‘सधैं अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर
काठमाडौं । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन् । यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् । एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिले काही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा ल्याएको छ । विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक रहेको कम्पनीको भनाइ छ । डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी,डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टहरुमा कम्पनीको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागू हुने कम्पनीले बताएको छ ।
अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न
काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश दिन असफल भएको छ । सभाले स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक सेयरधनीतर्फ भीमलाल पौड्याललाई नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको छ । साथै, रिक्त रहेको सर्वसाधारण तर्फको सञ्चालक पदमा ईन्द्रप्रसाद लामिछानेलाई चयन गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।
कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी
टीकापुर । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । विसं २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ । यस वर्ष जिल्लामा स्क्रफटाइफस सात सय ३७ जनामा देखिएको छ । गत वर्ष पाँच सय २९ जना बिरामी उपचारमा आएका थिए । टीकापुरमा स्क्रफटाइफसका गत वर्ष ७३, लम्कीचुहामा तीन सय एक जना बिरामी थिए । स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् । टीकापुर अस्पतालका जनरल मेडिसिन दिलीपकुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटकपटक भएमा जोखिम हुने बताए । ‘डेङ्गी पटकपटक हुनु जोखिम हुन्छ, डेङ्गी भएर जटिल अवस्था आएमा ज्यानसमेत जानसक्ने भएकाले नागरिक सचेत हुनुपर्छ’, उनले भने, ‘बर्षातका समयमा लामखुट्टेको टोकाइबाट बचेमा धेरै रोगबाट बच्न सकिन्छ ।’ डा शाहले डेङ्गी तीन अवस्थाको हुने जनाउँदै ज्वरो अवस्था खासै जोखिम नहुने, संवेदनशील अवस्थामा खतरा हुने भएकाले समयमै उपचारमा जानुपर्ने बताए । टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रेमकुमार राइले अस्पतालमा २४ जना चिकित्सक रहेका, विपद्मा आवश्यक औषधि, उपचार र सक्रियताबारे छलफल गरेर योजना निर्माण गरिएको बताए । उनले वर्षातमा डेङ्गी, टाइफसजस्ता बिरामी बढी आउने भएकाले यस्तो बेला सचेतना, पूर्वतयारी सबैतिर आवश्यक हुने बताए । ‘त्यसै पनि हामीकहाँ बिरामीको चाप छ, विपद् जोखिम रहेको यो क्षेत्रमा बर्सातमा अझ बिरामी बढ्ने भएकाले हामीले तयारी गरेका छौँ’, उनले भने, ‘यो समयमा चिकित्सक बिदामा नबस्ने, औषधि, उपकरणको जोहोजस्ता तयारी गरेका छौँ ।’ टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले अस्पतालको फोहोर व्यवस्थापनमा पालिकालाई सघाउन आग्रह गरे । ‘फोहोरकै कारण धेरै रोग लाग्छन्, सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भने, ‘हामीसँग दुईवटा फोहोर प्रशोधन गर्ने अटोक्लेभ मेसिन छन् । नगरपालिकाले नगरभित्र सङ्कलन भएको प्लाष्टिकजन्य फोहोर हामीकहाँ प्रशोधन गर्न सक्छ ।’ अध्यक्ष सोडारीले आफूहरु टीकापुरसहित अन्य पालिकाको फोहोरसमेत प्रशोधन गर्नसक्ने भएकाले सहकार्य गर्न तयार रहेका बताए । ‘मिलेर फोहोर व्यवस्थापन गरेमा प्लाष्टिकको पुनः प्रयोग गरेर आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘हामीले प्रशोधन गरेको फोहोर बिक्री गर्ने गरेका छौँ ।’ रासस
