मधेस प्रदेशका माओवादी संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव
काठमाडौं । नेकपा माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन दुई तिहाइ प्रदेश सभा सदस्यहरूले अविश्वास प्रस्ताव पेस गरेका छन्। मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले अविश्वास प्रस्ताव पेस गरेका हुन् । प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साहविरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका हुन् । माओवादी संसदीय दलको विधानअनुसार दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ । उक्त प्रस्तावबारे पूर्व सूचना संसदीय दलको नेताको हकमा उपनेतालाई दिनुपर्ने विधानमा व्यवस्था छ । लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिएका छन् ।
सेबोनलाई सार्वजनिक लेखा समितिको प्रश्न- रिलायन्सको आधारमूल्य के आधारमा तय गरियो ?
काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न दिइएको विषयमा चासो राखेको छ । समितिले रिलायन्स कम्पनीको आईपीओ जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै धितोपत्र बोर्डलाई ७ दिने स्पष्टीकरण सोधेको छ । रिलायन्सको आईपीओ स्वीकृतिका क्रममा धितोपत्र बोर्डले अपनाएको प्रक्रिया तथा विधि लगायतका विषयमा ५ बुँदे विषय राखेर ७ दिनभित्र जानकारी पठाउन बोर्डले पत्राचार गरेको हो । लेखा समितिले रिलायन्सको आधारमूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? भनेर पहिलो प्रश्न सोधेको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आइपीओ ल्याउँदा अर्थात् गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर, अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ? भनेर दोस्रो प्रश्न सोधेको छ । सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३२.९० रुपैयाँ, २०८१/८२ मा ३२/८९ र २०८२/८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो, सोको स्पष्ट जानकारी उपलब्ध गराउन समेत लेखा समितिले निर्देशन दिएको छ । रिलायन्समा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, सोको समेत विस्तृत विवरण समेत उपलब्ध गराउन भनेको छ । यस्तै, कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक–फरक प्रतिसेयर आम्दानी (हरेक आर्थिक घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।
‘म कोट लगाउँदै चिटिक्क परेर नीति बनाउँदिन, मार्केट घुमेर निर्णय लिन्छु’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीति निर्माताहरु कोट लगाएर चिटिक्क परेर नीति बनाउँछन् भन्ने विषयको खण्डन गर्दै आफू त्यस्तो व्यवहारको नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिमा सुझाव दिनका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । अन्तक्रिया कार्यक्रममा सहभागी एक व्यवसायीले कोट लगाएर, चिटिक्क परेर नीति बनाउनेहरुका कारण समस्या भएको प्रश्न फ्लोरबाट गरेका थिए । सो प्रश्नको अण्डन गर्दै उनले आफू त्यस्तो व्यवहारको नभएको बताएका हुन् । ‘कोट लगाउनेले मात्रै नीति बनाउँदैनन्, आज मात्रै काठमाडौंमै सञ्चालित एउटा उद्योगमा तीन घण्टा घुमेर आएको छु, त्यो उद्योगले २ अर्ब रुपैयाँको कारोबार छु, उद्योगमा महिला दिदीबहिनीहरुले पनि काम गरिरहनु भएको थियो, म बजार घुमेर नीति बनाउँछु,’ उनले भने । यस्तै, उनले आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने साना व्यवसायीलाई बैंक्ले आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लिने गरेको जानकारी गराए । बैंकलाई पनि सोही किसिमले परिपत्र गरेको उनको भनाइ छ । ‘बैंकले ग्राहकलाई मर्का पर्ने काम गरेको छ भने अध्ययन गर्नका लागि उपभोक्ता हित संरक्षण विभाग नै बनाएर काम गरिरहेका छौं, कुनै गुनासो छ भने तत्काल राष्ट्र बैंकलाई जानकारी गराउँदा हुन्छ,’ उनले भने । उनले साना ऋणीलाई चालु पुँजी कर्जा मार्गदर्शन नलाग्ने प्रष्ट पारे । ‘चालु पुँजी कर्जा मार्गदर्शन १ करोडभन्दा मुनिको कर्जामा लाग्दैन, १ करोड ऋण भनेको धेरै हो, हामीले पनि ऋण लिन्छौं, १ करोड ऋणको किस्ता कति तिर्नुपर्छ भन्ने हामीलाई पनि थाहा छ, त्यसैले यो नीतिले साना ऋणीलाई समस्या गर्दैन,’ उनले भने । राष्ट्र बैंकले कुन कुरामा बाँधेको छ, त्यो डोरी देखाउन पनि आग्रह गरे । राष्ट्र बैंक डोरी फुकाउन तयार रहेको उनको भनाइ छ । कृषि राष्ट्र बैंकको प्राथमिकताको क्षेत्र भएकोले राष्ट्र बैंकले पनि प्रत्यक्ष लगानीको क्षेत्रका रुपमा राखेको बताए । यस्तै, उनले भारतीय पर्यटकलाई नपालमा २५ हजारको नगदको सीमा नरहेको जानकारी गराए । विगतमा ५ सय र एक हजारका नोट निरुत्साहितका लागि सो नीति बनाएको भए पनि अहिले खारेज भएपछि त्यो सीमा नभएको धारणा राखे । भारतीय पर्यटकले डिजिटल बैंकिङ तथा क्यूआरमार्फत् पनि कारोबार गरिरहेकोले नगद आवश्यक नपरेको उनको भनाइ छ । यस्तै, उनले अब छिट्टै अलि पे, लंका पेसँग सम्झौता गरेर डिजिटल क्रस ब्रोडरको व्यवस्था गर्ने बताए ।
एसइई सकेका विद्यार्थीलाई सुझाव : आफूभित्रको क्षमता पत्ता लगाउनुस्
