विकासन्युज

सांसद डा. तोसिमा कार्कीको प्रस्ताव : बजेट निर्माणमा छुट्टै ऐन तर्जुमा गरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बजेट निर्माणका लागि सबै सांसदहरुले मिलेर छुट्टै ऐन तर्जुमा गर्नुपर्ने प्रस्ताव गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएकी हुन् । सांसद कार्कीले सरकारका मन्त्रीहरु फेरिरहने हुनाले बजेट निर्माणको काममा तलमाथि हुन नदिन पनि सो ऐनको छुट्टै व्यवस्था हुन आवश्यक रहेको तर्क गरिन् । सबै सांसदहरुले बजेटमा यो भएन, त्यो भएन भनेर असन्तुष्टि व्यक्त गर्नुभन्दा पनि त्यसको सुधारका लागि छुट्टै ऐन तर्जुमा गर्ने कुरामा सबै सांसदहरु अघि बढ्नुपर्ने सांसद कार्कीको भनाई थियो । बजेट निर्माणमा समस्या आउन नदिन पनि ऐनले त्यसलाई गाईड गर्नुपर्ने तर्क समेत गरिन् । सांसद कार्कीले सो ऐनमा बजेट छलफल, त्यसको मध्यावधि समिक्षा तथा तत्कालीन, मध्यकालीन र दीर्घकालिन लक्ष्य निर्धारणको विषयको पनि आवश्यक विधि बन्नुपर्ने बताइन् । ‘हामी २७५ जना सांसदहरुले औपचारिक/अनौपचारिक रुपमा यो प्रश्ताव भएन, यो प्रक्रिया मिलेन, सेटिङमा गरियो । आफ्नो निर्वाचन क्षेत्रमा मात्र लगियो, यसलाई सुधार गर्नु पर्छ भनिरहँदा आउनुस्न, संकल्प गरौं । किनभने अस्थिर सरकारको यो ढोङमा, यो कुर्सीको लडाईमा मन्त्रीहरु फेरीरहन सक्छन । तर स्थायी सरकारलाई मन्त्री फेरिए पनि ऐनमा नै बजेट यसरी निर्माण गर्ने है भनेर त्यो ऐनले गाईड गरोस्’, उनले भनिन् । सांसद कार्कीले सरकारले प्रस्तुत गरेको मन्त्रालयगत बजेट विनियोजनमा स्पष्ट कार्यक्रम आउन नसकेको दाबी समेत गरिन् ।

