विकासन्युज

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, झरीले पहिरो पन्छाउन समस्या

म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेश राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको बताउनुभयो । आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको छैन ।

उपत्यकाका नदीमा बहाव बढेपछि उद्धार टोली तयारी अवस्थामा

काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा पानीको बहाव बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने, ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।’ उनले बागमती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए । उनले भने, ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।’ वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घोषणा भएको ७ वर्ष बितिसक्दा पनि गण्डकीमा अझै पूरा भएन विद्युत सेवाको लक्ष्य

फाइल फोटो गण्डकी । विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा विद्युत् सेवा पुर्‍याउने निर्णय गरेको थियो । घोषणा भएको सात वर्ष बितिसक्दा पनि प्रदेश सरकारको उक्त लक्ष्य पूरा हुन सकेको छैन । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेटमा पनि ‘उज्यालो गण्डकी’ घोषणा गरिएको छ । आधारभूत विद्युत सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरिने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरधुरी अझै बिजुलीको पहुँचबाहिर रहेको पाइएपछि उक्त लक्ष्यलाई आगामी आवको बजेटमा पनि निरन्तरता दिइएको मन्त्रालयको ऊर्जा शाखा प्रमुख इञ्जिनियर जीवन श्रेष्ठले बताए । नवलपुरको बौँदीकाली, बुलिङटार र तनहुँको देवघाट क्षेत्रमा विद्युत सेवा विस्तारको काम बाँकी रहेको उनले जानकारी दिए । ‘नवलपुरमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले जिम्मा लिएको छ, प्रदेशले बजेट पनि उपलब्ध गराइसकेको छ,’ इञ्जिनियर श्रेष्ठले भने, ‘प्राधिकरणले काममा ढिलाइ गरेकाले चालु आवमा ‘उज्यालो गण्डकी’ घोषणा हुन सकेन, तनहुँमा पनि प्राधिकरणले आफ्नै आयोजनाबाट तीन सय ७० घरमा विद्युत् सेवा पुर्‍याउन बाँकी छ ।’ आगामी भदौभित्र दुवै जिल्लामा बाँकी रहेका घरधुरीमा विद्युत् सुविधाको पहुँच सुनिश्चितता भएपछि उज्यालो गण्डकी घोषणा गरिने उर्जा शाखा प्रमुख श्रेष्ठले बताए । मन्त्रालयको तथ्यांकअनुसार ९९ दशमलव ५० घरमा विद्युत सेवा पुगेको छ । छुटेका घरमा बिजुली पु¥याएर ‘उज्यालो गण्डकी’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले जानकारी दिए । बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी’ को लक्ष्य आगामी आवभित्रमा हासिल हुने मन्त्रालयले जनाएको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार झण्डै २४ सय घरमा बिजुली नपुगेको देखिएको उर्जा शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरलाई स्वघोषणा गरेर जानकारी गराउनसमेत मन्त्रालयले सूचित गरेको छ । विद्युत प्राधिकरणको १३ वटा वितरण केन्द्रमार्फत प्रदेशका ११ वटै जिल्लामा विद्युत विस्तारको काम भइरहेको छ । मन्त्रालयको उर्जा शाखा प्रमुख श्रेष्ठका अनुसार राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाउँमा लघुजलविद्युत र घरेलु सौर्य उर्जामार्फत विद्युत् सेवा पुर्‍याइएको छ । घरेलु सौर्य उर्जा जडानका लागि प्रदेश सरकारले अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । उर्जा शाखा प्रमुख श्रेष्ठले बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय बढी घरमा सौर्य ऊर्जा जडान गरिएको जानकारी दिए । प्रदेशका ९५ दसमलव ६८ प्रतिशत घरमा राष्ट्रिय प्रसारण लाइनमार्फत र बाँकीमा लघुजलविद्युत्, नवीकरणीय ऊर्जालगायतबाट विद्युत् सेवा पुगेको छ । राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य उर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ । संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रदेशमा रहेका ९० वटा लघुजलविद्युत् आयोजनाबाट तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन भइरहेको बताउँदै उर्जा शाखा प्रमुख श्रेष्ठले यसबाट १५ हजार चार सय ४० घर लाभान्वित भएका जानकारी दिए । उनका अनुसार तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको हो । सौर्य ऊर्जा र लघुजलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत घरमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाट क्षमताको भिमताङ लघुजलविद्युत आयोजना निर्माण गरेको छ । गत वर्ष ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । रासस

हनुमन्तेको बाढीले भक्तपुरमा डुबान, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ । भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ । वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन् । जिल्लास्थित विपद् व्यबस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताइन् । कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उनले बताइन् । बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए । भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ ।

चार दिनदेखि रारा विमानस्थलकाे हवाई सेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौं जानुपरेको बताए । ‘मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए,’ उनले भने । निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन । आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन । यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन÷चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ ।

दक्षिण कोरियामा रोबोटले गर्‍यो आत्महत्या !

