प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको बताए । व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए । तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको जानकारी दिए । ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा’, उनले भने । गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । मिलेर जाउँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।
झिनो अंकले नेप्से बढ्दा उच्च कारोबार, वित्त समूहमा झुमिए लगानीकर्ता
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । वृद्धिसँगै नेप्से परिसूचक ६.७३ अंकले बढेर २१२१.६२ बिन्दुमा कायम भएको छ । नेप्से ०.३० प्रतिशतले बढेको हो । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बढेको छ । आज ३१२ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सूचीकृत कम्पनीहरू मध्ये ११९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने १३ को स्थिर रह्यो । बुधबार होटल तथा पर्यटन समूह ०.१८, जलविद्युत् समूह ०.६१, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.३६ प्रतिशतले घटेको छ । अन्य सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह १.०७ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.४८ प्रतिशतले घटेको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कामना सेवा विकास बैंकमा आबद्ध हुनेलाई थाइरो ल्याब बुटवलमा छुट
काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित थाइरो ल्याब बुटवलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त थाइरो ल्याब बुटवलमा कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुल्यो
काठमाडौं । भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने ‘नाडा अटो एक्सपो २०२४’ को स्टल बुकिङ खुला भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि स्टल बुकिङ खुलाएको हो । नाडाले स्टल बुकिङका लागि जेठ ३१ देखि आसार ५ गतेसम्मको समय तोकेको छ । तोकिएको समयमा परेको आवेदनहरूबाट लक्की ड्र गरि बुथरब्लक छनोट गरिने नाडाले जनाएको छ । प्रदर्शनीमा दुई पांग्रे, चार पांग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । सोमबार बसेको नाडाको कार्यसमिति बैठकले भदौ ११ गतेदेखि नाडा अटो एक्सपो २०२४ गर्ने निर्णय गरेको थियो ।
सरकारले पाँच लाख वा त्यो भन्दा कम बजेट विनियोजन गर्नु गलत छ : पूर्णबहादुर घर्तीमगर
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले ५ लाख भन्दा कमको पनि बजेट विनियोजन शहरी विकास मन्त्रालयले विनियोजन गरेकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय सरकारले ५ करोड भन्दा कम बजेट विनियोजन नगर्ने प्रतिवद्धता जनाएपछि त्यस विपरित बजेट आएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले ५ करोड भन्दा कम बजेट संघीय सरकारले नगर्ने भन्ने सहमति विपरितका बजेटहरु विनियोजन गर्नु गलत भएको बताए । द्वन्द्व पीडितहरुलाई क्षतिपूर्ति दिनका लागि बजेट विनियोजन नगरिएकामा असन्तुष्टि व्यक्त गरे । सांसद घर्तीमगरले भने, ‘शहरी विकास मन्त्रालयको बजेटमा ५ लाख बराबरको योजनाहरु १७७ वटा रहेछन् । जबकी हामीले ५ करोड भन्दा बढिको योजना समावेश नगर्ने भनेका थियौं । प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको भनाई र गराई मिलेन कि भन्ने मलाई लागिराखेको छ । यो ५ लाख, ३ लाख, २ लाखका योजनाहरु गर्दाखेरी मिलेन भन्ने मलाई लाग्छ ।’ सांसद घर्तीमगरले बजेट वितरणमुखि भएको पनि बताए ।
बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३०३ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि दशरथचन्द नगरपालिका, वडा नं.२ स्थित देहीमाण्डौंमा शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा खोलेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाएको छ । बैंकको देहीमाण्डौ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
‘गिरीबन्धु टि स्टेट राज्यको सम्पति होइन’
काठमाडौं । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेटका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पति नभएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पति नभएको बताएका छन् । उनले पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पती भएको र त्यो सम्पति राज्यको नभएको बताए । आफ्नो निजी सम्पतिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरे । २०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए । सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरेका छन् । दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले बताए ।
जेजीआई डिस्ट्रिब्युसनको ६ महिनामा ५ अर्बको मदिरा व्यापार, साढे ४ अर्ब ऋणको रेटिङ
काठमाडौं । मदिरा तथा पेयपदार्थ वितरक कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको जेजीआई डिस्ट्रिब्युसन प्रालिले ६ महिनामा ५ अर्ब रुपैयाँ बढीको मदिरा कारोबार गरेको छ । सन् २०२४ को ६ महिनामा कम्पनीले ५ अर्ब ११ करोड ८० लाख रुपैयाँको मदिरा कारोबार गरेको हो । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६२ करोड ५० लाख रुपैयाँको मदिरा कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको मदिरा कारोबार गरेको थियो । जेजीआई जावलाखेल ग्रुपको मदिरा तथा पेयपदार्थ वितरक कम्पनी हो । देशभरि ४० युपी मदिरामा जावलाखेलको उपस्थिति बलियो छ । यस्तै, मदिरा बजारमा ४० युपीको गोल्डेन ओकको हिस्सा ठूलो छ । गत वर्ष कम्पनीको कुल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्रान्डीको ५९ प्रतिशत हिस्सा रहेको बताइएको छ ।यस्तै, भोड्का जिन र अइलाको २२ र बडबाइजर बियरको हिस्सा १९ प्रतिशत मात्र रहेको छ । सन् २०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजीआई स्थापना गरेको थियो । जावलाखेल ग्रुपका ५ डिस्टिलरीले उत्पादन गरेको मदिरा र बियर जेजीआईले देशभरि बिक्री गर्दै आएको छ । जेजीआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बडवाइजर बियर बिक्री वितरण गर्दै आएको छ । सन् १९७३ मा विजयबहादुर शाहले जावलाखेल डिस्टिलरी स्थापना गरेका थिए । कम्पनीले पहिलोपटक रुस्लान भोड्का उत्पादन सुरु गरेकाे थियो । हाल ग्रुपभित्र मदिरा र बियर उत्पादनका साथै मदिराको रिसर्च जेजीआई प्रालिले गरिरहेकाे छ । सरकारलाई बढी कर बुझाउनेमा जावलाखेल ग्रुप अगाडि आउँछ । आर्थिक वर्ष २०७८/०७९ को आय विवरणअनुसार व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्नेमा जावलाखेल ग्रुपका अध्यक्ष शाह सम्मानित भएका थिए । कम्पनीले ४ अर्ब ३२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले २ करोड ९० लाख सर्टटर्म र ४ अर्ब ३० करोड रुपैयाँको दीर्घकालीन ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालबाट ए फोर प्लसको रेटिङ पाएको छ ।