दिपलले लिँदैछ विद्युतीय गाडीको बजार, फिचर पनि उत्कृष्ट

काठमाडौं । चिनियाँ सवारी निर्माता चांगन अटो ग्रुपले नेपाल भित्र्याएको विद्युतीय गाडी दिपल एस ०७ मोडेलले बजारमा उत्साहजनक प्रतिस्पर्धा गरिरहेको छ । छोटो समयमा नै बजारमा यस गाडीको चर्चा चुलिएको छ । नेपालका लागि चांगनकाे आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले गत  चैत १८ गते यस गाडीको मोडेल सार्वजनिक गरेको थियो । दिपल एस एस ०७ गाडीमा थुप्रै राम्रा विशेषता भएका कारण छोटो समयमा नै सबैको रोजाइमा पर्न सफल भएको मार्केटिङ म्यानेजर सृजप खनाल बताउँछन् । हाल बजारमा पाइरहेका अन्य विद्युतीय गाडीहरूभन्दा यसमा अरू थप फिचर रहेको उनकाे भनाइ छ । नेपाली अटोमोबाइलमा पहिलो पटक यस गाडीमा दर्जनभन्दा बढी फिचरहरू रहेको कम्पनीको दाबी छ । दिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगनको सब ब्रान्ड हो ।  यसले चांगनका लागि ‘न्यु इनर्जी भेहिकल’ को विकास र उत्पादन गरेको कम्पनीले बताएको छ । १५ भन्दा बढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचर दिपल एस ०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज (डब्लुएलटीपी) दिन्छ । अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन् । संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंसनका लागि एस०७को ‘जेस्चर कन्ट्रोल’ को माध्यमबाट हातको संकेतबाट कमान्ड लिन सकिने सुविधा रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ । यस फिचरका कारण ड्राइभिङलाई सहज मात्रै नभइ सुरक्षित पनि बनाउने कम्पनीकाे भाइ छ । क्याबीनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्न यात्रुतिर आफैं फर्कन्छ । दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउँछ । यस फिचरले सिटमा बस्ने व्यक्तिको उचाइअनुसार सिटको पोजिसन आफैं मिलाइदिन्छ । दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक मात्र नभइ यसको पर्फमेन्समा पनि सुधार ल्याउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ । दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई-एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । साथै, यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’ सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर रहेका छन् । कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’ हरू छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’ लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिनको सुविधा कम्पनीले यस गाडीमा दिएको छ । सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको कम्पनीले बताएको छ । नयाँ मूल्यमा दिपल एस०७ नेपालमा दिपल एस ०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । तर, सरकारले ईभीमा लगाएको कर बढैसँगै अब आयात हुने गाडीहरू बढेर आउने खनाल बताउँछन् । ‘मूल्य बढ्नुमा केही हदसम्म बजेटमा ईभी गाडीमा लगाइएको कर बढ्नु पनि हो,’ उनी भन्छन्, ‘यद्यपि, हामीले कम्पनीसँगको सहकार्यमा थोरै मात्र मूल्य बढाएको छौं, ग्रहकलाई ठूलो मार नपरोस भन्ने हाम्रो चाहना हो ।’ हाल नेपालमा ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरिएको छ । आइतबारबाट यस गाडीको मूल्य बढेको हो । छोटो समयमा नै यस गाडीले राम्रो व्यापार गरिरहेको कम्पनीको तथ्यांकले देखाउँछ । कम्पनीको तथ्यांक अनुसार हालसम्म ३५० भन्दा धेरै गाडी आयात भएका छन् । जसमध्ये ३०० गाडीहरू बिक्री भइसकेका छन् भने बाँकी रहेका गाडीहरू पनि बुकिङ भइसकेका छन् । ‘हामीले चैत १८ गतेबाट नेपालका लागि एस ०७ गाडीको बिक्री सुरु गरेका हौं, त्यसयता  ३०० बढी गाडी बिक्री भइसकेका छन् भने बाँकी रहेका अन्य गाडी पनि बुकिङ भइसकेका छन्,’ कम्पनीका एक प्रतिनिधि भन्छन्, ‘हामीसँग अहिले दिपलका सबै गाडी स्टक आउट भइसकेका छन् त्यसैले नयाँ आउने गाडीको मूल्य बढेर आउने भएको हो ।’ दिपल गाडी हेर्दा आकर्षक र फिचरहरू धेरै भएकै कारण छोटो समयमा नै धेरै ग्रहकको रोजाइमा परेको कम्पनीले बताएको छ । हाल यो गाडी आकर्षक ६ कलरमा उपलब्ध रहेको छ । चर्चित ब्राण्ड टेस्ला गाडीमा भएका थुप्रै फिचरहरू यस गाडीमा पाउन सकिने सुविधा रहेको कम्पनीकाे दाबी छ  ।

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । श्री डिष्टिलरीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरी लिमिटेडले ९ लाख ६० हजार कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्टाएको छ । आईपीओ निष्कासन तथा बिक्रीका लागि आज जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे । हस्ताक्षरपछि श्री डिष्टिलरीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए । यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गौचनले आईपीओ निष्कासनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे । सम्झौतासँगै कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने बताइएको छ । प्रक्रिया पूरा गरी चाँडै नै कम्पनीले आईपीओ जारी गर्ने बताएको छ ।

ललितपुरको श्रमजित किशोर माविमा ‘खेताला शिक्षक’

काठमाडौं । काठमाडौं उपत्यकाकै एक विद्यालयमा ‘खेताला शिक्षक’ राखेको भेटिएको छ । ललितपुरको श्रमजित किशोर माविमा खेताला शिक्षक राखिएको भेटिएको हो । विद्यालयका तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्रराज पौडेलले अशोक यादवलाई खेताला शिक्षक राखेर वर्षौंदेखि अवैध तवरले तलब खाँदै आएको रहस्य खुलासा भएको छ । विद्यालयका एक निवर्तमान शिक्षकले त्यस विषयमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएका छन् । उनले मन्त्री श्रेष्ठलाई पत्रसँगै विद्यालयको अध्यापन तालिका (रुटिन) समेत पठाएका छन् । उनले विद्यालयका विज्ञान शिक्षक पौडेलले खेताला शिक्षक राखी वर्षौंदेखि नियम विपरीत कार्य गर्दै आएकाले उनलाई नियम बमोजिम कारबाही गर्न भन्दै मन्त्री श्रेष्ठलाई पत्र पठाएका हुन् । साथै, उनले खेताला शिक्षक यादवलाई निजी स्रोतको शिक्षक भनी ढाकछोप गर्ने विद्यालयका सम्बन्धित सबैलाई कानुन बमोजिम कारबाही गर्न पनि शिक्षमन्त्री श्रेष्ठसमक्ष माग राखेका छन् ।