काठमाडौं । ‘तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’ माध्यमिक शिक्षा परीक्षा (एसइई) पार गरेर कक्षा ११ र १२ को तयारी र भविष्यको योजना बुन्दै गरेका विद्यार्थीमाझ उत्प्रेरणात्मक वक्ता रञ्जित आचार्यको सल्लाह छ, ‘जसरी बेलुनभित्र रहेको शक्तिले उसलाई आकाशमा उडाउछ, त्यसैगरी तपाईभित्रको ऊर्जाले तपाईको जीवनलाई सफलतामा लानेछ, केवल तपाईले आफूभित्रको आगो बाल्न सक्नुपर्छ । त्यो आगो कहाँ छ भनेर थाहा पाउन सक्नुपर्छ ।’ उनले उत्कृष्ट हुन्छु भन्ने महत्वकाङ्क्षा बोकेर वा अरुलाई हराउन खोजेर भन्दा पनि आफैलाई प्रतिस्पर्धी ठानेर काम गरेमा हरेक समस्याभित्र समाधान भेटिने र त्यसले जुनसुकै पेसामा पनि सक्षम बनाउन सघाउने सुनाए । ‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा ‘करिअर काउन्सिलिङ’ दिँदै आचार्यले उक्त सल्लाह दिएका हुन् । कार्यक्रममा नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पढेर मात्र नहुने टिप्पणी गरे । ‘सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो । जो भविष्यमा केही गर्न चाहन्छ, उसले चुनौतीमा पनि अवसर देख्छ । तर, जो अल्छी छ उसले अवसरमा पनि चुनौती देख्छ ।’ खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अमित अग्रवालले जीवनमा हार नमानी विद्यार्थीले अध्ययनलाई निरन्तरता दिए सफलता चुम्ने आधार तय हुने बताए । ‘जे पढियो त्यही गर्नुपर्छ भन्ने छैन । शिक्षाको काम सहजताको एउटा आधार हो । हामीलाई बच्चैदेखि गरिब देश भनेर सिकाइयो, तर नेपाल गरिब देश होइन, धनी हो । अहिलेका पुस्ताले यही भावनाका साथ अध्ययनलाई अघि बढाउनुपर्छ ।’ ग्लोबल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेशन’का प्रमुख कार्यकारी अधिकृत खेम लकाइले संसारमा सबैभन्दा सुन्दर देशका रूपमा नेपाल रहेकाले यहाँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ इमानदार रूपमा मेहनत गरेमा देशका लागि केही गर्न सकिने सुझाव दिए । कलाकार निशा अधिकारीले माथिल्लो शिक्षाका लागि विषय रोज्ने क्रममा अरुका कुरा धेरै नसुनेर आफ्नो रुचि र क्षमतालाई आत्मसात गरेर अघि बढ्न आग्रह गरिन् । केन्द्रविन्दु डटकमका प्रधानसम्पादक विदुर खतिवडाले शिक्षाका ज्ञानको ज्योति भएकाले यसलाई फैलाउन सकेमा विकास र समृद्धिको ढोका खुल्ने भएकाले अहिलेका पुस्ताले ज्ञानको विस्तार र अवसरको उपयोगका लागि हरदम प्रयास गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (एमाले) का सचिव योगेश भट्टराईलगायतले उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालय तथा शिक्षासेवीलाई सम्मान गरेका थिए । रासस
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । जेठ ३२ गते महानगरका मेयर बालेन साहले पेस गरेको नीति कार्यक्रम संशोधनसहित सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको हो । २ असारमा नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो । तर, साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेको थिएन । १५औं अधिवेशनको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेका लागि नाम टिपाउन ५ मिनेट समय सुनाएपछि तीन दलका निर्वाचित तीन वडाध्यक्षले साझा संशोधन प्रस्ताव राखेका थिए । असार २ गते महानगर प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली र एकीकृत (समाजवादी) बाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधन प्रस्ताव तयार गर्न केही समय लाग्ने बताएका थिए । त्यसका लागि केही घण्टा नगरसभा बैठक सार्न आग्रह गर्दा मेयर बालेन नमानेर बजेटको दिनसम्मका लागि बैठक स्थगित गरेका थिए ।
संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने
काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको विशेष समिति बैठकले बुधबार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारीका पीडितहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । मंगलबारको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि समितिले जनाएको छ । सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं, २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरूलाई बोलाएका छौं, सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न, हामीले विभिन्न संघर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’ विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।
कर्णाली राजमार्ग एकतर्फी खुल्यो
मान्म । अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो आज अपराह्नदेखि कतर्फी खुला भएको हो । जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताए ।
नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि हो : सांसद पाण्डे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरु छोप्नका लागि बनेको बताए । संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरुको बुझाइ रहेको बताए । प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको जानकारी दिए । ‘सरकार बनेकै त्यस्तै छोप्नलाई हो, गिरिबन्धुको छोप्नुपर्ने भयो, एक जना भाउजुको पनि छोप्नुपर्ने भयो, केके भनेर पनि कुरा आइरहेको छ, भूटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो, यस्ता कुरा भन्ने आइरहेको छ, त्यो उहाँहरुमाथि लागेको आरोप गलत ठहरियोस्’, उनले भने । सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरु सम्मिलित हुनेकुरा नसोचेको र आफूहरुको आवश्यकता पनि दुई दललाई महशुस नभएको अनुभव आफूले गरेको जानकारी दिए ।