने, ‘म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । ‘जिल र म हाम्रो छोरालाई माया गर्छौं, र हामी आजको उनीमाथि निकै गर्व गर्छौं ।’ उनले भने, ‘आफ्ना प्रियजनहरू कुलतमा फसेपछि सङ्घर्ष गरिरहेका धेरै परिवारले यसबाट बाहिर निस्केका व्यक्तिहरूको भावनालाई बुझ्छन् यसप्रति गर्भ गर्छन् ।’ यस मुद्दाको नतिजा स्वीकारर्ने बताउदै हन्टरले अपिलपछिको न्यायिक प्रक्रियालाई सम्मान गर्ने बाइडेनले बताए । बाह्र सदस्यीय न्याधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेको थियो । हन्टर बाइडेनले २५ वर्षसम्म जेल सजाय भोग्ने सम्भावना भए पनि पहिलो पटकको अपराधीका रूपमा उनलाई जेल सजाय हुने सम्भावना छैन । नोभेम्बरको राष्ट्रपति चुनावमा जो बाइडेनका सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको व्यापार अपचलनको आरोपमा दोषी ठहर भएको दुई हप्ताभन्दा कम समयमा यस्तो फैसला आएको हो । हन्टरको सजायले क्यालिफोर्नियामा कर चोरीको आरोपको अर्को मुद्दाको कार्यवाहीमा अपराधमा दोषी ठहरिएका पूर्वराष्ट्रपति ट्रम्पमाथि चुनावी ध्यान केन्द्रित गर्ने डेमोक्र्याटहरूको प्रयासलाई जटिल बनाएको छ । हन्टरका भाइ ब्युको सन् २०१५ मा क्यान्सरबाट मृत्यु भएको थियो । उनकी बहिनी नाओमीको सन् १९७२ को कार दुर्घटनामा मृत्यु भएको थियो भने यसै घटनामा जो बाइडेनकी पहिलो पत्नी निलियाको पनि मृत्यु भएको थियो । येलमा प्रशिक्षित वकिल र लोबिस्टबाट कलाकार बनेका उनीमाथि सन् २०१८ मा ३८ क्यालिबर रिभल्भर खरिद गर्दा अवैध रूपमा लागुऔषध प्रयोग नगरेको भन्दै झुटो बयान दिएको आरोप लगाइएको थियो । उनीमाथि अवैध रूपमा बन्दुक राखेको आरोप पनि लगाइएको थियो, जुन उनीसँग त्यस वर्षको अक्टोबरमा मात्र ११ दिनका लागि थियो । राष्ट्रपतिको छोराले लतको बारेमा निस्वार्थ रूपमा लेखी रिभल्भर किनेको समयमा आफू लतमा नभएको भन्दै आरोपको खण्डन गर्दै आएका छन् । उनी लामो समयदेखि कट्टर–दक्षिणपन्थी रिपब्लिकनहरूको निशाना बनेका छन्, भने ट्रम्पका सहयोगीले भ्रष्टाचार र प्रभाव–हेरफेरको आरोपमा काङ्ग्रेसमा उनको लामो अनुसन्धान गरेका छन् । रासस