शिक्षक सरुवा निर्देशिकाप्रति गाउँ र नगरपालिका संघको आपत्ति

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सरूवा सम्बन्धी जारी गरेको निर्देशिकामा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ध्यानाकर्षण गराएका छन् । संघीय शिक्षा विधयेक संसदमा विचाराधिन रहेको अवस्थामा शिक्षा मन्त्रीले शिक्षक सरूवा सम्बन्धी जारी गरेको भन्दै आपत्तिक जनाएको हो । गाउँपालिका र नगरपालिका महासंघले विज्ञप्ती निकाल्दै यो निदेर्शिका नै खारेज गर्नुपर्ने बताएको छ । ‘नेपालको संविधानले आधारभुत तथा माध्यमिक शिक्षालाई स्थानीय सरकारको एकल अधिकारको सूचीमा राखेको सर्बबिदितै छ, शिक्षा विधयेक संसदमा विचाराधिन रहेको अवस्थामा सरोकारवालासँग परामर्श गरी स्वीकृतीको लागि संसदमा पेश गर्न सहजिकरण गर्नु पर्नेमा २०२८ सालको शिक्षा ऐनको प्रभावमा विद्यालय शिक्षालाई केन्द्रिकृत रुपमा नै सञ्चालन गर्न खोजिएको कार्य संबिधान विपरित छ,’ विज्ञाप्तीमा लेखिएको छ । आधारभूत र माध्यामिक शिक्षा स्थानीय सरकार मातहत रहेकाले आफ्नो अधिकार माथी हस्तक्षेप नगर्न सचेत गर्दै निर्देशिका खारेज गर्न माग गरेको छ । संघले यो निर्देशिका कार्यान्वयन नगरी गाउँ/नगर सभाबाट जारी भएको स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न पनि सबै स्थानीयसरकारलाई आग्रह गरिएको छ ।

समृद्धि फाइनान्सले जेष्ठ नागरिकलाई गर्यो सम्मान

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले बुधबार शिवराज नगरपालिकाका ४० जना जेष्ठ नागरीकलाई शाखा परिषरमा बोलाइ बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरकोबारेमा अन्तरक्रिया गरी बढ्दो गर्मींमा राहत होस् भनेर ग्लूकोज वितरण गर्नुका साथै उपस्थित जेष्ठ नागरीकलाई खादा ओडाएर सम्मान गरेको हो । समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशुल्क प्रदान गरिरहेको छ ।

‘भेप’ उत्पादन गर्ने कम्पनीले सरकारलाई २ लाख रुपैयाँ अनुमति शुल्क बुझाउनुपर्ने

काठमाडौं । विद्युतीय चुरोट (भेप) उत्पादन गर्ने कम्पनीले सरकारलाई अनुमतिपत्र वा नवीकरण दस्तुर शीर्षकमा २ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ । यसअघि विद्युतीय चुरोट (भेप) भन्ने शब्द नै नराखिएकोमा अन्तशुल्क नियमावली संशोधन गर्दै सरकारले भेपलाई शुल्क निर्धारण गरेकाे हो । यसअघि स्प्रिड उत्पादन गर्ने प्रतिष्ठान, वियर उत्पादन गर्ने प्रतिष्ठान, इथानेल उत्पादन गर्ने प्रतिष्ठान, वाइन ब्राण्डीमात्र बनाउने कम्पनी, अन्य मदिरा उत्पादनका लागि र चुरोट उत्पादनका लागि फरक–फरक दस्तुर तोकिएको थियो भने त्यसपछि एउटा बुँदा थप गर्दै भेपको इजाजत दस्तुर तथा नवीकरण शुल्क २ लाख रुपैयाँ निर्धारण गरिएको हो । यस्तै, पैठारी तथा वस्तु खरिद बिक्रीतर्फ भेपलाई ५० हजार रुपैयाँ तोकिएको छ ।

प्रदीप पौडेल र बालेनबीच भेटघाट, ढल तथा सडक व्यवस्थापन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए । भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो । बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोवीखोला खण्ड निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको छ । भेटमा पौडेल र बालेनबीच काठमाडौं महानगरपालिकाको आगामि नीति तथा कार्यक्रम र प्राथमिकताहरुका बारेमा पनि छलफल भएको थियो । टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए । त्यस्तै, काठमाडौं महानगरपालिका र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुई बिच छलफल भएको छ । ‘हामीबीच समस्त काठमाडौं महानगरपालिका तथा महानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधासम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो,’ पौडेलले भने ।