काठमाडौं । दक्षिण कोरियामा एउटा अनौठो घटना बाहिर आएको छ । त्यहाँको एक रोबोटले आत्महत्या गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलले लेखेकाे छ । रोबोटले सिँढीबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । रोबोटको आत्महत्याको प्रयासपछि अब वैज्ञानिकहरूले यसलाई अनुसन्धानको विषयका रूपमा लिएका छन् । के हो रोबोट आत्महत्या ? रोबोट आत्महत्याको घटना दक्षिण कोरियाको हो, यहाँको मध्य दक्षिण कोरियाको नगरपालिकाले जानकारी दिँदै रोबोट आत्महत्याको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । रिपोर्टका अनुसार रोबोटले ९ देखि ६ बजेसम्म काम गर्दथ्यो । उक्त रोबोटसँग सरकारी परिचयपत्र पनि थियो । रोबोट केही समयदेखि कामका कारण तनावमा भएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियामा लामो समयदेखि मेसिनबाट काम भइरहेको छ । हरेक १० जनामा ​​एउटा रोबोट रहेको बताइएको छ । यसबारे अहिलेसम्म यसबारे विभिन्न दाबीहरू भइरहेका छन् । तर, रिपोर्टले रोबोटमा कामको धेरै दबाब रहेको र त्यसका कारण ऊ निकै चिन्तित भएको दाबी गरेको छ । यो रोबोटले गुमी सहरका बासिन्दालाई विगत एक वर्षदेखि प्रशासनिक काममा सहयोग गर्दै आएको मध्य दक्षिण कोरिया नगरपालिकाका एक अधिकारीले जानकारी दिए । सिँढीबाट हाम फाल्नुअघि रोबोटले कुनै यस्तो व्यवहार देखाएको थियो जसलाई मानिसहरूले आत्महत्याको संज्ञा दिएका छन् । एजेन्सी

प्लस टुमा इन्टर्नसिप गर्ने एक मात्र शैक्षिक संस्था ‘आइएसटी कलेज’