देशको २४ प्रतिशत वडामा सवारी साधन पुग्न सकेन, अधिकांशको आयस्रोत मालपोत कर

काठमाडौं । देशका साढे २४ प्रतिशत वडाहरूमा अझै पनि सवारी साधन नपुगेको अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यालयको अध्ययनले वडाको केन्द्रबाट सबैभन्दा टाढाको गाउँबस्तीसम्म पुग्नको लागि प्रयोग गरिने सवारी साधनमध्ये सवारी साधन र पैदल दुवै प्रयोग हुने देशभरिका वडाहरू ४ हजार ८६४ वटा (७२.१ प्रतिशत) रहेको देखाएको छ । सवारी साधन मात्रै प्रयोग गरिने वडाहरू (३.२%) पैदलभन्दा कम रहेको छ । सवारी साधन प्रयोग नहुने वडाहरू १ हजार ६६१ ओटा (२४.६%) रहेको देखाएको छ । यस्तै, देशभरिका ५ हजार २९४ वटा (७८.५%) वडाको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको छ । त्यसपछि क्रमशः सेवा शुल्क दस्तुर (४६५८ वडा–६९.१%), सम्पत्ति कर (३६०८ वडा –५३.५%), व्यवसाय कर ( ३५६० वडा – ५२.८%), घरबहाल कर (२२१५ वडा– ३२.८%) र घरजग्गा रजिस्ट्रेसन कर (२१६९ वडा– ३२.२%) रहेको कार्यालयको अध्ययनले देखाएको छ । मुख्य राजस्वको स्रोतहरूमा उल्लिखित करहरू नै सबै प्रदेशमा समान प्रकारले रहेको कार्यालयको भनाइ छ । अन्य करहरूमा दण्ड जरिवाना, सवारी साधन कर, मनोरञ्जन कर र अन्य करहरूसमेत रहेका छन् । कार्यालयको अध्ययनले नेपालमा १७ हजार ५९३ टोल बस्ती तथा गाउँ रहेको देखिएको छ । जसमध्ये सबैभन्दा (१० देखि २० ओटा गाउँबस्ती) गाउँबस्ती हुने वडाहरू २१ सय ९८ (३२.६%) रहेको छ । देशभरि २० ओटाभन्दा बढी गाउँ बस्ती हुने वडाहरू १६ सय ९१ रहेको र १४ सय ७३ वडाहरूमा एकदेखि पाँचओटा वडाहरू मात्र रहेको अध्ययनबाट देखाएको छ । प्रदेशगत रूपमा सबैभन्दा कम गाउँ बस्तीहरू र सबैभन्दा बढी गाउँबस्ती भएको प्रदेश पनि बागमती प्रदेश रहेको छ । जसअनुसार एकदेखि पाँचओटा गाउँबस्ती हुने वडाहरू ४९ ओटा (४.४%) र २० भन्दा बढी (४६.०१) गाउँवस्ती हुने वडाहरू ५१६ ओटा क्रमशः रहेका छन् । समग्रमा सबैभन्दा बढी वडाहरू (१२७१) मधेस प्रदेशमा भए तापनि गाउँबस्तीको संख्याको आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी ३ हजार ६४९ (२०७१) गाउँबस्ती रहेका छन् । वडामा गैरकृषि उत्पादनको अवस्था देशभरि रहेका ६ हजार ७४३ वडाहरूमध्ये २ हजार ९०० (४३९) वडाहरूमा गैरकृषि उत्पादन हुने गरेको अध्ययनले देखाएको छ । गैरकृषि उत्पादन सबैभन्दा बढी हुने प्रदेशमा गण्डकी (५१.८० वडा र बागमती प्रदेश (४६.८९ वडा) अग्रभागमा रहेको देखिएको छ । लुम्बिनी, सुदुरपश्चिम र कोशी प्रदेश क्रमशः पछि रहेका छन् । सबैभन्दा कमजोर प्रदेशको रूपमा मधेस प्रदेश (२६.१% वडा) रहेको देखिएको छ । नदीजन्य उत्पादन २ हजार २६७ (३३.६९) वडामा देखिएकोमा सबैभन्दा बढी वडाहरू गण्डकी प्रदेशमा ४५.७%) रहेको देखिन्छ । त्यसपछि बागमती प्रदेश (३८.३%) र लुम्बिनी प्रदेश (३५.९%) का वडाहरू रहेका छन् । काठ दाउराको उत्पादन गर्ने वडाहरू देशभरि ५२८ (७.८%) देखिएको छ । ती वडाहरूमध्ये सबैभन्दा बढी कोशी प्रदेश (१४.१%) र गण्डकी प्रदेश ( १०.९%) का वडाहरूमा काठ दाउरा उत्पादन हुने गरेको देखिन्छ । देशभरिका १७१ (२.५%) वडाहरूमा जडीबुटी उत्पादन हुने मुख्य वडाहरू रहेकोमा सबैभन्दा बढी कर्णाली प्रदेश (८.४%) र त्यसपछि सुदूरपश्चिम प्रदेश (४.६%) रहेको छ ।

सहकारी महासंघले असारमा रोजगार मेला गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले दक्ष युवा मानवशक्ति आकर्षण गर्दै सहकारीमार्फत बेरोजगारी न्युनिकरणमा योगदान दिने उद्देश्यले सहकारी रोजगार मेला आयोजना गर्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म हुने प्रथम सहकारी रोजगार मेला महासंघ परिसर पुल्चोकमा सञ्चालन हुनेछ । महासंघका अनुसार रोजगारीको खोजीमा रहेका युवा तथा विद्यार्थीहरुलाई सहकारी क्षेत्रमा उपलब्ध रोजगारका अवसरहरुबारे जानकारी गराउने, दक्ष जनशक्तिको खोजीमा रहेका सहकारी संघ संस्थाहरुलाई जनशक्ति पहिचान गर्ने अवसर प्रदान गर्ने, वृत्ति विकाससम्बन्धी परामर्श सेवा उपलब्ध गराउने, रोजगारीका लागि सहजीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको छ । ५ हजार बढी अवलोकनकर्ताहरु सहभागी हुने मेलामा ५० बढी सहकारी संघ संस्थाहरुको सहभागीता रहने दाबी महासंघले गरेको छ । यसैबीच, महासंघले मेलामा सहभागी भै भव्यताका साथ सफल पार्न सबैलाई आग्रह समेत गरेको छ ।  

उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् । उनले पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका छन् । निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट १ लाख प्रयोगकर्ताको डाटा चाेरी

