भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा डुबानमा परेका ५६ जनाको उद्धार
भक्तपुर । भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको छ । वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेका १८ वटा टहरामा बसोबास गरिरहेका ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । यसैगरी हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ स्थित आश्विन आचार्यको जस्ताको टहराको गाईगोठमा पानी पसेपछि प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले दुईवटा गाई उद्धार गरेको छ । चाँगुनरायण नगरपालिका–४ खनालचोकस्थित प्रगति टोलमा रिद्धिसिद्धि बसपार्क र खहरेबाट बगेको पानीले टोलमा डुबान भएकोमा प्रहरी प्रभाग चाँगुको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा पानी कटाई क्षति हुनबाट जोगाएको प्रनाउ कार्कीले जानकारी दिए । त्यसैगरी भक्तपुरको सिद्धि स्मृति अस्पतालभित्र पानी पसेर अस्पताल जलमग्न हुँदा क्षति पुर्याएको छ । अस्पतालको आकस्मिक कक्ष, फार्मेसी, ओपिडी, अल्ट्रासाउण्ड, एक्सरे कक्षमा क्षति पुर्याएको र बिरामीलाई माथिल्लो तलामा सारिएको छ । त्यसैगरी शान्ति निकेतन माध्यमिक विद्यालय सूर्यविनायक र त्यस आसपासका बस्ती डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका‐५ गडगडे खोलामा आएको बाढी बस्तीभित्र पसेपछि यहाँका करिब ५० घर डुबानमा परेको गैरसरकारी संस्था महासंघ भक्तपुरकी अध्यक्ष एवं स्थानीयवासी अनिता पाण्डेले जानकारी दिइन् । त्यस क्षेत्रका बासिन्दाका घरको भुइँतलामा रहेको सामानमा क्षति पुगेको र आवातजावतमा समेत दिनभर अवरोध रहेको बताइन् । हनुमन्ते खोलामा आएको बाढी राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनाराका बस्ती, मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारामा रहेको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायत क्षेत्र डुबानमा परेको थियो ।
ओलीलाई बालेनको झापड : बाढीको जोखिममा रहेका २ हजार परिवारलाई गिरिबन्धुमा राख्नुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बाढीको जोखिमको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेका छन् । उनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् ओलीलाई बाढीको जोखिममा रहेका २ हजार परिवारलाई गिरिबन्धु टि स्टेटमा लगेर व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौंमा लगभग २ हजार परिवार खोला छेउमा बस्ने गरेका छन्, तपार्इं (ओली)ले पचाउँन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री पनि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’ यस्तै, उनले बाढीको जोखिममा रहेकाहरुसँग भोटको राजनीति भएको पनि उल्लेख गरेका छन् । उनले ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्न नहुने पनि बताएका छन् । बालेनले जोखिममा रहेकाहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई अझैं ३० बर्ष पनि झुलाउने भन्ने प्रश्न पनि गरेका छन् । पछिल्लो समय बालेनले ओलीलाई समाजिक सञ्जालमार्फत् विभिन्न टिप्पणी गर्दै आएका छन् । विशेष गरेर उनले ओलीलाई गिरिबन्धुसँग जोडेर प्रहार गरिरहेका हुन्छन् । यस्तो छ उनको स्टाटसः माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ! अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ? काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।
केपी ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ : कांग्रेस
काठमाडाैं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन सहमति गरिएको जनाएको छ । शनिबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठक यस्तो निर्णय गरेको हो । ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग गर्नुभएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । साथै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । यस्तै, आजको बैठकले कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै समर्थन गर्ने निर्णय गरेको छ ।
बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन
लमजुङ । पहिराले शनिबार बिहानैदेखि अवरुद्ध बेँसीसहर-चामे सडकको लमजुङ खण्ड पुनःसञ्चालन भएको छ । बेँसीसहर नगरपालिका-६ खरखरेभीर र मर्स्यांदी गाउँपालिका-४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए । बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्यनेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । उनले ६७ मत पाएका हुन् । विपक्षमा ३४ मत खसेको थियो । प्रदेशसभामा उपस्थित एक सय एक जना सदस्यले मतदान गरेका थिए । मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गरे भने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।
ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध
बलेवा । अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पु¥याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए । उनले १.५ मेगावट विद्युत उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए । पहिरोले जैमिनी नगरपालिकाको केन्द्रविन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् । उपप्रमुख शर्माले भने, ‘यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तारोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।’ जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ । वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
पाँचतले बिल्डिङमा बाइक डुबे, घरभित्र पस्यो बागमती (तस्बिरसहित)
काठमाडौं । काठमाडौंको यूनियन पार्क नजिकैको बस्ती ठूलो जोखिममा परेको छ । शुक्रबार रातिदेखिको अबिरल वर्षाका कारण बागमती नदिको बहाब बढ्दा काठमाडौंका अधिकांश बस्तीहरु जोखिममा परेका हुन् । यसले काठमाडौंको यूनिएन पार्क नजिकको बस्ती पनि ठूलो जोखिममा परेको छ । युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । युनिएन पार्क नजिकै हालै बनेको पाँच तारे घरको पार्किङमा बागमती नदिको पानी पसेको छ । सो पार्किङमा पार्किङ गरिएका तीन वटा मोटरसाइकल पनि डुबेका छन् । बागमती नदिको पानी सडक हुँदै घरको पार्किङमा पस्दा पार्किङमा राखिएका सवारीहरू डुबेको सुरक्षाकर्मीले बताएका छन् । अहिले स्थानीय र सुरक्षाकर्मीहरुले सो स्थानमा कडा निगरानी गरिरहेका छन् भने घरभित्र रहेका मानिसलाई सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरिरहेका छन् । यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह पनि गरेको छ । काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको टेकु, गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।
सानुबाबु सिलवालको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ विमोचन
काठमाडौं । अमेरिकामा रहेका गैरआवासीय नेपाली सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बिच विमोचन गरिएको छ । शुक्रबार काठमाडौं बत्तिसपुतलीमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरूको हातबाट पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत् चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे । उनले अमेरिका लगायत विश्वका जहाँ रहे पनि नेपालीहरूलाई आफ्नो मातृभूमिको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए । रेग्मीले भने, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगे पनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन् भन्ने लाग्दछ, शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगे पनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो, रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस्, वैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायिक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरू समृद्ध हुन्छन् । ’ सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ती नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए । उनले अमेरिकामा अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राति, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरू लगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए । २८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।