कास्कीमा अनुदानकै बजेट खर्च भएन
कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर पाँच रुपैयाँ दिने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । तर, मन्त्रालयबाट यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि गरेको अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले चालु आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि दुई करोड बजेट विनियोजन गरे पनि एक करोड ४९ हजार सात सय ३८ रुपैयाँ मात्र खर्च भएको छ । कृषकले सरकारले विनियोजन गरेको बजेटको आधा मात्र पाएका छन् । चालु वर्षमा समेत विगत वर्षमा जस्तै प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए । उनले वृद्धि भएको अनुदान रकम मन्त्रालयबाट कार्यविधि आउन ढिलाइ भएका कारण कृषकलाई प्रदान गर्न नसकिएको जानकारी दिए । उनले भने, ‘सरकार परिवर्तनलगायतका कारणबाट मन्त्रालयबाट कार्यविधि स्वीकृत भएर आउन ढिलाइ भयो । यसले गर्दा दूध उत्पादन अनुदानका लागि विनियोजित बजेट आधा मात्र खर्च भयो । यस वर्ष स्वीकृत बजेट पूरै खर्च नभए पनि आगामी वर्षमा कार्यान्वयन हुनेछ ।’ जिल्लाका दुग्ध उत्पादक कृषकले उत्पादनका आधारमा गत वर्षमा जस्तै चालु वर्षमा समेत प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी उत्पादन गर्ने कृषकले सरकारबाट प्रोत्साहन बापत अनुदान रकम समेत बढी पाएका हुन् । जिल्लामा कृषक समूह तथा सहकारीका माध्यमबाट दूध बिक्री गर्दै आएका कृषकले सरकारी अनुदानको रकम बुझेका हुन् । दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि यस वर्ष आह्वान गरिएकामा २२ समूह सहकारी छनोट भएको र सहकारीका माध्यमबाट कृषकलाई प्रत्यक्ष अनुदान रकम प्रदान गरिएको पाण्डेले बताए । उनका अनुसार ४० लाख १९ हजार आठ सय ९५ लिटर दूधका लागि सो रकम प्रदान गरिएको हो । ‘उत्पादन गरेका आधारमा कृषकलाई सरकारको तर्फबाट प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम कृषकले सर्वाधिक रुचाएका छन् । यसबाट अनुदान रकम दुरुपयोग हुन पाउँदैन । जसले बढी उत्पादन गरेर बिक्री गर्दछ उसैले अनुदान पनि बढी पाउँछ,’ कार्यालय प्रमुख पाण्डेले भने । उत्पादनका आधारमा अनुदान वितरण गर्दा कृषकले व्यवसायमा अझ बढी मेहनत गर्ने गरेको बताइन्छ । कास्कीमा कुल घरधुरी एक लाख २० हजार पाँच सय ७२ रहेकामा पशुपालनमा संलग्न परिवार ५२ हजार तीन सय २३ रहेका छन् । कास्कीमा यहीँको दुग्ध उत्पादनले माग धान्ने अवस्था रहेको छ । उत्पादनका आधारमा सरकारले सहयोग गर्दा उत्पादन वृद्धि गर्न सहयोग पुगेको भेटेरिनरी अस्पतालका प्रमुख पाण्डेले बताए। उनले भने, ‘यसले बढी उत्पादन गर्छ, उसैले बढी अनुदान पाउने प्रोत्साहन कार्यक्रमपछि उत्पादन वृद्धि गरी आयात निरुत्साहित गर्न योगदान पुगेको छ ।’ भेटेरिनरी अस्पताले चालु आर्थिक वर्षमा पशुमा पूर्णखोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, बाँझो जग्गामा घाँस खेती प्रवर्द्धन कार्यक्रम, कृषि ऋणमा ब्याज अनुदान लगायतका मुख्य कार्यक्रम कार्यान्वयन गरेको कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए ।
डिम्याट खाता नवीकरण गर्न लक्ष्मी सनराइज क्यापिटलको आग्रह
