विकासन्युज

वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र डिजिटाइजेसनमा सहकार्य बढाउ सरोकारवालाको जोड

काठमाडौं । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिट्यान्स भित्र्याउने र रेमिट्यान्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिट्यान्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर रेमिटेन्स सेवाको सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । सोमबार काठमाडौंमा सम्पन्न कार्यशालामा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले रेमिट्यान्स आप्रवाह बढिरहेको र यसले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र रेमिटेन्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने र त्यसका लागि राष्ट्र बैकंले नेपाल मुद्रा विप्रेषक सङ्घसँग मिलेर सहकार्य गर्न तयार रहेको पनि कार्यवाहक गभर्नर ढुङ्गाना उल्लेख गरे । यसै गरी राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले रेमिटेन्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र अनुमतिपत्र समयमै नवीकरण गराएर कारोबार नियमिततापूर्वक गर्न आग्रह गर्नुभयो । रेमिटेन्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको पनि कार्यकारी निर्देशक घिमिरेले उल्लेख गरे । राष्ट्र बैंक, गैर—बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न रेमिटेन्स कम्पनीहरूलाई सुझाव दिए । राष्ट्र बैंकको गैर—बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले पनि रेमिटेन्सको समसामयिक विषयमा रहेर आफ्ना भनाइहरू राखे । सो अवसरमा नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिटेन्स कम्पनी र रेमिटेन्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिटेन्समा वृद्धि हुनगई विदेशी मुद्रा सञ्चिति बढ्ने, रेमिटेन्स कम्पनी र रेमिटेन्सको काम गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूको आम्दानीमा वृद्धि भई राजश्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले यसमा सबैको ध्यान जान आवश्यक रहेको बताए । उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले पनि रेमिटेन्स सेवामा देखिएका समसामयिक विषयमा आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिटेन्सको वर्तमान अवस्था र रेमिटेन्स कम्पनी र नियामक निकायबाट गर्नुपर्ने सुधारका विषयमा धारणा व्यक्त गरे ।

असार ७ गतेदेखि प्रथम सहकारी रोजगार मेला हुँदै, स्वदेशमै रोजगारी सिर्जना गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७, ८ र ९ गते प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो । महासंघले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले केही सहकारीको कारण सहकारी भनेको सडकमा जानुपर्ने भन्ने भ्रम सिर्जना भएको बताइन् । दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थितिलाई मुलुकभित्रै युवाहरुलाई सहकारीको माध्यमबाट राख्ने उद्देश्यले रोजगार मेला गर्न लागेको बताइन् । अध्यक्ष मल्लले मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरु प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताइन् । अहिले ३१ हजार सहकारीमा १ लाख बढीले प्रत्यक्ष रोजगारी दिएको सहकारी क्षेत्रले भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले योदान गर्ने विश्वास लिएको बताइन् । मेला विदेश पलायन युवा रोक्न, स्वदेशमै रोजगारी सिर्जना गरी प्रोत्साहन गर्ने वातावरण बनाउनको लागि मेला आयोजना गरिएको बताइन् । उत्पादन तथा सेवाका सहकारीहरु र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्ने सहजता प्रदान गर्ने जानकारी दिइन् । मेलामा स्टार्टअप र साना व्यवसाय मार्फत स्वरोजगार गर्न चाहनेहरुको लागि नेटवर्किङको कार्य समेत हुने बताइन् । महासंघले सहकारी रोजगार मेलाले समयमा नै रोजगारी सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत वितरण अनलाइनमार्फत रोजगारीको लाभ लिन युवाको थप आकर्षण हुने अपेक्षा गरेको छ ।

माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

काठमाडौं । अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसले बजार पुँजीकरणका आधारमा माइक्रोसफ्टलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । एनभिडिया माइक्रोसफ्टलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान पब्लिक ट्रेडेड कम्पनी पनि बनेको छ । यसपछि अमेरिकाकै प्रविधि कम्पनीका रूपमा परिचित बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्ट र एप्पलको भने स्तर खस्किएको छ। यी तीन कम्पनीबीच विश्वबजारमा कडा प्रतिस्पर्धा छ। मंगलबार एनभिडिया कर्पको बजार पूँजीकरण ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । उता माईक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर छ । केहि दिन अघिसम्म शीर्ष स्थानमा माईक्रोसफ्ट नै थियो । यी दुई कम्पनीको बजार पूँजीकरण ०.०२ ट्रिलियन डलर फरक छ । रोयटर्सका अनुसार एआई कम्पनीको सेयर ३.२ प्रतिशतले बढेर १३५.२१ डलर पुगेको छ । मंगलबार एनभिडिया कर्पको सेयरमूल्य ३.५१ प्रतिशत बढेर प्रतिकित्ता १३५.५८ डलरमा अन्तिम कारोबार भएको थियो । यस वृद्धिसँगै कम्पनीको बजार पूँजीरकण ३.३३ ट्रिलियन डलर पुगेको छ । सोही दिन माइक्रोसफ्टको सेयरमूल्य ०.४५ प्रतिशत घटेर प्रतिकित्ता ४४६.३४ डलरमा अन्तिम कारोबार भएको थियो । एनभिडिया कर्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरका लागि आवश्यक पर्ने कम्प्युटर चिपहरू बनाउने गरेको छ । उसका उत्पादनहरूको माग बढेपछि पछिल्ला केही वर्षयता यसको बिक्री र नाफा पनि उकालो लागेको छ । त्यस्तै, तेस्रोमा आईफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण ३.२९ डलर छ । उक्त कम्पनीको सेयर पनि १.१० प्रतिशत घटेर २१४२९ डलर कायम भएको थियो । यसअघि गत जुन ५ मा एनभिडिया एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको थियो । १० मूल्यवान कम्पनीको शीर्ष स्थानमा ८ वटा अमेरिकी कम्पनीको आधिपत्य छ । जसमा अधिकांश प्रविधिमा आधारित कम्पनी छन् । १० शीर्ष स्थानमा साउदी अराम्को पनि छ । उक्त कम्पनी भने छैटौं स्थानमा १.७८ ट्रिलियन डलरका बजार पुँजीकरणका साथ कायम छ । एजेन्सी

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

काठमडौं । प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरु पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् । यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

देशको राजनैतिक अवस्थाले गर्दा लाखौं युवा विदेशिएका छन् : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निरासा छाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन् । सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लढेको बताए । तर अहिलेका युवा विद्यार्थीहरुले राजनीतिक, राष्ट्रियता र देशप्रति निराश रहेको बताए । उनले युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेतृत्व हुन आवश्यक रहेको जानकारी दिए । प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरुले देश छाडेर गइरहेको बताए । ‘नेपालका नयाँ युवा पीडि अत्यन्तै निराश छ । सदनमा आएका सासद पनि विद्यार्थीबाट नै आएका हैनौं । विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौ । अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको छ’, उनले भने । उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको जानकारी दिए ।

सरकारले दुग्ध किसानलाई बक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ : दीपकबहादुर सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । बुधबार बिहान बक्यौता रकम माग गर्दै काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सांसद सिंहले उनीहरूलाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो मन्त्रालयको बजेट न्यून रहेको भन्दै आपत्ति जनाए । मुलुकलाई चिनाउने भरपर्दो माध्यम खेलकुद भएपनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो । सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

चीन । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैंकका गभर्नरले बुधबार बताएका छन् । यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने । निरन्तर सुधार हुँदै जाँदा, चिनियाँ अर्थतन्त्रले अझै पनि केही चुनौतिहरूको सामना गरिरहेको छ । यसले घरेलु आर्थिक परिसंचरणमा अवरोध र बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता उल्लेखनीय रूपमा बढेको उनले बताए ।

नेप्से परिसूचक २.२७ अंकले बढ्यो, वित्तमा लगानीकर्ताको आकर्षण

काठमाडौं । बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेको छ । नेप्से बढेसँगै २०७८.७६ बिन्दुमा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ सूचक मध्ये वित्त समूचक सबैभन्दा धेरै २.६२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह १.३२ प्रतिशतले घटेको छ । नेपाल फाइनान्स, समाज लघुवित्त र कुथेली ब्रुखरी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमको आधारमा भने नेपाल फाइनान्स शिर्ष स्थानमा रहेको छ । कम्पनीको २० करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १३५ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।