काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित अन्य हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही जिल्लामा हुरीबतास, असिना, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।