विकासन्युज

निजी क्षेत्रको शिर उँचो हुने गरी आयोगले काम गर्छ : नवनियुक्त अध्यक्ष धिताल

काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रले शिर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने बताएका छन् । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले दिएको बधाई ग्रहण गर्दै अध्यक्ष धितालले निजी क्षेत्रले शिर झुकाउनु नपर्ने गरी आगामी ५ वर्ष आयोगले काम गर्ने बताएका हुन् । उनले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताउँदै दुई ठाउँबाट हुँदै आएका समान प्रकृतिका कामहरूको जिम्मा कुनै एउटै मात्र निकायलाई दिने बताए । आरसिओडी म्याद थपका विषयमा विद्युत् प्राधिकरणमा र धितोपत्र निष्कासनको जिम्मा सेबोनमा दिन सकिने विषयमा आयोगले पुनर्विचार गर्ने धितालको भनाइ छ । अध्यक्ष धितालले निजी क्षेत्रसँग रहेको धेरै मानव पुँजी आयोगले पनि प्रयोग गर्ने सोच बनाएको बताए । प्रसारण लाइनमा खुला पहुँचको विषयमा १ महिनाभित्र सार्वजनिक सुनुवाइ गर्ने बताउँदै उनले विद्युत् खरिद(बिक्री सम्झौता (पिपिए)मा रहेका समस्या समाधानका लागि स्ट्यान्डर्ड युनिफरमिटी बनाएर सरकार र निजी क्षेत्र दुवैलाई बाध्यकारी बनाइने बताए । कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले आयोगले बनाउने ५ वर्षे कार्ययोजनामा निजी क्षेत्रका केही सवालहरू सम्बोधन गरिदिन आग्रह गरेका थिए । ‘जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा चल्ने वर्षाको समयमा विद्युत् प्राधिकरणले विद्युत् खरिद नगर्दा विद्युत् आयोजनाको वित्तीय अवस्था कमजोर भएको छ,’ अध्यक्ष कार्कीले भने, ‘सर्वसाधारण सेयरधनीहरूमा भने जलविद्युत् कम्पनीहरूले लाभांश दिन सक्दैनन् भन्ने गलत सन्देश गएको छ । टेक अर पेमा गरिएको पिपिएका प्रावधानहरू बीचैमा परिवर्तन गरेर वर्षाको बिजुली नकिनेका कारण जलविद्युत् कम्पनीको वित्तीय अवस्था बिग्रेको हो । यसमा आयोगले उत्पादित सबै बिजुलीको मूल्य पाउने व्यवस्थाका लागि सहजीकरण गरिदिनुपर्छ ।’ गत महिना नेपालमा सञ्चालित कुनै पनि जलविद्युत् आयोजनाले पूर्वनिर्धारित विद्युत् उत्पादन गर्न नसकेको भन्दै अध्यक्ष कार्कीले मौसम परिवर्तनका कारण सिर्जित काबुबाहिरको यस्तो परिस्थितिमा कुनै पनि आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने र इनर्जी टेबल परिमार्जन गर्न पाउने व्यवस्था गर्नका लागि पनि आयोगका अध्यक्षसँग आग्रह गरेका थिए । उनले यसअघि आयोगले १० मेगावाटसम्मका आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने निर्णय गरेको स्मरण गर्दै सबै आयोजनाको यस्तो पेनाल्टी खारेज गरेर नयाँ तरिकाले इनर्जी टेबल निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै, जलविद्‍युत् आयोजनाले आइपिओ वा राइट सेयर जारी गर्दा आयोगको अनुमतिपछि सेबोनमा निवेदन दिँदा मात्रै क्रेडिट रेटिङ गर्ने व्यवस्था गरिदिन पनि अध्यक्ष कार्कीले आग्रह गरे । अहिले एउटा आयोजनाले २–३ पटक रेटिङ गरिरहनु पर्दा ठूलो धनराशी यसैमा खर्च भइरहेको तर्फ उनले आयोगको ध्यानाकर्षण गराए । विद्युत नियमन आयोगले २–४ वटा कम्पनीको सेयर लगत हेरेर बस्न नहुने भन्दै कार्कीले दूरगामी महत्त्वका ऐतिहासिक निर्णय लिन पनि आयोगका पदाधिकारीहरूलाई आग्रह गरे । आयोगका नवनियुक्त सदस्य डा. मधुसुदन अधिकारीले आयोगले व्यक्ति विशेषलाई भन्दा पनि समग्र पक्षलाई हेरेर काम गर्ने बताए । त्यस्तै, आयोगका अर्का सदस्य झमकप्रसाद शर्माले इप्पानले आयोगबाट राखेका अपेक्षाको सम्बोधन गर्दै सामाजिक न्यायको सिद्धान्तमा रहेर निर्णय लिने बताए ।

नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा थाहा पाउनका लागि विभिन्न सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एक विज्ञप्तिमार्फत  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा विभिन्न तरिकाबाट थाहा पाउन सकिने जानकारी दिएको छ । टेलिकमका अनुसार ल्यान्डलाइन वा मोबाइल फोनबाट सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिनेछ । त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा हेर्न सकिने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार नतिजा प्रकाशित भएको केही समयपछि यो सुविधा प्रयोग गर्न सकिन्छ । एसईईको परीक्षा असार दोस्रो साताभित्रै प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी छ ।

एसईईको नतिजा सार्वजनिक, ४८ प्रतिशत विद्यार्थी पास

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको प्रतिकित्ता बिक्री मूल्य ५०० रुपैयाँ राखिएको छ । हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने उक्त सेयर इच्छुक संस्थापकले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर कित्ताको संख्या खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापकबाट सेयर खरिद लागि आवेद नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासन अनुमति, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासन अनुमति पाएको छ । बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्सलाई बोर्डले आईपीओ निष्कासन अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाकाका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो । रिलायन्सले यसअघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ । यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो ।

शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले निष्क्रिय खाताहरू बन्द गर्ने भएको छ । बैंकले १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका बैंक खाताहरू बन्द गर्ने भएको हो । नेपाल राष्ट्र बैंकले शून्य मौज्दातका निष्क्रिय बैंक खाताहरू सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने प्रावधान गरेको छ । सोही प्रावधानअनुसार बैंकले बिहीबार एक सूचना प्रकाशित गरी निष्क्रिय खाता बन्द गर्न लागिएको जनाएको हो । बैंकले त्यस्ता खातावाला ग्राहकलाई आफ्नो खातामा न्यूनतम मौज्दात जम्मा गरी खाता अद्यावधिक गर्न आग्रह समेत गरेको छ । १५ दिनभित्र निष्क्रिय खाता अद्यावधिक नभएमा बन्द गरिने सूचनामा उल्लेख छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक देखि साधारणतया बदली रहेको बताएको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभरि साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।