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा उपलब्ध तपाईंको डाटा सुरक्षित छ ? साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले फेसबुकका करिब एक लाख प्रयोगकर्ताको पर्सनल डिटेल्स लीक भएको बताएका छन् । डाटा लीकसँग सम्बन्धित समाचार बाहिर आएको यो पहिलो पटक भने होइन। यसअघि पनि पटकपटक यस्ता समाचार बाहिर आएका छन् । यस पटक नयाँ दिल्लीको एक एनजीओ साइबर पीसले यसबारे जानकारी सार्वजनिक गरेको छ । जसका अनुसार करिब एक लाख फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ । लीक भएको जानकारीमा नाम, स्थान, इमेल, प्रोफाइल विवरण, फोन नम्बर जस्ता विषय समावेश छ । यो संस्थाले प्रयोगकर्ताको डाटा चुहावटको जानकारी मात्रै बाहिर ल्याएको छैन, यसमा यो डर पनि मानिएको कि जसका विवरणहरू लीक भएका छन् तिनीहरू फिसिङ अट्याककाे जोखिममा छन् । तर, फेसबुक प्रयोगकर्ताको डाटा कसले चोर्यो भन्ने अहिलेसम्म खुलेको छैन । यस विषयमा फेसबुक र मेटालाई जानकारी गराइएको साइबर पिसले जनाएको छ । तर, अहिलेसम्म उसको तर्फबाट कुनै बयान आएको छैन । डाटा चोरीको अनुसन्धान भइरहेको छ । तर, यो चोरीले कम्पनीको प्रतिष्ठालाई असर गर्छ । तपाईं आफ्नो फेसबुक खाताको गोपनीयता सेटिङहरू बलियो बनाउन सक्नुहुन्छ । जसका लागि दुई चरण प्रमाणीकरण प्रयोग गर्नुपर्छ । यस बाहेक तपाईंको प्रोफाइल कसले हेर्न सक्छ ? तपाईंसँग यसलाई सार्वजनिक वा निजी बनाउने विकल्प पनि छ । तपाईंलाई कसले ट्याग गर्न सक्छ ? यी सबै सेटिङहरू बनाएर गोपनीयता बढाउन सकिन्छ । एजेन्सी

किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

नवलपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन पछि किशोरी र बालबालिकाहरूसँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । त्यस अवसरमा उनले किशोरीहरूमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताइन् । मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको समेत बताइन् । ‘बालबालिकाहरूको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ’, मन्त्री चौधरीले भनिन्, ‘त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौँ । तर मन्त्रालयत बजेटको सीमितताका कारण आशातीत काम गर्न सकेका छैनौँ ।’ मन्त्री चौधरीले छोरीहरूलाई शिक्षासँगै जीवन उपयोगी शिक्षा समेत सिकाउनुपर्ने बताइन् । खास गरी आत्मनिर्भर बनाउनका निम्ति सीप सिकाउनुपर्ने उनको भनाई थियो । सोही योजना अन्तर्गत छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको मन्त्री चौधरीले बताइन् । ‘हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौँ । त्यो विशेष गरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउनका निम्ति ल्याइएको कार्यक्रम हो’, मन्त्री चौधरीले भनिन्, ‘स्थानीय तहको सबै पालिकामार्फत सञ्चालन हुने गरी ल्याइएको उक्त कार्यक्रम केही ठाउँबाट पाइलटका रूपमा सञ्चालन हुनेछ । किनभने हामीले योजना बनाएअनुसार बजेटको व्यवस्था हुन सकेन ।’ त्यस क्रममा नवलपुरका किशोरीहरूले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसम्वाद अन्तर संवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले बालिका सिकाई तथा स्रोत केन्द्र किशोरीहरूको साझा सपनाको रूपमा पहल गरेको र अहिले आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको बताइन् । यसको दिगो सञ्चालनको लागि सबैले सहयोग गर्नुपर्ने अभियन्ता घर्ती मगरको भनाई थियो । त्यस अवसरमा किशोरीहरू र बालबालिकाहरूले बालबालिकाका विभिन्न सवालहरूमा काम गर्नुपर्नेमा जोड दिएकी थिइन् । सहभागीहरूले विद्यालयमा नर्स कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्ने, किशोरीहरूको लागि आवश्यक पर्ने सेनेटरी प्याड गुणस्तरीय र निजी विद्यालयमा पनि उपलब्धता गराइदिनुपर्ने, स्थानीय तहमा किशोरकिशोरीहरूको लागि मानसिक स्वास्थ्यको लागि मनोपरामर्शकर्ताहरूको व्यवस्थापन गरिनुपर्ने, स्थानीय तहमा किशोरीहरूको लागि छुटै डेस्कको स्थापना गरिनुपर्ने, गरिब र सीमान्तकृत बालबालिकालाई राज्यले निःशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गरिनुपर्ने, दिवा खाजालाई सबै बालबालिकाले पुग्ने गरिएको लागि व्यवस्थापन गरिनुपर्ने लगायतका सवालहरू मन्त्री चौधरीसामु पेश गरेका थिए । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलनसँगको सहयोगमा किशोरीहरू र बालबालिकाहरूको लागि सो सिकाई केन्द्रको निर्माण गरिरहेको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए । नेपालमा पहिलो पटक यस्तो खालको संरचना निर्माण थालनी गरिएको भन्दै उनले जोकोहीलाई पनि बालिका र किशोरी अधिकारको बारेमा सूचना लिन र सूचना प्रदान गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिरहेको बताए ।