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले साविक लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एकाअपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज बैंकका कार्यालयमार्फत चालू आर्थिक वर्ष ०८०/०८१ सम्म डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्कबापत प्रत्येक आर्थिक वर्षको १०० रुपैयाँका दरले नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । कम्पनीका अनुसार खातावालाहरूले सनराइज क्यापिटल वा लक्ष्मी सनराइज बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क राखी नवीकरण शुल्क बुझाउन सक्ने छन् । खातावालाले नवीकरणबापतको शुल्क फोनपे, क्युआर, खल्ती, कनेक्ट आईपीएस, इसेवा तथा मेरो शेयर ड्यासबोर्डमार्फत बुझाउन सक्नेछन्। त्यस्तै, कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक शुल्क बुझाउन बाँकी रहेका खातावालाको खाता रोक्का हुने भएकाले सो शुल्कसमेत बुझाइ खाता अद्यावधिक गर्न आग्रह गरेको छ । यस्तै, सनराइज क्यापिटलमा हितग्राही खाता खोली धितोपत्र कारोबार गरेका कतिपय खातावालाले हालसम्म पनि केवाईसी अद्यावधिक नगरेकाले अद्यावधिक गराउन समेत कम्पनीको आग्रह छ ।
मधेस प्रदेशमा रासायनिक मल अभाव नहुने
पर्सा । बर्खे धान खेती लगाउने समयमा रासायनिक मल (मलखाद) को अभाव झेल्दै आएका मधेसका कृषकलाई यस वर्ष मलको समस्या नहुने भएको छ । मधेस प्रदेशमा रासायनिक मल वितरण गर्दै आएका वीरगञ्जमा प्रादेशिक कार्यालय रहेका साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाएका छन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन् । पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल,विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन् साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले विगतको यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गरे। ‘गत आवमा भन्दा चालु आवमा आठ हजार आठ सय ४५ दशमलव १५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ । त्यसैले पनि विगतको वर्षमा जस्तै यो वर्ष रासायनिक मलको समस्या नहुने अपेक्षा गरेका छौँ,’ उनले भने । कार्यालयले २०८१ असार २४ गतेसम्मको अवधिमा कार्यालयले मधेस प्रदेशमा युरिया, डिएपी र पोटास गरी कूल ५२ हजार छ सय ५२ दशमलव ३५ मेट्रिक टन रासायनिक मल मधेस प्रदेशका आठ जिल्लामा वितरण गरिसकेको छ । कार्यालयले चालु आवको असार ११ गतेसम्मको अवधिमा युरिया, डिएपी र पोटास गरी कूल ९५ हजार दुई सय तीन दशमलव ४० मेट्रिक टन रासायनिक मल प्राप्त गरिसकेको छ । जसमा युरिया मल ६० हजार छ सय ८२ दशमलव २५ मेट्रिक टन, डिएपी मल भने २८ हजार नौ सय ६३ दशमलव ४० मेट्रिक टन र पोटास मल भने पाँच हजार पाँच सय ५७ दशमलव ७५ मेट्रिक टन रहेको छ । कार्यालयले चालु आवमा प्राप्त भएको मलमध्ये हालसम्म ८४ हजार चार सय २७ दशमलव ५० मेट्रिक टन मल मधेस प्रदेशसहितका अन्य जिल्लामा पठाइसकेको छ । प्रादेशिक कार्यालय वीरगञ्जले मधेस प्रदेशका छ जिल्लामा पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही जिल्लामा मल उपलब्ध गराउने गर्छ । तर, तराईका सिरहा र सप्तरी जिल्लामा भने कोशी प्रदेश कार्यालय मातहतको कार्यालयबाट वितरण गर्ने गरिन्छ ।
सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणस भाबाट पारित भएको उक्त बोनस सेयर वितरण गरेको हो । पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् । पुस १५ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
किसान र जाल्पा सामुदायिक लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ । साथै, डाटा माइग्रेशन प्रयोजनका लागि बुधबार दुईवटै संस्थाले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।