काठमाडौं । देशका साढे २४ प्रतिशत वडाहरूमा अझै पनि सवारी साधन नपुगेको अध्ययनले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
कार्यालयको अध्ययनले वडाको केन्द्रबाट सबैभन्दा टाढाको गाउँबस्तीसम्म पुग्नको लागि प्रयोग गरिने सवारी साधनमध्ये सवारी साधन र पैदल दुवै प्रयोग हुने देशभरिका वडाहरू ४ हजार ८६४ वटा (७२.१ प्रतिशत) रहेको देखाएको छ । सवारी साधन मात्रै प्रयोग गरिने वडाहरू (३.२%) पैदलभन्दा कम रहेको छ । सवारी साधन प्रयोग नहुने वडाहरू १ हजार ६६१ ओटा (२४.६%) रहेको देखाएको छ ।
यस्तै, देशभरिका ५ हजार २९४ वटा (७८.५%) वडाको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको छ । त्यसपछि क्रमशः सेवा शुल्क दस्तुर (४६५८ वडा–६९.१%), सम्पत्ति कर (३६०८ वडा –५३.५%), व्यवसाय कर ( ३५६० वडा – ५२.८%), घरबहाल कर (२२१५ वडा– ३२.८%) र घरजग्गा रजिस्ट्रेसन कर (२१६९ वडा– ३२.२%) रहेको कार्यालयको अध्ययनले देखाएको छ ।
मुख्य राजस्वको स्रोतहरूमा उल्लिखित करहरू नै सबै प्रदेशमा समान प्रकारले रहेको कार्यालयको भनाइ छ । अन्य करहरूमा दण्ड जरिवाना, सवारी साधन कर, मनोरञ्जन कर र अन्य करहरूसमेत रहेका छन् ।
कार्यालयको अध्ययनले नेपालमा १७ हजार ५९३ टोल बस्ती तथा गाउँ रहेको देखिएको छ । जसमध्ये सबैभन्दा (१० देखि २० ओटा गाउँबस्ती) गाउँबस्ती हुने वडाहरू २१ सय ९८ (३२.६%) रहेको छ । देशभरि २० ओटाभन्दा बढी गाउँ बस्ती हुने वडाहरू १६ सय ९१ रहेको र १४ सय ७३ वडाहरूमा एकदेखि पाँचओटा वडाहरू मात्र रहेको अध्ययनबाट देखाएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा कम गाउँ बस्तीहरू र सबैभन्दा बढी गाउँबस्ती भएको प्रदेश पनि बागमती प्रदेश रहेको छ । जसअनुसार एकदेखि पाँचओटा गाउँबस्ती हुने वडाहरू ४९ ओटा (४.४%) र २० भन्दा बढी (४६.०१) गाउँवस्ती हुने वडाहरू ५१६ ओटा क्रमशः रहेका छन् । समग्रमा सबैभन्दा बढी वडाहरू (१२७१) मधेस प्रदेशमा भए तापनि गाउँबस्तीको संख्याको आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी ३ हजार ६४९ (२०७१) गाउँबस्ती रहेका छन् ।
वडामा गैरकृषि उत्पादनको अवस्था
देशभरि रहेका ६ हजार ७४३ वडाहरूमध्ये २ हजार ९०० (४३९) वडाहरूमा गैरकृषि उत्पादन हुने गरेको अध्ययनले देखाएको छ । गैरकृषि उत्पादन सबैभन्दा बढी हुने प्रदेशमा गण्डकी (५१.८० वडा र बागमती प्रदेश (४६.८९ वडा) अग्रभागमा रहेको देखिएको छ ।
लुम्बिनी, सुदुरपश्चिम र कोशी प्रदेश क्रमशः पछि रहेका छन् । सबैभन्दा कमजोर प्रदेशको रूपमा मधेस प्रदेश (२६.१% वडा) रहेको देखिएको छ । नदीजन्य उत्पादन २ हजार २६७ (३३.६९) वडामा देखिएकोमा सबैभन्दा बढी वडाहरू गण्डकी प्रदेशमा ४५.७%) रहेको देखिन्छ । त्यसपछि बागमती प्रदेश (३८.३%) र लुम्बिनी प्रदेश (३५.९%) का वडाहरू रहेका छन् ।
काठ दाउराको उत्पादन गर्ने वडाहरू देशभरि ५२८ (७.८%) देखिएको छ । ती वडाहरूमध्ये सबैभन्दा बढी कोशी प्रदेश (१४.१%) र गण्डकी प्रदेश ( १०.९%) का वडाहरूमा काठ दाउरा उत्पादन हुने गरेको देखिन्छ । देशभरिका १७१ (२.५%) वडाहरूमा जडीबुटी उत्पादन हुने मुख्य वडाहरू रहेकोमा सबैभन्दा बढी कर्णाली प्रदेश (८.४%) र त्यसपछि सुदूरपश्चिम प्रदेश (४.६%) रहेको छ ।