राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यहरूको खातामा साढे ३ करोड
ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसंगै एउटै सदस्यले ९ लाख भन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकमा सदस्य संघ/संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल ३ करोड ८३ लाख २० हजार २ सय ९५ रुपैँया संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट गरेको हो । संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १६,०६० सहकारी संघ/संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ९ लाख ७५ हजार ६ सय ७ रुपैयाँ तथा कर्जा तर्फ ३ लाख २४ हजार ८ सय ४ रुपैयाँ सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाँईले बताए । ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु बचत तर्फ २६ र कर्जा तर्फ १०४ वटा रहेका छन् । हाल बैंकमा १६ हजार ३ सय ३० सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीय निकायहरु मध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँट गर्ने बैंक पहिलो हो । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा उच्च कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
उद्योगहरूको लाइन काट्दा जलविद्युत कम्पनीको आम्दानी घट्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरुबीच भएको डेडीकेटेड/ट्रंक लाइनको बक्यौता सम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार इप्पानले प्रेस विज्ञप्तिमार्फत पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको र केही उद्योगहरुले यसको विरुद्ध अन्य उद्योगहरुले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरुलाई चिन्ताको विषय बनेको बताएको छ । वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी वर्षाको समयमा उत्पादन हुने कम्पनीले बताएको । यही बेला कम खपत भएमा यसले आयोजनाहरुको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्ने ऊर्जा प्रवर्द्धकहरुको भनाइ छ । लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको उनीहरुको गुनासो छ । सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितीले आयोजनाहरुको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ । ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरु, खपत गर्ने उद्योगहरु र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले हुनुपर्ने प्रवर्द्धकहरुको भनाई छ । उनीहरुका अनुसार अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाई भैसकेको छ । ‘विद्युत प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि डेडिकेटेड र वक्यौतालाई लिएर अरु उद्योगहरुको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडी हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक छ’ इप्पानले भनेको छ, ‘विधि सम्मत ढंगबाट यसको समाधान गरी निजी क्षेत्रहरुको उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाईदिन आग्रह गर्दछौं ।’ द्धिपक्षीयबीच छलफल र संवादमार्फत यथाशिघ्र समस्या समाधान गर्नका लागि इप्पानले दुवै पक्षलाई अनुरोध गरेको छ । अहिले दुवै पक्षबीच देखिएको संवादहिनता र द्धन्द्धको अवस्था अन्त्यका लागि पहल गरिदिन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सम्वद्ध सरकारी निकायहरुमा पनि इप्पानले ध्यानाकर्षण गराएको छ ।
जनतालाई राहत दिने कुरामा जोड दिएर काम गछौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर आफूहरुले काम गर्ने बताएका छन् । सोमबार शितल निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनले प्रतिवद्धता व्यक्त गरेका हुन् । जनताको अपेक्षा अनुसार काम नभएको हुनाले नयाँ सरकारले उनीहरुलाई राहत दिने कुरामा जोड दिएर अघि बढनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई थियो । उनले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने पनि जानकारी दिए । उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले हामीहरुले यो मन्त्रालयमा म आईसकेपछि यो सहरी विकास मन्त्रालय भएको कारणले गर्दा नेपालको शहरहरुलाई व्यवस्थित गर्नका लागि र अहिलेको आधुनिक मान्यता अनुरुप जनताको चाहना अनुरुप सुविधादिन लायक सहर बनाउनको लागि यो मन्त्रालयको काम, कर्तव्य र अधिकार जे छ, त्यसको सीमा भित्र बसेर यो कामलाई अघि बढाउनेतिर लाग्नुपर्छ ।’ उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताए ।
सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो : गृहमन्त्री लेखक
काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गरेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गरेको बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई सुदृढ गर्नका लागि संविधानको समिक्षा गर्नु पनि सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । ‘मूल्याङ्कन के प्रयोजनको लागि गर्ने भन्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशिता जुन संविधानका मुल तत्वहरु छन्, त्यसलाई सुदृढ गर्नका लागि, बलियो बनाउनका लागि त्यसलाई अगाडी लिएर जानका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढिकरण गर्ने लगायतका कामहरु अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको छ’, उनले भने । गृहमन्त्री लेखकले गृहमन्त्रीको रुपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत हुने बताए । उनले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि जानकारी दिए । उनले भने – ‘अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो । यो मन्त्रालयले विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा, अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ ।’ गृहमन्त्री लेखकले आफूले इमान्दारिता र निष्ठापूर्वक काम गर्ने बताए ।
नवनियुक्त श्रममन्त्रीले पदभार ग्रहण गरेपछि भन्छन् : रोजगारीलाई व्यवस्थित बनाउँछु
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए । विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३औँ पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु’, उनले भने । मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे । ‘अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन’, उनले भने, ‘हामीले इमान्दारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।’ मन्त्री भण्डारीको राजनीतिक यात्रा उनी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका हुन् । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए । भण्डारी विसं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरु भएको थियो । विसं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बनेका थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमासमेत रहेका थिए । २०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए । उनी विसं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका थिए । त्यसयता उनी पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएका छन् । नेवि संघको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उनी २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेका थिए । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए । उनले विसं २०७० मा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । सोही वर्ष उनी संविधानसभा निर्वाचनमा पराजित भएका थिए । उनी २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । मन्त्री भण्डारीले गोरखा दक्षिण बाहु र संविधानसभा पदक प्राप्त गरेका छन् ।
खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछु : खेलकुदमन्त्री चौधरी
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए । सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताए । केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताए । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने जानकारी दिए । उनले भने, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ । हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ ।’ मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए ।
नेप्से परिसूचक १७ अंकले घट्दा साढे आठ अर्ब बढीको कारोबार
काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७.१८ अंकले घटेर दुई हजार दुई सय ४०.४१ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूह ०.७३, लगानी १.७०, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फण्ड १.६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.४८, विकास बैंक एक दशमलव ८९, वित्त ०.५२, होटल तथा पर्यटन १.७६ र जीवन बीमा समूह १.६५ प्रतिशतले घटेको छ । लघुवित्त १.४१, निर्जीवन बीमा ०.९१, व्यापार ०.५२ र अन्य समूह १.१९ प्रतिशतले घटेको छ । सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ रुपैयाँ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता सेयर किनबेच भएको छ ।
प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रिय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।