काठमाडौं । पढेर काम गर्ने भन्दा पढ्दै कमाउँदै गर्ने विषय आजभोलि विद्यार्थीको रोजाइमा पर्छ । यस्ता विषय पढाइ गर्न हिमाल पहाडका विद्यार्थी अहिले शहरमा छिरिरहेका छन् । एसइईईपछि अथवा प्लसटुमै पनि काम गर्दै, कमाउँदै गर्न सकिने केही विषय मध्येको एउटा हो होटेल म्यानेजमेन्ट । पढाइसँगै काम गर्न मिल्ने अनि, देश विदेश  जहाँ पनि राम्रो आम्दानी गर्न सक्ने विषय हो होटेल म्यानेमेन्ट । आजभोलि विद्यार्थीको आर्कषण यसमा बढ्दैछ । विदेशमा मात्र होईन नेपालमै पनि होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीले राम्रो कमाइ गर्न सक्छन् । विद्यार्थीहरुको रुचिलाई ध्यान दिदै एसईई पछि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पाढाउने विद्यालयको संख्या पनि धेरै छ । प्लसटुमा नै विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्थासहित सञ्चालनमा आएको एउटा उत्कृष्ट शैक्षिक संस्था हो आइएसटी कलेज । यो कलेजले प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कूल सञ्चालनमा ल्याएको छ । जहाँ एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तरगत होटल मेनेजमेन्ट, कम्पुटर साईन्स, टुरिजम मेनेजमेन्ट, जनरल मेनेजमेन्टका बिषयहरु पढाई हुन्छन् । आइएसटी कलेजले करिब दुई दशकदेखि हस्पिटालिटी क्षेत्रका लागि योग्य जनशक्ति उत्पादन गर्दै आएरहेको छ । यहाँ टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तराष्ट्रिय स्तरका कोर्सहरु पनि सञ्चालन हुँदै आएका छन् । यो स्कुलमा होटल मनेजमेन्टमा अध्ययन गर्नेले भोकेशनल सर्टिफिकेट समेत प्राप्त गर्नेछन् भने कम्पुटर अध्ययन गर्ने बिद्यार्थीहरुले NCC Education Uk को अतिरिक्त बिषयहरु साईबर सेकुरिटी र डाटा साईन्सको पनि अध्ययन गर्न पाउँछन् । भौतिक संरचनाको राम्रो व्यवस्था विद्यार्थीलाई स्कुलमा राम्रो पढाइसँगै भौतिक संरचनाको पनि आवश्यक पर्छ । यो स्कुलले यसमा पनि ध्यान दिएको छ । यहाँ विद्यार्थीको लागि पर्याप्त पार्किङ्ग छ भने खेलकुदका लागि विभिन्न खैल मैदान पनि उपलब्ध छन् । राम्रो र शान्तपूर्ण वातावरणमा सम्पूर्ण भौतिक सुबिधाहरु पनि छन् । कम्पुटर ल्याब, प्रयोगात्मक भान्सा, प्रयोगात्मक रेष्टुरेन्ट, बेकरी, बार, हाउस किपिङ, मोक रुम, वारिस्ता, पुस्तकालयपनि सूविधा छ । उत्कृष्ट शिक्षाका लागि यस बिद्यालयमा विषय अनुसारका दक्ष शिक्षकहरुले अध्यापन गराइरहेका छन् । आईएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरुक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलार्ई उच्च प्राथमिकतामा राख्ने गरेको छ । इन्टर्नसिपको पनि व्यवस्था अन्य विद्यालय भन्दा आइएसटीले फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीले कक्षा १२ को अन्तिम परिक्षा दिए लगत्तै व्यावसायिक एवं व्यावहारिक ज्ञान सिकाइन्छ । जसका लागि होटल मेनेजमेन्टका विद्यार्थिहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिना इन्टर्नसिपमा पठाउने गरिन्छ भने कम्पुटर साईन्सका बिद्यार्थिहरुलाई आइटी सम्बन्धित काम गर्ने टेक कम्पनिहरुमा पठाउने गरिन्छ । कम्पुटर साईन्सका विद्यार्थीले ४ देखि ६ महिनाको इन्र्टनशीपमा पठाउने व्यवस्था विद्यालयले गरेको छ । प्लस टु लेभलमा नै ईन्र्टशीपको व्यवस्था गर्ने नेपालको एक मात्र विद्यालय रहेको कलेजको दाबी छ । व्यवहारिक सिकाइ आइएसटी सेकेण्डरी स्कूल योग्य जनशक्ति तयार गर्ने विद्यालयको रुपमा अगाडी बढेको छ । यहाँ विद्यार्थीलाई पढाइसँगै अन्य क्रियाकलापमा पनि सहभागी गराइन्छ । बिद्यार्थिमा पढाईको अलावा व्यवहारिक सिप र ज्ञानमा पनि उत्तिकै महत्वका साथ गर्दै आएको कलेजले बताएको छ । साथै अतिरिक्त क्रियाकलापहरु अध्यन भ्रमण, सीएसअार, फुटसन टुर्नामेन्छ बैंक्वट कजलको पनि व्यवस्था गरेको छ । त्यसैले यस विद्यालयमा प्लस टु लेभलमा अध्ययन पुरा गरिसकेपछि विद्यार्थिहरुले विभिन्न होटलमा गएर इन्ट्रिलेभलका काम गर्न सक्षम हुनेछन् । धेरैको बुझाइ होटेल म्यानेजमेन्ट भन्ने वित्तिकै खाना पकाउन सिकाउने मात्र हो भन्ने बुझन्छ । तर होटेल म्यानेजमेन्ट पढाइदै आएका कलेज विद्यालय यसलाई प्राविधिक विषय भएको बताउँछन् । यसले पर्यटकको आथित्य सत्कार कसरी गर्नुपर्छ, कसरी खान बस्न व्यवस्था मिलाउनुपर्छ भन्ने विषयमा पनि विद्यार्थीलाई जानकारी मिल्छ । यो कोर्स प्लसटु देखि व्याचलर्सतहमा पनि पढाइ हुन्छ ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् । विपी राजमार्गमा यातायात ठप्प पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । हेटौँडा–काठमाडौं सडकखण्डमा पहिरो बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ । यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यस्तै कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ । बेँसीसहर–चामे सडक अवरुद्ध पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए । घोराही–तुलसीपुर सडक सडक अबरुद्ध दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ । बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् । पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ । वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरू खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।